कम उमेरमै विवाह गरेलगत्तै गर्भवती हुनुपर्ने बाध्यता, सुत्केरी हुँदा खानपान बार्नुपर्ने, पौष्टिक आहारको अभाव, स्वास्थ्योपचारको कमीले आमा र सन्तानको मृत्यु खेप्दै आएको कर्णालीमा अहिलेको पुस्तामा भने क्रमिक रूपमा सुधार आइरहेको छ
वीरेन्द्रनगर — हुम्लाको अदानचुली गाउँपालिका–३ रोकाया गाउँकी ४८ वर्षीया सुगानी दमाईंको बिहे पाँच वर्षकै उमेरमा भएको थियो । १६ वर्षमै आमा बनेकी उनले पहिलो बच्चा नै गुमाउनुपर्यो । ‘जन्मिँदै सानो थियो, दुब्लाउँदै झन्झन् कमजोर हुँदै गयो । केही महिनामै बित्यो,’ सुगानीले सम्झिइन्, ‘पहिलो सन्तान नै गुमाएँ । त्यो कुरा सम्झेर अहिले पनि झस्किरहन्छु ।’
उनलाई अहिले आएर बल्ल थाहा भयो, छोरा कुपोषणले बितेको रहेछ । त्यसपछि उनका दुई छोरा जन्मिए । उनी सुत्केरी हुने समयमा बच्चा जन्मिनेबित्तिकै दूध खुवाउने चलन रहेनछ । ‘जन्मिनेबित्तिकै सुरुको दूध खुवाउने चलन थिएन । बच्चा जन्मिएपछि नुहाउने चलन थियो । मैले त हिउँ पर्ने बेला बच्चा पाएकी थिएँ । हिउँकै पानीले नुहाएको याद भइरहन्छ,’ उनले भनिन् ।
हिमाली जिल्ला भएकाले खानाको अभाव रहेको उनले बताइन् । ‘हामी त हिमालतिरको मान्छे, एक त खानेकुरा पाइँदैनथ्यो, जमिनमा उब्जाएको पनि लाग्छ भनेर खान दिँदैनथे,’ उनले भनिन्, ‘सुत्केरी भएका बेला गेडागुडी, दाल पनि खान पाइएन । सादा भात र सुक्खा रोटी मात्र खान पाइन्थ्यो, त्यही पनि पेटभरि पाइँदैन्थ्यो ।’
पहिलो बच्चा जन्मिएको केही महिनामै गुमाएकी उनले अन्तिम सन्तान मृत जन्माएकी थिइन् । गर्भावस्थामा आफ्नो ख्याल नगरेकाले बच्चा मृत जन्मिएको हुन सक्ने उनले बताइन् । गर्भावस्थाका बेला पनि अघिपछिकै जस्तो खाने र काम गर्नुपर्ने उनले सुनाइन् । ‘त्यसैले अन्तिममा जन्मिएकी छोरी गुमाएँ । दोस्रो र तेस्रो सन्तान मात्र जीवित छन्,’ उनले भनिन् । गर्भधारण हुन नदिने कुनै विकल्प नहुँदा भालुको पित्त खाएको उनले सुनाइन् । अहिले जस्तो स्वास्थ्यको ख्याल गर्ने जमाना नभएकाले धेरै दुःख पाएको उनको अनुभव छ । गर्भावस्था होस् वा सुत्केरी सधैं काममा खटिनुपरेको उनी सम्झन्छिन् ।
अहिले सुगानीकी बुहारी छिन् । आफूलाई भन्दा बुहारीलाई सुख भएको ठान्छिन् उनी । बुहारी कल्पनाले १७ वर्षको उमेरमा बिहे गरेकी थिइन् । गर्भवती भएपछि आफूले स्वास्थ्य चौकीमा गएर नियमित जँचाएको कल्पनाले बताइन् । पहिलो सन्तान हुर्किसकेपछि मात्र अर्को सन्तान जन्माएकी छन् । सासूको पालामा जस्तो दुःख आफूले नभोगेको कल्पनाले बताइन् ।
‘गर्भावस्थामा र सुत्केरी भएपछि स्वास्थ्यकर्मीले भनेजस्तै गरी ख्याल गरें, खानेकुरा पनि खोजेर खाएँ, भोकै बसिनँ,’ उनले भनिन्, ‘सकेसम्म पोसिलो खाएँ । बच्चालाई पनि बिगौती दूध खुवाएँ । बच्चालाई नुहाउने काम पनि २४ घण्टापछि मात्र भयो ।’ उनले स्वास्थ्यकर्मीको सल्लाहअनुसारै खाने कुरा खाएको र केही पनि नबारेको बताउँदै थपिन्, ‘अचेल सासूको पाला जस्तो बार्ने चलन हट्दै गएको छ ।’
आफूले बच्चा पेटमा हुँदा र जन्मिएपछि पनि उपलब्ध माछामासु, अण्डा, सागपात, गेडागुडी पनि खाने गरेको बताइन् । स्वास्थ्यकर्मीले सिकाएको खाना खाने प्रयास गरेको र काम गर्दा पनि ख्याल गरेको उनले बताइन् । सासूको पालामा जस्तो आफ्नो पालामा नभएको बताउँदै उनले अब छोरीहरूको समयमा अझै सहज हुने बताइन् ।
कालीकोटको पचालझरना गाउँपालिका–८ नानीकोटकी जयसरा न्यौपानेको ६३ वर्षअघि ७ वर्षकै उमेरमा बिहे गरेकी थिइन् । त्यसबेला उनका श्रीमान् पनि ११ वर्षका नाबालक नै थिए । बिहे भएको १३ वर्षपछि उनले सन्तान जन्माइन्, जतिखेर उनी २० वर्षकी थिइन् । ‘त्यसपछि लगालग १३ सन्तान जन्मिए,’ उनले भनिन्, ‘पाँच जना त बिते, सात सन्तान मात्र बाँचे ।’
उनलाई छोराछोरी के भएर बिते भन्ने पनि थाहा हुँदैनथ्यो । ‘कुनै सन्तानलाई ज्वरो आएर, कुनैलाई खोकी लागेर त कुनैले वान्ता गरेर बिते । कसरी बिते भन्ने न आफूले जानियो न अहिलेको जस्तो समय थियो ।’ आफू गर्भवती भएको समयमा स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने चेतना नै नभएको उनले बताइन् ।
‘पौष्टिक आहार खानु त परको कुरा राम्रोसँग आराम पनि गर्न पाउन्नथ्यौं,’ जयसराले भनिन्, ‘घरको सबै काम गर्नुपर्ने हुन्थ्यो । पेटसित हुँदा ख्याल गर्नुपर्छ भन्ने कसैलाई थाहै थिएन ।’ उनका अनुसार बच्चा गर्भमा हुँदा होस् वा सुत्केरी भएपछि सागपात, फलफूल, दूधदही बार्नुपर्ने चलन थियो ।
‘एक त माछामासु पाइँदैनथ्यो, पाए पनि सुत्केरीलाई खान दिने चलन थिएन । खानुपर्ने कुरा नखान भनेको अहिले आएर थाहा भयो,’ उनले सुनाइन् । जयसरालाई अहिले आफूले राम्रो खान र सन्तानलाई अस्पताल लैजान सकेको भए बाँच्थे कि भन्ने लागिरहन्छ । ‘खानाको त के कुरा भयो र, बिरामी भएका छोराछोरीलाई उपचार गर्न हेल्थपोस्ट पनि थिएन । त्यही भएर छोराछोरी बचाउन सकिनँ,’ उनले थपिन्, ‘उपचार गराउन सकेको भए त बाँच्थे होला नि ! जति बाँचेका छन्, ती पनि भाग्यले बाँचेका हुन् !’
जयसराको यो कथा कर्णालीका उनको पुस्ताका प्रायः महिलाले व्यहोरेका छन् । अचेल जयसरा आफ्ना छोरीबुहारीले पाएको ‘सुख’ देखेर दंग पर्छिन् । सन्तान धेरै पाउन नपर्नु, सुत्केरी हुँदा धपेडी गर्न नपर्नु, पोषिलो खान पाउनुलगायत धेरै कुरामा अहिलेका महिलाले पहिलाभन्दा ‘सुख’ पाएको उनले बताइन् ।
‘जमाना त कति फेरियो कति, सन्तान पनि कमै जन्माएका छन्, बच्चा पाउन अस्पताल गएका छन् । डाक्टरले जाँचिरहन्छन् । पोसिलो खानेकुरा खाउ भनिरहन्छन्,’ उनले भनिन्, ‘बार्न पनि धेरै नपर्ने ! जमानाले हेर्दाहेर्दै धेरै सुधार ल्यायो । हाम्रो पाला न पेटभर खाना हुन्थ्यो, न औषधिपानी ।’ उनकी जेठी बुहारीले उनले भन्दा कम दुःख पाइन् । उनको जमानामा भन्दा बुहारीको पालामा अलि बढी खान थालिएको थियो । एउटा बच्चा घरमै जन्माए पनि अरू जन्माउँदा अस्पताल पुर्याइएको थियो । कान्छी बुहारी तुलसीको भने सासू र जेठानीको भन्दा फरक अनुभव छ ।
तुलसी १० वर्षअघि बिहे गरी आउँदा २१ वर्षकी थिइन् । उनले २ सन्तान मात्र जन्माइन् । जन्मान्तर राखेर दोस्रो बच्चा जन्माएकी उनले सासूको पालाको जस्तो दुःख नपाएको सुनाइन् । उनी शिक्षिका पनि हुन् । गर्भावस्था र सुत्केरी अवस्थामा स्वास्थ्यको राम्रै ख्याल गरेको बताउँछिन् ।
‘भीरमा घाँस काट्न जाँदा बच्चा जन्मिएको, खेतबारीमा व्यथा लागेपछि रगत लत्पतिएर घरसम्म हिँडेर आएका कुरा सासू–जेठानीहरूले सुनाउँदा अचम्म लाग्छ,’ उनले भनिन्, ‘अब त त्यो जमाना छैन । हामीले गर्भावस्थामा नियमित जाँच गर्यौं । केही अप्ठेरो परे सके डाक्टर नभए स्वास्थ्यकर्मीसँग सल्लाह लियौं । स्वास्थ्य संस्थामै गएर बच्चा जन्मायौं ।’ आफूले गर्भावस्थामा केही खानेकुरा बार्न नपरेको उनले बताइन् । सासूको पालामा श्रीमान् नजिकै नपरेको सुनेको बताउँदै उनले आफ्नो पालामा श्रीमान्ले नै स्याहार गरेको पनि सुनाइन् ।
दैलेखको नारायणपुर नगरपालिका–१ की ७१ वर्षीया गोमा कोइराला ५ सन्तानकी आमा हुन् । उनको बिहे १८ वर्षको उमेरमा भएको थियो । बिहे भएको अर्को वर्षपछि सन्तान जन्मिए । एकपछि अर्को गर्दै उनी ५ सन्तानकी आमा बनिन् । दैलेख सदरमुकामै बस्ने भए पनि गोमाले सबै सन्तान घरमै जन्माएकी हुन् ।
उनले बच्चा जन्माउने समयमा अहिले जस्तो स्वास्थ्य संस्था जाने चलन थिएन । ‘हाम्रो पालामा अस्पताल लैजाने चलनै थिएन । सबै सन्तान घरमै जन्माएकी हुँ,’ उनले भनिन्, ‘ढिकी कुट्दा, जातो पिस्दा, काम गर्दागर्दै जन्मिएका हुन् सबै छोराछोरी । दुःख धेरै पाइयो,’ उनले सम्झिइन् । आफू सुत्करी भएको बेला खानपान बार्ने चलन भएको उनले सुनाइन् ।
