'लमजुङ लोकतारा'को उपाधि मनबहादुरलाई

जेष्ठ २५, २०८२

आश गुरुङ

The title of 'Lamjung Loktara' to Man Bahadur

लमजुङ — लमजुङका युवा गायक मनबहादुर गुरुङ (रञ्जित) ले बेँसीसहरमा आयोजित लमजुङ लोकतारा २०८२ को उपाधि जितेका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका-५ सञ्जापूका गुरुङले ३४ जना प्रतिस्पर्धीलाई पछि पार्दै लमजुङ लोकताराको उपाधि हात पारे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङले आयोजना गरेको लमजुङ लोक तारा २०८२ एकल लोकगायन प्रतियोगितामा ५० भन्दा बढीले सहभागिता जनाएका थिए । शनिबार अबेर सकिएको प्रतिस्पर्धामा प्रथम गुरुङले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाए । प्रतियोगितामा दोर्दी गाउँपालिका-३ श्रीमञ्ज्याङका युकेश परियार दोस्रो बने । उनले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र पाए । प्रथम र द्वितीयले पोखरामा आयोजना हुने गण्डकी तारामा प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले बताए ।

प्रतियोगितामा तेस्रो बनेका बेँसीसहर नगरपालिका-११ चितीका विशाल सुनारले नगद १० हजार, ट्रफी र प्रमाणपत्र पाए । मर्स्याङ्दी गाउँपालिका-२, घनपोखरा भाचेका हस्त सेञ्चुरी र सोही ठाउँकी आसमाया विकले सान्त्वना स्थान प्राप्त गरे ।

विजयीलाई वरिष्ठ लोक गायिका माया गुरुङ, प्रतिष्ठानका केन्द्रीय सचिव शंकर ‘विरही’ गुरुङ, केन्द्रीय सहसचिव तारानाथ आचार्य, गण्डकी प्रदेश महिला उपाध्यक्ष मञ्जु विक, जिल्ला अध्यक्ष अनुज अधिकारी, पुरस्कार प्रायोजक बमबहादुर विकलगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमको उद्घाटनमा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रीता थापा मगरले नेपाली लोक गीत संगीतको संरक्षण र संवर्द्धनमा सर्वपक्षीय सहयोग र चासो आवश्यक रहेको बताइन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully