एक दशक पहिलेको तुलनामा पसगाउँमा धेरै परिवर्तन आएको छ, गाउँमा खानेपानी, बिजुली, सडक, मोबाइल–इन्टरनेट, आधारभूत शिक्षा, स्वास्थ्यको व्यवस्था छ, गाउँबाट गएकाहरू पनि फर्किने वातावरण बनेको छ
लमजुङ — कास्की सिमाना रुदी खोला तर्दै बगैंचाबाट नाकै ठोस्सिने झन्डै दुई घण्टाको उकालो चढेपछि पुगिने लमजुङको पसगाउँमा एक दशकअघिसम्म सडक पुगेको थिएन । लमजुङ सदरमुकाम बेंसीसहरबाट पश्चिममा पर्ने यो गाउँ सदरमुकामसँग सिधा सडक सम्पर्क हुन नसक्दा विकट थियो । पोखराबाट हिँडेर एक/डेढ दिनमा पसगाउँ पुग्थे ।
बेंसीसहरबाट पनि पसगाउँ पुग्न हिँडेरै एक/डेढ दिन लाग्थ्यो । बाटोका कतिपय ठाउँमा बस्ती थिएन, चोर–डाँका लाग्थे । हिँड्ने बाटा उत्तिकै भिराला र अप्ठ्यारा थिए । मानिस प्रायः हिँड्दैनथे ।
पहिले भारतीय पेन्सन लिने भुजुङ, पसगाउँ, सिङ्दीका मान्छे पसगाउँदेखि पोखराको गोरेटो ओहोरदोहोर गर्थे । तत्कालीन पसगाउँ गाविसका पूर्वअध्यक्ष बलराम गुरुङका अनुसार २०५०/५५ देखि मानिसहरू पसगाउँको बाटो भएर बिस्तारै हिँड्न थाले ।
‘बेंसीसहरबाट भुजुङ भएर पसगाउँ हुँदै पोखरा र पोखराबाट कास्कीको गहते–रबैडाँडा हुँदै पसगाउँ भएर भुजुङ–घलेगाउँ हुँदै मान्छेहरू बेंसीसहर झर्न थाले । हामीले पाहुनालाई बास दिन थाल्यौं’ उनले भने, ‘द्वन्द्वको समय भएकाले पाहुनालाई बास दियो कि सेनाको मान्छे आएर माओवादी पाल्यो भन्ने, माओवादी आएर सेनालाई किन आउन दिएको भन्ने !’
त्यतिबेला बिस्तारै घलेगाउँ र भुजुङका बासिन्दाले पर्यटकलाई घरमा बसाउने योजना अघि सारेका थिए । पसगाउँवासीले गाउँ भेला भएर गरेको सल्लाहअनुसार २०६० वैशाख १६ र १७ मा गाउँमा पर्यटक बोलाउन प्रथम पसगाउँ महोत्सवको आयोजना भयो ।
हूलमूल बढ्न थालेपछि सुरक्षा फौजले निगरानी थाल्यो । महोत्सवको बहानामा माओवादी कार्यकर्ता पनि गाउँ घुम्न थाले । मानिसहरू डराउँदै गए । महोत्सव आयोजना गरेको ४ महिनापछि भदौ १६ मा तत्कालीन सुरक्षा फौजले माओवादीका कार्यकर्तामाथि आक्रमण गर्यो । ११ जना माओवादी कार्यकर्ता मारिए ।
१०/१२ जना गाउँले पनि घाइते भए । ‘गाउँ अशान्त बन्यो, हामी डरायौं । घटनापछि केहीले गाउँ नै छाडे,’ पूर्वअध्यक्ष गुरुङले भने, ‘वल्लो घर, पल्लो घर जान पनि गाह्रो भयो । मान्छे आउन पनि छाडे । गाउँमा सन्नाटा छायो । खेतबारी आउजाउ गर्नै मुस्किल पर्यो ।’ पसगाउँ र आसपासको सुरक्षार्थ सेना र सशस्त्र प्रहरीको क्याम्प नै बस्यो । शान्ति सम्झौता भएपछि मात्र उनीहरू फिर्ता भए ।