‘पौष्टिकयुक्त खाना टन्न खानुपर्ने समयमा कति रात त भोकै पनि काटियो । सागपात, माछामासु, गेडागुडी केही पनि खान पाएनौं’, गोमा आफ्नो अनुभव साट्छिन्, ‘हाम्रो शरीर कति कमजोर भयो होला, हामी कसरी बाँच्यौं होला अहिले सम्झिँदा झसंग हुन्छु ।’ उनका अनुसार ‘जात जान्छ’ भनेर कुखुराको मासु छुनसमेत दिइँदैनथ्यो ।
सुत्केरीलाई खुवाउन भनेर खसी काट्ने कुरा त गोमाजस्ता महिलाको कल्पनामा पनि आउन्नथ्यो । धन्न सुत्केरी भएको बेलामा छाउ घरमा बस्न नपरेकोमा उनले आफूलाई भाग्यमानी सम्झिन्छिन् । त्यतिबेला सुत्केरीलाई पनि महिनावारी भएका महिलाले झैं छाउ गोठमा बस्नुपर्थ्यो । उनको घरमा भने गोठ र कटेरो थिएन, परिवारले घरकै एउटा कोठामा राखेको उनले सुनाइन् ।
आफ्नो पालामा सुत्केरी हुने बेला र भएपछि धेरै महिलाको ज्यान जाने गरेको कुरा गोमा अझै सम्झिन्छिन् । ‘त्यो बेला बच्चा जन्माउन नसकेरै धेरै महिलाको मृत्यु हुन्थ्यो । कति बच्चा जन्मेर मर्थे, कोही गर्भमै,’ उनले भनिन्, ‘कति त सालनाल नखसेर बित्थे, धेरै रगत बगेर बित्थे । हामी जति बाँचेका छौं, धन्नैले हो । अहिले त सम्झेर पनि छक्क पर्छु ।’ अहिले आएर मात्रै उनलाई पोसिलो खान नपाएर त्यतिबेला आमा र बच्चाको स्वास्थ्य खराब भएको थाहा लागेको छ । उनकी बुहारी संगीता पाण्डेले २२ वर्षको उमेरमा विवाह गरेकी थिइन् । अहिले सदरमुकाममा व्यापार गर्दै आएकी संगीताका २ सन्तान छन् । ‘दुवै सन्तानलाई जिल्लाका अस्पतालमा जन्माएँ, आमाहरूले जस्तो सास्ती भोग्नु परेन,’ संगीताले भनिन् ।
कर्णालीका अलिक सुगम र हुनेखाने परिवारमै पनि आमा बन्ने महिलाले २०/३० वर्षअघि पनि पोसिलो खान पाउने अवस्था थिएन । अहिले भने गर्भावस्था र सुत्केरीमा राम्रो खानपानसँगै उचित स्याहार पाइरहेको उल्लिखित उदाहरणले देखाउँछ । यहाँका दुर्गम बस्तीसम्मकै महिलाको स्वास्थ्य सेवामा परिवर्तन आएको कर्णालीको दुर्गम जिल्ला मुगुको कार्मारोङ गाउँपालिका–५ स्थित पुलु स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सी शाही बताउँछिन् ।
‘अमिलो खाए बच्चाको पेट पाक्छ, गेडागुडी खायो भने लाग्छ भन्ने चलन थियो । अचेल यहाँ गर्भावस्थामा खाना बार्ने चलन छैन,’ उनले भनिन्, ‘गर्भवतीले अहिले सागपात, गेडागुडी, अमिला फलफूल खाने गरेका छन् ।’ उनको अनुभवमा केही वर्षअघिभन्दा अहिले अस्पतालमा बच्चा पाउने सुत्केरी संख्या बढेको छ । गर्भ रहेको थाहा पाउनासाथ स्वास्थ्य संस्थामा जँचाउन जाने गरेका छन् । ‘स्वास्थ्य संस्थामा गएपछि त गर्भावस्थामा के कसरी ख्याल राख्नुपर्छ भन्ने सुझाव दिइन्छ,’ उनले भनिन्, ‘गर्भवती र सुत्केरीको स्वास्थ्य सुधारमा राम्रो भइरहेको छ ।’
