दौरासुरुवाल लगाएर खेत जोत्ने श्रवण मुकारुङकी आमा

जुरुक्क उठेर नुन लिन हिँडेका श्रीमान् घनश्याम तीन महिनासम्म हराए । सामान्य जिम्मेवारी पनि पूरा नगर्ने श्रीमान्‌कै कारण विष्णुरेखाले गह्रुँगा दुःख झेलिरहनुपर्‍यो । श्रीमान्‌को अनुपस्थितिमै तराईमा झोडा फाँडेर घर बनाइन्, दौरासुरुवाल लगाएरै खेत जोतिन् । पछि सौता ल्याएपछि श्रीमान्‌विरुद्ध बहुविवाहको मुद्दा नै ठोकेकी विष्णुरेखा पटुकीमा भने सधैं घनश्यामको श्यामश्वेत तस्बिर जतनले बोकी हिँड्थिन् ।

फाल्गुन २०, २०८१

समर्पण श्री

Shravan Mukarung's mother, who plows the field wearing a daurasuruval

काठमाडौँ — अहिले उनी ‘बिसे नगर्ची’को बयान मात्र गर्दै छैनन् । अढाई सय वर्षपछि बौलाएको बिसेको फनफनी घुमिरहेको टाउको मात्र सम्झिरहेका छैनन् । उनी सम्झिरहेका छन्– पटपटी फुटेका आमाका पाइतलाले छिचोलेका कहालीलाग्दा बाटा । सम्झिरहेका छन्, ती बाटामा आमाले एक्लै पार गरेका भीमकाय घुम्ती ।

बिसेजस्तै पितृसत्ताविरुद्ध ‘बौलाइरहेकी’ आमा । दुःख सहने तर दुःख दिनेहरूलाई सहन 

नसकेकी आमा कवि श्रवण मुकारुङको स्मृतिमा सतिसालझैं उभिरहेकी छन् । ‘आमा किन विद्रोही भइन् ?’ उतिबेलाका अनुत्तरित प्रश्नहरूको जवाफ अझै पनि खोजिरहन्छन् श्रवण । ‘सायद त्यो बेला उहाँले गर्नुपरेको कठिन संघर्षले होला,’ उनी ठम्याउन खोज्छन् ।

बा घनश्याम किरात थिए, यायावर । डुल्दैडुल्दै कहाँ–कहाँ पुग्ने । कवि थिए, मानिसहरूलाई मन्त्रमुग्ध पार्ने गरी गीत पनि गाउँथे । परपरसम्म चिनिने धामी पनि । यसकारण सायद बरालिन्थे उनी । एक पटक तरकारी पकाउँदै गर्दा नुन सकिएछ । बालाई आमाले अह्राउँदै भनिछन्, ‘पसलबाट नुन लिएर आउनू त ।’ जुरुक्क उठेर बा नुन लिन हिँडे । पसल गएका बालाई आमाले पर्खिरहिन् । दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो बा आएनन् । ‘भोजपुरको ट्याम्के डाँडाबाट नुन लिएर आउँछु भनेर गएको मान्छे विराटनगर पुगिसकेछन् । एकै पटक तीन महिनापछि फर्के,’ श्रवण सम्झन्छन् ।

सामान्य जिम्मेवारी पनि ननिभाउने बाकै कारण आमा विष्णुरेखा राईले गह्रुँगा दुःखहरू झेलिरहनुपर्‍यो । बाको अनुपस्थितिमै तराईमा झोडा फाँडेर घर बनाउनुपर्‍यो । पुरुषको दौरा र सुरुवाल लगाएर खेत जोत्नुपर्‍यो । ‘समाजमा अरूले हेप्छन् भनेर आमाले त्यसो गर्नुपरेको थियो,’ श्रवण बाल्यस्मृतिमा चियाउँदै भन्छन् ।

...

आमा विष्णुरेखाको माइत खोटाङको निर्मलीडाँडा । उतिबेला उनी बिँडीको सौखिन थिइन् । भोजपुरको ट्याम्केडाँडा कटेर बाजे सहरमान राईसहित आमालाई माग्न आफन्तहरू आउँदा उनको एक मात्र सर्त थियो, ‘त्यहाँ बिँडी खान दिँदैनन् रे । दिँदैनन् भने म बिहे गर्दिनँ ।’ बाजेले सर्त माने, ‘उसलाई बिँडी खान छेकबार हुन्न ।’ सर्त मञ्जुर भएपछि बाआमाको बिहे भयो । श्रवणका बाभन्दा आमा चार वर्षले जेठी थिइन् । विवाहका सुरुवाती दिनदेखि नै बाको अल्लारेपन आमाले चाल पाउँदै गइन् ।

बाजेको असामयिक मृत्युपछि घरमा आर्थिक संकटले गाँज्यो । बोजू पार्वती र आमा विष्णुरेखाबीच द्वन्द्व चर्किन थाल्यो । मनमुटाब नरोकिएपछि आमा र बा उदयपुरको बसाह झरे । श्रवणका माइला भाइ जिता पनि त्यतै जन्मिए । २०३०/३२ तिर बाआमासँगै तराई झरेका बालक श्रवणलाई झोडा फाँडेर घर बनाएका मिरमिरे हेक्का छन् । एक पटक श्रवणलाई मकै रुँग्न लगाएर आमा बजार गएकी थिइन् । ‘मैले बाँदर धपाउन सकिनँ । आमा खोज्दै हिँडें । जंगलको बीचमा हराएछु,’ उनी सम्झन्छन्, ‘पछि एक जना अंकलले भेटेर घर लैजानुभयो ।’

एक साँझ श्रवणलाई बत्तीको टुकी सानो बलेझैं लाग्यो । उनले सुकेको पात बालेर हेरे । लाग्यो– अब ठूलो बल्यो । आगोको आकार ठूलो हुँदैहुँदै घरभरि फैलियो । ‘दाइ प्रतिमान राईले माथि चढेर चामलको बोरा, भाँडा अनि मलाई तल फाल्नुभयो । छोपेको कुखुरा खोलिदिन मेसो पाउनुभएनछ । पछि जल्दै गरेको कुखुरा उड्दै जंगलतिर गएको याद छ,’ उनी यादहरू खोतल्छन् । घर जलेपछि उनीहरूले झोडाबाहिर मगर परिवारको घरमा शरण लिन पुगे । त्यतिबेला घर बनाउने कुरा चल्दै थियो । सरकारले एकाएक हात्ती लगाएर झोडामा बस्नेहरूलाई लखेट्यो । बारीमा मकै पाक्न लागेका थिए । आमाले सरकारी मान्छेहरूलाई बिन्ती बिसाइन्, ‘अब हामी यहाँ बस्दैनौं । तर पाकिसकेको मकै नाश नगरिदेऊ । श्राप लाग्छ ।’ अन्ततः सरकारले खेदाएपछि फेरि उनीहरूको परिवार पहाडमै उक्लियो ।

Shravan Mukarung's mother, who plows the field wearing a daurasuruval

पहाड उक्लिएपछि आमा र हजुरआमाका पुरानै शृङ्खला दोहोरिए । सासू–बुहारीबीच मिल्ती नभएपछि दुई छोरा च्यापेर आमा कता–कता भौंतारिरहिन् । केही समय बेंसीमा खोलाछेउको घरमा बसिन् । त्यतिन्जेल भाइ राजन पनि जन्मिसकेका थिए । तीन छोरालाई हुर्काउन आमाले निकै कसरत गर्नुपर्‍यो । ‘त्यहाँ खाने कुरा पनि थिएन । माइलो भाइलाई त कुपोषणजस्तो भइसकेको थियो । छोराहरू हुर्काउनै नसकेपछि आमाले म र माइला भाइलाई मूलघरमा छाडेर माइत लाग्नुभयो,’ श्रवण सुनाउँछन् ।

एक दिन श्रवण दिउँसो स्कुलबाट फर्कंदा घरमा भोज चलिरहेको थियो । आफन्तहरू भेला भएका थिए । कोही जोक मारिरहेका थिए । बा र उनीसँगै बसेकी महिलाको निधारमा टीका भरिएका थिए । भोकाएर आएका श्रवणले खुसी हुँदै मीठो मानेर खाँदै थिए । कसैले हाँस्दै भन्न थाले, ‘बाउको बिहे देख्लास् भन्छन् । यल्ले त देख्यो है ।’ मीठो मानेर खाइरहेको भोज एकाएक खल्लो लाग्न थाल्यो । उनले थाहा पाए, ‘बाले अर्की आमा ल्याएछन् ।’ त्यही साँझ आमा विष्णुरेखा बतास जसरी घर आइपुगिन् । अनि लडाकु जसरी प्रस्तुत भइन् । उत्सव चलिरहेको ठाउँ एकाएक अशान्त बन्यो । ‘बा, काकाहरू, कान्छी आमालगायत सबैसँग झगडा पर्‍यो । त्यसपछि आमा त्यहाँबाट हिँड्नुभयो,’ उनी सम्झिन्छन् ।

श्रवणले आमाको अनुहारमा यतिको भयानक आक्रोश पहिले कहिल्यै देखेका थिएनन् । आक्रोश बोकेरै मामाघरतर्फ लम्केकी आमाले बालाई बहुविवाहको मुद्दा हालिन् । ‘आमाले मुद्दा हाल्दा यता बालाई दण्डित हुनबाट जोगाउनतर्फ लागे,’ श्रवण भन्छन्, ‘मलाई याद छ, बुबाको बिहे हुँदा बहुविवाहको मुद्दा लाग्ने कानुन आइसकेको थियो । तर उहाँहरूले मुद्दा लाग्नुभन्दा अगाडि विवाह गरेको पार्नुभयो ।’

आमा नहुँदाको रिक्तता लामो वर्षसम्म अनुभूत गरे श्रवणका दाजुभाइले । ‘घरमा समयमा खान पाइएन भने आमाको सम्झना आउँथ्यो । बिरामी हुँदा आमाको हेरचाह पहिले खोजिन्थ्यो,’ उनी आँखा रसिला बनाउँदै भन्छन्, ‘बच्चाले सामान्य ममता खोज्छ नि । हो, त्यही खोजिरहन्थ्यौं ।’ हुन त हजुरआमाले पनि आमाले जत्तिकै स्नेह गरिन् उनीहरूलाई । यद्यपि आमा हुनुको अर्थ बेग्लै ठान्छन् श्रवण । उनी बेलाबखत आमा भेट्न चार घण्टाको बाटो हिँडेर मामाघर गइरहन्थे । उकालोओरालो गर्दा होस् वा खोला तर्दा, आमाको स्नेही दर्शन पाउने चाहमा उनी पुलकित हुन्थे । श्रवण हुलाकीजस्ता थिए, यताका सुस्केरा उता पुर्‍याउँथे । मामाघर पुग्दा बाजेले सोध्थे, ‘के भन्छिन् तेरी बोजू ? उता घरमा पुग्नासाथ बोजूले सोध्थिन्, ‘के भन्छे तेरी आमा ?’

आमाले बा शिवाय कसैलाई गाली दिन्न थिइन् । आफूभित्र दुखिरहेको कुरा छोरालाई सुनाउँथिन्, ‘तेरो बाउ काम लाग्दैन । जोइटिंग्रे भयो ।’ श्रवण भनिरहन्थे, ‘घर जाऊँ आमा ।’ उनी ननिको मान्दै टार्थिन्, ‘म त्यो घर किन जाने ? दास भएर बस्न ? फेरि सासूसँग भगडा गर्न ? कति दिन झगडा गर्ने ? फेरि फर्केर आउनैपर्ने हुन्छ ।’

...

वर्षहरू बितेसँगै टुसाएका बिरुवा हुर्केर झाँगिन थाले । रूखहरूले पटक–पटक पालुवा फेरे । 

धेरैपछि एक दिन बोजूले पनि मन फेरिन् । बा सानीआमा लिएर बेंसी झरेका थिए । बडा बा, काकाहरू घरमा थिएनन् । बोजू बिस्तारै गल्न थालिसकेकी थिइन् । उनका पौरख गर्ने हातहरू झन्झन् कमजोर हुँदै थिए । एक दिन सुस्केरा काड्दै किशोर उमेरका श्रवणलाई अह्राइन्, ‘जा, तेरी आमालाई जसरी पनि फकाएर ल्याइजो ।’ आमा माइत बसेको झन्डै १० वर्षपछि पहिलो पटक बोजूले यो काम अह्राएकी थिइन् ।

