छोराले जीवनसाथी घर लिएर आउँदाको दिन शशिकलाको अनुहार उज्यालिएको थियो । ‘पार्टनर’ थिए बेलायती नागरिक पिटर मिल । आमाले बुहारी हैन, छोराको साथमा जीवनसाथी देखेपछि ढुक्क भइन् ।
काठमाडौँ — त्यो दिन आमा शशिकला पन्तका आँखा ओभाएनन् । उनी निकै दिन अविश्रान्त रोइरहिन् । आमा किन रोइन् ? सुनिलबाबु पन्त ठम्याउँछन्, ‘सायद छोराले तिरस्कार भोग्नुपर्ला भनेर !’ आमा नबोलीकन एकोहोरो टोलाउन थालिन् । सुनिलबाबु अड्कल काट्छन्, ‘सायद समाजले छोरालाई छिःछि र दुरदुर गर्ला भनेर होला ।’ परिवारले सम्झाउँदा पनि आमाका अश्रुशृंखला रोकिएनन् ।
आमा रुवाउने मन सुनिलबाबुको कहाँ थियो र ? न चाहन्थे, आमाका गह भरिएका आँखा हेर्न ! तर, छोराका लागि बुनेका सपना एकाएक उध्रिए । छोराका लागि साँचेका रहर एकाएक टुक्रिए । आमाको चाहना थियो, ‘जवान छोरासँगै घरमा बुहारी भित्र्याउने । अनि नातिनातिना हेर्ने ।’
बेलाबेलामा भन्थिन्, ‘अब त बिहे गर्नुपर्छ ।’ आमाले मात्र हैन, परिवार र आफन्तहरूले पनि त्यही इच्छा राख्थे । त्यो त समाजको इच्छा थियो, सुनिलबाबुको थिएन । उनी एकमुष्टलाई भन्न चाहन्थे, मनका कुरा । बुझाउन चाहन्थे आफ्ना कुरा । तर सोच्थे, ‘भन्ने कसरी ? बुझाउने कसरी ?’ डरको सिलसिला कहिलेसम्म भन्ने प्रश्नले ठुँगिरहन्थ्यो ।
सन् २००१ तिर, सुनिलबाबुले लैंगिक तथा यौनिक अल्पसंख्यकका अधिकारका लागि लड्ने संस्था ‘नील हीरा समाज’ स्थापना गरे । यौनिक अल्पसंख्यकहरूलाई मजबुत बनाउन उनी विभिन्न अभियान गर्दै थिए । एक दिन साथीहरूलाई आत्मविश्वास जगाउँदै भने, ‘तपाईंको फोटो र नाम गोप्य हुन्छ, आफ्नो कथा भन्नुहोस् ।’ उनले अन्तर्वार्ताका लागि पत्रकार बोलाए । तर, बोल्न तयार पारेर राखिएका साथीहरू एकाएक गायब भए । सुनिलबाबुलाई लड्नु थियो । यौनिक अल्पसंख्यकका मुद्दा स्थापित गर्नु थियो । पत्रकारले भने, ‘उसो भए तपाईं नै दिनुस् ।’ आफैंले नभनेसम्म अरू नआउने रहेछन् भन्ने सुनिलबाबुले बुझे । अनि अन्तर्वार्ता दिए ।
अंग्रेजी पत्रिकामा दिएको अन्तर्वार्ता सीमित मान्छेले पढे । विशेषगरी ‘बौद्धिक सर्कल’ मा उनको लैंगिक पहिचानबारे थाहा भयो । गाउँसम्म पुग्न पाएन । त्यसपछि अर्को अन्तर्वार्ता कान्तिपुर साप्ताहिकमा प्रकाशित भयो । उनले आफ्नो पहिचान बताउँदै भने, ‘म समलिंगी पुरुष हुँ ।’ लामा वर्षहरूको उकुसमुकुस र सुस्केरालाई उनले एकैशब्दमा बिसाए । खबर सहरदेखि गाउँसम्म फैलियो । दिदीले पत्रिका पढेर झस्किइन् । घरमा बा–आमालाई पढेर सुनाइन् । बाले त केहीबेर चिन्ता लिए । पछि सामान्य माने । आमाका अश्रुधारा बग्न भने रोकिएनन् । आफन्तहरू आए । सम्झाइबुझाइ गरे । र भने, ‘बिहे गराइदियो भने ठीक हुन्छ ।’ लैंगिक अल्पसंख्यकको पहिचानको लडाइँमा होमिइसकेका सुनिलसँग अब कुनै डर थिएन । उनले घरमा सम्झाउँदै भने, ‘अबदेखि विवाहको कुरा लिएर नआउनू ।’
