आफू हिँडेको गोरेटोलाई पक्की बाटो बनाउँदै दुई इन्जिनियर

संघर्ष गर्दै इन्जिनियर बनेपछि गाउँकै विकास योजनाको काम गर्न मन पाउँदा उनीहरु औधी खुशी छन्

जेष्ठ १८, २०८२

काशीराम डाँगी

Two engineers making a paved road for the Goretto he was walking on

रोल्पा — रोल्पाका इन्जिनियरद्वय हेमन्त रोका क्षत्री र लोकप्रसाद विष्टलाई घरबाट हिँडेर विद्यालय पुगेको अहिलेजस्तो लाग्छ । उनीहरु कता कता सपनाजस्तो ठानेर अहिले पनि ती दिनको स्मरण गर्छन् । चप्पल लगाएर विद्यालय पुग्दा पसिनाले शरीर असिनपसिन भएको स्मृति ताजा भएर आउँछ । इन्जिनीयरद्वय रोका क्षत्री र विष्टका लागि ती दिन निकै स्मरणीय लाग्छन् । ज्यादै दुःख गरेर विद्यालय पुगेको र शिक्षा हासिल गरेको याद उनीहरुका सामुन्ने ताजा भएर आइपुग्छ यतिबेला ।

उनीहरुलाई सबैभन्दा ज्यादा खुशी त्यतिबेला लाग्छ, जतिबेला उनीहरु आफैं हिँडेका गोरेटो बाटोलाई यतिबेला पक्की सडक (कालोपत्र गरिएको सडक) बनाउने योजनामा साथै काम गर्छन् । पूर्वी रोल्पाको सुलिचौर बजार आसापासका सडक योजना निर्माणमा संलग्न हुन पाउँदा ती दुवैलाई धेरै आनन्द पनि लाग्छ । रोल्पाका लागि प्रदेश सरकार र संघीय सरकार मातहतका सडक योजनाको डिजाइन, कार्यान्वयन र अनुगमन गर्ने मौका मिलेपछि उनीहरु यतिबेला निकै खुशी पनि छन् । 

रोल्पा लिबाङस्थित सडक पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियरद्वयको रोल्पासहित प्यूठान र रुकुम पूर्वसम्मको कार्यक्षेत्रमा काम गर्ने जिम्मेवारी छ । करिब ५ वर्षअघि स्थापना भएको उक्त कार्यालयबाट यस क्रममा तीन जिल्लामा २० वटा झोलुङ्गे पुल, ८ वटा पक्की सडक पुल र ३ सय किलोमिटरभन्दा लामो सडक निर्माण गरिएको छ । चालू आर्थिक वर्षमा करिब ८० वटा सडक योजनाका काम पनि चलिरहेको छ । त्यसमध्ये कतिपय योजना उनीहरु हुर्किबढेका गाउँमा पनि छन् । आफ्नै गाउँघरको विकास गर्न पाउँदा एकातिर इन्जिनियरद्वयलाई आनन्द अनुभूति हुन्छ भने अर्कातिर काम भरपर्दो र नियमसंगत तरिकाले गर्नुपर्छ भन्ने विशेष जिम्मेवारीको बोध पनि भइरहन्छ । 

