साढे ४ करोड लगानीमा खुलेको अलेभ कबाब सल्टनेट (टर्किस एन्ड मिडल इस्टर्न) रेस्टुरेन्टले टर्किस स्वाद मात्रै पस्किरहेको छैन, ४२ जनालाई रोजगारी पनि दिइरहेको छ ।
What you should know
काठमाडौँ — साथीभाइ वा परिवारका सदस्यसँग बसेर खानाको स्वाद लिइरहेकाहरुको टेबलमै पुग्छन् सेफ प्रकाश कटुवाल । अनि मुसुक्क मुस्कुराउँदै सोध्छन्, स्वाद कस्तो छ ? केही सुझाव पो छ कि ? ४२ जनालाई रोजगारी दिइरहेका यिनै प्रकाश सानो मेहनतले यहाँसम्म आइपुगेका होइन् । पछिल्ला दुई दशकदेखि पाँचतारे होटलदेखि देश/विदेशका रेस्टुरेन्टमा काम गरेको प्रकाश आफ्नो सारा अनुभव र विगत यहीँ खन्याइरहेका छन् ।
२०६० सालमा झापाको धुलाबारीबाट १२ कक्षाको पढाइ सकेर काठमाडौं छिर्दा प्रकाशसँग एउटै सपना थियो, जसरी हुन्छ वेटर बन्ने अनि जागिर खाइहाल्ने ।
एकजना साथीसँगको संगतले उनको वेटर बन्ने बाटो फेरियो र उनी पुगे कुकको तालिम लिन चाबहिलमा रहेको एक ट्रेनिङ सेन्टरमा । ६ महिना लामो तालिम सकेर उनी पुगे, दरबारमार्गमा रहेको चाइनिज रेस्टुरेन्ट चाइना एन्ड वर्ल्डमा ट्रेनीको हैसियतमा । त्यहाँ उनको बिहानैबाट किचनमा काम सुरु हुन्थ्यो । अनि काम सकिन्थ्यो मध्यरातमा । त्यहाँ काम गरेको समय सम्झदै उनले सुनाए, ‘पैसा त हुन्थेन तर त्यहाँ गरेको मेहनतबाट मैले धेरै कुरा सिक्न पाएँ ।’
चिनियाँ रेस्टुरेन्टमा काम गर्दागर्दै उनी चीन पुगे । त्यहाँको रेस्टुरेन्टमा ६ वर्ष अनवरत काम गरे । यही मौकाले उनलाई झन धेरै काम सिक्ने र नयाँ बाटो हिड्ने आँट ल्यायो । सुरुवाती दिनमा भाषा नबुझेर उनले हैरानी त खेपे । तर यस्तो हैरानी पनि समयक्रममा उनलाई सामान्य भयो । चीनबाट काठमाडौं फर्केपछि उनले सिमरास्थित पाचँतारे होटल होटल इच्छामा काम सुरु गरे । तर अचानक आएको कोरोना महामारीले उनको जागिर संकटमा पर्यो ।
महामारीमा घरभित्रै थन्केका बेला पनि उनी खाली भने बसेनन् । विभिन्न परिकार बनाउँदै सामाजिक सञ्जालमा भिडियो राख्न थाले । धेरैको राम्रो प्रतिक्रिया पाए । यही क्रममा उनले होम डेलिभरीको सुविधासहित आफ्नो स्वाद घर-घरमा पुर्याउन थाले । ‘घरमै पनि राम्रो अर्डर आउँथ्यो । खासमा त्यो समय मेरा लागि राम्रै भएको थियो,’ उनी सुनाउँछन् ।
सामाजिक सञ्जालबाट राम्रो प्रतिक्रिया पाइरहेका बेला उनलाई गुरु कृष्ण पौडेलले टर्किस रेस्टुरेन्ट खोल्ने योजनाबारे सुनाए । जबकि त्यतिबेलासम्म उनी नेपाली, चाइनिज फुडबारे मात्रै जानकार थिए । टर्किस परिकारका बारेमा उनलाई अत्तोपत्तो थिएन तर पनि मेहनत गरेको खण्डमा सकिन्छ भन्ने सोचका साथ सहमति जनाए । उनले सुनाए, ‘मेहनत गरेर सिकेपछि सकिन्छ भन्ने सोचले नै मैले गुरुको कुरामा सहमति जनाएको थिए ।’
उनले कृष्णप्रसाद पौडेल र विनायक पोख्रेलसँग पार्टनरसिपमा साढे चार करोड लगानी जुटाए अनि अलेभ कबाब सल्टनेट (टर्किस एन्ड मिडल इस्टर्न) रेस्टुरेन्ट खोले । प्रकाशले राम्रो टोली भएमा हरेक कुरा सहजै गर्न सकिने बताउँदै भने, ‘कुनै पनि काम गर्दा विश्वासको साथै राम्रो समूह भएमा सबै कुरा राम्रो हुने रहेछ ।’
अलेभ कबाब खोल्दाको सुरुवाती दिनमा उनले टर्कीबाटै सेफ झिकाए । एक महिनाको ६ हजार डलर टर्किस सेफलाई तिरेर तीन महिना काम सिकेका प्रकाशले टर्किस सेफबाट उनले नयाँ स्वादको पाककला सिके । सुरुवाती दिनमै केही सोसल मिडिया इन्फ्लुएन्सरहरुले उनको रेस्टुरेन्टको राम्रो तारिफ गरिदिए । त्यही कुरा नै यसको प्रचारमा काफी भयो । उनले सुनाए, ‘रेस्टुरेन्ट खोलेको १५ दिनमा नै सामाजिक सञ्जालले गर्दा ग्राहकको थामी नसक्नु भिड भयो । त्यसपछि ग्राहकको चिन्ता कहिल्यै भएन ।’
रेस्टुरेन्टका एक लगानीकर्ता कृष्ण पौडेलले नेपालमा नयाँ स्वाद ल्याउने सोच साथै परिकारहरु पनि स्वास्थ्यको हिसाबले राम्रो भएकाले उक्त टर्किस रेस्टुरेन्ट खोलेको बताए । उनले भने, 'स्वास्थ्यको हिसाबले पनि राम्रो हुने नेपालमा केही नयाँ स्वाद भएका विदेशी परिकार पनि भएकाले हामीले टर्किस रेस्टुरेन्ट खोल्ने सोच बनाएर खोलेका हौं ।’ उनले साधारणदेखि उच्च वर्गका हरकोहि आउन सक्ने र स्वादका परिकार खुसीका साथ खान सक्ने सोचले यो रेस्टुरेन्ट खोलेको बताए । लगानीकर्ता कृष्णले आफूहरुले भारतको नयाँ दिल्लीमा पनि यसको शाखा खोल्ने योजना बनाइरहेको सुनाए ।
प्रकाशका अनुसार उनको रेस्टुरेन्टमा ग्राहकले सबैभन्दा धेरै खोज्ने परिकार हो, सुल्तान ग्रिलल । टर्कीको राजकीय खानदानमा प्रचलित यो परिकार त्यहााको सभ्रान्त परिवारमाझ चर्चित छ । उनले टर्कीका सुल्तानहरुले रुचाउने सुल्तान ग्रिललमा चिकेन अडाना, चिकेन शिश, चिकेन उइन्स, बिभिन्न ग्रिल भेजिटेबल्स, सानो खालको आलु, लसुन, पिलाव चामल, डिल राइस, टर्किस ब्रेड, बिभिन्न डिप सस, सलाद, अचार समावेश छ । ६३ सय ८५ रुपैयाँ पर्ने यो परिकार परिवार वा ठुलो समुहमा बसेर खान सकिन्छ ।
टर्किस ग्रिल्ड मिट प्लेटर यहाँ रुचाइने अर्को परिकार हो । टर्कीका परम्परागत स्वादमा पर्ने ग्रिल मिट परिकारहरु जस्तै: मटन अडाना कबाब, चिकेन अडाना कबाब, कोयुन एती सिसलेरी, शिश टावुक, मिट बल्स, बालिक कबाब, तवुक कानादी मुहम्मारा पनि धेरैले रुचाउँछन् । ६८ सय ८५ रुपैयाँ पर्ने यो प्लेटरमा बिभिन्न राइस, साइड डिसहरु, डिप सस, अचार, सलाद दिइन्छ ।
अलेभ कबाब सल्टनेटमा नेपाली मात्रै आउँदैनन्, टर्किस र अरबीहरु पनि आइपुग्छन् । अहिले दैनिक औसतमा डेढ सय ग्राहक आइपुग्ने गरेको प्रकाशको भनाइ छ । धेरै नेपालीमाझ यसको स्वाद चर्चित बन्दै गरेकामा उनी खुसी छन् । उनले कुनैबेला एकैदिन ५ सयसम्म ग्राहकलाई सेवा दिएको सम्झिँदै तन्नेरी पुस्तामा पनि टर्किस स्वाद फेमस बन्दै गरेको बताए ।
टर्किस स्वादमा कुनै कमी नआओस् भनेर उनले धेरैजसो सामान टर्कीबाटै मगाउने गरेका छन् । उनले भने, ‘मसलादेखि हरेक सामान बाहिरबाटै ल्याउने हो । हरेक चार महिनामा सामान ल्याउँछौ ।’ रेस्टुरेन्ट चल्दै गरेपछि कैयौंले उनलाई फ्रेन्चाइज बेच्न पनि नभनेका होइनन् । तर उनले फ्रेन्चाइज बेच्नेतिर आफूहरुको रुचि नभएको बताए । भने, ‘क्वालिटीलाई ध्यान दिएनौं भने फ्रेन्चाइज बेचेर के काम ?’
रेस्टुरेन्ट राम्रोसँग चलेकामा अनि धेरैले यसको स्वाद सम्झीसम्झी आएकामा प्रकाश खुशी छन् । तर उनीकहाँ काम सिकेका तन्नेरी लामो समय नटिकेकामा भने उनी खिन्न छन् । उनले सुनाए, ‘आफूले शून्यबाट काम सिकाएकाहरु छाडेर विदेश जाँदा निकै नै नराम्रो लाग्ने रहेछ । फेरि शून्यबाट अर्कोलाई सिकायो फेरि ऊ पनि जान्छ, त्यस्तै कुराले समय जाँदो रहेछ ।’
सुरुवाती दिनमा सरकारी सेवा गर्ने उनको सपना थियो । उनी अहिले आफूलाई सेफका रुपमा चिनाउन चाहन्छन् । कसैले साहु भनेर बोलायो भने खिन्न मान्छन् । संघर्ष र दु:खको लामो बाटो हिँडेका प्रकाशले अहिलेको सफलतामा खुसी भए पनि विगत भुल्न नसक्ने बताउँछन् । भन्छन्, ‘सपना कहाँ गएर परिर्वतन हुन्छ थाहा नै नहुँदो रहेछ । मेरो जिन्दगीमा पनि त्यति भएको हो । दुःखबाट हार खाएर होइन, दुःखलाई अँगालेर हिँड्यो भने सुख मिल्ने रहेछ ।’
