कोरियाबाट फर्किए, अनेक हन्डर खाएपछि खोले 'ढुंगेघरको चिया'

कोरिया गएका सुमनले त्यहाँ ५ वर्ष बिताए, फर्केर कृषि कर्मदेखि व्यावसायिक भैंसी फार्मसम्म गरे तर असफल भए । अहिले चिया पसलले उनलाई खुसी र सन्तुष्टि दिएको छ ।

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

Returned from Korea, after eating many hunders, opened 'Dhungegharko tea'

What you should know

काठमाडौँ — - 'दाइ एक कप मिठ्ठो मसला टी ।'- 'यता लेमन टी बनाइदिनुस् है ।'- 'आज कडक चिया हान्दिऊँ न त ।'

सबैजसो टेबलमा चिया पारखीको भिड लागेको छ । अर्डरअनुसार सुमन श्रीष मगरलाई भ्याइनभ्याइ छ ।

अलैंची, तेजपत्ता, ल्वाङ, मरिच, दालचिनी, सुकमेल र अदुवाको गाढा बास्ना । भकभक उम्लिरहेको चिया अनि चिया पारखीको कलङमलङ । यसैमा रमाइरहेका छन्, सुमन ।

सातदोबाटो चोकैको पुलिस स्टेसन कटेपछि आउने ‘ढुंगेघरको चिया’ चिया पारखीको नयाँ जङ्क्सन बनेको छ ।

विगततिर फर्केर हेर्ने हो भने सुमनसँग अनेकन उकाली-ओराली र हैरानीका कथा छन् । कामदार भिसामा कोरिया छिरेको, त्यहाँ ५ साल बिताएर घर फर्केको अनि गाउँठाउँमै कृषि कर्मदेखि व्यावसायिक भैंसी फार्मसम्मको असफल प्रयत्नमा समय र पैसा दुवै सिध्याएको तितो उनीसँग छ । तर अहिले भने उनी आफ्नो कामसँग सन्तुष्ट देखिन्छन् । उनको सन्तुष्टिले प्रत्येक कप चियामा स्वाद भरेजस्तो लाग्छ ।

कोरिया कमाइको केही हिस्सा गाउँमा डुबाएपछि उनी दुई वर्षअघि काठमाडौं छिरेका थिए । अवसरको खोजीमा भाडाको कोठामा गुजारा चलाइरहेका बेला उनी हरदिन आफैले पकाएको मगमग बास्ना आउने चिया पिएर दिनको सुरुवात गर्थे । श्रीमती डोल्मा मोक्तान हरदिन उनलाई भन्थिन्, 'यति मिठ्ठो चिया बनाउन कसरी सिकेको ?' उनी भन्थे, 'हजुरबाले यसैगरी बास्ना आउने चिया पकाएर खान्थे, त्यही सिको गरेको ।'

एक दिन कुरैकुरामा डोल्माले उनलाई भनिन, 'यति मिठ्ठो चिया बनाउँछौ । बरु चिया पसल नै पो खोल्ने कि ?'

उनलाइ श्रीमतीको भनाइ ननिको लागेन । त्यसपछि कोठा खोज्न निस्किए, अनि केही समयमै तयार भयो,  सानो चिटुक्क परेको ढुंगेघरको चिया ।

यो नाम राख्नुको पनि विशेष कारण छ । सुमनका बुढा हजुरबुबाका गाउँमा सबैभन्दा पहिला ढुंगाले छाएको घर बनाएका थिए । त्यसैले उनको घरको नामै थियो, ढुंगेघर । उनले सुनाए, 'गाउँघरको सम्झनामा मैले चिया पसलको नाम पनि ढुंगेघर चिया राखेँ ।'

१२ लाख लगानीमा चिया पसल खोलेका सुमनले त्यसपछिका सबै तनमन यही पसलमा खन्याए । हजुरबाले बनाएजस्तै गरी चियाका लागि मसला तयार पार्नु उनको हरबिहानको काम बन्न थाल्यो । बिहान ५ बजे नै उनी घरमै चिया मसला तयार पार्छन्, ६ नबज्दै सटर खोल्न पुगिसक्छन् । Returned from Korea, after eating many hunders, opened 'Dhungegharko tea'

त्यसपछि उही त हो काम- सरसफाइ, टेबलकुर्सी मिलाउने, भकभक दुध उमाल्ने ।

सुमनले सुरुवाती दिन सम्झिँदै सुनाए, 'सुरुसुरुमा त नजिकका आफन्त आए । पछिपछि एकदुई गर्दै स्वाद मन पराएर आउनेको संख्या बढ्दै गयो ।'

दैनिक दुई पोका दूध खपत हुने ढुंगेघरमा अहिले कम्तीमा पनि ५० लिटर दूध खपत हुन्छ ।

सुमनको बुझाइमा उनको चिया पसल चलेकै एकले अर्कालाई भनेर अर्थात् 'माउथ पब्लिसिटी'ले हो । चियाका पारखीहरु फर्कीफर्की आउन थालेसँगै सुमनले चियाका भेराइटी पनि बढाए । अहिले त उनीकहाँ ३० रुपैयाँ कप पर्ने मसला चियादेखि ६५ रुपैयाँ पर्ने रोजमेरी चिया, ८० रुपैयाँ पर्ने कडक चियादेखि  ९० रुपैयाँ पर्ने ढुंगेघर चियाको स्पेसल चियासम्म पाइन्छ ।

चियाको स्वाद बढेसँगै बढ्दै गरेका चिया पारखीको संख्याले सुमनलाई हौस्याएको छ । त्यसैले त अहिले उनले तीनजना कर्मचारी नै राखेका छन् ।

चियाको स्वाद सामाजिक सञ्जालबाट पनि फैलिएपछि उनको व्यापार बढेको छ । सुमनले सुरुवाती दिनमा व्यापार बढाउन सामाजिक सञ्जालको सहयोग लिए । भन्छन्, 'कहिलेकाहीँ त हामीलाइ ग्राहकको भीड थाम्न पनि मुस्किल पर्छ । यस्तो कुराले खुसी र सन्तुष्टि मिल्छ ।'

साँझ ढल्किँदै गएपछि उनको पसलमा चिया पारखीको भिड झनै बढ्न थाल्छ । यो सफलताबाट खुसी देखिएका सुमन ठूलो सोच राखेर व्यापार गर्ने हो भने केही गर्न सकिने अनुभव सुनाउँछन् । यस्तै शैलीको चिया पसलको शाखा अन्यत्र पनि खोल्ने सोचमा पुगेका उनले भने, 'काम सुरु गर्दा बाधा आउँछन्, अवरोधलाई पार गर्न सके अवश्य सफलता मिल्छ ।' 

- आरजु सत्याल (प्रशिक्षार्थी)

कान्तिपुर संवाददाता

Link copied successfully