एक दशकयता टेलिशृंखलामा जमिरहेका कलाकारहरूको वर्चस्व फिल्ममा देखिन थालेको छ, एक समय टेलिशृंखलामा सक्रिय दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलगायत थुप्रै कलाकारलाई यति बेला फिल्ममा भ्याइनभ्याइ छ
काठमाडौँ — नियमित प्रसारण भइरहेको हास्य टेलिशृंखला ‘सक्किगो नि’ दर्शकले रुचाइरहेको शृंखलामध्येमा पर्छ । उक्त टेलिशृंखलाका ‘पाँडे’, ‘जिग्री ब्रो’ ‘खुपीका बाउ’ ‘कक्रोज’ ‘बले’ लगायत हरेक पात्रका नाम दर्शकलाई कण्ठस्थ छ । अब यही टेलिशृंखलाका कलाकार छिट्टै ठूलो पर्दामा देखा पर्दै छन् । ‘भद्रकोल’ हुँदै हाल ‘सक्किगो नि’ मा जमिरहेको जेपीटी क्रिएसनले अब फिल्म ‘लाज शरणम्’ ल्याउँदै छ ।
फिल्मलाई ‘सक्किगो नि’ कै निर्देशक तथा कलाकार कुमार कट्टेलले निर्देशन गर्दै छन् । अहिलेसम्म टेलिशृंखलामा दर्शक हँसाइरहेको यो टिमले अब फिल्ममा पदार्पण गरेको हो । ‘लाज शरणम्’ रिलिजलगत्तै यो टिम नयाँ फिल्मका लागि फ्लोरमा जाने तयारी पनि छ ।
‘सक्किगो नि’ को ‘काकु’ चरित्रबाटै चर्चामा आएका अर्का चर्चित कलाकार दीपक आचार्यले पनि एक साताअघि नयाँ फिल्मको घोषणा गरे । उनको निर्देशनमा बन्ने फिल्म ‘परान’ लाई व्यावसायिक घराना गोल्छा समूहले लगानी गर्दै छ । दीपक ‘मेरी बास्सै’, ‘भद्रगोल’ हुँदै ‘सक्किगो नि’ मा अभिनय गरिरहेका कलाकार हुन् । ‘परान’ सँगै ठूलो पर्दामा पनि अब सक्रियता बढाउने उनको योजना छ ।
टेलिशृंखलामा जमिरहेका कलाकार फिचर फिल्ममा आउनु नौलो हैन । बरु, एक दशकयता टेलिशृंखलामा जमिरहेका कलाकारहरूको वर्चस्व फिल्ममा देखिन थालेको छ । एक समय टेलिशृंखलामा सक्रिय दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलगायत थुप्रै कलाकारलाई यतिबेला फिल्ममा भ्याइनभ्याइ छ ।
कुनै बेला टेलिशृंखला निर्माण गरिरहेकाहरू फिल्ममा आउनुलाई फिल्म क्षेत्रकै व्यक्तिले हास्यास्पद रूपमा लिन्थे । तर २०७० सालमा प्रदर्शनमा आएको फिल्म ‘छ एकान छ’ ले धेरैको भ्रम तोडिदियो । फिल्मले व्यावसायिक सफलता हासिल गरेसँगै नयाँ लहर पनि देखापर्यो । १२ वर्षसम्म लगातार प्रसारण भएको दीपक–दीपाको ‘तितो सत्य’ ६ सय भागपछि बन्द भइसकेको थियो ।
‘अब के गर्ने त ?’ अन्योल समयमा उनीहरूले सोचे, फिल्म । अगाडिदेखिकै सपना थियो– फिल्म निर्माण गर्ने । उनीहरूले फिल्म निर्माणमा जोखिमको पाइला चाले । ‘हाम्रो लागि जुवा खेलेजस्तै थियो । जम्मा गरेको अलिअलि पैसा र हारगुहार गरेर फिल्म बनाउन तम्सियौँ,’ दीपाश्री भन्छिन्, ‘तर टेलिफिल्म बनाउनेले के फिल्म बनाउलान् भनेर हतोत्साहित गर्ने पनि धेरै थिए ।’
चारवटा फिल्मसँग ‘छ एकान छ’ जुध्यो । फिल्मले राम्रो व्यापार गर्यो । त्यसपछि दीपक–दीपाको टिमलाई एकपछि अर्को फिल्म निर्माण गर्ने बाटो खुल्यो । उनीहरूको फिल्ममा ‘जिरे खुर्सानी’ निर्माण गर्ने जितु नेपाल, ‘मेरी बास्सै’ मा जमिरहेका केदार घिमिरे र सीताराम कट्टेललगायत पनि जोडिएका थिए । त्यसपछि बनेको ‘वडा नम्बर छ’, ‘छक्का पञ्जा सिरिज’, ‘छ माया छपक्कै’ लगायत एकपछि अर्को गर्दै फिल्महरूले सिनेजगत्को व्यापारमा नयाँ रेकर्ड थप्दै गए । ‘हिजो टेलिसिरियल बनाउनेले के फिल्म बनाउलान् भन्नेहरू पछि सहकार्य गर्न तम्सिए,’ दीपा भन्छिन् ।
त्यसयता फिल्म क्षेत्रमा थिएटरसँगै टेलिशृंखला पृष्ठभूमि भएकाहरू बढी जमिरहेका छन् । उदाहरणीय पात्रमध्येका हुन्, केदार घिमिरे । केदार टेलिशृंखला ‘मेरी बास्सै’ मा माग्ने बुढाका चरित्रले प्रख्यात थिए । उनको आफ्नै नामभन्दा पनि बलियो परिचय यही थियो । ‘मेरी बास्सै’ पछि उनले अधिकांश फिल्ममा सहायक पात्रका रूपमा माग्नेको चरित्रलाई छाडेनन् । ‘छक्का पञ्जा ५’ मा भने लवज उही भए पनि अवतार फरक थियो उनको । उनी ‘छक्का पञ्जा’ शृंखलामै बहुप्रतीक्षित पात्र थिए ।
पछिल्लो फिल्म रिलिज हुनुअघि केदार आफ्नो ब्यानरभन्दा बाहिर काम गर्दैनन् भन्ने फिल्मकर्मीको धारणा थियो । हुन पनि उनले आफ्नो ब्यानरबाहेकका फिल्ममा रुचि दिएका थिएनन् । ‘छक्का पञ्जा ५’ पछि भने केदारले भटाभट फिल्म साइन गर्न थाले । निर्माताहरू उनलाई महँगो पारिश्रमिकसहित लिड क्यारेक्टरमा लिन तयार भए । अहिले केदारका हातमा फिल्मैफिल्म छन् । उनकै चरित्रमाथि ‘माग्ने राजा’ फिल्म पनि घोषणा भइसकेको छ । उक्त फिल्म फ्लोरमा जाने तयारीमा छ ।
जितु पनि अर्का बलिया उदाहरण हुन् । जितु ‘जिरे खुर्सानी’ का निर्देशक तथा कलाकार थिए । उनी दर्शकमाझ ‘मुन्द्रे’ पात्रमार्फत चर्चित थिए । लामो समय टेलिशृंखलामा व्यस्त भएका जितु दीपक–दीपाको टिममा फिल्म गर्न थाले । उनीहरूसँग मिलेर गरेका सबै फिल्म हिट भए । पछि उनीहरूबीच फाँटो आयो । जितु टिमबाट बाहिरिए । बाहिरिँदा पनि जितु कामविहीन भएनन् । उनलाई लाग्थ्यो, ‘मलाई हिरो कसले पत्याउला र ?’ तर उनलाई हिरो पत्याउनेहरू आए ।
उनको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’ त व्यापारको हिसाबमा सफल भएन । तर गत दसैंमा रिलिज भएको ‘ज्वाइँसाब’ ले लगानी सुरक्षित गर्यो । अहिले पनि जितुलाई नयाँ फिल्ममा प्रस्ताव आइरहेका छन् । उनी अभिनीत ‘कार्साङ’ प्रदर्शनरत छ । गरिरहेको भन्दा फरक चरित्र उक्त फिल्ममा उनले निर्वाह गरेका छन् ।
कोही सफल, कोही असफल
टेलिशृंखलाबाट फिल्ममा जम्नेहरू सफल मात्र भएका छैनन्, कसैको भने पहिलो गाँसमै ढुंगा परेको पनि छ । थुप्रै हास्य कलाकारलाई अभिनयमा डेब्यु गराउने श्रेय जान्छ– कलाकार सन्तोष पन्तलाई । ५० को दशकको चर्चित हास्य टेलिशृंखला ‘हिजो आजका कुरा’ मा देखिनु धेरै कलाकारका लागि सपना थियो । यो टेलिशृंखलालाई सन्तोष पन्तले नै निर्देशन गरेका थिए । प्रमुख भूमिकामा पनि उनी नै थिए । उनै सन्तोषले २०७९ मा सोही नाममा फिल्म बनाए । कमेडी फिल्म चल्छ भन्ने भाष्य निर्माण भइरहेको बेलामा उनको फिल्म ‘हिजो आजको कुरा’ रिलिज भयो । तर अपेक्षित व्यापारचाहिँ गरेन ।
०७६ को अन्तिमतिर फागुनमा फिल्म ‘सेन्टी भाइरस’ प्रदर्शनमा आयो । फिल्मलाई ‘मेरी बास्सै’ टेलिशृंखलामा जबर्जस्त जमिरहेका सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले निर्माण गरेका थिए । फिल्ममा उनीहरूकै प्रमुख भूमिका थियो । यो फिल्मले पनि अपेक्षित व्यापार गरेन । सीताराम त्यसअघि ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ मा महत्त्वपूर्ण भूमिकामा थिए ।
उनको त्यो भूमिकालाई भने दर्शकले रुचाएका थिए । अहिले सीताराम फिल्म ‘लाज शरणम्’ बाट कमब्याक गर्दै छन् । हालै सार्वजनिक भएको फिल्मको पोस्टरमा उनको फरक अवतारलाई दर्शकले तारिफ गरिरहेका छन् । टेलिचलचित्रबाटै बलियो परिचय बनाएका कलाकार शिवहरि पौडेलले पनि दुई वर्षअघि फिल्म ‘लक्का जवान’ निर्माण गरे । कमेडी विधामा बनेको उक्त फिल्म पनि व्यावसायिक रूपमा सफल भएन ।
लामो समयदेखि टेलिशृंखलासँगै फिल्ममा पनि उत्तिकै जमेका कलाकारमध्येमा पर्छन् ‘महजोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । पछिल्लो समय उनीहरूले निर्माण गरेको फिल्म व्यापारिक हिसाबमा सफल भएका छन् । ०७६ वैशाखमा रिलिज भएको ‘महजोडी’ को फिल्म ‘दाल, भात, तरकारी’ ले सन्तोषजनक व्यापार गर्यो । त्यसअघि दीपक–दीपासँग मिलेर उनीहरूले निर्माण गरेको फिल्म थियो ‘शत्रु गते’ । यो फिल्म ०७५ चैत्रमा रिलिज भयो । फिल्मले दर्शकको उल्लेख्य साथ पायो ।
फिल्म निर्माण मात्र हैन, महत्त्वपूर्ण भूमिकाका लागि पनि उनीहरूलाई प्रस्ताव उत्तिकै आइरहन्छन् । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ मा हरिवंश र मदनकृष्णको बलियो भूमिका थियो । अघिल्लो वर्ष रिलिज भएको फिल्म ‘महाजात्रा’ मा पनि हरिवंशले नेगेटिभ भूमिका निर्वाह गरेका थिए । आगामी वैशाखमा रिलिज हुन लागेको फिल्म ‘भूठान’ मा पनि हरिवंश फरक अवतार र प्रमुख भूमिकामा देखिँदै छन् ।
हरिवंशका अनुसार आजभन्दा चार दशकअघि ठूलो पर्दालाई ठूलो दर्जाको रूपमा लिइन्थ्यो । फिल्ममा खेल्नेलाई ठूला र स्टान्डर्ड मान्छेका रूपमा बुझिन्थ्यो । तैपनि टेलिशृंखलाको महत्त्व उत्तिकै थियो । ‘टीभी करोड बढीले हेर्थे । फिल्म ३ लाखले । देशमा फिल्म विस्तारै विकास भइरहेको बेलामा टेलिफिल्ममा सिक्ने मौका पाए । सिकाइसँगै उनीहरूले पनि दर्शक पाए,’ हरिवंश भन्छन् ।
त्यतिबेला पनि उनीहरूले फिल्म बनाउँदा खिसिट्युरी चल्थे । भन्थे, ‘टेलिसिरियलमा काम गर्नेले कसरी फिल्म गरेर खालान् ।’ तर ‘हरिवंशहरू’ ले फिल्म गरेरै खाए । उनीहरूको कमाइ टेलिसिरियलभन्दा फिल्मबाटै भयो । ‘३० वर्षअगाडि हामी तीन जनाले लगानी गरेर फिल्म ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ बनायौँ । फिल्मबाट ६० लाख नाफा भयो । मेरो भागमा २० लाख पर्यो,’ उनी भन्छन्, ‘त्यो पैसाले मैले चार आना जग्गा किनेँ ।’
उनका अनुसार त्यतिबेला टेलिशृंखलामा कमाइ थिएन । कमाइको माध्यममध्येमा फिल्म पर्थ्यो । ‘हामीले टेलिशृंखला पनि छाडेनौँ । फिल्म मात्र पनि गरेनौँ । दुवै गरिरह्यौँ,’ उनी भन्छन् । हरिवंश र मदनकृष्णले २०५४ मा बनेको फिल्म ‘बलिदान’ मा निर्वाह गरेको भूमिकाबारे अहिले पनि तारिफ भइरहन्छ । सन् २००६ देखि २०११ सम्म रिलिज भएको टेलिशृंखला थियो, ‘मदनबहादुर हरिबहादुर’ । ती पात्रको सम्झना अहिले पनि भइरहने गर्छ । हरिवंशले आफ्नो पात्र हरिबहादुरमाथि त फिल्मको कथा नै लेखे । उक्त पात्रमाथि लेखिएको फिल्म ‘हरिबहादुरको जुत्ता’ केही दिनमै फ्लोरमा जानेछ । हरिवंश अहिले त्यसकै तयारीमा छन् । ‘महजोडी’ कै समकालीन राजाराम पौडेल र किरण केसी पनि फिल्ममा सक्रिय छन् ।
नेपालमा मात्र हैन, बलिउडमा पनि लोकप्रिय कलाकारको पृष्ठभूमि टेलिसिरियल छ । यसका उदाहरण हुन् अभिनेता शाहरूख खान । उनले सन् १९८० को दशकको उत्तरार्धमा धेरै टेलिभिजन शृंखलाहरूमा भूमिका निर्वाह गरे । टेलिशृंखलाहरूमा जमेपछि मात्र उनले सन् १९९२ मा फिल्म ‘दिवाना’बाट बलिउडमा डेब्यु गरे । उनी मात्र हैन, विद्या बालन, आदित्य रोय कपुर, आर माधवन, मौनी रोय, प्राची देशाई, यमी गौतम र आयुष्मान खुरानाहरू पनि टेलिशृंखलाबाटै फिल्ममा आएका हुन् ।
टेलिशृंखला : फिल्मसम्म पुग्ने बाटो
प्रायः कलाकारले टेलिशृंखलालाई फिल्मसम्म पुग्ने बाटोको रूपमा लिन्छन् । जस्तो कि अहिले ‘लाज शरणम्’ निर्देशन गरेका कुमार कट्टेलको सपना फिल्म नै थियो । उनले फिल्म निर्देशन बेलायतमा पढेर आए ।
‘नेपाल फर्कनेबित्तिकै फिल्म गर्छु भन्ने थियो । तर सहज भएन,’ कुमार भन्छन्, ‘बाँच्नका लागि टेलिसिरियलमा काम गर्न थालेँ । दर्शकहरूले रुचाउँदै जानुभयो । यहाँ रमाउँदै पनि गइयो ।’ टेलिसिरियलमै वर्षहरू बित्दै गए । तर फिल्म बनाउने सपनाले हरेक रात उनलाई अँठ्याउँदै गयो । ‘अन्ततः फिल्मका लागि तयारी गर्यौं । अब नयाँ प्रोजेक्हरू पनि लगातार अगाडि बढ्नेछन्,’ उनी भन्छन् ।
‘सक्किगो नि’ का दर्शक थुप्रै छन् । ती दर्शक हलसम्म जाने आशा छ, कुमारलाई । दीपक–दीपाको फिल्ममा पनि उनीहरूका टेलिशृंखलाका दर्शक फिल्मसम्म पुगे । ‘कहिल्यै हलमा नआउनुभएका दर्शक पनि हाम्रो फिल्म हेर्न आउनुभयो,’ दीपा सम्झिन्छिन् । ‘परान’ निर्देशनको तयारी गरिरहेका दीपक आचार्यको पनि सपना फिल्ममै थियो ।
फिल्मसम्मको बाटो हिँड्न उनले टेलिशृंखला, म्युजिक भिडियो र सर्ट फिल्मको अभ्यास गरिरहे । अहिले उनलाई व्यापारिक घरानालाई फेरि फिल्मतर्फ फर्काएको जससमेत छ । ‘त्यसकारण मलाई चुनौती पनि छ,’ उनी भन्छन्, ‘फिल्मलाई उहाँहरूले निरन्तरता दिने कि नदिने भन्ने कुरा मेरो पर्फमेन्समा भर पर्छ ।’
