साउदीको पाँचतारे होटलका 'पेस्ट्री सेफ' : जुजु धौबाट केक बनाएर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन चाहन्छन्

आबुधाबीको होटलमा सामान्य कामदारका रुपमा छिरेका सरोज निरन्तरको मेहनत र अवसरलाई समयमै छोप्दै अघि बढ्ने स्वभावका कारण निरन्तर प्रगतिको बाटोमा

जेष्ठ २६, २०८२

विद्या राई

'Pastry safe' of a five-star hotel in Saudi Arabia: Juju wants to make cakes from Dhow and deliver them to the international market

काठमाडौँ — तीन दशकअघिको कुरा त हो, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखराका सरोज थापा एसएलसीको पढाइ सकेर काठमाडौं हान्निएको । ‘त्यतिबेलाको समय नै त्यस्तै थियो,’ सरोजले सम्झिए, ‘एसएलसीपछि कमाउन जानुपर्छ भन्ने ।’

काठमाडौं आएर कालीमाटीको एक आइसक्रिम पसलमा मासिक आठ सय तलबमा काम गरेका यिनै सरोज संघर्षको लामो बाटो हिँडेर अहिले अन्तर्राष्ट्रिय परिचय भएका पेस्ट्री सेफ भएका छन् । कतार, कुबेत, यूएई, साउदी अरब र ओमानसम्मका पाँचतारे होटलमा अनेक भूमिकामा काम गरेका सरोजको लोभलाग्दो सफल वर्तमानभित्र संघर्ष र मेहनतको लामो कथा लुकेको छ ।

२०५४ सालमा बाआमाबाट तीन सय रुपैयाँ खर्च थापेर काठमाडौं छिरेका सरोज आफन्तकहाँ बसेर सोह्रखुट्टेस्थित सरस्वती क्याम्पसमा ‘नाइट सिफ्ट’ मा आइकम भर्ना भए । अनि पढाइखर्च जुटाउन आइसक्रिम पसलमा काम थाले । त्यही बेला उनले थाहा पाए, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले होटल म्यानेजमेन्ट तालिमका लागि भर्ना खोलेको खबर । उनले सुनाए, ‘भर्ना गर्न पैसा थिएन । साहुले तलबबाट काटेर सहयोग गर्ने भएपछि मैले पढ्न पाएँ ।’

ती दिन उनी १० देखि ४ बजेसम्म नाथममा पढ्थे । त्यसपछि राति अबेरसम्म आइसक्रिम पसलमा काम गर्थे । नौ महिने तालिमकै क्रममा उनको सरस्वती क्याम्पसको पढाइ छुट्यो । तालिमपछि उनले मासिक ६ सय रुपैयाँ पाउने गरी त्यतिबेलाको चल्तीको लाजिम्पाटस्थित सांग्रिला होटलमा इन्टर्नसिप गर्न पाए ।

काम थालेपछि दुई साताको कुरा हो । विदेशी पाहुना बेलुकाको खाना खाइरहेका थिए । अचानक बत्ती गयो । अन्धकार छायो । त्यही बेला सिलिन्डर ग्यासबाट बल्ने बत्ती बालेर उज्यालो पारे । पाहुना खुसी भए । फटाफट काम गरेर पाहुना खुसी बनाएको भन्दै होटलको मानव संशाधन शाखाले उनलाई कर्मचारीका रुपमा नियुक्त गर्‍यो । अनि त उनको तलब पुग्यो, मासिक २६ सय रुपैयाँ ।

तर यो काममा उनी अडिएनन् । सन् २००१ मा दाइ पर्ने आफन्तको सम्पर्कबाट यूएईको आबुधाबीस्थित होलिडे इन होटल (पहिले स्यान्डस् होटल) पुगे । ‘सर्भिस’ को काम थाले । नाथममा पढेकाले रुचि त उनको सेफसँगै काम गर्ने थियो । ‘मलाई रुचि त बेकरी र पेस्ट्री आइटम बनाउने थियो,’ ती दिन सम्झिँदै उनले सुनाए ।

