समाजका ‘पूजाहरू’ चिनाउँदै दीपक

दीपक रौनियारका फिल्ममा पूजा नाम दोहोरिएको पाइन्छ, यी पूजाहरू नेपाली समाजका त्यस्ता महिला हुन्, जसलाई विरलै मूलधारे फिल्मले देखाउँछ, उनका फिल्ममा महिला पात्रहरू सशक्त, स्वतन्त्र र निडर भेटिन्छन्, ती चरित्रका कमजोर पक्ष पनि उजागर गर्छन् तर महिलाकै आधारमा उनीहरूलाई कमजोर देखाइँदैन

माघ २४, २०८१

रीना मोक्तान

Deepak introducing the 'pujas' of the society

काठमाडौँ — केही सातायता युट्युबमा सार्वजनिक भएका नेपाली फिल्मका ट्रेलरहरू हेरौं ! अधिकांशमा महिला चरित्र कसरी चित्रित छ ? खासमा यी ट्रेलर मूलधारे फिल्मले समाउँदै आएको परम्परागत चरित्र चित्रणका टिजर मात्रै हुन् । अझै पनि नेपाली फिल्ममा महिलालाई कमजोर, असहाय, दोस्रो दर्जाका रूपमा चित्रण गरिन्छ, गरिँदै आएको छ ।

मूलधारे फिल्मले अझै पनि महिला चरित्र चित्रणमा अपनाउनुपर्ने संवेदनशिलता भुलेका छन्, प्रमुख पात्र पुरुषको सहायक/सहयोगीका रूपमा मात्रै प्रस्तुत गरिँदै आएको छ । 

‘प्लान इन्टरनेसनल’ र ‘डकस्कुल’ को सहकार्यमा केही वर्षअघि गरिएको अध्ययनले भन्छ– नेपाली फिल्मको संख्या थपिए पनि महिला चरित्र चित्रण जस्ताको त्यस्तै छ । सुरुवाती फिल्म ‘आमा’, ‘माइतीघर’ देखि अहिलेसम्म यो क्षेत्रले पाँच दशक पूरा गरिसक्दा पनि महिलाको चित्रणमा खासै बदलाव भेटिन्न । आर्ट हाउसका फिल्म भने परम्परागत चित्रण भत्काउने प्रयासमा देखिन्छन् । मीनबहादुर भामको पछिल्लो फिल्म ‘शाम्बाला’ होस् या नवीन सुब्बाको ‘नुमाफुङ’ । 

छिरिङ रितार शेर्पाका मुकुण्डोदेखि युवा फिल्मकर्मी मिन्सो लिम्बूका लघु फिल्म ‘जुन्को’ सम्ममा महिलाको परम्परागत चित्रण परिवर्तन गर्ने प्रयास भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय बजार पुगेका यी फिल्ममा समाजका ती महिला भेट्छौं जो समस्याका पर्खालहरू भत्काउँदै आत्मसम्मान र स्वाभिमानका लागि बाँच्न उद्यत छन् । 

निर्देशक दीपक रौनियारका फिल्ममा पनि यस्तै सशक्त महिलाहरू भेटिन्छन् । झट्ट हेर्दा राजनीतिक कटाक्षले भरिएका दीपकका फिल्ममा मिहिन ढंगले महिला चरित्र चित्रण गरिएको हुन्छ । महिला, लिङ्ग, जात, वर्ग, समुदायका सवालमा दीपकको फिल्म सचेत हुन्छ, पात्रहरूको लेखन त्यही गहिराइमा पुगेर लेखिएका हुन्छन् । दीपकका फिल्ममा महिला पात्रहरू सशक्त, स्वतन्त्र र निडर भेटिन्छन् । ती चरित्रका कमजोर पक्ष पनि उजागर गर्छन् तर महिलाकै आधारमा उनीहरूलाई कमजोर देखाइँदैन । संयोग के छ भने, दीपकका फिल्ममा पूजा नाम दोहोरिएका छन् । 

यी पूजाहरू नेपाली समाजका महिलाहरू हुन् जसलाई विरलै मूलधारे फिल्मले देखाउँछ । देखाइहाले पनि पितृसत्ता, स्त्रीद्वेषी दृष्टिकोणबाट माथि उठेका चरित्र देख्न मुस्किल पर्छ । अब कुरा गरौं, सानी पूजाको । 

पूजा (सेतो सूर्य ) 