त्यसपछि श्रवण आमा लिन मामाघर हिँडे । मनमा खेलिरहेको थियो, ‘फर्किन मान्नु होला र ?’ उनले मामाघर पुगेर आमालाई भने, ‘बोजूले आमालाई जसरी पनि लिएर आइजो भन्नुभएको छ ।’ श्रवणले आमाको जवाफ पर्खिए । मलिन अनुहार लगाइरहेकी आमा बोलिनन् । एकैपटक साँझ उनले मामाघरको बाजेलाई भनिन्, ‘बाउ, अब म जान्छु । छोराहरू ठूला भए । मेरा लागि छोराहरू छन् ।’

भोलिपल्ट कोसेली बोकेर आमा भाइ राजन र श्रवणसँगै घर फर्किइन् । घर फर्किरहेकी आमा देखेर श्रवणको अनुहार घामजस्तै उज्यालिएको थियो । चार घण्टाको बाटो हिँडेपछि विष्णुरेखाले घरको आँगनमा पाइला टेकिन् । आमालाई देख्नासाथ बोजूले प्रेमिल लवजमा भनिन्, ‘आइस् माइली ?’ विष्णुरेखाले थुन्से बिसाउँदै भनिन्, ‘आएँ आमा ।’ अनि माइतबाट ल्याएको सेलरोटी, रक्सी, फिलुङ्गेको अचार बोजूलाई थमाउन दिइन् । त्यसपछि आमा र बोजूबीच कहिल्यै मनमुटाव भएन । कहिल्यै रिसराग भएन । दुवैले एकले अर्कालाई सघाइरहे । बोजूले आमालाई माया गरिरहिन्, आमाले बोजूलाई आदर गरिरहिन् । बोजू घरभित्रको काम गर्थिन्, आमा घरबाहिरको । केही समयपछि बोजूले गलेको स्वरमा भनिन्, ‘अब म बजारमा दोकान गरेर बस्छु । तैंले घर हेर्नपर्छ माइली ।’

आमाले घर सम्हाल्न थालिन् । बोजूले तल बजारमा दोकान गर्न थालिन् । बोजू बिरामी हुँदा लामो समय आमाले सिँगारिरहिन् । अहिले बोजू छैनिन् । उनी त गइन्, तर आमा र बोजूबीचको त्यो स्नेह अहिले पनि श्रवणको स्मृतिमा झलमल्ल भएर बस्छ । ‘मैले हजुरआमा र आमा दुवैको सामीप्य पाएँ । त्यसकारण मेरो दुवैप्रति उच्च सम्मान रहिरह्यो,’ श्रवण सुनाउँछन् ।

Shravan Mukarung's mother, who plows the field wearing a daurasuruval

जसले जीवनभर श्रीमान्‌लाई गाली गर्नुभयो, मुद्दामामिला लड्नुभयो, तर त्यही मान्छेभित्र बुबाप्रति कति गहिरो प्रेम बगिरहेको रहेछ : श्रवण मुकारुङ, कवि

केही वर्षअघि श्रवणका बाले पनि चोला फेरे । जीवनको अन्तिम प्रहरमा पनि उनी डुलिहिँडी नै रहन्थे । काठमाडौं आउँदा प्रायःजसो बडा बा गोरखा मेजर बालकृष्ण राई कहाँ बस्थे । कहिलेकाहीं श्रवण र राजनकहाँ बस्थे । ‘पछिल्लो पटक गाउँमा बेंसीघरमा बसिरहेको बेलामा प्रेसरले हानेछ । त्यसपछि ब्युँझनु भएन,’ श्रवण सुनाउँछन् । बा बित्दा श्रवणहरू बेंसीघरमै गएर मृत्युकर्म गरे । आमा भने मूलघरमै बसेर गर्नुपर्ने सबै थोक गरिन् ।

...

