जसले नेपालमा बैंक, वित्तीय संस्था र कार्यालयका कागजात सुरक्षित राखिदिन वेयर हाउस बनाए र ब्याट्रीको दिगो समस्या समाधान गर्ने गोगोरो स्कुटर भित्र्याए
काठमाडौँ — काठमाडौं, बाफलका सहायु गोयललाई पारिवारिक व्यवसायको नेतृत्व लिन सजिलो थियो । बाबुबाजेले गरिरहेको व्यवसायलाई अघि बढाएर उनले सजिलो बाटो रोजेको भए हुन्थ्यो । हजुरबा हुँदै बुबाले निरन्तरता दिएको व्यवसायमा तेस्रो पुस्ताका रूपमा आफूलाई आबद्ध गराउन सक्थे । तर उनको बानी नै यस्तो भइदियो— सधैं केही नयाँ गरौं ।
‘हाम्रो पारिवारिक व्यवसाय छ, मारुती सिमेन्ट हाम्रै हो,’ सहायु सुनाउँछन्, ‘परिवारले सुरु गरेको भन्दा केही फरक काम गरौं भन्ने लागेर मैले फरक क्षेत्रमा हात हालेको हुँ ।’
त्यही नयाँ गर्ने हुटहुटीले जन्माएको परिणाम हो— बैंक, वित्तीय संस्था तथा कार्यालयहरुका कागजात सुरक्षित राखिदिने डेडिकेटेड वेयर हाउस स्थापना । र, नेपालमा इलेक्ट्रिक स्कुटर गोगोरोको आधिकारिक वितरण ।
अध्ययनको सिलसिलामा बेलायतमा रहँदा केही समय त्यहाँको एचएसबीसी बैंकमा कामसमेत गरेका सहायुलाई नेपाल फर्किएपछि त्यहीँको सिस्टम भित्र्याउन मन लाग्यो । र, उनले बैंकहरुका खातापाता सुरक्षित राखिदिने कम्पनी नेपालमा पनि स्थापना गर्ने सोच बनाए । नेपाल फर्किएपछिको केही वर्षमै त्यो सपना साकार पनि पारे— ‘ब्ल्याक बक्स रेकर्ड म्यानेजमेन्ट’ कम्पनी स्थापना गरेर ।
काभ्रेको पाँचखालमा ५० रोपनी जग्गा लिएर सहायुले वेयर हाउस सञ्चालन गरिरहेका छन् । निर्माण सुरु गरेको ९ महिनामा सम्पन्न भएको ब्ल्याक बक्सबाट काम भइरहेको छ । ‘वेयर हाउस’ ब्ल्याक बक्स सञ्चालनमा आएको तीन वर्ष भइसकेको सहायु बताउँछन् । ‘हामीले सुरक्षाका सबै मापदण्ड पूरा गरेर वेयर हाउस बनाएका छौं, त्यहाँ बाढीपहिरोको जोखिम छैन, हाम्रा संरचना पनि भूकम्पप्रतिरोधी छन्,’ उनले भने, ‘कागजात बिग्रिन नदिन प्राकृतिक भेन्टिलेसन बनाएका छौं ।’
अहिले १० वटा बैंक, १२ वटा बिमा कम्पनी, केही वित्तीय संस्था र दुईवटा सरकारी कार्यालयका कागजात सुरक्षित गरिएको सहायुले जनाए । ‘बेलायतको बैंकमा काम मलाई यत्ति थाहा थियो— कागजात कार्यालयमा राखिँदैन । आउट सोर्सिङबाट कुनै एउटा भेन्डरलाई दिइन्थ्यो,’ सहायुले भने, ‘त्यो थाहा पाउँदाबित्तिकै यस्तो पद्धति त नेपालमा भित्र्याउनुपर्ने रहेछ भन्ने लागिहाल्यो । र, नेपाल आएर यो काम अघि बढाएँ ।’
नेपाल आएपछि सहायु र उनको टिमले बैंकहरुमा कसरी कागाजात राखिएको छ, बुझ्न थाल्यो । ‘बैंकहरुमा जाँदा कागजात धेरै हुन्थे, र्याकमा राखिएका हुन्थे, त्यहाँ पनि धेरै भएर कताकति भुइँमा झरेका पनि हुन्थे,’ उनी भन्छन्, ‘कति बैंकको त स्टोर हेर्दा झ्यालको सिसा फुटेको, परेवा छिरेर फोहोर गरेको पनि देखियो, कतै पानी चुहिएको पनि थियो ।’
