जहाँ चियासँगै कप पनि खान मिल्छ

स्नातक पढ्दाका सहपाठी व्यावसायिक साझेदार बनेका छन् । तर, यो नाफा आर्जनको उद्देश्यले खोलिएको चिया पसल होइन । उनीहरूले ६ महिना लगाएर गरेको अनुसन्धानको प्रयोगात्मक गरिरहेका छन् । 

असार ५, २०८२

अनुप पौडेल

Where you can have a cup along with tea

कास्की — ‘एउटा भेनिला, एउटा चक्लेट फ्लेबरको चिया बनाइदिनुस् न !’ एकातिर अर्डर लिनेबित्तिकै फेरि अर्को टेबलबाट यसरी बोलावट आइहाल्छ । गत जेठ १० यता पोखराको पृथ्वीनारायण क्याम्पस गेटको एउटा चिया पसल बिहानदेखि बेलुकासम्मै ग्राहकले भरिभराउ हुन्छ । चिया पिउन भीड हुनुको कारण हो – चिया पिउने कप । चिया पिएको कप खान मिल्ने भएकाले ‘चिया चपाउ’ले धेरैको ध्यान खिचेको छ । 

कपजस्तै यो पसल सुरूवात र चर्चाको किस्सा पनि त्यति नै रोचक छन् । एउटा भिडियोकै कारण ‘चिया चपाउ’ले रातारात चर्चा कमायो । तर, यो नाफा आर्जनको उद्देश्यले खोलिएको चिया पसल होइन । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा उद्यमशीलतामा स्नातक अध्ययनरत मञ्जु तिवारी, स्तुति थापा, नम्रता पौडेल र यनिका भट्टराईले अनुसन्धानको प्रयोगात्मक गर्न यो पसल खोलेका हुन् । ‘पढाइकै सिलसिलामा हामीले चिया व्यवसायबारे ६ महिना लगाएर अध्ययन गरेका थियौं । त्यो अध्ययनअनुसार आठौं सेमेष्टरमा ६ महिना व्यवसाय गर्नुपर्ने हुन्छ,’ नम्रताले सुनाइन्, ‘६ महिनालाई गरेको काममा यस्तो भीडभाड होला भन्ने कल्पना नै थिएन ।’ 

सातौं सेमेस्टरमा क्याम्पसमा नयाँ व्यवसायको बिजनेस प्लान बुझाउनुपर्ने थियो । त्यसमा दुई वटा विषयमा ध्यान दिन भनियो । पहिलो- वातावरणमैत्री व्यवसाय । दोस्रो- चल्तीको व्यवसायभन्दा फरक । यसपछि चार जनाको समूहले अध्ययनको विषय खोज्न थाल्यो । 

काठमाडौंमा जस्तै पोखरामा पनि थरीथरी नाम दिएर चिया पसल खुल्न थालेका छन् । उनीहरूले पोखरामा चिया व्यापारको सम्भावना र समस्याबारे अनुसन्धान गर्ने निधो गरे । अरूले पनि बेचिरहेको चियालाई कसरी फरक बनाउने ? चार साथीले वातावरणमैत्री र नवीनतम योजना खोज्न घोत्लिए । ‘गुगलसँग चिया पसल गर्न इनोभेटिभ आइडिया माग्यौं । त्यहाँ इडिबल कप (खान मिल्ने कप) भेटियो,’ मञ्जुले भनिन् । 

Where you can have a cup along with teaसातौं सेमेस्टरमा ६ महिना लगाएर चियामै अनुसन्धान सकियो । भारतबाट ‘इडिबल कप’ मगाएर प्राध्यापकलाई चिया पिलाए । अनुसन्धानपछि त्यतिबेला आधा काम सकियो । आठौं सेमेस्टर सुरू भयो । यसमा अघिल्लो सेमेस्टरकम गरेको अनुसन्धानअनुसार ६ महिना व्यवसाय गर्नुपर्थ्यो । अनुसन्धान मात्र गर्दा र व्यवसाय नै गर्दा हुने फरक विद्यार्थीलाई अनुभव गराउन प्रयोगात्मक गर्न भनियो । 

सबैले घरमा सोधे । पढाइकै विषय भएकाले पसल खोल्न सबैले अनुमति पाए । मञ्जुलाई आमा-बुवाले सोधेका थिए- त्यत्रो एक सय डिग्री तातो हाल्दा नपग्लिएको कप पेटमा गएसी कसरी पग्लिन्छ ? उनले कप मकै, गहुँबाट बन्ने जानकारी गराइन् । चिया हालेपछि ‘इडिबल कप’को आयु आधा घण्टा हुन्छ । आधा घण्टासम्म चिया नपिए कप पग्लिन्छ ।   

Where you can have a cup along with teaचिया पसल त खोल्ने तर कहाँ ? ‘इडिबल कप’ मा ग्राहकको चासो र प्रतिक्रिया बुझ्नु थियो । ६ महिनाको व्यवसाय भएकाले धेरै ठाउँ पनि चाहिएको थिएन । सुरूमा पोखराको जिरो किलोमिटरमा ६ महिनालाई व्यवसाय गर्न सटर खोजे । त्यहाँ खोजेजस्तो ठाउँ पाइएन । यसपछि उनीहरू बगर पुगे जहाँ त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पस छ । उनीहरूलाई लाग्यो- क्याम्पस पनि छ, मान्छेको चाप पनि छ, विद्यार्थीले गरेको भनेपछि विद्यार्थी पक्कै आउलान् । 

तीन दिन लगाएर सटर खोजिरहँदा नाम जुराइसकेका थिए । चिया पिउने, कपलाई खान मिल्ने भएपछि हाँसो मजाकमै ‘चिया चपाउ’ नाम जुरेको थियो । यो नाम नै अहिले ग्राहकको धेरै चाप हुनुको कारण भएको मञ्जुले सुनाइन् । ‘चिया चपाउ नाम नै यूनिक भयो । अहिले कहाँ रहेछ ठाउँ भनेर कति धेरैको म्यासेज आइरहेको छ,’ उनले भनिन् । विद्यार्थीले खोलेको चिया पसल भएकैले धेरै विद्यार्थी नै ग्राहक बनेर चिया पिउन पुग्ने गरेका छन् । 

‘चिया चपाउ’ खुल्दासम्म चार जनालाई अहिलेजस्तो भीड होला भन्ने कल्पना थिएन । त्यसैले उनीहरूले दुई वटामात्र टेबल, कुर्सी राखेर साँघुरो ठाउँ रोजेका थिए । जेठ १० मा चार जनाले सँगै सटर खोले । नरिवल फोडे । यसपछि पाठशालाको सिकाइलाई व्यावहारिक बनाउन ‘चिया चपाउ’ खुल्यो । त्यो दिन सबैले परिवारका सदस्यलाई बोलाएका थिए । सबैलाई चिया चखाए । ओपनिङ सकियो । राति सुत्नुअघि मञ्जुले मोबाइलमा दिउँसो खिचेका भिडियो हेर्न थालिन् । भिडियो जोडजाम गरेर टिकटक र इन्स्टाग्राममा पोस्ट्याइन् । क्याप्सन राखिन् – चिया चपाउन कहिले आउने ?

बिहान उठेर इन्टरनेट खोल्ना साथ मोबाइलमा नोटिफिकेसन लगातार बजिरहृयो । टिकटकमा नसोचेको लाइक, कमेन्ट र भ्युज देख्दा मञ्जु अलमलमै परिन् । ‘यति धेरै नोटिफिकेसन आयो कि म आफैं कन्फ्युज भएँ । भिडियो त रातभरमै भाइरल भएछ । त्यो हेरेपछि कन्टेन्ट क्रिएटरहरू आफैं आउनुभयो,’ उनले सुनाइन् । 

रातभरमै भिडियोमा १२ लाख भ्युज गएको थियो । हालसम्म उक्त भिडियो ४७ लाख पटक हेरिएको छ । भिडियो भाइरल हुँदाको दिन जेठ ११ मा खासै ग्राहक आएनन् । त्यसको भोलिपल्टदेखि चाप यस्तो हुन थाल्यो कि चार जनाले खाना खाने फुर्सद पनि पाउन छोडे । यसरी भीड हुनुको कारण चिया, कप र चियामा पाइने स्वाद हो । ‘चिया चपाउ’ मा इलाइँची, चक्लेट र भेनिला फ्लेबरको चिया पाइन्छ । चियाको कपमा पहिल्यै यो फ्लेबर मिसिएको हुन्छ । जब कपलाई खान थालिन्छ त्यसमा स्वाद भेटिन्छ । ‘गुलियो मन नपराउनेले इलाइँची खानुहुन्छ । नभए चक्लेट फ्लेबर धेरै जान्छ,’ नम्रताले भनिन्, ‘बुवाहरुले हामी सुगरको बिरामीलाई हुने सुगर फ्री पनि ल्याउनपर्‍यो भन्ने भएको छ । त्यसबारे सोच्नपर्ला ।’

भेनिला फ्लेबर चियाको प्रति कप ६५, इलाइँची र चक्लेट फ्लेबरको समान ६०–६० रुपैयाँ मूल्य छ । चियामात्र बेचेर मासिक खर्च धान्न गाह्रो हुने अनुसन्धानले देखाएको थियो । त्यसैले उनीहरूले चाउचाउ, चटपट पनि बिक्री गर्छन् । तर, धेरैको रोजाइ चिया नै रहने गरेको छ । दैनिक कम्तीमा ५० देखि १ सय ३० वटासम्म समूह चिया पिउन ‘चिया चपाउ’ पुग्छन् । चिया राख्ने कप भारतबाट आयात गर्ने गरेको मञ्जुले बताइन् । 

पोखरा विश्वविद्यालयले कोभिड–१९ पछि उद्यमशीलता विकासमा स्नातक पढाइ थालेको थियो । पहिलो ब्याचमा ३१ जना भर्ना थिए । आठौं सेमेस्टरमा आइपुग्दा २१ जना छन् । सुरूमा त अहिले ‘चिया चपाउ’ खोल्ने चारै जनालाई व्यर्थै पढिएछ भन्ने लागेको थियो । अहिले जब उद्यमशीलताबारे बुझे, आफैं उद्यमी बने यो विषय पढाइको महत्व बुझेका छन् । ‘सरसँग हजुरहरूले भनेर यो विषय पढ्यौं, अब काम पनि पाइँदैन भनेर रिसाउँथ्यौँ । पढ्ने र गर्ने त फरक हुन्छ । तर अहिले त ठिकै छ,’ नम्रताले सुनाइन् । 

६ महिनापछि ‘चिया चपाउ’ के हुन्छ ? यो प्रश्नको जवाफ चारै जनासँग छैन । ६ महिना अध्ययनमै बिताउने र त्यसपछि मात्र निरन्तरता दिने–नदिनेबारे निर्णय गर्ने उनीहरूको योजना छ ।   

अनुप

Link copied successfully