गर्भवती र सुत्केरी महिलामा पहिलाभन्दा सुधार आएको कुरा तथ्यांकले पनि देखाएको छ । २०७६/७७ मा कर्णाली प्रदेशमा २१ महिलाको गर्भवती र सुत्केरी अवस्थामा मृत्यु भएको थियो । त्यसको तीन वर्षपछि यो संख्या १७ जनामा झरेको थियो । २०७६/७७ मा जन्मेको एक वर्षभित्र २ सय ४ शिशुको मृत्यु भएको थियो भने तीन वर्षपछि ०७९/८० मा उक्त संख्या १ सय ६८ मा झरेको छ । मातृशिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि पोसिलो खानेकुरामा पहुँच बढाउन स्थानीय सरकार पनि लागिपरेका छन् । उनीहरूले गर्भवती र सुत्केरीलाई पौष्टिक भत्तादेखि स्वास्थ्य जाँच गर्न जाने महिलालाई भत्ता दिनेसम्मका व्यवस्था गरेका छन् ।
कर्णालीमा सुत्केरी हुने महिलाको संख्या पनि बर्सेनि घटिरहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको तथ्यांक छ । गत आर्थिक वर्षमा कर्णालीका १० वटै जिल्लामा रहेका स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या २८ हजार ९१ छ । उक्त वर्ष १२ सय ३८ महिला घरमै सुत्केरी भएको निर्देशनालयको तथ्यांक छ । ०७९/८० मा २९ हजार ५ सय ६१ संस्थागत सुत्केरी र ४ सय ८८ घरमा सुत्केरी भएका थिए । ०७८/७९ मा ३० हजार ७ जना स्वास्थ्य संस्था र ३१ सय ९ जना घरमा सुत्केरी भएका थिए ।
निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलका अनुसार कर्णाली सरकारले सुत्केरीलाई २ हजार रुपैयाँ सुत्केरी पोषण कोसेलीबापत उपलब्ध गराउँदै आएको छ । संघीय सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत चार पटक गर्भ जाँच गराएर संस्थागत सुत्केरी भएकालाई ३ हजार ८ सय रुपैयाँ दिने गरेको छ । त्यस्तै कर्णाली प्रदेशका हिमाली ५ जिल्लामा पोसिलो पिठो वितरण गर्ने कार्यक्रम पनि जारी छ ।
कर्णाली केएर इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका बालरोग विशेषज्ञ डाक्टर नवराज केसी कर्णालीमा मातृशिशु स्वास्थ्य राम्रो हुँदै गए पनि धेरै काम गर्नुपर्ने बताउँछन् । ‘पहिलेको तुलनामा आमा र बच्चाको स्वास्थ्यमा पनि सचेत भएका छन् । स्वास्थ्यको सूचकांकमा कर्णाली प्रदेशमा सुधार देखिएको छ,’ उनले भने, ‘यति नै पर्याप्त भने होइन । कर्णालीमा पोसिलो खानाको कमी छैन तर ती गर्भवती र सुत्केरीलाई खुवाउनुपर्छ भन्ने चेतना अभाव छ ।’
सांस्कृतिक रूपमा महिलामैत्री समाज बनाउन आवश्यक भएको उनले बताए । ‘महिनावारी र सुत्केरी बानुपर्ने अवस्था अझै छ । घरभित्र नै बस्न नपाउने महिलाले खान कति पाउलान् ?’ उनले भने ।