Two engineers making a paved road for the Goretto he was walking on

बडाचौर र मिझिङ आसपासका योजना कार्यान्वयन गर्दा इन्जिनियरद्वय नै खट्छन् । ‘हरेक योजनाको काम राम्रोसँग हुन सकोस् भन्ने ठानेर गम्भीर तरिकाले ध्यान दिने गरेका छौं ।’ इन्जिनियर रोका र विष्ट दुवैको एकमत छ । दुवैको सक्रियतामा सुलिचौरदेखि मिझिङ गाउँ हुँदै खुमेल र गजुल पुग्ने सडक, सुलिचौरदेखि कोइरालखर्क, अरेस, तेबाङ, फगाम, पाङ, बडाचौर हुँदै हार्जङ, सिउरी र गाम, सिर्प लगायतका सडक निर्माण गरिएका छन् । तीमध्ये सुलिचौर–किलाचौर–बडाचौर–गुम्चाल अघिसम्मको सडक कालोपत्र भइसकेको छ । सुलिचौर–मिझिङ–खारा, डाइबाङ–कलिबाङ–नुवाकोट, सुनीलमार्ग अन्तर्गतको खारा–गजुल–धबाङ लगायतका सडक कालोपत्र हुने क्रममा छन् । छिर्ने खोला पक्की पुल, घोडा खोला पक्की पुल, लुंग्री खोला पक्की पुल र बोज्याङ खोला पक्की पुल यस क्षेत्रका ठूला योजना हुन् । 

जिल्लाका जोखिमयुक्त योजनामध्ये सुलिचौर–थबाङको फुलिवन खण्ड, गंगादेव गाउँपालिकाको पहुँच मार्ग, घर्तीगाउँ–जिनाबाङको ओत खण्डमा नेपाली सेनासँग समन्वय गरेर ब्लास्टिङ गर्ने काम पर्छन् । पूर्वी रोल्पाकै अत्यन्तै विकट मानिएको सेरमदेखि घुसबाङसम्मको सडक निर्माण कार्य जारी छ । सेरमको सिरक्याङ भीर यस क्षेत्रकै चर्चित र डरलाग्दो योजना हो । यीसँगै नयाँ ट्रयाक खोल्ने, सडक चौडा बनाउने, नाला बनाउने र कालोपत्र गर्ने कामका लागि कार्यालयको जिम्मेवारीसाथ इन्जिनियरद्वय खट्दै आएका छन् । उनीहरुको काँधमा पूर्वी रोल्पाको सुलिचौरदेखि थबाङसम्म सडक पुर्‍याउन र रोल्पाका विभिन्न क्षेत्र र पालिकादेखि सदरमुकाम लिबाङलाई जोड्ने सडक निर्माणमा ‘इन्जिनियरिङ’ गर्ने जिम्मेवारी आइपरेको छ । यस्तै एकदेखि अर्को पालिकामा पुग्ने पहुँच सडक निर्माणमा पनि उनीहरुको उत्तिकै भूमिका रहेको छ । स्थानीय तहले निर्माण गरेका सडकको रेखदेखदेखि प्रदेश र संघका सडक योजनाबीच समन्वय र सम्पर्क बनाइ सहजीकरण गर्न पनि उनीहरुमाथि जिम्मेवारी छ । 

