संघर्ष गर्दै इन्जिनियर बनेपछि गाउँकै विकास योजनाको काम गर्न मन पाउँदा उनीहरु औधी खुशी छन्
रोल्पा — रोल्पाका इन्जिनियरद्वय हेमन्त रोका क्षत्री र लोकप्रसाद विष्टलाई घरबाट हिँडेर विद्यालय पुगेको अहिलेजस्तो लाग्छ । उनीहरु कता कता सपनाजस्तो ठानेर अहिले पनि ती दिनको स्मरण गर्छन् । चप्पल लगाएर विद्यालय पुग्दा पसिनाले शरीर असिनपसिन भएको स्मृति ताजा भएर आउँछ । इन्जिनीयरद्वय रोका क्षत्री र विष्टका लागि ती दिन निकै स्मरणीय लाग्छन् । ज्यादै दुःख गरेर विद्यालय पुगेको र शिक्षा हासिल गरेको याद उनीहरुका सामुन्ने ताजा भएर आइपुग्छ यतिबेला ।
उनीहरुलाई सबैभन्दा ज्यादा खुशी त्यतिबेला लाग्छ, जतिबेला उनीहरु आफैं हिँडेका गोरेटो बाटोलाई यतिबेला पक्की सडक (कालोपत्र गरिएको सडक) बनाउने योजनामा साथै काम गर्छन् । पूर्वी रोल्पाको सुलिचौर बजार आसापासका सडक योजना निर्माणमा संलग्न हुन पाउँदा ती दुवैलाई धेरै आनन्द पनि लाग्छ । रोल्पाका लागि प्रदेश सरकार र संघीय सरकार मातहतका सडक योजनाको डिजाइन, कार्यान्वयन र अनुगमन गर्ने मौका मिलेपछि उनीहरु यतिबेला निकै खुशी पनि छन् ।
रोल्पा लिबाङस्थित सडक पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियरद्वयको रोल्पासहित प्यूठान र रुकुम पूर्वसम्मको कार्यक्षेत्रमा काम गर्ने जिम्मेवारी छ । करिब ५ वर्षअघि स्थापना भएको उक्त कार्यालयबाट यस क्रममा तीन जिल्लामा २० वटा झोलुङ्गे पुल, ८ वटा पक्की सडक पुल र ३ सय किलोमिटरभन्दा लामो सडक निर्माण गरिएको छ । चालू आर्थिक वर्षमा करिब ८० वटा सडक योजनाका काम पनि चलिरहेको छ । त्यसमध्ये कतिपय योजना उनीहरु हुर्किबढेका गाउँमा पनि छन् । आफ्नै गाउँघरको विकास गर्न पाउँदा एकातिर इन्जिनियरद्वयलाई आनन्द अनुभूति हुन्छ भने अर्कातिर काम भरपर्दो र नियमसंगत तरिकाले गर्नुपर्छ भन्ने विशेष जिम्मेवारीको बोध पनि भइरहन्छ ।
बडाचौर र मिझिङ आसपासका योजना कार्यान्वयन गर्दा इन्जिनियरद्वय नै खट्छन् । ‘हरेक योजनाको काम राम्रोसँग हुन सकोस् भन्ने ठानेर गम्भीर तरिकाले ध्यान दिने गरेका छौं ।’ इन्जिनियर रोका र विष्ट दुवैको एकमत छ । दुवैको सक्रियतामा सुलिचौरदेखि मिझिङ गाउँ हुँदै खुमेल र गजुल पुग्ने सडक, सुलिचौरदेखि कोइरालखर्क, अरेस, तेबाङ, फगाम, पाङ, बडाचौर हुँदै हार्जङ, सिउरी र गाम, सिर्प लगायतका सडक निर्माण गरिएका छन् । तीमध्ये सुलिचौर–किलाचौर–बडाचौर–गुम्चाल अघिसम्मको सडक कालोपत्र भइसकेको छ । सुलिचौर–मिझिङ–खारा, डाइबाङ–कलिबाङ–नुवाकोट, सुनीलमार्ग अन्तर्गतको खारा–गजुल–धबाङ लगायतका सडक कालोपत्र हुने क्रममा छन् । छिर्ने खोला पक्की पुल, घोडा खोला पक्की पुल, लुंग्री खोला पक्की पुल र बोज्याङ खोला पक्की पुल यस क्षेत्रका ठूला योजना हुन् ।
जिल्लाका जोखिमयुक्त योजनामध्ये सुलिचौर–थबाङको फुलिवन खण्ड, गंगादेव गाउँपालिकाको पहुँच मार्ग, घर्तीगाउँ–जिनाबाङको ओत खण्डमा नेपाली सेनासँग समन्वय गरेर ब्लास्टिङ गर्ने काम पर्छन् । पूर्वी रोल्पाकै अत्यन्तै विकट मानिएको सेरमदेखि घुसबाङसम्मको सडक निर्माण कार्य जारी छ । सेरमको सिरक्याङ भीर यस क्षेत्रकै चर्चित र डरलाग्दो योजना हो । यीसँगै नयाँ ट्रयाक खोल्ने, सडक चौडा बनाउने, नाला बनाउने र कालोपत्र गर्ने कामका लागि कार्यालयको जिम्मेवारीसाथ इन्जिनियरद्वय खट्दै आएका छन् । उनीहरुको काँधमा पूर्वी रोल्पाको सुलिचौरदेखि थबाङसम्म सडक पुर्याउन र रोल्पाका विभिन्न क्षेत्र र पालिकादेखि सदरमुकाम लिबाङलाई जोड्ने सडक निर्माणमा ‘इन्जिनियरिङ’ गर्ने जिम्मेवारी आइपरेको छ । यस्तै एकदेखि अर्को पालिकामा पुग्ने पहुँच सडक निर्माणमा पनि उनीहरुको उत्तिकै भूमिका रहेको छ । स्थानीय तहले निर्माण गरेका सडकको रेखदेखदेखि प्रदेश र संघका सडक योजनाबीच समन्वय र सम्पर्क बनाइ सहजीकरण गर्न पनि उनीहरुमाथि जिम्मेवारी छ ।
विद्यालय तहको पढाइपछि विद्यार्थीबीच प्रश्न चल्छ 'अब के पढ्ने ?' अर्थात् कुन विषय पढेर के बन्ने ? भन्ने जिज्ञासा सबैमा हुन्छ । रोल्पाका यी दुईले इन्जिनियर बन्नुअघि त्यस्तो ठोस योजना बनाएका थिएनन् । दुर्गममा जन्मेकाले पढेर जागिरे बन्नुपर्छ भन्ने उद्देश्यले उनीहरु नियमित पढाइमा लागे । हुन पनि त्यसबेला गाउँघरमा अक्षर चिन्न पढ्नुपर्छ भन्ने साधारण मान्यता मात्रै थियो । गाउँले परिवेशमा ती दुवैको सोचाइ पनि यस्तै हुनु स्वाभाविक नै थियो । अलि जाँगर लगाएर पढ्न सके शिक्षक बन्ने आम सोचाइ र धारणा हुन्थ्यो गाउँघरमा । रोल्पाबाट माओवादीले २०५२ देखि सशस्त्र द्वन्द्वको सुरुवात गरेपनि त्यस अघि नै राजनीतिक द्वन्द्व र प्रभाव पनि सुरु भइसकेको थियो । यस्तो अवस्थामा पनि उनीहरु पढ्ने लाइनमै अघि बढेका थिए । यसबीच इन्जिनियरद्वयले साधारणतया भिन्न विधा पकडे इन्जिनियरिङ पढ्ने । भर्खरै बहुदल आएको र रोल्पामा राजनीतिक द्वन्द्वको विजारोपण भइसकेको बेलामा उनीहरुले विद्यालय तहमा अध्ययन गर्दै थिए । गुम्चालका रोका र मिझिङका विष्ट दुवै विद्यार्थी सदरमुकाम लिबाङ बाहिरका हुन् । त्यसैले एसएलसीभन्दा माथिको पढाइबारे बुझ्ने, छलफल गर्ने र निचोड निकाल्ने गाउँमा मेलोमेसो पाउन दुवैका लागि मुस्किल अवस्था थियो । २०५१ को एसएलसी परीक्षामा प्रथम डिभिजन अंक लिएका विष्ट र २०५८ मा एसएलसी परीक्षा प्रथम डिभिजनमा उत्तिर्ण रोका क्षत्री दुवैले ओभरसियर अध्ययन थाले । त्यसबेला इन्जिनियरिङ पढ्न पोखरा वा काठमाडौं पुग्नुपर्ने अवस्था थियो । तैपनि त्यसबेला सिधै इन्जिनियरिङ पढ्न पाउने व्यवस्था थिएन ।
सानोमा हिँडेको गोरेटो बाटोलाई आफैं इन्जिनियर भएर कालोपत्र गर्न पाउँदा रोल्पास्थित सडक पूर्वाधार विकास कार्यालय प्रमुख वरिष्ठ इन्जिनीयर हेमन्त रोका क्षत्रीलाई आश्चर्यझैं लाग्छ । पूर्वी रोल्पाको दुर्गम गाउँ गुम्चाल, जहाँ उनी जन्मे र हुर्के । अध्ययन गर्दा र नुनतेल किन्न जाँदा अन्यलेझैं उनले पनि गोरेटो बाटो छिचोल्दै हिँडे । तर सुलिचौरदेखि बडाचौर हुँदै आफ्नै गाउँ गुम्चालसम्म करिब १२ किलोमिटर लामो सडक कालोपत्र गराउन इन्जिनियरको भूमिकामा रहँदा ज्यादै खुशी लागेको उनी बताउँछन् ।
