सडकमा गीत गाएर जीवन निर्वाह गर्दै आएका दृष्टिविहीन जेठाले सडकमै भेटेका थिए, आफूजस्तै रमाला । साथीहरूले जिस्क्याउँदा जिस्क्याउँदै रमासँगको मायामा परेका उनले एक दिन प्रस्ताव राखे, ‘रमा मिस, हामीलाई त साथीहरूले बूढाबूढी पो भन्न थालिसके त हौ । कि बिहे गर्ने हो ?’ त्यसपछि रमाले पनि मुस्काएर मौन स्वीकृति जनाइन्
विराटनगर — ०७२ को भूकम्प जानु दुई वर्षअघि नै जेठा मुर्मु काठमाडौं उक्लिए । देशकै होचो क्षेत्र झापाको केचनाबाट पहिलो पटक काठमाडौं गएका उनी दृष्टिविहीन गायक तथा सर्जक हुन् । झापामा बेरोजगार भएपछि उनले रोजगारीको खोजीमा काठमाडौं पुगेर संघर्ष गर्ने निर्णय गरे ।
रमेश सुवेदी नामका व्यक्तिले ठमेलको दोहोरी साँझमा ‘काम मिलाइदिने’ आश्वासनले दुई वर्ष झुलाए । केही पार नलागेपछि काठमाडौंका सडक पेटीमा बसेर गाउन विवश भए । ठमेलको झिलिमिली साँझमा गाउने सपनाको अन्त्य धूलो फुटपाथमा पुगेर भयो ।
काठमाडौंमा अपांगता भएका बालबालिकाका लागि अक्षय कोष स्थापना गर्ने एउटा समूहसँग जोडिएर गाउँदै हिँड्न थाले । निकैपछि मात्रै चाल पाए, त्यो समूह त ठगहरूको पो परेछ । ठगहरूको फन्दाबाट मुक्त भएपछि उनी आफ्नै सुरमा गाउँदै हिँड्न थाले । दिनभरि गाएर जम्मा पारेको २/३ सय रुपैयाँले जसोतसो गर्जो त टार्थे तर कोठा भाडा तिर्न उनलाई सकस पर्न थाल्यो । त्यही क्रममा एक दिन दाङको एउटा दृष्टिविहीन समूहसँग उनको सम्पर्क भयो । त्यो समूहले उनलाई दाङ बोलायो । उनीसँगै दाङ निम्त्याइएकी थिइन्, सिन्धुपाल्चोककी दृष्टिविहीन गायिका रमा विश्वकर्मा पनि ।
रमालाई दाङ पुर्याउने जिम्मा जेठाको काँधमा आइपर्य । काठमाडौं–दाङ चल्ने रात्रि बसको दुइटा टिकट काटे । २०७० चैततिर काठमाडौंमा गर्मी सुरु भइसकेको थियो । नयाँ बसपार्कको गल्लीमा चर्को घाम सहेर जेठा रमाको पर्खाइमा बसेका थिए । कसोकसो रमा उनलाई खोज्दै जेठा भएतिर पुगिन् । दुवै आँखा नदेखे पनि उनीहरूले एकअर्कालाई चिने । अनि चढे दाङको रात्रि बस । जेठा–रमाको त्यो नै पहिलो भेट थियो । बसभित्रै उनीहरूको चिनापर्ची भयो । ‘बसमा यात्रा गर्दा त्यसै पनि निद्रा लाग्दैनथ्यो, रमासँग भेटेपछि अलिअलि बचेको निद्रा पनि गायब भयो,’ जेठाले त्यो दिनको सम्झना गर्दै ठट्यौली पारामा सुनाए, ‘हामी दुवैले गफ गरेर उज्यालो बनायौं ।’
उनीहरू दुवै बिहान दाङ पुगे । दाङका साथीहरू उनीहरूको स्वागतमा बसपार्क नै लिन आएका थिए । न्यानो स्वागतले जेठा र रमा दुवै हौसिए । त्यसपछि भने उनीहरू दृष्टिविहीन सांगीतिक टोलीसँग कहिले घोराही त कहिले तुल्सीपुर हिँड्न थाले । कहिलेकाहीँ हप्तौं सडक पेटीमा गाइरहे ।
जेठा–रमा सँगै खाने, सँगै हिँड्ने गर्न थाले । यो थाहा पाएपछि साथीहरूले जिस्क्याउन सुरु गरे । उनीहरू अप्ठ्यारो मान्थे । ‘साथीहरूले जिस्क्याउँदा जिस्क्याउँदै रमा मिससँग माया पो बसेछ,’ जेठाले प्रेमिल क्षण सम्झिएर रोमाञ्चित हुँदै भने, ‘माया भन्ने चीज कति शक्तिशाली रहेछ भन्ने त्यही बेला हो मैले चाल पाएको ।’
साथीहरूले जेठालाई खुसुक्क उकेरा लाउँथे, ‘अब तपाईंहरूले बिहे गर्नुपर्छ है, यसरी सधैं हुँदैन ।’ जेठा मुसुक्क हाँस्थे अनि भन्थे, ‘मैले मात्रै बिहे गरेर हुने कुरा हो र ? रमा मिसले मान्नु पर्दैन ?’ एक दिनचाहिँ जेठाले मुखै फोरेर रमालाई भने, ‘रमा मिस, हामीलाई त साथीहरूले बूढाबूढी पो भन्न थालिसके त हौ ।’
जेठाको कुरा सुनेर रमा मुस्काइन् अनि जवाफ फर्काइन्, ‘बिहे सिहे हुन्छ/हुन्न थाहा छैन, बूढाबूढी भनेर मात्रै हुन्छ ?’ जेठाले अर्को दिन घुमाउरो पारामा प्रस्ताव राखे, ‘रमा मिस कि बिहे गर्ने ह ?’ रमाले हाँस्दै जवाफ फर्काइन्, ‘खै थाहा नाई ।’ साथीभाइले जिस्क्याउँदा जिस्क्याउँदै अप्रत्याशित रूपमा जेठा–रमा प्रेममा परे । अन्ततः साथीहरूकै जोडबलमा लोपोन्मुख सन्थाल समुदायका जेठा र दलित रमाले बिहे गरे ।
जेठासँग बिहेका लागि कपडा किन्ने पैसा पनि थिएन । साथीहरूले नै समूहको पैसा बिहेमा लगानी गरिदिए । जेठालाई नयाँ सर्ट–पाइन्ट किनिदिए । रमालाई साडी–चोलो । घोराइको कृष्ण मन्दिरमा उनीहरू जुटे । पण्डित साक्षी राखेर जेठाले रातो पोते र फूलको माला रमाको गलामा पहिर्याइदिए अनि सिउँदोमा सिन्दूर । सुन किन्ने पैसा थिएन, रमाले सुनबिनै पोते लगाइन् अनि जेठालाई पनि फूलको माला लगाइदिइन् । साथीहरूले ताली पड्काए ।
बिहे सकियो । बिहेपछि सबैले होटलमा मासुभात खाए । जम्माजम्मी १० हजार रुपैयाँमा बिहे सकियो । बिहेपछि समूहमा बस्न अप्ठ्यारो भयो । उनीहरूले दाङमा डेरा खोज्न थाले । दृष्टिविहीन त्यसमाथि जातको कुराले उनीहरूलाई डेरा पाउन सकस भयो । ‘डेरा नपाउने समस्याले दाङ त्यति ठीक लागेन,’ जेठाले सम्झिए, ‘तीन/चार महिना त्यहाँ बसेर झापा फर्कियौं ।’
दाङबाट फर्किएपछि जेठाले रमालाई सोझै घर लगेनन् । मेचीनगरको अपांग संघमा राखे । २०६० मा बुबाको निधन भएपछि पाठामारीको झुप्रोमा आमा मात्रै बस्दै आएकी छन् । तीन दिदीबहिनीको विवाह भइसकेको छ । आमालाई हेरचाह उनीहरूले नै गर्छन् । अहिलेसम्म उनले श्रीमतीलाई तीन पटक मात्रै घर लगेका छन् । ससुराली पनि उनी तीनै पटक गए । रमाका परिवारमा आमाबुबासहित तीन/तीन दाजुभाइ, दिदीबहिनी छन् । एउटा दाजु उनीजस्तै दृष्टिविहीन छन् । अरू सबै सपांग छन् ।
पहिलो पटक ससुराली जाँदा जेठा औधी डराए । पिटाइ खाइने पो हो कि भन्ने पनि लागेछ । तर, रमाले उनलाई साहस भरिन । ससुराले सोधेछन्, ‘मेरी छोरी पाल्न सक्छौ ज्वाइँ ?,’ जेठाले हाँस्दै भनेछन्, ‘पाल्नैका लागि त बिहे गरेको नि बुबा ।’ सासूले बेलाबेलामा ‘आँखा नदेख्ने थियौ, नदेख्नेसँगै बिहे गरेछौ, कसरी गरिखान्छौ’ भनेर गुनासो गरिरहन्छिन् । तर, रमा भन्छिन्, ‘हामी खुसी छौं, गरिखाइ हाल्छौं नि । आँखा देख्नेले चाहिँ पाल्छ नै भन्ने के ठेगान छ र ?’
अपांग संघकै भवनमा उनीहरू सेल्टर लिएर बसे । त्यहीँ जन्मिइन् छोरी । जसको नाम जेठा आफैंले जुराए, रस्मिता । अपांग संघमा बसेर मात्रै भएन । खाने, लाउनेको पनि जोहो गर्नै पर्यो । उनी चोक बजारमा गाउँदै हिँड्न थाले । त्यहाँबाट संकलित रकमले गर्जो टार्दै गए । तर झापाको कमाइले नपुग्ने भयो भन्ने लाग्यो उनलाई । अनि सुत्केरी श्रीमती र नाबालिका छोरी छाडेर उनी पुनः काठमाडौं लागे । काठमाडौंमा केही नयाँ–पुराना साथीहरूसँगको जुगलबन्दीमा उनी फेरि फुटपाथमा बसेर गाउन थाले । बेलाबेला श्रीमतीलाई पैसा पनि पठाउँथे ।
२०७२ वैशाख १२ मा उनी समूहसँग मिलेर रामेछाप पुगेका थिए । एउटा घरमा डेरा जमाएर बसेका थिए । दिनभरि गाउन चोक बजार जान्थे । साँझ बास बस्न डेरा फर्किन्थे । ‘त्यो दिन दिउँसो बजार जान बस कुरिरहेका थिएँ । अचानक भूकम्प आयो,’ जेठाले सम्झिए, ‘डेरामा बसेको भए घरले थिचेर मर्ने रहेछु ।’ उनको डेरा भूकम्पले ध्वस्त पारेको थियो ।
भूकम्पपछि उनी पुनः झापा फर्किए । त्यसपछि काठमाडौं गएका छैनन् । बीचमा अर्को महामारीले उनको पेसा थप संकटमा पर्यो । कोभिडका कारण लकडाउन भएपछि उनी बिर्तामोडको डेराबाट निस्किन पाएनन् । ‘लकडाउनका बेला त भोकले मरिन्छ कि जस्तो भको थियो,’ जेठाले भने, ‘तर, बिस्तारै सामान्य हुँदै गएपछि चोक बजारमा गाउन थाल्यौं, मनकारीले दिएको पैसाले भात खान पुग्थ्यो ।’
बिर्तामोडको लिटल फ्लावर स्कुलनजिकै उनको डेरा छ । डेराको मासिक भाडा ८ हजार तिर्छन । ११ वर्षकी छोरी कक्षा ४ मा पढ्छिन् । उनको वार्षिक पढाइ खर्च ६ हजार तिर्छन् । स्थानीय इडन गार्डेन स्कुलले जति पढे पनि वार्षिक ६ हजार बुझाउने सर्तमा पढाइरहेको छ । तर, अहिले बजारमा आर्थिक मन्दी छ । मन्दीको प्रत्यक्ष प्रभाव उनको पेसामा पनि परेको छ । फुटपाथमा गाएर परिवार पाल्दै आएका उनी अबचाहिँ परिवार पाल्नै नसक्ने अवस्थामा पुगेको बताउँछन् ।
‘पहिलाजस्तो कमाइ छैन,’ दमकको फुटपाथमा गाउँदै गर्दा भेटिएका जेठाले सुनाए, ‘जिन्दगी चलाउनै गाह्रो भइसक्यो ।’ पहिला त श्रीमती रमा पनि उनीसँगै गाउँथिन् । केही वर्षयता उनलाई बच्चा स्याहार्न नै हम्मे छ । छोरीलाई डाक्टर बनाउने रमाको सपना छ । छोरी उनीहरूजस्तो दृष्टिविहीन छैनन् । रमाले भनिन्, ‘अब छोरी पनि ठूली हुँदै छे, म पनि जेठासँगै गाउन जाने योजनामा छु ।’