Two engineers making a paved road for the Goretto he was walking on

विद्यालय तहको पढाइपछि विद्यार्थीबीच प्रश्न चल्छ 'अब के पढ्ने ?' अर्थात् कुन विषय पढेर के बन्ने ? भन्ने जिज्ञासा सबैमा हुन्छ । रोल्पाका यी दुईले इन्जिनियर बन्नुअघि त्यस्तो ठोस योजना बनाएका थिएनन् । दुर्गममा जन्मेकाले पढेर जागिरे बन्नुपर्छ भन्ने उद्देश्यले उनीहरु नियमित पढाइमा लागे । हुन पनि त्यसबेला गाउँघरमा अक्षर चिन्न पढ्नुपर्छ भन्ने साधारण मान्यता मात्रै थियो । गाउँले परिवेशमा ती दुवैको सोचाइ पनि यस्तै हुनु स्वाभाविक नै थियो । अलि जाँगर लगाएर पढ्न सके शिक्षक बन्ने आम सोचाइ र धारणा हुन्थ्यो गाउँघरमा । रोल्पाबाट माओवादीले २०५२ देखि सशस्त्र द्वन्द्वको सुरुवात गरेपनि त्यस अघि नै राजनीतिक द्वन्द्व र प्रभाव पनि सुरु भइसकेको थियो । यस्तो अवस्थामा पनि उनीहरु पढ्ने लाइनमै अघि बढेका थिए । यसबीच इन्जिनियरद्वयले साधारणतया भिन्न विधा पकडे इन्जिनियरिङ पढ्ने । भर्खरै बहुदल आएको र रोल्पामा राजनीतिक द्वन्द्वको विजारोपण भइसकेको बेलामा उनीहरुले विद्यालय तहमा अध्ययन गर्दै थिए । गुम्चालका रोका र मिझिङका विष्ट दुवै विद्यार्थी सदरमुकाम लिबाङ बाहिरका हुन् । त्यसैले एसएलसीभन्दा माथिको पढाइबारे बुझ्ने, छलफल गर्ने र निचोड निकाल्ने गाउँमा मेलोमेसो पाउन दुवैका लागि मुस्किल अवस्था थियो । २०५१ को एसएलसी परीक्षामा प्रथम डिभिजन अंक लिएका विष्ट र २०५८ मा एसएलसी परीक्षा प्रथम डिभिजनमा उत्तिर्ण रोका क्षत्री दुवैले ओभरसियर अध्ययन थाले । त्यसबेला इन्जिनियरिङ पढ्न पोखरा वा काठमाडौं पुग्नुपर्ने अवस्था थियो । तैपनि त्यसबेला सिधै इन्जिनियरिङ पढ्न पाउने व्यवस्था थिएन । 

सानोमा हिँडेको गोरेटो बाटोलाई आफैं इन्जिनियर भएर कालोपत्र गर्न पाउँदा रोल्पास्थित सडक पूर्वाधार विकास कार्यालय प्रमुख वरिष्ठ इन्जिनीयर हेमन्त रोका क्षत्रीलाई आश्चर्यझैं लाग्छ । पूर्वी रोल्पाको दुर्गम गाउँ गुम्चाल, जहाँ उनी जन्मे र हुर्के । अध्ययन गर्दा र नुनतेल किन्न जाँदा अन्यलेझैं उनले पनि गोरेटो बाटो छिचोल्दै हिँडे । तर सुलिचौरदेखि बडाचौर हुँदै आफ्नै गाउँ गुम्चालसम्म करिब १२ किलोमिटर लामो सडक कालोपत्र गराउन इन्जिनियरको भूमिकामा रहँदा ज्यादै खुशी लागेको उनी बताउँछन् । 

Two engineers making a paved road for the Goretto he was walking on

‘दुर्गममा जन्मिएकाले म आफैं हिँडेको बाटो पक्की (कालोपत्र) होला भन्ने सोचेको थिइनँ । त्यसमा पनि म आफैंलाई इन्जिनियर भएर सडकको जाँच गर्ने अवसर मिल्ला भन्ने अनुमान पनि गरेको थिइनँ । आफ्नै गाउँघरको विकास गर्न पाउँदा खुशी लागेको छ,’ वरिष्ठ इन्जिनियर ३९ वर्षका रोकाले भने । विद्यालय तहसम्म पढ्ने बेलामा कुन विषय पढ्ने र के बन्ने भन्ने यकिन नभएको बताउने रोकाले परिस्थितिले इन्जिनियरिङ विषय अध्ययन गरेको स्मरण गर्छन् । २०५८ सालमा एसएलसी परीक्षा दिन रोल्पाको गुम्चाल गाउँबाट सदरमुकाम लिबाङ जाँदा रोका क्षत्री साँधुरो गोरेटो पार गर्दै हिँडेका थिए । उनको घर गुम्चालको बेरीगाउँबाट नजिकको बजार सुलिचौर पुग्नुअघि सेवार, बडाचौर, बराहक्षेत्र, किलाचौर र रुइनीबाङ हिँडेरै पार गर्नुपर्थ्यो । 

‘भर्खर एसएलसी दिएको बेलामा बुबालाई गुमाउनुपर्‍यो । म घरको जेठो छोरा भएकाले घरको जिम्मेवारी पनि मेरो काँधमाथि आइपर्‍यो । तैपनि पढ्न छाडिनँ,’ रोका भन्छन् । उनका अनुसार माथिल्लो गुम्चाल गाउँको माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका बुबा मानसिंह रोकालाई तत्कालीन माओवादी लडाकुले नियन्त्रणमा लिएर हत्या गरेका थिए । त्यसपछि परिवार तितरवितर मात्रै भएन, दुःख र भयको सिकार हुनुपर्‍यो । हिम्मत नहारी अध्ययन गर्न सहर छिरेको उनले सुनाए । बुबाको अभावमा शिक्षिका आमा र मावली मामाकै भरमा आफूले पढ्न पाएको वरिष्ठ इन्जिनियर रोकाले बताए । ‘यसको कथा बेग्लै छ । बुबालाई गैरकानुनी तरिकाले माओवादीले नियन्त्रणमा लिइ हत्या गरेपछि त्यसको पीडा भोग्दै आएका छौं । न्याय पाउन सकिएको छैन,’ उनी गुनासो गर्छन् । 

२०७५ मा लोकसेवा उत्तीर्ण भएपछि रोल्पामा कार्यरत रहेका बेला २०८० मा उनी बढुवा भएर वरिष्ठ इन्जिनियर भएका हुन् । कार्यालय प्रमुख भने उनी २०७९ असोजदेखि छन् । जिल्लाको पूर्वाधार क्षेत्रको विकास गर्न निकै इमान्दारितासाथ काममा खटिने स्वभाव भएकाले उनको चाँडै बढुवा पनि भएको पूर्व सांसद लेखनाथ आचार्यले बताए । उनका अनुसार इन्जिनीयर रोका युवा र जाँगरिला भएकाले जिल्लाको विकासमा टेवा पुगेको छ । 

Two engineers making a paved road for the Goretto he was walking on

यस्तै, २०५१ को एसएलसी परीक्षामा प्रथम डिभिजन अंक लिएर उत्तिर्ण भएका अनुभवी इन्जिनीयर विष्ट मिझिङ गाउँका हुनेखाने परिवारमा जन्मेका हुन् । माध्यमिक तहभन्दा तल्लो कक्षाको शिक्षा दाङस्थित दीपेन्द्र प्रहरी बोर्डिङ स्कूलमा अध्ययन गर्न पाएका उनले ओभरसियर अध्ययन सकेर इन्जिनियरिङ पढेका थिए । 

‘एसएलसी पछि के पढ्ने भन्ने द्विविधा भएका बेला आफन्त र अग्रजको सल्लाहमा म इन्जिनियरिङ पढ्न गएको थिएँ । त्यसबेला आजभोलि जस्तो सिधै इन्जिनियरिङ पढ्न पाउने सुविधा थिएन । त्यसैले पहिले ओभरसियर वा सबओभरसियर पढ्ने चलन थियो,’ उनले सुनाए । २०५९ मा इन्जिनियरको पढाइ सकेपछि उनी त्यसैबेलादेखि बागमती सिँचाइ आयोजना अन्तर्गत रौतहट र सर्लाही जिल्लामा काम गर्न पुगे । लोकसेवा परीक्षामा सहभागी भएर जागिरे हुनुलाई महत्त्व नदिएका ४७ वर्षका विष्टले थुप्रै स्थानमा थुप्रै योजना र आयोजनामा काम गरेका छन् । रोल्पामा पनि कन्सल्टेन्टमार्फत् काम गरिरहेका उनले रसुवामा दुई वर्ष, सिन्धुपाल्चोकमा एक वर्ष, अछाममा दुई वर्ष, बाँकेमा तीन वर्ष, प्यूठानमा दुई वर्ष काम गरेर अनुभव संगालेका छन् । उनी २०७६ यता भने रोल्पाका भीर पहरामा इन्जियरिङको काममा व्यस्त छन् । 

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully