दाङ — अहिले स्थानीय तहमा योजना बनाउने चटारो छ । नयाँ आर्थिक वर्षका लागि के कस्ता योजना बनाउने भन्ने विषयमा छलफल चलिरहेका छन् । यही सन्दर्भमा युवाले स्थानीय तहका आगामी योजनामा समावेश गर्नुपर्ने सवालमा छलफल थालेका छन् ।
उनीहरुले स्थानीय तहअनुसार युवाका समस्या र समस्या सम्बोधनमा गर्नुपर्ने कार्यक्रमको रुपरेखा तयार परिरहेका छन् । दाङ, कपिलवस्तु र सल्यानका सात स्थानीय तहका युवा घोराहीमा जुटेर स्थानीय तहमा बन्दै गरेका योजनामा युवाको येजना समावेश गर्ने उपाय खोजिरहेका छन् ।
यसका लागि उनीहरुले स्थानीय तहका प्रमुखसँग बैठक गरेर योजनाबारे जानकारी गराउने गरेका छन् । यसबाट स्थानीय तहका योजनामा युवाका सवाल समावेश गर्न सहज हुने विश्वास लिइएको छ । स्थानीय तहको योजना निर्माण प्रक्रियामा युवाको सहभागिता बढाउन युवालय र आईएम स्विडिस डेभलपमेन्ट पार्टनरले युवाको क्षमता विकासका काम गरिरहेका छन् ।
स्थानीय सरकारका योजना निर्माण प्रक्रिया सिक्न युवाले स्थानीय तहमा नगरसभा र स्थानीय छाया सरकार सञ्चालनको अभ्यास समेत गरेका छन् । युवाहरुमा राजनीतिक रुचि कम भइरहेको र राजनीतिप्रति नकारात्मक भावना विकास भइरहेको सन्दर्भमा यस्तो अभ्यास गरिएको हो ।
स्थानीय समस्या उठान गर्दै स्थानीय सरकारसँग मिलेर समाधान गर्न युवाले छाया सरकारमार्फत सिकिरहेका छन् । स्थानीय तहले कसरी काम गर्छन् ? स्थानीय कार्यपालिका र सभाको काम कारबाही कसरी हुन्छ ? अधिकांश युवा यसबारे जानकार छैनन् । भविष्यका जनप्रतिनिधि युवाले स्थानीय सरकार सञ्चालनको तरिका सिक्ने मञ्चका रुपमा सभा र सरकारको नमुना अभ्यास गरेका हुन् ।
नीति तथा कार्यक्रम र बजेट प्रस्तुति गर्नुका साथै त्यसमा प्रश्नोत्तर गर्ने काम पनि युवाहरुले गरिरहेको घोराहीकी छाया सरकार प्रमुख करुणा पौडेलले बताइन् । छाया सरकारको प्रत्येक महिना बैठक बसेर स्थानीय र युवाका सवालमा छलफल गरी स्थानीय तहसमक्ष पेस गर्ने गरेको उनले बताइन् ।
यस्तो अभ्यास घोराहीका साथै दाङको लमही नगरपालिका, सल्यानको कपुरकोट गाउँपालिका र कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा पनि गरिएको युवालयकी परियोजना संयोजक विधा विष्टले बताइन् ।
युवालाई परिवर्तनको शक्ति बनाउन उनीहरुको क्षमता विकाससँगै स्थानीय योजना निर्माणमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने युवालयका अध्यक्ष धर्मराज रिमालले बताए ।
युवालाई नेतृत्व विकास र योजना निर्माणबारे लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी र सरोज खनालले मार्गदर्शन गरे । युवाहरुले आफ्ना सवाल पहिचान गर्दै त्यसका योजना बनाएर स्थानीय तहसमक्ष ज्ञापनपत्र बनाएर कसरी बुझाउने भन्ने सीप पनि सिकेका छन् ।