‘दुर्गममा जन्मिएकाले म आफैं हिँडेको बाटो पक्की (कालोपत्र) होला भन्ने सोचेको थिइनँ । त्यसमा पनि म आफैंलाई इन्जिनियर भएर सडकको जाँच गर्ने अवसर मिल्ला भन्ने अनुमान पनि गरेको थिइनँ । आफ्नै गाउँघरको विकास गर्न पाउँदा खुशी लागेको छ,’ वरिष्ठ इन्जिनियर ३९ वर्षका रोकाले भने । विद्यालय तहसम्म पढ्ने बेलामा कुन विषय पढ्ने र के बन्ने भन्ने यकिन नभएको बताउने रोकाले परिस्थितिले इन्जिनियरिङ विषय अध्ययन गरेको स्मरण गर्छन् । २०५८ सालमा एसएलसी परीक्षा दिन रोल्पाको गुम्चाल गाउँबाट सदरमुकाम लिबाङ जाँदा रोका क्षत्री साँधुरो गोरेटो पार गर्दै हिँडेका थिए । उनको घर गुम्चालको बेरीगाउँबाट नजिकको बजार सुलिचौर पुग्नुअघि सेवार, बडाचौर, बराहक्षेत्र, किलाचौर र रुइनीबाङ हिँडेरै पार गर्नुपर्थ्यो ।
‘भर्खर एसएलसी दिएको बेलामा बुबालाई गुमाउनुपर्यो । म घरको जेठो छोरा भएकाले घरको जिम्मेवारी पनि मेरो काँधमाथि आइपर्यो । तैपनि पढ्न छाडिनँ,’ रोका भन्छन् । उनका अनुसार माथिल्लो गुम्चाल गाउँको माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका बुबा मानसिंह रोकालाई तत्कालीन माओवादी लडाकुले नियन्त्रणमा लिएर हत्या गरेका थिए । त्यसपछि परिवार तितरवितर मात्रै भएन, दुःख र भयको सिकार हुनुपर्यो । हिम्मत नहारी अध्ययन गर्न सहर छिरेको उनले सुनाए । बुबाको अभावमा शिक्षिका आमा र मावली मामाकै भरमा आफूले पढ्न पाएको वरिष्ठ इन्जिनियर रोकाले बताए । ‘यसको कथा बेग्लै छ । बुबालाई गैरकानुनी तरिकाले माओवादीले नियन्त्रणमा लिइ हत्या गरेपछि त्यसको पीडा भोग्दै आएका छौं । न्याय पाउन सकिएको छैन,’ उनी गुनासो गर्छन् ।
२०७५ मा लोकसेवा उत्तीर्ण भएपछि रोल्पामा कार्यरत रहेका बेला २०८० मा उनी बढुवा भएर वरिष्ठ इन्जिनियर भएका हुन् । कार्यालय प्रमुख भने उनी २०७९ असोजदेखि छन् । जिल्लाको पूर्वाधार क्षेत्रको विकास गर्न निकै इमान्दारितासाथ काममा खटिने स्वभाव भएकाले उनको चाँडै बढुवा पनि भएको पूर्व सांसद लेखनाथ आचार्यले बताए । उनका अनुसार इन्जिनीयर रोका युवा र जाँगरिला भएकाले जिल्लाको विकासमा टेवा पुगेको छ ।
यस्तै, २०५१ को एसएलसी परीक्षामा प्रथम डिभिजन अंक लिएर उत्तिर्ण भएका अनुभवी इन्जिनीयर विष्ट मिझिङ गाउँका हुनेखाने परिवारमा जन्मेका हुन् । माध्यमिक तहभन्दा तल्लो कक्षाको शिक्षा दाङस्थित दीपेन्द्र प्रहरी बोर्डिङ स्कूलमा अध्ययन गर्न पाएका उनले ओभरसियर अध्ययन सकेर इन्जिनियरिङ पढेका थिए ।
‘एसएलसी पछि के पढ्ने भन्ने द्विविधा भएका बेला आफन्त र अग्रजको सल्लाहमा म इन्जिनियरिङ पढ्न गएको थिएँ । त्यसबेला आजभोलि जस्तो सिधै इन्जिनियरिङ पढ्न पाउने सुविधा थिएन । त्यसैले पहिले ओभरसियर वा सबओभरसियर पढ्ने चलन थियो,’ उनले सुनाए । २०५९ मा इन्जिनियरको पढाइ सकेपछि उनी त्यसैबेलादेखि बागमती सिँचाइ आयोजना अन्तर्गत रौतहट र सर्लाही जिल्लामा काम गर्न पुगे । लोकसेवा परीक्षामा सहभागी भएर जागिरे हुनुलाई महत्त्व नदिएका ४७ वर्षका विष्टले थुप्रै स्थानमा थुप्रै योजना र आयोजनामा काम गरेका छन् । रोल्पामा पनि कन्सल्टेन्टमार्फत् काम गरिरहेका उनले रसुवामा दुई वर्ष, सिन्धुपाल्चोकमा एक वर्ष, अछाममा दुई वर्ष, बाँकेमा तीन वर्ष, प्यूठानमा दुई वर्ष काम गरेर अनुभव संगालेका छन् । उनी २०७६ यता भने रोल्पाका भीर पहरामा इन्जियरिङको काममा व्यस्त छन् ।