त्यो दिन शशिकलाको अनुहार उज्यालिएको थियो । जुन दिन छोरा सुनिलले जीवनसाथी घर लिएर आए । सुनिलका ‘पार्टनर’ थिए बेलायती नागरिक पिटर मिल । उनी ब्रिटिस प्रोजेक्टमा काम गर्थे । ‘जब म खुलेर आएँ, त्यसपछि पिटरसँग भेट भयो । हामी काठमाडौं घरमा सँगै बस्न थाल्यौँ,’ उनी सुनाउँछन् । आमाले बुहारी हैन, छोराको साथमा जीवनसाथी चाहेकी रहिछन् । त्यसपछि त उनी ढुक्क भइन् । छोरासँगै बसेका बाआमा पिटरका साथ पाउँदा थप रमाउन थाले । पिटरबाट बा आमाले थुप्रै कुरा सिके । अनि बाआमाबाट पिटरले । उनीहरूले एकअर्काका संस्कृति बाँडे, प्रेम बाँडे । लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचानलाई पनि उनीहरूले नजिकबाट बुझे । पिटरलाई सन्चो नहुँदा सुनिलबाबु मात्र हैन, बाआमा पनि दुख्थे । हँसिलो अनुहारमा उनीहरू पनि रमाउँथे । साँच्चै, बा आमाले पिटरलाई पनि सुनिललाई जस्तै स्नेह गर्न थालेका थिए ।
सुनिल ०२९ सालमा गोरखाको गाईखुरमा जन्मिए । बा रामजी पन्त स्कुलका शिक्षक थिए । आमा शशिकलाको दैनिकी गाउँमा भारीसँगै उकालीओराली गर्दैमा बित्थ्यो । छोरीपछि छोरी जन्मिँदा परिवार र समाजमा शशिकलाले छोरा पाउनुपर्ने दबाब झेलिन् । त्यही दबाबस्वरूप तीन दिदीपछि दाइ अनि सुनिलबाबु जन्मिए । सबैको मायामा हुर्किए सुनिल । सन्तान हुर्काउनमा शशिकलाले कुनै कसर बाँकी राखिनन् । आमाका खाली कुर्कुच्चा, पटपटी फुटेका हात र टाउकोमा गह्रुगो भारी । पछिसम्म पनि सुनिलले यही देखिरहे । ‘लाग्छ, आमाले कहिल्यै आफ्नो लागि बाँच्नुभएन,’ सुनिल सम्झन्छन् ।
सुनिल आफ्ना लागि आमा दुखेको पनि सम्झन्छन् । एक पटक उनी लडेर शरीरमा चोट बोकेर आए । त्यो देखेर आमा अत्तालिइन् । रुन थालिन् । ‘हाम्रो सानो चोटले पनि आमालाई धेरै दुखाउँदो रहेछ,’ उनी ठम्याउँछन् । सुनिल हुर्कंदै गर्दा पछिसम्म पनि आमालाई पछ्याइरहन्थे । आमा कतै गए उनलाई पनि सँगै जानुपर्थ्यो । जान नपाउँदा रुने र घुर्की लगाउने उनको स्वभाव थियो । एकपल्ट बा आमा काम परेर काठमाडौं हिँड्न थाले । सुनिलबाबुले रुँदै भने, ‘म पनि सँगै जान्छु ।’ बाआमाले फकाउन खोजे । उनले मानेनन् । बरु उल्टै घुर्की लगाउँदै भने, ‘मलाई नलगे हराइदिन्छु ।’
समय सधैं एकनास रहँदैन । आमालाई के थाहा ? त्यतिबेला घुर्की लगाउने छोरा कुनै दिन ठूलो हुन्छ । करिअरका लागि कहाँकहाँ पुग्छ । वर्षौं हराइदिन्छ । अनि कागजमा अक्षर गुँथेर पठाउँछ । आमाका आँखाहरू चिठीमा छोरालाई महसुस गर्न महिनौंदेखि प्रतीक्षारत हुन्छन् । खैर, सुनिल आमाको बाटो कुरिरहेको रुन्चे बालकतर्फ फर्कन्छन् । एकपल्ट आमा माइत गइन् । उनी रुँदै आमा आउने बाटो हेरिरहे । राति आमासँगै सुत्ने बानी । आमाबिनाका रात सजिलै कट्दैन थिए । भोक न निद्रा लाग्थ्यो । दिदीहरू सम्झाउन खोज्थे । ‘दिदीहरूले जति माया गरे पनि आमा हुनुजस्तो त कहाँ हुन्थ्यो र ?,’ उनी सम्झन्छन् ।
सुनिलले विस्तारै अरू केटाहरूभन्दा आफूलाई फरक महसुस गर्न थाले । किशोरवयमा हुर्कंदै गर्दा साथीहरू केटीप्रति आकर्षित हुन्थे, जिस्काउँथे । तर उनलाई त्यो मन पर्दैन थियो । उनलाई भने केटाप्रति नै प्रेमभाव पलाउन थाल्यो । आफूमा आइरहेको परिवर्तन उनले आफूभित्रै गुम्साए । सुनिललाई मन पराउने केटी साथी पनि थिए । उनीहरू होमवर्क सिकाउने बहानामा उनको नजिक पर्थे । तर उनीहरूप्रति उनलाई कुनै आकर्षण थिएन । उनी केटासँगै प्रेमको कल्पना गर्थे । रोमाञ्चित हुन्थे । यो कुराले उनीभित्र डर पैदा गर्न थाल्यो । ‘लैंगिक तथा यौनिक अल्पसंख्यकलाई अपाच्य शब्द प्रयोग गर्ने समाजमा म आफूलाई कसरी खुलाउन सक्थेँ ?,’ उनी सुनाउँछन् । आफ्नो पहिचानका बारेमा कसैले थाहा पाउला कि भन्ने डरले डसिरहन्थ्यो । कुनै रात आँखाहरू भिजाइरहन्थ्यो । त्यसैले उनी यो समाजबाट जति सक्दो छिटो भाग्न चाहन्थे । जान चाहन्थे टाढा । अन्ततः २०४७ मा उनी बीकम पढ्न युक्रेन गए । त्यहाँ पनि आफ्नो भावना कसलाई पोख्ने ? ‘साथीहरूलाई शंका नहोस् भनेर गर्लफ्रेन्ड पनि बनाएँ । तर सम्बन्ध कुनै टिक्दैन थियो,’ उनी सम्झिन्छन् । सम्बन्ध नटिकेको देखेर साथीहरू ठट्टा गर्दै उनलाई भन्थे, ‘यो पन्तले कति गर्लफ्रेन्ड फेर्छ ।’
यो सकसलाग्दो दुनियाँमा उनी उकुसमुकुस थिए । उनी आफूलाई भुलाउन पुस्तकालय जान्थे । त्यहाँ दर्शनमा थुप्रै पुस्तक पढे । पुस्तकले उनको मनलाई धेरै राहत दिए ।
एकपल्ट मेडिकल चेकअपका लागि सुनिलबाबु एक क्लिनिकमा पुगे । क्लिनिकमा टाँगिएका ‘होसियार’ शब्द उनका लागि हतियार जतिकै धारिला लागे । लेखिएको थियो, ‘ड्रग्स खानेहरूसँग होसियार, यौनकर्मीसँग होसियार, समलिंगीसँग होसियार...।’ त्यो दिन पहिलो पटक उनले समलिंगी शब्द सुने । ‘समलिंगी हुनु ठूलो अपराधजस्तो रहेछ,’ उनी त्यो कस्टपूर्ण क्षण सम्झन्छन् । यतिन्जेल उनले आफू जे हुँ त्यो कहिल्यै देखाउन सकेनन् ।
उनी अध्ययनका क्रममा जापान गए । त्यहीँ गएपछि हो, सुनिलबाबुले आफ्नो पनि अस्तित्व छ भन्ने ठानेको । आफ्नो पनि अधिकार छ भन्ने बुझेको । आँट बढाएको । आफू हैन, समाजको दृष्टिकोण गलत छ भनेर निर्क्यौल गरेको । ‘त्यहाँ थुप्रै लैंगिक अल्पसंख्यकहरूसँग भेट भयो । उनीहरूले खुलेरै सम्मानजनक जीवन बाँचिरहेका छन् । त्यसपछि ममा हैन, समाजको आँखामा समस्या छ भन्ने ठानेँ,’ उनी सुनाउँछन् । डरैडर र हिनताबोधमा जीवन बाँचिरहेका सुनिल हिम्मत बढाएर नेपाल फर्किए । त्यसपछि एमफिलका लागि हङकङ गए । त्यहाँ उनले क्लब, रात्रि जीवनका बारेमा थाहा पाए । तर हङकङमा पुनः निराश भए । ‘यहाँ लैंगिक अल्पसंख्यकहरूको जीवन यौनको वरिपरि घुम्ने रहेछ ठानेँ । अनि हङकङ छाडिदिएँ,’ उनी सुनाउँछन् ।
हङकङबाट प्रशस्त अवसर त्यागेर नेपाल फर्किएको छोरा अचानक भिक्षु अवतारमा देखियो । आमालाई छोराको भिक्षु अवतारले झस्कायो । उनी भिक्षु बन्न हिँडे । शशिकला नराम्रोसँग रोइन् । ‘आमा धेरै रोएपछि नमज्जा लाग्यो, जान सकिनँ,’ उनी सम्झिन्छन् । संन्यासी बनेर छोराले सम्बन्ध तोड्छ भन्ने तोड परेको थियो आमालाई । उनी आमाकै आँसु देखेर रोकिए । त्यसपछि सोचे, ‘अब आफ्नै समुदायका लागि काम गर्छु ।’ नाम राखे, नील हीरा समाज । उनले लैंगिक तथा यौनिक अल्पसंख्यक खोज्न थाले । रत्नपार्क, पशुपतिमा कतिपय यौनकर्ममा थिए । उनीहरूका कथा सुने । ‘कसैलाई घरबाट निकालेको कथा छ, कसैलाई बलात्कार गरेको कथा छ । कसैलाई ब्ल्याकमेल गरेको छ,’ उनी भन्छन्, ‘ती हृदयविदारक थिए ।’
उनी एक जना पात्र सम्झन्छन् । त्यतिबेला दोहोरी साँझमा महिला राख्ने चलन थिएन । ती पात्र केटी बनेर दोहोरी साँझमा नाच्थिन् । ‘राति नाच्ने कुरा घरमा भनेको रहेनछ । एक दिन साथीहरू वियर खान आउँदा उनलाई त्यहाँ देखेछन् । कुटपिट गरेर अनुहारमा घाउ भएछ,’ उनी सुनाउँछन्, ‘अब आफू समाजमा घृणाको पात्र हुन्छु भनेर उनले आत्महत्या गरिछन् ।’ एक जना समलिंगी बैंकको जागिरे थिए । १५ वर्षदेखि उनको मासिक पारिश्रमिकको आधा प्रतिशत एक जनाले ब्ल्याकमेल गरेर खाँदो रहेछ । यस्ता थुप्रै विभेद र शोषणाका घटना उनले सुने, देखे । त्यसपछि निर्णय गरे, ‘अब संगठित भएर लाग्नुपर्छ ।’
संस्था दर्ताका लागि उनले लैंगिक अल्पसंख्यक साथीहरूलाई अनुरोध गरे । नागरिकताको फोटोकपी पटक–पटक ल्याउन भने । तर उनीहरू हच्किए । ‘मैले भिनाजु, बाआमा, दिदीहरूको नागरिकताको फोटोकपी लगेर दर्ता गरेँ,’ सुनिल सुनाउँछन् । नील हीरा समाजले लैंगिक अल्पसंख्यकको अधिकारका लागि थुप्रै संघर्ष गर्यो । अधिकार प्राप्ति हुँदै गयो । कानुनमा हक र अधिकार समेटिँदै गए । यही सिलसिलामा सुनिलबाबु नेकपा संयुक्तबाट पहिलो संविधानसभाको सदस्यसमेत निर्वाचित भए । पहिलो चरणमा संविधान बनेन । तर उनले गरेको यत्नले संविधानमा लैंगिक अल्पसंख्यकका अधिकार समेटिए । उनको यो कमदबाट बा आमा सधैँ प्रफुल्लित रहे ।
उनी संविधानसभा सदस्य हुँदाताका नै पिटरसँग प्रेमसम्बन्धमा थिए । त्यो प्रेमले परिवारको आकार लियो । प्रेमले फैलाइरहेको सुनिलको खुसी लामो समयसम्म भने टिकेट । सुखद् चलिरहेको सम्बन्धको अन्त्य साह्रै दुःखद् रह्यो । नेपालमा हुँदा नै पिटर बिरामी हुन थाले । उनमा न्युरोलोजिकल बिमार बढ्न थाल्यो । रिँगटा लाग्ने, पिसाब लागिरहने र अचानक बेहोस हुने । ‘पिटरको उपचारका लागि म बेलायत गएँ । हामी उतै बस्न थाल्यौँ,’ उनी सुनाउँछन् । पिटरका लागि उनले प्रार्थना नगरेका दिन थिएनन् । ५ वर्ष त पिटर स्याहार्दै बित्यो । हाँसेर बोलिरहने पिटर अचानक बोल्न नसक्ने भए । खान नसक्ने भए । उनी झन्झन् गल्दै गए । अन्ततः पिटरले आफ्नो अन्तिम श्वास सुनिलकै काखमा बिसाएर बिदा भए ।
पिटरको बिदाइ, सुनिलबाबुका लागि पीडाको चरमबिन्दु थियो । पिटरसँग बिताएका हरेक क्षणहरू सुनिलबाबुका आँखामा बग्न थाले । पिटर हुँदाको कोठा, नहुँदा निस्सार थियो । बेलाबेला हतारिँदै तरकारी किन्न जान्थेँ । ‘अब त पिटर नै छैन । कसका लागि हतारिनु,’ उनी भित्रभित्रै गले । कति महिना त आँखा ननिदाई बिते । र, कति महिना घण्टौँ सुतेर पनि । उनी लन्डन सिफ्ट भए । जहाँ पुगे पनि पिटर उनका आँखाबाट हटेनन् । प्रेमध्वज प्रधानको गीतको अन्तरा जस्तै– ‘पहाडमा पनि शान्ति छैन, तिम्रो याद नआउने कुनै ठावैँ छैन ।’
उनी पुनः भिक्षु अवतारमा देखिए । २ वर्ष ३ महिना ध्यान गरेर बसे । लामो समय ध्यान गरेपछि मन सन्चो भयो । पुनः लयमा आए सुनिल । त्यसपछि बल्ल नेपाल फर्किए । अहिले उनी बालुवाटारस्थित घरमा बाआमासँगै छन् । आमा शशिकला चाहन्छिन्, ‘अब छोरा आँखाबाट पर नजाओस् ।’ ८१ वर्षकी आमालाई सन्तानप्रतिको आसक्ति रत्तिभर कम छैन । उनी बा आमाका अनुहारमा हेर्छन् । अनुहार मुजा परेका छन् । छोरा हुँदा ती मुजाहरू खुसी भएर खुम्चन्छन् । बुढ्यौली चढ्दै गरेका बा आमाबाट उनी पनि टाढा हुन चाहन्नन् । बरु पछुतो छ, ‘यतिका वर्ष किन टाढा भएँ ।’
घरबाहिर जाँदा आमा सोधिरहन्छिन्, ‘कतिबेला आउँछौ ?’ कतै पुग्नुभन्दा पहिले नै आउँछ आमाको फोन । सोध्छिन्, ‘कहिले फर्किन्छौ ।’ सुनिललाई लाग्छ, ‘मेरो पनि त अब बाआमाबाहेक को छन् र ?’ उनी बाआमाले खाने औषधिको समय नाघ्न दिँदैनन् । सायद चाहन्छन्, ‘घट्दै गरेको बाआमाको उमेर अझै बढ्दैबढ्दै जाओस् ।’