नेपालमा के र कस्तो कुराको आवश्यकता छ, त्यसअनुसार केही नौलो काम गरौं भन्ने आफूलाई लागेको सहायुले जनाए । ‘बेलायतमा काम गर्दाको अनुभवका आधारमा नेपालका बैंक, वित्तीय संस्था तथा कार्यालयका कागजातलाई वेयर हाउस बनाएर सुरक्षित राखिदिन सकिन्छ भन्ने लाग्यो,’ उनले भने, ‘बेलायतमा काम गर्ने बैंकमा एउटा बक्स आउँथ्यो, हामी त्यसमा कागजात प्याक गरेर राख्थ्यौं, तर बक्स कहाँ जान्थ्यो, थाहा हुँदैनथ्यो ।’
बैंक, वित्तीय संस्था तथा कार्यालयले आफैं वेयर हाउस बनाएर कागजात राख्ने कुरा त्यति उपयुक्त थिएन । ‘बैंकरहरुलाई कागजात सुरक्षित व्यवस्थापन गर्न भनेरै मैले नयाँ अवधारणा ल्याएको हुँ,’ उनले भने, ‘यो संसारभर भएको कुरा हो, नेपालमा मात्र नभएको हो । त्यसैको परिपूर्ति हामीले यहाँ गर्न खोजेका हौं ।’ अमेरिकन कम्पनी आइरन माउन्टेनसँग प्राविधिक सहकार्यमा यसलाई अघि बढाइएको उनले सुनाए । ‘यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा सिस्टम, प्रोसेस र सेफ्टी हो,’ उनले भने ।
बैंक, वित्तीय संस्था तथा कार्यालयले उपलब्ध गराएका खातापातालाई केही मिनेटमै खोजेर दिन मिल्ने गरी सिस्टम बनाइएको सहायुले जनाए । यस्तो सेवा आफूहरुले चौबीसै घण्टा दिने पनि उनको भनाइ छ । अहिले काठमाडौं र वेयर हाउसमा गरेर ३० जनाको टिम यसका लागि खटिएको छ । पर्याप्त मात्रामा सुरक्षाकर्मी छन् । वेयर हाउस यति सुरक्षित छ, जहाँ ग्यास सिलिन्डरसमेत राखिएको छैन । यहाँ काम गर्नेले खाना बाहिरै खानुपर्ने नियम छ ।
त्यति मात्र होइन, वेयर हाउसमा मोबाइल पनि निषेध गरिएको छ । जीपीएस ट्रयाक पनि भएको कम्पनीको आफ्नै गाडी छ । यसले एक्सप्रेस, कुरियर र नियमित सेवामार्फत चाहिएको कागजात उपलब्ध गराउने सहायुको भनाइ छ ।
सहायु कम्पनीको नाम ‘ब्ल्याक बक्स रेकर्ड म्यानेजमेन्ट’ राख्नुको कारण सुनाउँछन् । ‘जहाजमा ब्ल्याक बक्स हुन्छ, त्यो सबैभन्दा सुरक्षित हुन्छ । किनकि दुर्घटना भएका बेला पनि ब्ल्याक्स बक्स नै खोज्ने गरिन्छ,’ उनले भने, ‘जहाँ भएका डाटाहरु जहिल्यै सुरक्षित हुन्छन् । त्यसैले हाम्रो कम्पनीको नाम पनि ब्ल्याक बक्स राखिएको हो ।’
कम्पनीका लागि पाँचखालमा जग्गा पाउनुअघि ठाउँठाउँ भौंतारिनुपर्दाको दु:ख उनले अझै भुलेका छैनन् । भने जस्तो ठाउँ फेला पार्न हम्मे–हम्मे परेको र बल्लतल्ल पाँचखालमा भनेजस्तो जग्गा भेटिएको उनले बताए । यो वेयर हाउसको क्षमता ५ लाख बक्स अट्नेछ । ‘हामीले खातापाता सुरक्षित र सजिलै भेटिने गरी राख्न बार कोडिङ गर्छौं,’ सहायुले भने, ‘बार कोडिङ गरेपछि बक्स बन्द गरेर लक गर्छौं । त्यसमा बैंक र हाम्रो टिमबाट हस्ताक्षर गरिएको हुन्छ ।’
000
सहायुको रुचि हरित ऊर्जातिर पनि छ । अहिले विद्युतीय सवारीमा नेपालीको आकर्षण बढ्दो छ । सबैभन्दा बढी आकर्षण चारपांग्रे सवारीमा छ । चार–पाँच वर्षयता चारपांग्रे विद्युतीय सवारीसाधनको प्रयोग ह्वात्तै बढेको छ । तर दुईपांग्रे ईभी सवारीको प्रयोग कम रहेको उनको बुझाइ छ । यही अवस्थालाई दृष्टिगत गरेर उनले ताइवानी गोगोरोको दुईपांग्रे विद्युतीय सवारीलाई नेपाल भित्र्याएका हुन् ।
नेबुला मोबिलिटी कम्पनीमार्फत यो विद्युतीय सवारी गोगोरोको नेपालमा आधिकारिक वितरण भइरहेको छ । विशेषगरी विद्युतीय सवारीमा मुख्य समस्या भनेकै ब्याट्रीको हो । यही समस्या समाधान गर्न गोगोरो उपयोगी सावित हुने सहायुको दाबी छ । ‘किनभने यो स्कुटर लिएपछि सधैं नयाँ सवारी चढेको अनुभूति हुन्छ,’ उनले भने, ‘ब्याट्री स्वाप गर्ने प्रविधिको सुविधाका कारण यो अरूभन्दा फरक पनि छ ।’
ब्याट्री स्वाप गरेर एक्सचेन्ज गर्ने सुविधा यति बेला काठमाडौं उपत्यकामा उपलब्ध छ । उपत्यकाका ४५ ठाउँमा यस्ता स्वाप सेन्टर रहेको सहायुको भनाइ छ । ‘अहिले नेपालमा गोगोरोको स्कुटरमा मात्र ब्याट्री साट्न पाइन्छ,’ उनले भने, ‘ताइवानमा भने यामाहालगायत ८/१० कम्पनीसँग गोगोरोले ब्याट्री मिलाउने गरी सम्झौता गरेर काम भइरहेको छ ।’
गोगोरोका ग्राहकले जहाँ–जहाँ ब्याट्री स्वाप स्टेसन हुन्छ, त्यहाँबाट ब्याट्री लिन पाउँछन् । ‘गोगोरोका स्कुटर किन्न आउनेले ब्याट्री किन्न पर्दैन, ठाउँ–ठाउँमा राखिएका स्टेसनबाट ब्याट्री साट्दै जाने हो,’ सहायुले भने, ‘ब्याट्रीको चार्ज कम भएपछि नजिकको स्टेसनमा साट्न पाइन्छ ।’
हरेक एकदेखि तीन किमि दूरीमा ब्याट्री स्वाप स्टेसन राखिएको सहायुले सुनाए । काभ्रेको बनेपासम्म स्टेसन राखिएको बताउँदै उनले अहिले दिनहुँ सबै स्टेसनमा गरेर १ सय ५० ब्याट्री साटफेर हुने गरेको बताए । नक्सालमा रहेको गोगोरोको सोरुममा स्कुटरको माग बढ्दै गएको उनको भनाइ छ ।
ब्याट्री सकिएपछि मात्र साट्नुपर्छ भन्ने अनिवार्य छैन । कसले कति किमि स्कुटर कुदाएको छ, एपमै देखिन्छ । फेरि रिचार्ज गरेर अर्को ब्याट्री लिन सकिने उनले सुनाए । तत्काललाई काठमाडौंमा सुरु भएको गोगोरोको सेवा क्रमश: नेपालभर विस्तार गर्दै लगिने उनले बताए । ‘काठमाडौंमा यसलाई सफल बनाएर पोखरा, बुटवल र चितवनमा सेवा विस्तार गर्ने सोचमा छौं,’ उनले भने, ‘त्यसका लागि पहिला स्टेसन राख्छौं ।’
नेपालका विभिन्न राजमार्गमा पनि चार्जिङ स्टेसन राख्ने सोच उनको छ । ‘बढीमा एक वर्षभित्र उपत्यकाबाहिर सेवा विस्तार गर्ने योजनामा छौं,’ उमेरले भर्खर ३० वर्षमा हिँडिरहेका सहायुले भने, ‘त्यसपछि मात्र बाहिरी जिल्लामा पनि बिक्री गर्न थाल्छौं ।’ ब्याट्रीको दीर्घकालीन समस्या समाधान हुने भएकाले ग्राहक अहिलेसम्म सन्तुष्ट भएको उनको दाबी छ । आफूले नेतृत्व लिएको काममा श्रीमती र बहिनीले साथ दिएको सहायु बताउँछन् ।