ड्युटीको काम सकेपछि उनले ओभरटाइम भान्छाभित्र छिरेर यही काम गर्न थाले । यही सीपले नै उनलाई अघि बढ्ने बाटो खोलिदियो । सुरुका तीन वर्ष उनले त्यही होटलमा काम गरे । ‘सर्भिस’ को कामबाट सुरु भएको उनको यात्रा सेफसम्म पुग्यो । उनी यतिमै अडिएनन् । राम्रो अवसर खोज्दै र सम्पर्क बढाउँदै गए ।

स्यान्डस्‌मा काम थालेको तीन वर्षपछि उनले आबुधाबीकै इमिरेट्स प्यालेस होटलमा काम पाए । उनले सुनाए, ‘तलब सेवासुविधा राम्रो भएकैले काम फेरेँ ।’

त्यहाँ फ्रेन्च, जर्मनी, श्रीलंका, भारत, मेक्सिकोका सहकर्मी थिए । एक्लो नेपाली भए पनि उनले विदेशीहरुसँग काम सिक्नमा कुनै कन्जुस्याइँ गरेनन् । इमिरेट्समा काम गर्दाको एउटा क्षण उनी भुल्दैनन् । पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस २००८ मा यूएई भ्रमणमा पुगेका बेला उनी कार्यरत इमिरेटस् प्यालेसमा तीन दिन बसेका थिए । शक्तीशाली देशका राष्ट्रपतिको सेवामा खटिएको त्यो क्षण उनी अझै सम्झिरहन्छन् ।

इमिरेट्सको पेस्ट्री बनाउने विभागमा उनले तनमनले काम सिके । निरन्तरको मेहनत नै उनले जानेको सफलताको सूत्र थियो । त्यही भएर त उनी एकाध वर्षमै दुईपल्ट बढुवा भए अनि भए, सहायक सुपरभाइजर । त्यहाँ साढे तीन वर्ष काम गरेपछि उनी दुबईमा भर्खरै खुल्न लागेको पाँचतारे होटल बन्यान ट्रीमा सुपरभाइजर भएर गए । ६ महिनापछि नयाँ अवसरको खोजीमा उनी पुगे, ओमानको पाँचतारे क्राउन प्लाजा ओपनिङमा । एक वर्ष त्यहाँ काम गरेपछि उनी कतारको दोहास्थित रिट्ज क्याल्टोर्न होटलमा सिनियर सेफ पदमा काम गर्ने गरी गए । त्यहाँबाट पनि उनको यात्रा रोकिएन् ।

त्यहाँबाट उनी पुगे, कुवेतमा प्रि–ओपनिङ हुन लागेको मिसोनी कुवेत कार्लसोल होटलमा । यहाँ भने उनले पेस्ट्री बेकरी सुसेफका रुपमा काम गरे । अढाई वर्ष काम गरेर त्यही चिनजान भएको एक स्पेनिस सेफले उनलाई कतारकै पाँचतारे डब्लु दोहा होटलमा सहायक पेस्ट्री सेफ भएर काम गर्न जाने प्रस्ताव राखे । त्यहाँ एक वर्ष काम गरेपछि स्पानिस सेप साथीकै प्रस्तावमा प्रि–ओपनिङ हुन लागेको दुबईस्थित होटलमा कामको अफर पाए । त्यहाँ अढाई वर्ष काम गरेर दुबईकै अर्को होटल सोफिटेल डाउन टाउनमा पुगे, पेस्ट्री सेफको प्रमुख जिम्मेवारीमा । 

त्यहाँ साढे चार वर्ष काम गरेपछि उनी बिदामा काठमाडौं फर्केका थिए । तर कोभिड महामारीले उनी यतै अड्किए । पाँच महिनापछि उनी कार्यस्थल त फर्किए तर होटलको व्यवसाय खस्किसकेको थियो । उनलाई होटल व्यवस्थापनले आधा तलबमा काम गर्न वा पाँच महिनाको तलब लिएर जान विकल्प दियो । पाँच महिनाको तलब बुझे र पुगे, दुबईको एक होटलमा । जुन तीन महिनापछि प्रि–ओपनिङ हुँदै थियो । 

