जुम्लाबाट प्रतिनिधिसभामा जित दोहोर्‍याउने पहिलो सांसद बने ज्ञानेन्द्र

चुनावी रणनीति र युवामाझ प्रभावकारी छविका कारण शाहीले नेकपाका भण्डारीलाई पछि पार्दै लगातार दोस्रोपटक संसद्‌को यात्रा तय गरेका छन् ।

फाल्गुन २३, २०८२

डीबी बुढा

Gyanendra becomes the first MP to repeat victory in the House of Representatives from Jumla

जुम्ला — जुम्लाको राजनीतिक इतिहास तोड्दै राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) संसद्‍मा दोस्रोपटक प्रवेश गरेका छन् । जुम्लाको चुनावी इतिहासमा एकजना प्रतिनिधि सांसदमा दोहोरिने उनी पहिलो व्यक्ति हुन् ।

शनिबार सार्वजनिक अन्तिम नतिजामा शाही विजयी भएका छन् । उनले १४ हजार ८ सय १६ मत प्राप्त गरे । नेकपाका नरेश भण्डारीलाई उनले ३ हजार १ सय ८१ मतान्तरले पराजित गरेका हुन् । भण्डारीले  ११ हजार ६ सय ३५ मत प्राप्त गरे ।

२०४८ सालदेखि हालसम्म कसैले पनि सांसद पद दोहोर्‍याएर जितेका छैनन् । यद्यपि पार्टीको जित दोहोर्‍याएको देखिन्छ । खरो अभिव्यक्तिकै कारण चर्चामा आइरहने नेता शाही जुम्ला सिंजा गाउँपालिका–३ पिंगी गाउँमा सामान्य परिवारमा जन्मिएका हुन् । उनी ३० वर्षको उमेरमै सांसद्‌मा प्रवेश गरेका थिए । जेन–जी आन्दोलनअघि रहेको प्रतिनिधिसभामा उनी राप्रपाको प्रमुख सचेतक थिए । 

सिंजाकै कैलाश मावि फुंग्रबाट २०६२ सालमा एसएलसी पास गरेका उनी भारतमा सीए पढ्न गए । तर बीचमै पढाइ छाडेर नेपाल फर्किएका उनले भ्रष्टाचारविरोधी अभियान सुरु गरे । ठूलाठूला नेताहरुका भ्रष्टाचारका नालीबेली भन्दै हिसाबकिताब बोकेर मिडियामा बोलिरहने शाहीले सोही अभियानकै कारण चर्चा कमाए । 

उक्त अभियानका क्रममा उनले ‘हाम्रो नेपाल, हामी नेपाली’को संयोजक भनेर देशका विभिन्न क्षेत्रमा पुगे । यो गतिविधिले उनलाई देशका अधिकांश क्षेत्रमा चर्चित बनायो । फलस्वरुप गत निर्वाचनअघि उनी राप्रपामा प्रवेश गरे । उनी अहिले प्रवक्ता छन् । सामाजिक सञ्जालबाट प्रभाव जमाउँदै राजनीतिमा होमिएका शाही २०७९ सालमा कांग्रेस र माओवादीको बलियो गठबन्धनलाई फराकिलो अन्तरले हराउँदै प्रतिनिधिसभामा प्रवेश गरेका थिए ।

Gyanendra becomes the first MP to repeat victory in the House of Representatives from Jumla

त्यसबेला उनले २२ हजार ८ सय १९ मत प्राप्त गरे । कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार गोमा गौतम कुँवरले ११ हजार ९ सय ५९ मत प्राप्त गरिन् । शाहीले संसदमा आफूलाई देखिने र सुनिने गरी प्रस्तुत गरे । कर्णालीका समस्याहरु उठाए । कर्णालीको स्याउलाई काठमाडौंमा ब्राण्डिङ गर्ने प्रयास गरे । जसकारण उनी देशका धेरै ठाउँमा सुनिए । उनका यी कामहरु नै निर्वाचन जित्ने प्रमुख आधार बने ।

२०७० सालको दोस्रो संविधानसभाले पनि सहज रुपमा संविधान निर्माणको काम अघि नबढाइरहेको बेला उनी दबाबमूलक गतिविधिमा सक्रिय हुन थालेका थिए ।

२०७२ वैशाख १२ का विनाशकारी भूकम्पछि उनी विभिन्न समूहहरूसँग मिलेर उद्धारका काम खटिएका थिए । २०७५ सालमा आफू भ्रष्टाचारविरोधी अभियन्ता भएको दाबी गर्दै उनले सामाजिक सञ्जालमार्फत गतिविधि गर्न थाले । २०७६ को वैशाखमा सुर्खेतमा भष्ट्राचारविरोधी गतिविधि गर्ने भन्दै आयोजना गरिएको कार्यक्रममा प्रहरीले नियन्त्रणमा लिएर काठमाडौंसम्म पुर्‍याएको थियो । चितवनको पुल्चोकमा त उनीमाथि मरणासन्न हुनेगरी कुटपिट भयो । त्यसपछि उनी पछि हट्नुको साटो स्थापित दलहरुविरुद्ध झन् खरो रुपमा उत्रिए ।

२०७८ फागुन ६ गते राप्रपामा प्रवेश गरेका उनले पार्टीको महत्त्वपूर्ण भूमिकामा पुग्ने अवसर पाए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीको प्रवक्ताको जिम्मेवारीसमेत दिए । यो निर्वाचनमा उनी ६ वटा क्षेत्रबाट सिफारिस भएका थिए । सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी थालेका शाही अन्तिम समय जन्मभूमि सम्झिँदै जुम्ला फर्किए । जुम्लाको इतिहासमा नेमकिपा बाहेक अर्को पार्टीले संसदीय निर्वाचनमा दोहोरिएर नजितेको र जुम्लाले कुनै पनि उम्मेदवारलाई नदोहोर्‍याएको इतिहास उनले यसपटक भत्काइदिएका छन् । यसपटक उनका लागि निकै असहज थियो । तर चुनावी रणनीति र युवामाझ प्रभावकारी छविका कारण शाहीले नेकपाका भण्डारीलाई भारी मतान्तरले पछि पार्दै लगातार दोस्रोपटक संसद्‌को यात्रा तय गरे । 

भण्डारी जिल्लाका लागि सबैभन्दा बलिया उम्मेदवार हुन् । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान स्थापनामा पहलकर्ताका रुपमा ख्याति कमाएका भण्डारी जिल्लामा बलियो पकड भएका नेता हुन् । तर पार्टीको आन्तरिक कलह र युवाहरुको मत तान्न नसक्दा भण्डारीले एकै व्यक्ति दोहोरिएर सदन छिर्ने उम्मेदवार इतिहास लेख्ने मौका गुमाएका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully