लिपफ्रग ह्याकाथनमा पोलिस, एलिभेटएआई र लोन जिनी विजयी

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Polis, ElevateAI and Lone Genie win the Lipfrog Hackathon

काठमाडौँ — स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विवरणहरू (डेटा) लिक हुन रोक्ने एआईमा आधारित प्रविधि ‘पोलिस’ ले लिपफ्रग ह्याकाथन २०२५ को शीर्ष पुरस्कार जितेको छ । अमेजन वेब सर्भिसेस (एडब्लूएस) सँगको सहकार्यमा आयोजित प्रतियोगितामा ‘पोलिस’ समूहले सफ्टवेयर विकासको क्रममा ‘पीएचआई’ भनिने प्रोक्टेक्टेड हेल्थ इन्फरमेसनहरूको सुरक्षा प्रत्याभूति सुनिश्चित गर्ने दाबी गरिएको छ । 

एडब्लुएस सेजमेकरमा आधारित न्याचुरल ल्यांग्वेज प्रोटोकल मोडलमा सञ्चालित पोलिस टुलले कोड सम्पादनदेखि, भर्सन कन्ट्रोल सिस्टम र ब्राउजरमार्फत व्यक्तिका संवेदनशील डेटा चुहावट हुन रोक्ने विज्ञप्तिमा उल्लेख छ । यसले स्वास्थ्य प्रविधिमा कानुनी जोखिम न्यूनीकरण र डेटा सुरक्षामा ठूलो योगदान दिन सक्ने अपेक्षा गरिएको छ ।

‘इम्प्याक्ट थ्रु इन्टेलिजेन्स विद् एडब्लूएस’ भन्ने नारासहित आयोजना गरिएको साताव्यापी ह्याकाथनमा १० वटा टोलीबीच प्रतिस्पर्धा भएको थियो । ह्याकाथनका लागि ८७ जनाले आवेदन दिए भए पनि त्यसमध्ये अमेरिका, युरोप, एसिया प्यासिफिक र नेपालका ६० सहभागी छनोट गरेर १० वटा समूह बनाइएको थियो । उनीहरूले स्वास्थ्य, मानव संसाधन, फिनटेकलगायत क्षेत्रका समस्यामा आधारित रहेर विभिन्न टुल तथा सलुसन तयार पारेका थिए ।  

कार्यालयहरूमा पदोन्नति मूल्यांकन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन ‘एलिभेटएआई’ ले तयार गरेको ‘ग्रोथ एसेस्मेन्ट प्रोग्राम’ नामक प्लाटफर्मले ह्याकाथनमा दोस्रो स्थान हासिल गर्‍यो । अमेजन वेब सर्भिसेसको बेडरक, ओपनसर्च, डाइनामो डीबी र लाम्डा मोडल समावेश गरी यस प्लाफर्मलाई अन्तरक्रियात्मक बनाइएको छ । 

त्यस्तै, अस्ट्रेलियाली आप्रवासीका लागि घर कर्जा प्रक्रियालाई सरल बनाउन डिजाइन गरिएको ‘लोन जिनी’ ले कागजात व्यवस्थापनदेखि बैंकमा आवेदन दिनेसम्मका प्रक्रियालाई स्वचालित बनाउने लिपफ्रगको विज्ञप्तिमा उल्लेख छ । ह्याकाथनमा यस प्लाटफर्मले इन्नोभेटर अवार्ड जितेको थियो । यसलाई पनि अमेजन वेब सर्भिसेसका बेडरक, टेक्स्ट्र्याक्ट, एसथ्रीलगायत मोडलहरू प्रयोग गरी विकास गरिएको हो । 

लिपफ्रगले वार्षिक रूपमा आयोजना गर्ने यो ह्याकाथनमा विभिन्न देशका डेभेलपर, डिजाइनर तथा इन्जिनियरहरूले भाग लिने गरेका छन् । यसमा अमेजन वेब सर्भिसेसका प्रविधिहरूमार्फत दैनिक जीवनका समस्या समाधान गर्ने टुल तथा प्लाफर्म विकास गरिँदै आएको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर संवाददाता

Link copied successfully