बर्मेली स्वाद चखाइरहेकी गीता

रेस्टुरेन्टमा आउने ग्राहकहरू अनेकथरीका बर्मेली परिकारका नाम सुनेरै अनौठो मान्थे । कतिपय हाँस्थे त कतिपय ठट्टा गर्थे ।

असार ३२, २०८२

आरती पौडेल

Geeta tasting Burmese

काठमाडौँ — स्वाद पारखीलाई मध्य बानेश्वरबाट बासुकी मार्गतिर मोडिने बित्तिकै थाहा हुन्छ दि नुडल्स बार । धेरैले यो रेस्टुरेन्टलाई नामबाट भन्दा पनि यसको स्वादबाट चिन्ने गर्छन् । तीन वर्षको निरन्तरको लगावपछि ४७ वर्षीया गीता शर्माले यो बर्मेली रेस्टुरेन्टको परिचय बनाएकी हुन् ।

आमाबाट बर्मेली परिकार पकाउन सिकेकी गीताले यसको असली स्वाद कायम राख्न उस्तै मिहिनेत खन्याएकी छिन् । त्यही भएर त उनले काठमाडौंको स्वाद संसारमा अलग्गै परिचय बनाएकी छन् । 

स्वादको संसारमा आउनुअघि उनी शिक्षण पेसामा थिइन् । १३ वर्ष यो पेसामा रहेकी उनी कोभिडपछि स्वादको दुनियाँमा आइपुगेकी हुन् । उनलाई पाकसंसारमा ल्याउने काम नै कोभिडले गरेको थियो भन्दा पनि हुन्छ । कोभिडको लकडाउनमा उनी घरमै खुम्चिन बाध्य भइन् । त्यहीबेला उनलाई बर्मेली परिकार बनाएर खाने मेसो जुर्‍यो । खाने र बस्ने यिनै दिनहरुमा उनले एकदिन श्रीमान्‌सँग रेस्टुरेन्ट खोल्ने सोचबारे बताइन् ।

गीताको पाककलाको खुबी बुझेका उनका श्रीमान्‌ले उनलाई रेस्टुरेन्ट खोल्न उत्प्रेरित गरे । हो न हो भनेर उनी अघि बढिन् । यो कोभिडको दोस्रो लकडाउनको बेलाको कुरा थियो । शिक्षण पेसामा हुँदा बचत गरेको ८ लाख रुपैयाँ लगानी गरेर उनले मध्य बानेश्वरमा सानो रेस्टुरेन्ट खोलिन् । भनिन्, ‘आमा र दिदीबाट सिकेको बर्मेली परिकार पकाउने कलामा बिस्तारै रमाउँदै जान थालेँ ।’

सुरुवाती दिनमा रेस्टुरेन्टमा आउने ग्राहक अनेकथरीका बर्मेली परिकारका नाम सुनेरै अनौठो मान्थे । कतिपय हाँस्थे त कतिपय ठट्टा गर्थे । सुरु सुरुका दिनमा त उनलाई ग्राहकलाई परिकारको बारेमा सम्झाउनकै हैरानी थियो । ती दिन सम्झिँदै उनी सुनाउँछिन्, 'खानेकुराको नाम लिएर के हो यस्तो ? यस्तो नामै नसुनेको खानेकुरा के खाने भन्थे । तर खाएकाहरुबाट भने राम्रो प्रतिक्रिया पाउँथे ।' फरक नाम र फरक स्वादका बर्मेली परिकारले धेरैको मन जित्दै गयो ।

सामाजिक सञ्जाल उति धेरै नचलाउने उनले एकाध फुड ब्लगरहरुले त्यहाँ पाइने परिकारबारे फुड रिभ्यु गरिदिएपछि आफ्नो रेस्टुरेन्ट टिकटक, फेसबुक, इन्स्टाजस्ता सामाजिक सञ्जालमा भाइरल भएको बताइन् । 

उनलाई आफ्नो रेस्टुरेन्ट राम्रोसँग चल्नुका पछाडि नयाँ स्वाद भएर मात्रै नभइ सफाइ र ताजा परिकार भएकाले पनि हो भन्ने लाग्छ । भनिन्, 'हाम्रो रेस्टुरेन्टमा किचन खुल्ला छ । हामीले परिकारहरु कसरी बनाइरहेका छौँ ? के-के प्रयोग कसरी गरिरहेका छौँ त्यो सजिलै हेर्न मिल्छ ।' उनले बर्मेली परिकारका निम्ती मैदा प्रयोग नगर्ने बरु चामल र चनाको पिठो प्रयोग गर्ने बताइन् । उनीकहाँ चामलको पिठोबाट बन्ने चाउचाउदेखि चनाको पिठोबाट बन्ने परिकार धेरैको रोजाइमा छ । 

सुरुवातका दिनमा रेस्टुरेन्ट सम्हाल्नेमा उनी र श्रीमान् मात्रै हुन्थे । अहिले त तीन जना कर्मचारी पनि थपिएका छन् । ती कर्मचारीले उनलाई सघाउने मात्रै गर्दैनन्, गीताबाट बर्मेली परिकार बनाउने तरिका पनि सिकिरहेका हुन्छन् । रेस्टुरेन्टमा सबैभन्दा चल्तीमा छ, बर्माको राष्ट्रिय परिकार, मोहिँगा । उनका अनुसार जसलाई माछाको स्वाद मनपर्छ उसलाई यो परिकार पक्कै मनपर्छ । 

थोपु नुए गीताको रेस्टुरेन्टको सबैभन्दा मन पराइने अर्को परिकार हो । यसमा चनाको पिठोको बन्ने क्रिमी सुप र ‘राइस नुडल्स’हुन्छ । गीताका अनुसार  जाडोमा या पानी परेको बेलामा धेरै ग्राहकले थोपु नुए रुचाउँछन् । Geeta tasting Burmeseथोपु नुए

तोफु, खाउ स्वे थोक, मिक्स पकौडा उनीकहाँ सबैभन्दा धेरै बिक्री हुने परिकार हुन् । उनीकहाँ आउने धेरैले फालुदा खान भने छुटाउँदैनन् । गर्मीयाममा सबैभन्दा बढी मन पराइने दूधबाट बन्ने यो पेय पदार्थ काजु, बदाम, फलफूल, साबुदाना, जेली, आइसक्रिम र दुध मिसाएर बनाइन्छ । उनले अरु परिकार खाएपछि डेजर्टका रुपमा फालुदा खानेहरु धेरै हुने बताइन् । Geeta tasting Burmese
फालुदा
अहिले उनको रेस्टुरेन्टमा ८ थरीका बर्मेली परिकार पाक्ने गर्छन् । आउँदा दिनमा मेनुमा अरु परिकार पनि थप्ने उनको योजना छ । थाइल्यान्ड र बर्माबाट सामान ल्याएर काठमाडौंमा बर्मेली स्वाद चिनाउनु सजिलो काम भने होइन् । उनले उताबाट आउने चिनेजानेका मान्छेहरुबाट रेस्टुरेन्टका लागि सामान ल्याउने गरेको बताइन् । 

उनको रेस्टुरेन्ट वरपर धेरै कलेजहरु भएकाले पनि उनीकहाँ आउने ग्राहक धेरैजसो विद्यार्थी हुने गर्छन् । उनले भनिन्, '१८० देखि २५० मूल्य भनेको धेरै पनि होइन नि ।' त्यसो त उनीकहाँ नाम चलेका सेलेब्रिटीदेखि विदेशीसमेत आउँछन् । उनले खुसीको भावमा सुनाइन्, 'हामीकहाँ आउनेहरु फर्की फर्की आउनुहुन्छ त्यो  कुराले सबैभन्दा धेरै खुसी मिल्ने रहेछ ।' 

आरती पौडेल

Link copied successfully