यतिका लामो कालखण्डमा श्रवणले कहिल्यै सुनेनन्, आमाको मुखबाट बाका बारेमा राम्रा शब्द । जीवनभर गाली वर्षाइरहिन्, असन्तुष्टि पोखिरहिन् । विष्णुरेखाका छोराहरू हुर्किए । ठूला भए । तिनै छोरा आ–आफ्नो कर्ममा स्थापित भए । श्रवण स्थापित कवि, गीतकार भए । राजन स्थापित आख्यानकार । र, जिता सफल अधिवक्ता । श्रवणले गीतमा, कवितामा आमाका पीडाहरू पनि बुने । सायद ‘हुलिया’ कवितामा बाका आकृति पनि कोरे । गीतमा सुस्केरा पनि मिसाए :

हराएको मेरो मान्छे

तिमी एक दिन जरुर आउँछौ

पिरतीको अर्थ के हो

त्यही बेला थाहा पाउँछौ

...

केही वर्षअघि आमा बिरामी भएर काठमाडौं आएकी थिइन् । आमालाई ‘सुगर’ र ‘प्रेसर’को बिमार थियो । श्रवण र उनकी पत्नी गीता थापा मगर मिलेर आमाको लुगा धोइदिँदै थिए । आमाको लुगामा एउटा पुरानो थैली भेटियो । श्रवणले त्यो थैली फुकाएर हेरे । थैलीभित्र केही पैसा मात्र थिएन, आमाले जीवनभर जतनले सँगालिरहेको एउटा जवान मानिसको सादा तस्बिर पनि थियो । त्यो तस्बिर श्रवणको बाको थियो । त्यो श्यामश्वेत फोटो देखेपछि श्रवणका आँखा रसाए । ‘जसले जीवनभर श्रीमान्लाई गाली गर्नुभयो । मुद्दामामिला लड्नुभयो । तर त्यही मान्छेभित्र कति गहिरो प्रेम बगिरहेको रहेछ,’ श्रवण भन्छन् ।

त्यो फोटो देखेपछि श्रवणलाई एकैपटक दुई–तीन वटा कविता अंकुराए । उनले लोकप्रिय गीत ‘राई माइला’मा त्यो बिम्ब प्रयोग गर्दै लेखे–

शिरमा ढाकाटोपी

कुममा कानेझोला

गोलो चिम्सो आँखा

खुकुरी नि होला

नाम सोधे उसलाई

फूलझैं हाँसिदेला

कोटको गोजीभित्र हाम्रो फोटो होला

त्यही फोटो हेर्दै भोलि माइलो रोला...

फोटो भेटेपछि श्रवणले आमाभित्रको सच्चा प्रेम भेटे । ‘उहाँको जीवनमा एकमात्र असन्तुष्टि बुबाप्रति थियो । अहिले बुझ्दा बुबाप्रतिको सबै घृणा, गाली अजरअमर प्रेमको प्रतिक्रिया थिए/छ,’ श्रवण ठम्याउँछन्, ‘आमा त ठूलो प्रेमी हुनुहुँदो रहेछ । बुबालाई भित्रैदेखि प्रेम गर्नुहुँदो रहेछ ।’

अहिले आमा उमेरले ८० काटिन् । धरानमा माइला भाइसँग बस्छिन् । बेलाबेला काठमाडौं आउँदा कहिले भाइ राजनकहाँ बस्छिन्, कहिले श्रवणकहाँ । आमा साथीजस्तो छिन् । ‘छोराहरूलाई नबिझाउने, गल्ती नै गरे पनि छोराहरूको पक्ष लिने । छोराहरूलाई निकै माया गर्ने,’ श्रवण सुनाउँछन् । अन्याय हुँदा एक्लै लडेकी आमा त्यतिबेला निरक्षर थिइन् । अहिले उनी अक्षर छिचोल्न जान्दछिन् । पुस्तकहरू पनि पढ्छिन् । छोराहरू आमालाई पढ्न सकिने सरल पुस्तकहरू दिन्छन् ।

श्रवण आमाले काटेका अप्ठ्यारा रेखाहरू बेला–बेला सम्झिबस्छन् । कल्पना गर्छन् । चाहे ‘बिसे नगर्चीको बयान’ जस्ता बलशाली कविता लेख्दा होस् वा प्रेम र पर्खाइका पंक्तिहरू, तिनमा उनी आमाका गहिरा सुस्केराहरू पनि जरुर मिसाउँछन् ।

आमाम्यागेजिन

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully