१८ वर्ष कमलरी बसेकी शान्ता पछि राजनीतिमा होमिएर संविधानसभा सदस्य र सांसद पनि बनिन्, स्कुल भर्ना भएर औपचारिक अध्ययन सुरु गरिन्, आत्मनिर्भर बन्न भान्साबाटै अचार बनाएर बेच्न थालिन् । वर्ष दिनअघि थालेको उनको उद्यममा अहिले शाकाहारी/मांसाहारी गरी २२ प्रकारका अचार बन्छन् । ‘शान्ताको अचार’ अस्ट्रेलिया, कतार, युरोप र अमेरिकासम्म पुग्छ ।
दाङ — ८ वर्षको कष्टकर कमलरी जीवनबाट मुक्त भएर राजनीतिमा होमिएकी शान्ता चौधरीले आर्थिक रूपमा आफूलाई सबलीकरण गर्न अचार बनाउने र बिक्री गर्ने उद्यम पनि सँगसँगै थालिन् । एक वर्षअघि मात्र अचार बनाउन सुरु गरेकी शान्ताले अहिले आफूले बनाएका अचार विदेशी बजारमा समेत फैलाएकी छन् । उनलाई अचारको माग पुर्याउनै हम्मे परिरहेको छ ।
आफ्नै नामबाट अचार उद्योग खोलेकी शान्ताले अचारको नाम पनि ‘शान्ताको अचार’ भनेर राखेकी छन् । स्थानीय किसानबाट किनेका कृषि उपजबाट उनले अचार बनाउँछिन् । ‘स्थानीय जैविक सामग्रीबाट अचार तयार गरिन्छ । यो स्वादिलो अचारले नेपालको समृद्ध पाककला परम्पराको झल्को दिन्छ,’ उनले भनिन्, ‘नेपालको असली स्वाद खोज्नेका लागि यो उत्तम रोजाइ बनेको छ । त्यसकारण विदेशमा पनि धेरै नै माग छ ।’
जीवनमा अनेक संघर्ष र उतारचढाव व्यहोरेकी शान्ताले राजनीति गर्दागर्दै आत्मनिर्भर हुने उपाय खोजिन् । उनले आफू मात्रै नभई अन्य महिलालाई पनि आत्मनिर्भर बनाउने सोचका साथ अचार बनाउने उद्यम थालेकी हुन् ।
‘महिलाहरूलाई सक्षम र आत्मनिर्भर बनाउन पनि यो उद्योग खोलेकी हुँ,’ उनले भनिन्, ‘महिलालाई सीप र रोजगारको अवसर दिई उनीहरूको जीवन परिवर्तन गर्न खोजेकी छु ।’ उनको उद्योगमा हाल १८ जना महिलाले काम गरिरहेका छन् । शान्ता आफैं पनि बिहानैदेखि राति अबेरसम्म अचार बनाउने काममा खटिइरहेकी हुन्छिन् ।
कहिलेकाहीं राजनीतिक कार्यक्रम र बैठकहरूमा दौडधुप गर्नुपर्ने उनका लागि राजनीतिक जीवनसँगै व्यवसाय सम्हाल्न सहज भने छैन । राजनीतिक कार्यक्रम नहुँदा उनी दिनभर पनि अचार बनाउन तल्लीन हुन्छिन् । शान्ताले अचार बनाए पनि बिक्रीवितरणका लागि कतै ‘बिक्री कक्ष’ भने राखेकी छैनन् ।
घरमै उत्पादन गरेको अधिकांश अचार भाटभटेनी सुपर मार्केटमा दिन्छिन् । त्यसबाहेक अन्य ठाउँमा पनि मागका आधारमा दिँदै आएकी छन् । अलि ठूलो मात्रामा अस्ट्रेलिया, कतार, अमेरिकासहित युरोपेली देशमा जान्छ । अब केही समयपछि कतारमा अचारको बिक्रीकक्ष खोल्ने तयारी भइरहेको उनले बताइन् ।
कतिपयले राजनीतिलाई व्यापारको थलो बनाइरहँदा उनले भने यसलाई विशुद्ध जनसेवाका रूपमा लिएर व्यापारका लागि उद्यम गरिरहेको सन्देश दिएकी छन् । ‘राजनीति सेवा हो, राजनीतिमा व्यापार हुँदैन । नेता आत्मनिर्भर हुनुपर्छ ता कि गलत काममा नजर नजाओस्,’ उनले भनिन्, ‘मैले यो सन्देश दिन पनि उद्यम गरेकी हुँ । अर्को कुरा, मेरो आम्दानीको अरू कुनै पनि स्रोत छैन । यो मेरो बाध्यताको पेसा पनि हो ।’
आफूले जीवनमा सिकेको सीपलाई व्यवसायमा बदल्ने सोचका साथ व्यवसाय थालेको उनले बताइन् । ‘प्रायः महिलाको अचार बनाउने सीप हुन्छ । त्यो सीपलाई व्यवसायमा बदल्न सकेमा महिलालाई अत्मनिर्भर हुन सजिलो हुन्छ,’ उनले भनिन्, ‘म एक हजार महिलालाई रोजगारी दिने सोचमा छु । महिलाको सीपलाई आत्मनिर्भरताको माध्यम बनाउन चाहन्छु ।’
यही उद्देश्यका साथ महिला सशक्तीकरण र आत्मनिर्भरताको नारा दिएर उनले महिलालाई अचार बनाउने तालिम पनि दिइरहेकी छन् । ‘तालिमबाट महिलाले व्यवसाय गरून् र आयआर्जन बढाऊन् भन्ने मेरो चाहना छ,’ उनले भनिन्, ‘तालिम लिएर धेरैले मेरै उद्योगमा काम गरिरहेका छन् । घरमै उत्पादन गरेर पनि बेच्न सकिन्छ । अचारको माग राम्रो छ ।’
उनले अमला, आँप, टिमुर, लसुन, अकबरे खुर्सानी, भेडे खुर्सानी, मुला, मासुलगायत विभिन्न सामग्रीबाट अचार बनाउनुका साथै भुटेको मकैसमेत बेच्ने गरेकी छन् । घरेलु मसलाबाट हातैले बनाइएका कारण शान्ताको अचारमा घरकै स्वाद पाइने भन्दै उपभोक्ताबाट उच्च माग हुने गरेको उनले बताइन् ।
‘शान्ताको अचार’ उद्योगमा शाकाहारी र मांसाहारीका लागि गरेर २२ प्रकारका अचार बन्छन् । शाकाहारी अचारमा अकबरे खुर्सानीको तीन थरी, लप्सीको दुई थरी, अमला, गुन्द्रुक, भटमास, टिमुरको छोप, च्याउ, बयर, लसुन, आँप, मुला, कागती, मिक्स, धूलो टिम्मुरको छोपलगायतका बन्छन् ।
मांसाहारीका लागि कुखुरा, माछा, खसी, राँगा, बंगुरका मासुको अचार बन्छन् । शाकाहारी र मांसाहारीका लागि उनले छुट्टाछुट्टै भाँडाको प्रयोग गर्ने गरेको बताइन् । ‘मासुको अचारको पनि राम्रो माग छ । उपभोक्ताको चाहना र मागअनुसार विभिन्न प्रकारका मासुको अचार बनाउँछौं,’ उनले भनिन्, ‘मासुको सुकुटी देश, विदेशमा धेरै माग छ । त्यसकारण भेजसँगै ननभेजलाई पनि महत्त्व दिएका छौं ।’
शान्ता अचारका लागि आवश्यक पर्ने कच्चा पदार्थ गाउँगाउँमा गएर संकलन गर्छिन् । सबैजसो सामान कृषि र पशु उत्पादनसँग सम्बन्धित भएकाले किसानका घर, खेतमै गएर संकलन गर्छिन् । आजभोलि कतिपय किसान आफैं पनि कृषि र पशुजन्य उत्पादन लिएर बेच्न आउँछन् । ‘यसले गर्दा एकातिर किसानको उत्पादनले पनि गाउँमै बजार पाएको छ भने अर्कोतिर किसानलाई खेती गर्न प्रोत्साहन मिलेको छ,’ उनले भनिन्, ‘सकभर गाउँकै उत्पादनलाई महत्त्व दिने गरेका छौं । किसानहरू आफैं अचारका लागि बिक्री गर्न उत्साहित हुनुहुन्छ ।’
शान्ता लामो समय काठमाडौं बस्नुपर्यो भने पनि त्यहीं अचार बनाउन थालिहाल्छिन् । त्यस्तो बेला सकेसम्म किसानसँगै सम्पर्क गरेर सामान किन्छिन् । तरकारी मण्डीबाट सामान किन्दा महँगो पर्ने भएकाले उनले किसानबाटै किन्ने गरेकी छन् । नपुगेको अवस्थामा मात्रै तरकारीका थोक बिक्रेताबाट किन्छिन् । ‘जतागयो उतै अचार बनाउँछु । तालिम दिएर अन्य दिदीबहिनीहरू पनि तयार गरेको छु,’ उनले भनिन्, ‘जसले गर्दा दाङ, काठमाडौं जता जाँदा पनि काम गर्न सहज भएको छ । जता हुँदा पनि अचार उत्पादनको काम रोकिँदैन ।’
शान्ताको अचार ३ सय ५० ग्रामको १ सय ८० देखि १ हजार ६ सय ५० रुपैयाँसम्ममा बिक्री हुन्छ । नेपालमा बिक्री गर्दा लेबलमा लेखेको मूल्यमा व्यापारीलाई २० देखि ३० प्रतिशतसम्म छुटमा बिक्री गर्ने गरेको शान्ताले बताइन् । ‘विदेशमा बिक्री गर्दा छुट कम हुन्छ । प्रायःजसो नेपालको होलसेल मूल्यमा विदेशमा फुटकर बिक्री हुने गरेको छ,’ उनले भनिन्, ‘देशअनुसार पनि मूल्य फरक पर्छ । नेपालमा भन्दा विदेशबाट नै बढी फाइदा हुन्छ ।’
उद्योगमा काम गर्ने महिलाहरूले कामका आधारमा मासिक १५ देखि ५० हजार रुपयाँसम्म पारिश्रमिक पाउँछन् । ‘मागअनुसार अचार तयार हुने भएकाले कहिले धेरै नै काम गर्नुपर्ने हुन्छ भने माग कम हुँदा उत्पादन पनि कम नै गर्नुपर्छ,’ शान्ताले भनिन्, ‘आफ्नो परम्परागत सीपका आधारमा दिदीबहिनीहरूले राम्रो पारिश्रमिक पाउनुभएको छ ।’
अचार उद्योगमा तरकारी काट्नेदेखि प्याकिङ र लेबल लगाउनेसम्मका विभिन्न मेसिनहरू पनि छन् । मसला पिस्ने, लसुन फोक्ने, मुला काट्ने, र्यापिङ गर्ने, लेबलिङ गर्ने र सिल गर्ने काम मेसिनबाटै हुने गरेको शान्ताले बताइन् । भनिन्, ‘अचारलाई उद्योगका रूपमा विकास गर्न थालेपछि ठूलो मात्रामा उत्पादन गर्न मेसिनको प्रयोग नगरी नहुने रहेछ ।’
उनले एक हजार रुपैयाँको कुखुराको मासु किनेर अचार बनाउन सुरु गरेकी थिइन् । माग राम्रो भएपछि उनले अन्य विभिन्न खालका अचारमा पनि हात हालिन् । अहिले उनले अचारबाट मासिक २० हजार रुपैयाँसम्म कमाइ गर्दै आएको बताइन् । ‘आफूले धेरै कमाउनेभन्दा पनि अरू महिलालाई रोजगारी दिँदै आफ्नो खर्च धान्ने मात्रै लक्ष्य छ,’ उनले भनिन् ।
शान्ताले जीवनमा धेरै हन्डर खाइसकेकी छन् । त्यसकारण पनि उनले चुनौतीको सामना गर्न सिकेकी हुन् । काम गर्नुपर्छ भन्ने भावनाले उनलाई उद्यमी बन्न सहज भएको छ । ‘जीवनमा धेरै कामहरू गरेकी छु । मिहिनेत, जाँगर र केही गर्छु भन्ने सोच भयो भने महिलाले पनि धेरै काम गर्न सक्दारहेछन् भन्ने कुरा महसुस गर्दै छु,’ उनले भनिन्, ‘यही कारणले सपनामा पनि नदेखेको परिवर्तन मैले आफ्नै जीवनमा देख्न पाएकी छु । अर्काको घरको जुठो भाँडा माझ्दामाझ्दै सांसद हुन्छु भन्ने कहिले सोच्नु ? यस्ता नसोचेका अनेकन काममा म जोडिन पाएकी छु ।’
छोराछोरी ८/१० वर्षको हुँदा श्रीमान्ले छोडे । एक्लै सन्तान हुर्काउँदै राजनीति गर्न र जीवन चलाउन सहज थिएन । भूमि अधिकारको आन्दोलनमा लुकीलुकी सहभागी हुँदाहुँदै उनी सडक संघर्षबाट स्थापित भएकी हुन् । सडकबाटै उनी सांसद हुन पुगिन् । यही आन्दोलनकै क्रममा उनी २०६४ सालमा एमालेका तर्फबाट समानुपातिक सभासद भई प्राकृतिक स्रोतसाधन समितिको सभापतिसमेत भइन् ।
‘अभावले धेरै कुरा सिकाउँदो रहेछ,’ उनले भनिन्, ‘केही नहुनेले पनि हिम्मत गर्यो भने धेरै कुरा गर्न सक्दो रहेछ । समयले सबै सिकाउँदो रहेछ ।’ उनी अहिले एमालेको पोलिटब्युरो सदस्य छिन् । राजनीतिक जिम्मेवारी वहन गर्दै उनले अचार व्यवसायलाई निरन्तरता दिएकी छन् ।