'Pastry safe' of a five-star hotel in Saudi Arabia: Juju wants to make cakes from Dhow and deliver them to the international market

दुबईमा काम गरिरहेका बेला साउदीमा पहिले काम गर्दा चिनजान भएको साथीले साउदी अरबको दमामस्थित युरोपियन लक्जरी होटल ग्रुपको केम्पेस्की होटलमा कामको अफर गर्‍यो । एक्जुकेटिभ पेस्ट्री सेफको जिम्मेवारीसहित राम्रो तलब सुविधा पाउने भएपछि त्यहीँ अडिए । अहिले पनि यहीँ कार्यरत छन् ।

आबुधाबीको होटलमा सामान्य कामदारका रुपमा छिरेका सरोज निरन्तरको मेहनत र आएका अवसरलाई समयमै छोप्दै अघि बढ्ने स्वाभावका कारण प्रगतिको बाटोमा छन् । मासिक लाखौंको तलब बुझ्ने उनी कमाइबाट भन्दा पनि नयाँनयाँ काम सिक्ने अवसर र संसारका लब्ध प्रतिष्ठित अतिथि सत्कारको काम गर्न पाएकामा सन्तुष्ट देखिन्छन् । 

सात बर्षअघि यूएई बस्दा उनले त्यहाँका व्यावसायिक सेफहरुको संगठन ‘दि इमिरेट्स कुलिनरी गिल्ड’ को प्रतिनिधित्व गर्दै जर्मनीमा पेस्ट्री जज (निर्णायक मण्डल सदस्य) हुने मौका पाए । विश्वभरका ‘इन्ट्री लेभल’ का सेफ सहभागी हुने यो प्रतियोगिता हरेक वर्ष युरोपका विभिन्न देशमा ‘वर्ल्ड एसोसिएसन अफ सेफ्स सोसाइटीज’द्वारा आयोजना हुने गर्छ । निर्णायक मण्डल सदस्यले प्रतियोगितामा सहभागी सेफले बनाएका परिकार चाखेर अंक दिन्छन् । धेरै अंक ल्याउने प्रतिस्पर्धीले ‘दि वर्ल्डस् बेस्ट पेस्ट्री सेफ’ को उपाधि पाउँछन् । त्यहीँ गएका बेला उनले जर्मन बेकरी बनाउने एकमहिने तालिम (डिप्लोमा इन बेकरी) लिने मौका पनि पाए ।

संसारका जुन कुना दौडे पनि सरोजलाई नेपालभित्रै पनि केही काम गर्ने र आफूले जानेको सीप सिकाउने हुटहुटी छ । त्यही हुटहुटीले गर्दा युरोप र अमेरिकन स्ट्यान्डर्डको बेकरी र चकलेटको फ्याक्ट्री खोल्ने योजना बनाएका छन् । नेपाली उत्पादनका रुपमा ब्रान्डिङ गर्ने गरी आउने साउनबाट ‘बेक जुजु धौ केक’ सुरुवात गर्दै छन् ।

छुट्टीमा नेपाल आएको मौका पारेर उनले दुई वर्षदेखि परिवारका सदस्यसँग यसमा अध्ययन र ‘ट्रायल’ गरिरहेका थिए । भन्छन्, ‘मेरी श्रीमतीले हृयान्डल गर्ने गरी आउने साउनबाट काठमाडौंमा नै सुरुवात गर्दै छौं, त्यसमा थप गर्नुपर्ने कामका लागि तीनचार महिनामा नेपाल आएका बेला सघाउँछु ।’ भक्तपुरे जुजु धौबाट तयार गरिने यो केकलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सोच उनले राखेका छन् ।

विद्या विद्या राई कान्तिपुरकी संवाददाता हुन् । उनी जलवायु र लैगिंकता, मानवअधिकारलगायत सामाजिक मामिला सम्बन्धी विषयमा समाचार तथा लेख लेख्छिन् ।

Link copied successfully