नोरासँगै नाचे नेपाली

जेष्ठ ४, २०८२

रासस

Nepali danced with Nora

काठमाडौँ — बलिउड कलाकार तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकलाई मन्त्रमुग्ध पारिन् । 

नोराले कार्यक्रममा नेपाली कला र आतिथ्यताको बारम्बार प्रशंसा गरिन्  । उनले नेपाल र नेपालीबाट आफ्ना गीतले पाएको अपार माया आफ्ना लागि ऊर्जाको स्रोतसहित अविस्मरणीय रहेको बताइन् । 'नेपाली कलाकारहरूले मेरा गीतमा गर्नुहुने नृत्य प्रस्तुतिसँग राम्रोसँग परिचित छु र उहाँहरूका ‘डान्स क्लिप’हरू पनि हेर्ने गर्छु । मेरा केही नेपाली साथीहरू पनि छन्, मलाई नेपालबाट प्राप्त हुने मायाकाबारेमा उहाँहरूले पनि भन्नुहुन्छ,' उनले भनिन् ।

प्रस्तुतिका क्रममा उनले  नेपाली कलाकार सुशान्त खत्रीलाई मञ्चमा बोलाएर सबैलाई चकित पारिन् । त्यसो त कलाकार खत्रीको आगमनबारे दर्शकसँगै आयोजक पनि बेखबर थिए । ‘मेरो नेपाली साथी जो, धेरै प्रतिभावान् छन्’ भन्दै अभिनेत्री नोराले कलाकार खत्रीलाई मञ्चमा स्वागत गरिन् ।  दुवैले ‘गेहरा समन्दर’ गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा ‘हुटिङ’ सहित दर्शकले ताली बजाएर धन्यवाद व्यक्त गरेका थिए ।   

यतिमात्र नभई सामाजिक सञ्जालमा आफ्ना श्रव्यदृश्य तयार पार्ने (कन्टेन्ट क्रिएटर आर्टिस्ट) गौरव सिटौलालाई दर्शककै भिडमा चिनेर नोराले मञ्चमा बोलाएकी थिइन् । उनले दुईले ‘दिलवर’ मा प्रस्तुति दिए । यही जेठ ३ गते शनिबार बिहान आफ्ना दुई सहयोगीसहित काठमाडौं आइपुगेकी कलाकार नोरा आज आइतबार बिहान संयुक्त अरब इमिरेटस् प्रस्थान गरिन् । 

रासस

Link copied successfully