कलिलो उमेरकी यो पूजालाई आफ्नो पहिचान निकै प्यारो छ । उसलाई आफ्नो बाबुबारे थाहा पाउनु छ । त्यसैले बुबाबारे जिज्ञासा बढी राखिरहेकी हुन्छिन् । बुबा पोखरामा छ भन्ने त सुनेकी छिन् तर त्यो सत्य हो/होइन, थाहा छैन । जब गाउँमा चन्द्र फर्केर आउँछ, तब पूजाको आशा पलाउँछ । उनी चन्द्रमा बुबाको पहिचान खोजिरहेकी छन् । किनकि कसैले पूजालाई भनिदिएको छ, चन्द्र नै उनको बुबा हो भन्ने । तर, चन्द्रसँगै आएको अर्को पात्रले त्यहाँ अलमल निम्त्याउँछ । चन्द्रसँग गाउँ पसेका उक्त बालकले पनि चन्द्रलाई नै आफ्नो बुबाका रूपमा चिनाइरहेका हुन्छन् । पूजालाई चन्द्रको सत्य सुन्नु छ, आफ्नो बुबा चिन्नु छ । फिल्म ‘सेतो सूर्य’ मा यो पात्रले आफ्नो बुबाको पहिचान खोजिरहेकी हुन्छिन् । यो फिल्मको सबैभन्दा बलियो चरित्र हो, दुर्गा (आशा मगराती) । 

दुर्गालाई अब सांसारिक मायामोहको बन्धनमा बाँधिनु छैन । उनी आफ्नो अधिकारको लडाइँमा छिन् । उनी आफैं छोरीका लागि बुबा खोज्दै छिन् । चन्द्र जंगल पस्दा, दुर्गाले घर सम्हालिन् । द्वन्द्वकालमा माओवादीकी पत्नी भएर बाँच्दाका अप्ठ्यारा परिस्थितिको सामना गरिन् । युद्धको त्यो घडीमा दुर्गाले पनि आफ्नो युद्ध लड्नुपर्‍यो । सेना र माओवादीमा हिँडेका दुई दाजुभाइको घरकी बुहारी बनेर बस्दा उनले कस्ता लडाइँ लड्नुपर्‍यो होला ? बाँच्नका लागि यो चरित्रले कस्तो निर्णय लिन्छिन् त ? 

Deepak introducing the 'pujas' of the society

फिल्ममा यो चरित्रका अन्य आयामहरू खुल्दै जान्छ । यो पात्रमार्फत निर्देशक रौनियारले आमाको नामबाट नागरिकता लिने विषय उठाएका छन् । दुर्गा आफ्नो अधिकारका लागि बोल्छिन्, आफ्ना लागि बाँच्छिन् । युद्धमा छाडेर गएका पूर्वपति घर फिरेका छन् । तर, उनी अब पतिसँग आफ्नो भविष्य देख्दिनन् । छोरीका लागि पोखरातिर जाने सपना साँच्छिन् । छोरीलाई पोखरातिरै पढाउने धोको छ, त्यसका लागि कसरत गर्छिन् । 

द्वन्द्वकालमा माओवादीकी पत्नी भएर बाँच्नुपर्दाको समयमा दुर्गाले आफ्नो जीवन रोजेकी छन् । उनी प्रश्न गर्न सक्छिन्, थिचोमिथो सहन सक्दिनन् । ‘आइमाईले लास छुन हुन्छ त ?’ लास झर्नै लाग्दा समाउन पुगेकी दुर्गालाई गाउँको मान्यजनले प्रश्न गर्छ । उनले तत्काल जवाफ दिन्छिन्, ‘अनि के झर्नचाहिँ दिनु त ?’ सशक्त आवाज भएको महिलाका रूपमा दुर्गालाई चित्रित गरिएको छ । उनी आफ्नो अधिकारका लागि आवाज उठाउँछिन्, लड्न सक्छिन् र सुन्दर भविष्य कल्पन सक्छिन् । 

पूजा (हाइवे)

‘हाइवे’ की पूजालाई प्रेमीले मायाले मुनमुन भनेर बोलाउँछन् । तर, मुनमुनको असली नाम हो– पूजा । लाग्छ, सेतो सूर्यकी सानी पूजा अहिले ठूली भइसकिन् । पढेलेखेकी, अंग्रेजी मज्जाले बोल्ने भइसकिन् । किताब पढ्छिन्, लुकीलुकी चुरोट तान्छिन् । लुकेरै रोनितसँग प्रेम गर्छिन् । तर, यसबीच अमेरिकाबाट फर्केको केटोसँग विवाह हुने तय हुन्छ । उनी आमासँग बसको यात्रामार्फत विवाहका लागि काठमाडौं हिँडेकी छन् । प्रेमी रोनित हुँदाहुँदै अमेरिकाबाट फर्केको बाल्यकालको हितैषीसँग मगनी गर्न आखिर उनी किन तयार भइन् ? बसले काठमाडौंको यात्रा तय गरिरहँदा यो चरित्रका फरक पत्रहरू एक–एक गर्दै खुल्छ ।

यो यात्राले पूजाको रोजाइ, छनोट र निर्णय अधिकारमाथि गजब्बसँग बोल्छ । कथाको बहाव हेरिरहँदा लाग्छ, कतै पूजाले परिवारकै भरमा विवाहका लागि तयार भएकी त होइनन् ? यदि हो भने उनले आफ्नो चाहना रोज्लिन् वा परिवार ? फिल्मको एउटा दृश्यले यसको उत्तर पनि छोडेर जान्छ । काठमाडौंसम्मको यात्रामा पूजामा आएको परिवर्तन, उसले लिने निर्णयले उक्त चरित्रलाई कति गहन ढंगले पस्किएको छ भन्ने देखिन्छ । ‘ओपन इन्डिङ’ मा समाप्त यो पात्रको कथाले नेपाली समाजका महिलाहरूको प्रतिनिधित्त्व गर्छ, जसले परिवारको इच्छा, आकांक्षा, मानमर्यादा त्यागेर आफ्नो स्वतन्त्रा र सपनाको यात्रा समाउँछ ।

पूजाले आफ्नो जीवनको निर्णय, समस्याहरूको समाधान आफैं खोज्छिन् । पूजा मात्रै होइन, यो फिल्ममा अन्य महिला पात्रमार्फत महिलाका फरक आयाम, मुद्दा र सम्बन्धहरू प्रस्तुत गरिएका छन् । नेपाली फिल्मले अझै पनि महिलालाई आमा, प्रेमिका र बुहारीका रूपमा मात्रै देखाउँदै आएको छ । उनीहरूले सामाजिक मूल्यमान्यता पछ्याउँदै घर सम्हालेको मात्रै देखाइन्छ । तर, यसको ठीकविपरीत छ, राधिका (आशा मगराती) । यो पात्रको जटिलतालाई निर्देशक रौनियारले मिठोसँग पर्दामा देखाएका छन् । 

राधिका र उनका पति लामो समयदेखि निःसन्तान छन् । निःसन्तान समस्या पहिल्याउन पति यात्रारत छन् । त्यही समयमा राधिका पर–पुरुषसँग नजिकिन्छन् । हुन त महिलालाई पर–पुरुषसँग सल्किएको देखाउँदै उनलाई चरित्रहीन देखाउने भाष्यसहितका थुप्रै नेपाली फिल्म बनेका छन् । तर, यो चरित्रको चित्रण बिल्कुल फरक छ । विवाहेत्तर सम्बन्धका फरक पाटोलाई केलाउँदै उक्त महिलाले लिएको निर्णय, उनका कमजोरी, मानसिक स्वास्थ्यलगायत पक्षलाई फिल्ममा संवेदनशील ढंगले देखाइएको छ । 

राधिकाजस्तै अर्को बलियो चरित्र चित्रण हो– कविता (ऋचा शर्मा) । यौन व्यवसायलाई अझै पेसा नमान्ने समयमा एउटी महिलाले यही व्यवसायबाट कसरी आफ्नो सन्तान हुर्काउँदै छन् भन्ने पाटोलाई सूक्ष्म शैलीमा यो चरित्रमार्फत देखाइएको छ । अँध्यारा रातहरूमा काम गर्दै कविताले आफ्नो छोरीहरूका लागि कसरी उज्यालो सपना साँचेकी छन् ? फरक पृष्ठभूमिका फरक महिलाहरूमार्फत निर्देशक रौनियारले महिलाका फरक आयाम खोतलेका छन् । 

पूजा सर (राजागन्ज)

‘राजागन्ज’ सम्म आइपुग्दा पूजाले आफ्नो नयाँ अवतार बनाइसकेकी छन् । समाजमा यस्ता पूजाहरू प्रशस्तै छन् । तर, नेपाली फिल्ममा यस्ता पूजाहरू देखिएका थिएनन्, दीपकले नै ‘राजागन्ज’ मा उभ्याइदिए । महिलाप्रधान यो फिल्ममा पूजा यति बलियो चरित्र हो कि उसका छेउछाउका पुरुष चित्रण उनको दाँजोमा कमजोर छन् । महिलाप्रधान यो फिल्ममा पूजाको उपस्थिति, चित्रण यति प्रमुख छन् कि अन्य पुरुषको चरित्र वास्तवमा सहायक मात्रै हुन् ।

महिलाप्रधान भनिएका फिल्ममै महिला चरित्रलाई सहायक भूमिकामा देखाउने मूलधारे फिल्मलाई व्यंग्य गर्ने ‘राजागन्ज’ को कथा महिला प्रहरी पूजा (इन्स्पेक्टर) को यो चरित्रबाटै अगाडि बढ्छ । पूजा यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधि हुन् । यो चरित्रको पहिचानका जटिल पक्षहरूलाई यहाँ प्रस्तुत गरिएको छ । पूजा आफ्नो बुबाका लागि छोरी हो । घरभित्र उनी छोरासमान हुनु छ । ऊ अन्य पुरुषसमान शक्तिशाली इन्स्पेक्टर हुन् । तर, घरभित्रै उनको त्यो पहिचान स्विकारिँदैन । इन्स्पेक्टर बन्न उनको अर्कै संघर्ष छ । उनको त्यही पहिचानलाई अन्यले स्विकार्दैनन् । 

‘राजागन्ज’ को प्रमुख पात्र नै हुन्– पूजा । उनीसँग जोडिने थुप्रै महिला पात्रलाई पनि उत्तिकै महत्त्व दिइएको दीपक सुनाउँछन् । आफ्ना फिल्महरूमा पूजा नाम दोहोर्‍याउनुको पछाडि दीपकसँग आफ्नै कारण छन् । नेपाली समाजमा महिला, छोरीचेलीलाई पूजा गरिन्छ । जुन संस्कृतिले पनि छोरीचेलीलाई पूजा गर्ने स्थानको रूपमा हेर्छन् । तर, व्यवहारमा त्यस्तो छ त ? अझै पनि एउटी महिलाले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिन सक्दिनन् । तर, त्यो अप्ठ्यारो छोराहरूलाई छैन ।

छोराछोरीबीचको यही विभेदमाथि व्यंग्य गर्न दीपकले हरेक फिल्ममा एउटा चरित्रलाई पूजा नाम दिँदै आएका छन् । ‘जुनसुकै चरित्रको तीन आयाम देखाउनुपर्छ भन्ने छँदै छ । हामी हाम्रा चरित्रलाई जति सक्दो ह्युमन बनाउन खोज्छौं । कुनै पनि चरित्र गुण वा अवगुणले मात्र भरिएको हुँदैन । हाम्रा फिल्मका चरित्रहरू गुण पनि भएको अनि अवगुण पनि मिसिएको देखाउन खोज्छौं,’ दीपकले भने, ‘हो, नेपाली फिल्ममा त्यतिबेला महिलालाई सहायक भूमिकामा मात्रै देखाइन्थ्यो । तर, फिल्ममा त हरेक पात्रको उस्तै महत्त्व हुन्छ । त्यसरी नै हरेक पात्रको महत्त्व देखाउँदा त्यसको चित्रण त्यही हिसाबले गर्नुपर्छ भनेर हामी लागिपर्छौं ।’ 

दीपक महिला मात्रै नभई हरेक पात्रको भूमिका कथामा किन आवश्यक छ ? भनेर खुबै घोत्लिन्छन् । पात्रहरूले बोल्ने भाषा नै उनीहरू संवादमा ल्याउन चाहन्छन् । साहित्यिक भाषा मात्रै होइन, महिला चित्रणमा दीपक र आशाले पहिल्यैदेखि सचेत भएर काम गर्दै आएका हुन् । 

लघु फिल्म ‘चौकठी’ देखि नै दीपकले महिला चित्रणमा यसरी सचेत भएर लेखनमा गम्भीर भएर काम गर्न थालेका हुन् । चरित्र लेखिरहँदा आफूले भोगेको, देखेको वा अनुसन्धानमा आधारित पात्रहरूलाई नै दीपकले पर्दामा ल्याइरहेका हुन्छन् । महिलाका चरित्र लेखिरहँदा त्यसका फरक आयामलाई पत्नी आशाले थपिदिन्छिन् । ‘म पुरुष भएर हुर्कें । पूजा सर लेख्दा आशासँग लेखनमा सहकार्य गरेका छौं । पुरुष भएर महिला चरित्र लेखिँदा त्यो स्तरमा लेख्न सकिँदैन थियो होला । तर, आशाले त्यसमा महिलाका दृष्टिकोण मिसाइदिन्छिन्,’ दीपकले भने । 

जब दीपक र आशाले फिल्मका चरित्र तय गर्छन्, तब उनीहरू ‘लोकेसन’ खोज्न थाल्छन् । सम्बन्धित विषयमा अन्तर्वार्ता, अनुसन्धान थाल्छन् । प्रहरी इन्स्पेक्टरहरूसँग भेटिरहँदै पूजाको लैंगिकतालाई यौनिक तथा अल्पसंख्यकतर्फ जोडिदिए । ‘हामीले समाजमा भएका चरित्रहरूलाई देखाउन सकेनौं । सेलिब्रेट गर्न सकेनौं भने अरू के गर्न सक्छौं र ? फिल्मकर्मीका हिसाबले समाजमा भएका पात्रहरूलाई देखाउने, सेलिब्रेट गर्ने जिम्मेवारीबोधले नै यस्ता चरित्रहरू जन्माउँछौं,’ दीपकले भने, ‘पूजाको चरित्रलाई सेलिब्रेट गर्ने बेला आयो भनेर नै हामीले महिला प्रहरीको चरित्र लेखेका हौं ।’

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully