६५ दिने कपाल काट्ने निःशुल्क तालिम सिकेपछि अनुषा र सरस्वतीले आफ्नै व्यवसाय गर्ने सोच बनाएका थिए । १२ कक्षा पास गरेपछि उनीहरूले यो काम सुरु गरिहाले ।
काठमाडौँ — कपाल काट्ने काम भनेपछि हाम्रो दिमागमा झट्ट पुरुषकै अनुहार आउँछ । पुरुषको कपाल काट्ने काम त झन् पुरुषले नै गरिरहेको देखिनु सामान्य दृश्य नै हो । तर बर्दियाका गेरुवा गाउँपालिका २ शान्तिबजारका स्थानीयका निम्ति भने यही कुरा फरक छ । किनकि यहाँ २१ वर्षीय अनुषा थारु र २२ वर्षीय सरस्वती थारुले १३ महिनादेखि एएस हेयर कटिङ एन्ड ब्युटी पार्लर खोलेर पुरुषको दाह्री–कपाल काट्नेदेखि महिलाको कपाल काट्ने र सौन्दर्य निखार्न सेवा दिइरहेका छन् ।
एक संस्थाले दिएको ६५ दिने कपाल काट्ने निःशुल्क तालिम सिकेपछि अनुषा र सरस्वतीले आफ्नै व्यवसाय गर्ने सोच बनाएका थिए । १२ कक्षा पास गरेपछि उनीहरूले यो काम सुरु गरिहाले । सफा चट र आधुनिक शैलीमा उनीहरूले सेवा दिन थालेपछि यहाँ दाह्री–कपाल काट्ने र मिलाउने पुरुष सेवाग्राहीको पनि घुइँचो नै लागेको छ । गेरुवा गाउँपालिका–३ का सोमप्रसाद थारुले स्थानीय बहिनीहरुले आधुनिक शैलीमा सेवा दिइरहेको र भनेजस्तै तरिकाले कपाल काट्ने गरेकाले आफूले सधैं यहीँ कपाल काट्ने गरेको बताए ।
सरस्वतीलाई सुरु सुरुका दिनमा पसल खोल्दा चल्दैन कि भन्ने डर मात्रै लागेको थिएन, मान्छेहरूले के भन्ने हुन् भन्ने संकोच पनि लागेको थियो । ‘महिलाले पुरुषको दह्री, कपाल काट्ने काम गरेको कहीँकतै नदेखेकाले पनि सुरु सुरुमा अलि लाज लाग्यो,’ उनले भनिन्, ‘सिकेको सिप प्रयोग गरी काम गर्दै जाँदा बिस्तारै लाजसाज हरायो ।’
सरस्वतीले १२ कक्षासम्म पढ्नका निम्ति पनि ठूलै संघर्ष गर्नुपर्यो । आफ्नो खेतबारी नभएकाले उनका बा आमाले ज्याला मजदुरी गरेर कमाएको पैसा जोगाएर उनको पढाइ खर्च जुटाएको सरस्वतीको सम्झनामा ताजै छ । उनले हर्षित हुँदै सुनाइन्, ‘यो व्यवसाय सुरु गरेर आम्दानी गर्न थालेपछि घरखर्चमा बुबालाई सघाएकी छु । अलि अलि बचत पनि गर्न थालेको छु ।’
सरस्वतीकै जस्तो कथा छ– अनुषाको पनि । किनकि आफ्नो खेतबारी नहुँदा उनका बाआमाले बटैया लिएर खेती किसानी गर्दै उनलाई १२ कक्षासम्म पढाए । बाआमाको दुःख देखेर पनि अनुषालाई आफैंले कमाउन पाए भन्ने मनमा लागिरहेको थियो । ‘दुई दाइपछिको घरकी कान्छी छोरी हुँ,’ उनले भनिन्, ‘आफूले गरेको कमाइबाट बुबाआमालाई सघाउँदा आत्मसन्तुष्टि मिलेको छ ।’
उनीहरूले अहिले औसतमा मासिक ३५ हजार रुपैयाँ कमाइरहेको बताए । उनीहरूले मासिक दुई हजार रुपैयाँ पसलको भाडासहित अन्य आवश्यक सामानको खर्च गरी मासिक ५ हजार रुपैयाँ खर्च हुने र बाँकी रहेको पैसा बराबर बाँड्ने गरेको बताए । अनुषाले भनिन्, ‘थोरै भएपनि आफ्नो कमाइबाट सन्तुष्ट छौँ ।’
