किम्बापको स्वाद चखाइरहेका दाजुभाइ

महेश र मनोज दाजुभाइको रेस्टुरेन्ट काठमाडौंमा कोरियन स्वादको नयाँ गन्तव्य बनेको छ । भैंसेपाटीको यात्राबाट उत्साहित भएका उनीहरु अब झम्सीखेलमा पनि दुई भाइ किम्बापको नयाँ आउटलेट खोल्ने तरखरमा छन् ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Siblings tasting kimbap

What you should know

काठमाडौँ — काठमाडौंमा कोरियन फिल्म र कोरियन हेयर स्टाइल र कोरियन फेसन पछ्याउने मात्रै छैनन्, कोरियन स्वादका पारखीहरु पनि छन् । पत्यार लाग्दैन भने भैँसेपाटीमा रहेको दुई भाइ किम्बाप रेस्टुरेन्टमा जानुस् ।

डडेलधुराको अमरगढी नगरपालिका घर भएका ४१ वर्षीय महेश ताम्राकार र उनका ३० वर्षीय भाइ मनोज । महेश संगीत रचना गर्थे अनि गैरसरकारी संस्थामा काम पनि गर्थे । भाइ मनोज भने शिक्षक थिए । गैरसरकारी संस्थामा काम गर्ने महेश २०७२ सालतिर सरुवा भएर काठमाडौं आइपुगे । 

त्यतिबेला काठमाडौंमा  के–पप र कोरियन ड्रामाको चर्चा थियो । तर कोरियन स्वाद पस्किने रेस्टुरेन्टहरु भने  सहरमा थिएनन् । कोरियन गीतहरु सुन्ने र ड्रामा हेर्न रुचाउने महेश यसबारे जानकार थिए । उनले सुनाए, 'यही अभाव पूरा गर्न मैले कोरियन फुड सर्भ गर्ने रेस्टुरेन्ट खोल्ने विचारमा पुगेँ ।' कोरियन किम्चीदेखि किम्बापसम्मका परिकारको स्वादबारे जानकार महेश विशेषगरी किम्बाप औधी मन पराउँथे ।  

केही नयाँ काम गर्ने हुटहुटी भएका महेशका दाजुभाइले त्यही बेला थाह पाए, कोरियन सेफ डोर्की नेपाल आएको खबर । उनीहरुले एकदिन तिनै कोरियन सेफ डोर्कीसँग भेटेर सोधे, 'हामीले कोरियन रेस्टुरेन्ट खोलेरे किम्बापको व्यापार गर्न खोजेको ।' सुरुमा त सेफ डोर्कीले उनीहरुलाई नेपालमा कोरियन खानाको रेस्टुरेन्ट खासै नचल्ने सल्लाह दिए । तर उनीहरु यति कुराबाटै हच्किएनन् । बरु तिनै सेफसँग उनीहरुले ७ महिना लामो तालिम लिए । अनि भैँसेपाटीमा बस्ने उनीहरुले हरेक दिन किम्बाप बनाएर बटुवाहरुलाई नि:शुल्क चखाए । कसैले मन पराए, कसैले नाक खुम्च्याए । महेशले ती दिन सम्झिँदै सुनाए, 'झन्डै दुई महिनासम्म हामीले धेरैलाई चखाएर सर्वेक्षण जस्तै गर्‍यौं ।' 

तालिम सकेको दुई महिनापछि महेश दाजुभाइले १२ लाख लगानी गरेर रेस्टुरेन्ट खोले । नाम राखे, दुई भाइ किम्बाप रेस्टुरेन्ट । 
Siblings tasting kimbap
रेस्टुरेन्ट खोलेपछिको उत्साह सुरु हुन नपाउँदै कोरोना महामारीका कारण लकडाउन सुरु भयो । त्यसपछि केही दिनसम्म उनीहरु अलमलमा परे । त्यति ठूलो लगानी अनि हरेक दिन कमाइ नगरी भाडा तिर्नुपर्ने बाध्यता । तीन महिनासम्म लकडाउनको सास्ती खेपेपछि उनीहरुले सोचे अब सधैंभर यसैगरी चल्न सकिन्न । महेशले सुनाए, 'लकडाउन कहिलेसम्म जान्छ टुंगो थिएन । त्यसैले हामीले होम डेलीभरी सुरु गर्‍यौं । त्यसले भाडा तिर्न केही सहज भयो ।' 

कोभिडको कहर सकिएपछि रेस्टुरेन्टले विस्तारै गति लिन थाल्यो । किम्बाप चाखेकाहरु फर्की फर्की आउन थाले । अनि त महेश र मनोज दाजुभाइले पछाडि फर्केर हेर्नुपरेन । 

झट्ट हेर्दा जापानी परिकार सुसीजस्तै देखिने किम्बापको बेग्लै अर्थ छ । कोरियन भाषामा किम भनेको समुन्द्री झ्याउ हो भने बाप भनेको भात । समुन्द्री झ्याउको लेयरले भात र त्यसभित्र स्वाद अनुसारका मासु, टुना माछा, किम्ची वा अनेकथरी हरिया सागसब्जी राखेर बेरेपछि किम्बाप तयार हुन्छ । गोलो र्‍यापलाई सुसीकै आकारमा काटेर सोया ससका साथमा पस्किने भएकाले पनि धेरैलाई यो सुसीजस्तै लाग्छ । 

दुईभाइ किम्बापमा ८ थरी स्वादका किम्बाप पाइन्छ । भेज, चिज, हाम, ससेज, टुना, क्राब, स्पाइसी चिकेन र चिकेन कट्लेट किम्बाप यहाँ पाइन्छ । 

किम्बापका अलावा यहाँ चामलबाट बन्ने टोकबोकी पनि पाइन्छ । थोरै गुलियो, मसलेदार र गाढा स्वादको टोकबोकी कोरियाली सडक छेउछाउमा प्रख्यात छ । माछाको केक, उमालेको अण्डा, चिज आदिका साथ पस्किने टोकबोकी पनि धेरैले रुचाएको देखिन्छ । यहाँ आएर रामेन, किम्ती र फ्राइड राइसको स्वाद लिने पनि उत्तिकै छन् । महेशले भने, 'योङस्टरहरुलाई आकर्षित गर्न हामीले केही सस्तोमा असली कोरियन स्वाद दिइरहेका छौं ।' 

Siblings tasting kimbap

महेश दाजुभाइले रेस्टुरेन्टका लागि आवश्यक सामान मिलेसम्म कोरियाबाट ल्याउँछन् । महेशले सुनाए, 'कोही साथी वा आफन्तहरु कोरियाबाट आउँदै गरेको थाहा पाउनेबित्तिकै हामी कोरियाबाटै सामान मगाउँछौँ ।' सुरु सुरुमा कोरियालीहरु नै यो रेस्टुरेन्टका ग्राहकहरु थिए । तर समयक्रममा नेपालीहरु नै यहाँ बढ्न थाले । महेशले सुनाए, 'सुरु सुरुमा यहाँ आउने ग्राहकमा नेपालीहरु ३० प्रतिशत थिए भने ७० प्रतिशत कोरियन । तर अहिले उल्टो छ ।' ग्राहकको संख्या बढेकैले अहिले उनीहरुले ६ जनालाई रोजगारी पनि दिन सकेका छन् । 

Siblings tasting kimbap
काठमाडौंमा कोरियन स्वाद चखाइरहेका महेश दाजुभाइ आफ्नो कामप्रति त सन्तुष्ट छन् नै परिवारसँगै बसेर सोचेजस्तै काम गर्न सकेकोमा उत्तिकै खुशी पनि । झम्सीखेलमा दुइभाइ किम्बापको नयाँ आउटलेट खोल्ने तरखरमा रहेका उनले सुनाए, 'यो काम त आफूले आफैलाईजागिर दिलाएजस्तो भइरहेको छ ।' 

आरजु सत्याल (प्रशिक्षार्थी)

कान्तिपुर

Link copied successfully