देशमा बिस्तारै परिवर्तन आउन थाले पनि पसगाउँवासीले तत्काल विकासको मुख देख्न पाएनन् । पछिल्लो समय भने सरकार र विभिन्न संघसंस्थाले खानेपानी र बिजुलीको व्यवस्था गरिदिएका छन् । ७ वर्षअघि गाउँसम्म कच्ची मोटरबाटो बन्यो । केही वर्षयता सदरमुकाम बेंसीसहरबाट पनि कच्ची बाटो पुग्यो । गाउँमा १० कक्षासम्मको स्कुल छ । स्वास्थ्य चौकी छ । गाउँले अलैंची, चिया, कफी, किबीलगायत नगदेबालीको खेतीमा लागेका छन् ।
वडाध्यक्ष मनलाल गुरुङका अनुसार पसगाउँको मुहार बिस्तारै फेरिँदै छ । ‘सशस्त्र द्वन्द्वपछि भारतीय नाकाबन्दीले सतायो । त्यसपछि कोभिडको संक्रमणले गलायो । यहाँका गाउँले उकासिनै सकेनन्,’ उनले भने, ‘मोटरबाटो बनेपछि अहिले बल्ल चहलपहल बढ्न थालेको छ । सडकहरू राम्रा हुन थालेका छन् । पुल बन्न थालेका छन् । पाहुना आउन थालेका छन् । हामीले बास दिन थालेका छौं ।’
मनलालका अनुसार २० वर्षको अवधिमा पसगाउँवासीले १४ पटक महोत्सवको आयोजना गरिसकेका छन् । अहिले देश/विदेशबाट पाहुना आउन थालेका छन् । आमा समूहकी अध्यक्ष युगदेवी गुरुङका अनुसार सातामा एकपटक गाउँघर सफा गर्ने कार्यक्रम अहिले पनि जारी छ ।
‘अहिले त पसगाउँ साँच्चिकै हेर्नलायक छ । ढुंगाले छाएका घर, ढुंगा बिछ्याइएको बाटो । सफासुग्घर अनि शान्त छ पसगाउँ,’ उनले भनिन् । पहिले ६ देखि ९ वडाको पसगाउँ अहिले क्व्होलासोथार गाउँपालिका–६ मा पर्छ । समुद्री सतहबाट १ हजार ६ सय ५० मिटरको उचाइमा रहेको पसगाउँमा पर्यटकीय संरचना निर्माण हुन थालेका छन् ।
आन्तरिक बाटो निर्माण तथा मर्मत, सरसफाइ, व्यवस्थित खानेपानी र शौचालयको व्यवस्था घरैपिच्छे छ । गाउँमाथिको क्होम्रे डाँडालाई पर्यटकीय स्थल बनाउन गाउँपालिकासँगै गाउँका भूपू सैनिकहरू लागेका छन्, जहाँबाट पश्चिमदेखि पूर्वसम्मै हिमाल देखिन्छ । त्यतिमात्रै नभएर मनाङ, कास्की, स्याङ्जा, गोरखा, तनहुँका गाउँहरू देखिन्छन् ।
गाउँमा पाहुना राख्न २१ घरमा होमस्टे सञ्चालनमा ल्याइएको छ । क्व्होलासोथार गाउँपालिका अध्यक्षसमेत रहेका पसगाउँ सामूहिक होमस्टेका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार एक दशकअघि र अहिलेको पसगाउँमा धेरै परिवर्तन आएको छ ।
‘अहिले गाउँमा खानेपानी, बिजुली, सडक, मोबाइल–इन्टरनेट, आधारभूत शिक्षा, स्वास्थ्यको व्यवस्था छ । गाउँबाट गएकाहरूका लागि पनि फर्किने वातावरण बनेको छ,’ उनले भने । गाउँबाट बाहिरिएकालाई फर्काउने वातावरण बनाउनुका साथै गाउँलाई थप प्रचारप्रसार गर्न फागुन १८ र १९ मा १५ औं पसगाउँ महोत्सवको आयोजना गर्न लागिएको उनले बताए ।
पसगाउँ घर भई बेलायत बस्दै आएका तमु धिं यूकेका सल्लाहकार एकेन्द्र गुरुङले पसगाउँमा पछिल्लो समय भएको विकासले नेपालमा शान्ति र अमनचयनको वातावरण बन्दै गएको प्रमाणित भएको बताए । ‘हिजोको द्वन्द्व, बन्द, हडताल, बमबारुद सम्झिँदा अहिले पनि दिक्क लाग्छ । तर, गाउँ आउँदा अहिले निकै आनन्द छ । हिजो सहरमा भेटिएका आफन्तहरू अहिले गाउँमा भेटिँदा झन् खुसी लाग्यो,’ उनले भने ।
पसगाउँ घर भई हाल हङकङ बस्दै आएकी गुरुङ फिल्म एसोसिएसन हङकङकी अध्यक्ष माया गुरुङले गाउँ आएर आनन्दको सास फेर्ने वातावरण बनेको बताइन् । दक्षिणी मोहोडामा ढुंगाले छाएका घरहरू, घुमाउने घर, गुरुङ संग्रहालय, ऐतिहासिक तथा धार्मिकस्थलहरू पसगाउँका हेर्नलायक सम्पदा हुन् । गाउँका सामाजिक परम्परा रोधी, हुरी, सामूहिक श्रमलगायत प्रथा, आमा समूहको नाच, युवा क्लबको सांस्कृतिक नाच, सेर्गा, घाटु, कृष्ण चरित्र, सारङ्गी, झ्याउरेलगायत नाच पसगाउँमा देख्न पाइन्छ ।
स्थानीय युवा भक्तबहादुर गुरुङका अनुसार अर्गानिक खानपान, परम्परागत हस्तकला, पौराणिक चालचलन, रहनसहन, प्रकृति र संस्कृतिका लागि पसगाउँ धनी छ । ‘समयअनुकूल वनजंगलमा पाइने विभिन्न प्रकारका फलफूलले पर्यटकलाई लोभ्याउँछ,’ उनले भने । उनका अनुसार १ सय ६३ घरधुरी रहेको पसगाउँमा गुरुङ समुदायलगायत भुजेल, दलित समुदायहरू पनि छन् ।
पछिल्लो समयमा पोखरादेखि मनाङ जाने पदमार्ग ‘रोयल गोर्खा ट्रेल’ को मुख्य प्रस्थानबिन्दु पनि पसगाउँ बनेको छ । यस पदमार्गले कास्कीको पोखरा महानगरपालिका, मादी गाउँपालिका, लमजुङको क्व्होलासोथार र मर्स्याङ्दी गाउँपालिका साथै मनाङलाई समेट्छ । लमजुङ सदरमुकाम बेंसीसहरबाट मालिङ, साल्मेभन्ज्याङ, घाम्राङ हुँदै पसगाउँ पुग्न सकिन्छ । यो सडक करिब ४० किमिको छ । साल्मेभन्ज्याङबाट चरागाउँ, बगैंचा हुँदै पनि पसगाउँ पुग्न सकिन्छ । बेंसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै पनि पसगाउँ पुग्न सकिन्छ ।
यस्तै, बेंसीसहरबाट भोर्लेटार रामबजार अथवा पोखराबाट रामबजार भएर करापु, छापा, गिलुङ हुँदै साल्मेभन्ज्याङ निस्किएर चरागाउँ वा घाम्राङको बाटो पसगाउँ पुग्न सकिन्छ । पोखराबाट भैंसे, थुम्सीकोट, मुंग्रीबेंसी, बालुवाबेंसी, बगैंचा हुँदै पसगाउँ पुगिन्छ, यो सडक ४७ किमि छ । काठमाडौंबाट तनहुँको दमौली हुँदै लमजुङको दुईपिप्ले, भोर्लेटार, रामबजार हुँदै गिलुङको बाटो भएर पसगाउँ पुगिन्छ ।
