टेलिशृंखलाबाट फिल्ममा फड्को

एक दशकयता टेलिशृंखलामा जमिरहेका कलाकारहरूको वर्चस्व फिल्ममा देखिन थालेको छ, एक समय टेलिशृंखलामा सक्रिय दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलगायत थुप्रै कलाकारलाई यति बेला फिल्ममा भ्याइनभ्याइ छ

माघ १७, २०८१

समर्पण श्री

The leap from teleserye to film

काठमाडौँ — नियमित प्रसारण भइरहेको हास्य टेलिशृंखला ‘सक्किगो नि’ दर्शकले रुचाइरहेको शृंखलामध्येमा पर्छ । उक्त टेलिशृंखलाका ‘पाँडे’, ‘जिग्री ब्रो’ ‘खुपीका बाउ’ ‘कक्रोज’ ‘बले’ लगायत हरेक पात्रका नाम दर्शकलाई कण्ठस्थ छ । अब यही टेलिशृंखलाका कलाकार छिट्टै ठूलो पर्दामा देखा पर्दै छन् । ‘भद्रकोल’ हुँदै हाल ‘सक्किगो नि’ मा जमिरहेको जेपीटी क्रिएसनले अब फिल्म ‘लाज शरणम्’ ल्याउँदै छ । 

फिल्मलाई ‘सक्किगो नि’ कै निर्देशक तथा कलाकार कुमार कट्टेलले निर्देशन गर्दै छन् । अहिलेसम्म टेलिशृंखलामा दर्शक हँसाइरहेको यो टिमले अब फिल्ममा पदार्पण गरेको हो । ‘लाज शरणम्’ रिलिजलगत्तै यो टिम नयाँ फिल्मका लागि फ्लोरमा जाने तयारी पनि छ । 

‘सक्किगो नि’ को ‘काकु’ चरित्रबाटै चर्चामा आएका अर्का चर्चित कलाकार दीपक आचार्यले पनि एक साताअघि नयाँ फिल्मको घोषणा गरे । उनको निर्देशनमा बन्ने फिल्म ‘परान’ लाई व्यावसायिक घराना गोल्छा समूहले लगानी गर्दै छ । दीपक ‘मेरी बास्सै’, ‘भद्रगोल’ हुँदै ‘सक्किगो नि’ मा अभिनय गरिरहेका कलाकार हुन् । ‘परान’ सँगै ठूलो पर्दामा पनि अब सक्रियता बढाउने उनको योजना छ ।

टेलिशृंखलामा जमिरहेका कलाकार फिचर फिल्ममा आउनु नौलो हैन । बरु, एक दशकयता टेलिशृंखलामा जमिरहेका कलाकारहरूको वर्चस्व फिल्ममा देखिन थालेको छ । एक समय टेलिशृंखलामा सक्रिय दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलगायत थुप्रै कलाकारलाई यतिबेला फिल्ममा भ्याइनभ्याइ छ । 

The leap from teleserye to film

कुनै बेला टेलिशृंखला निर्माण गरिरहेकाहरू फिल्ममा आउनुलाई फिल्म क्षेत्रकै व्यक्तिले हास्यास्पद रूपमा लिन्थे । तर २०७० सालमा प्रदर्शनमा आएको फिल्म ‘छ एकान छ’ ले धेरैको भ्रम तोडिदियो । फिल्मले व्यावसायिक सफलता हासिल गरेसँगै नयाँ लहर पनि देखापर्‍यो । १२ वर्षसम्म लगातार प्रसारण भएको दीपक–दीपाको ‘तितो सत्य’ ६ सय भागपछि बन्द भइसकेको थियो ।

‘अब के गर्ने त ?’ अन्योल समयमा उनीहरूले सोचे, फिल्म । अगाडिदेखिकै सपना थियो– फिल्म निर्माण गर्ने । उनीहरूले फिल्म निर्माणमा जोखिमको पाइला चाले । ‘हाम्रो लागि जुवा खेलेजस्तै थियो । जम्मा गरेको अलिअलि पैसा र हारगुहार गरेर फिल्म बनाउन तम्सियौँ,’ दीपाश्री भन्छिन्, ‘तर टेलिफिल्म बनाउनेले के फिल्म बनाउलान् भनेर हतोत्साहित गर्ने पनि धेरै थिए ।’ 

चारवटा फिल्मसँग ‘छ एकान छ’ जुध्यो । फिल्मले राम्रो व्यापार गर्‍यो । त्यसपछि दीपक–दीपाको टिमलाई एकपछि अर्को फिल्म निर्माण गर्ने बाटो खुल्यो । उनीहरूको फिल्ममा ‘जिरे खुर्सानी’ निर्माण गर्ने जितु नेपाल, ‘मेरी बास्सै’ मा जमिरहेका केदार घिमिरे र सीताराम कट्टेललगायत पनि जोडिएका थिए । त्यसपछि बनेको ‘वडा नम्बर छ’, ‘छक्का पञ्जा सिरिज’, ‘छ माया छपक्कै’ लगायत एकपछि अर्को गर्दै फिल्महरूले सिनेजगत्को व्यापारमा नयाँ रेकर्ड थप्दै गए । ‘हिजो टेलिसिरियल बनाउनेले के फिल्म बनाउलान् भन्नेहरू पछि सहकार्य गर्न तम्सिए,’ दीपा भन्छिन् ।

त्यसयता फिल्म क्षेत्रमा थिएटरसँगै टेलिशृंखला पृष्ठभूमि भएकाहरू बढी जमिरहेका छन् । उदाहरणीय पात्रमध्येका हुन्, केदार घिमिरे । केदार टेलिशृंखला ‘मेरी बास्सै’ मा माग्ने बुढाका चरित्रले प्रख्यात थिए । उनको आफ्नै नामभन्दा पनि बलियो परिचय यही थियो । ‘मेरी बास्सै’ पछि उनले अधिकांश फिल्ममा सहायक पात्रका रूपमा माग्नेको चरित्रलाई छाडेनन् । ‘छक्का पञ्जा ५’ मा भने लवज उही भए पनि अवतार फरक थियो उनको । उनी ‘छक्का पञ्जा’ शृंखलामै बहुप्रतीक्षित पात्र थिए । 

पछिल्लो फिल्म रिलिज हुनुअघि केदार आफ्नो ब्यानरभन्दा बाहिर काम गर्दैनन् भन्ने फिल्मकर्मीको धारणा थियो । हुन पनि उनले आफ्नो ब्यानरबाहेकका फिल्ममा रुचि दिएका थिएनन् । ‘छक्का पञ्जा ५’ पछि भने केदारले भटाभट फिल्म साइन गर्न थाले । निर्माताहरू उनलाई महँगो पारिश्रमिकसहित लिड क्यारेक्टरमा लिन तयार भए । अहिले केदारका हातमा फिल्मैफिल्म छन् । उनकै चरित्रमाथि ‘माग्ने राजा’ फिल्म पनि घोषणा भइसकेको छ । उक्त फिल्म फ्लोरमा जाने तयारीमा छ ।

The leap from teleserye to film

जितु पनि अर्का बलिया उदाहरण हुन् । जितु ‘जिरे खुर्सानी’ का निर्देशक तथा कलाकार थिए । उनी दर्शकमाझ ‘मुन्द्रे’ पात्रमार्फत चर्चित थिए । लामो समय टेलिशृंखलामा व्यस्त भएका जितु दीपक–दीपाको टिममा फिल्म गर्न थाले । उनीहरूसँग मिलेर गरेका सबै फिल्म हिट भए । पछि उनीहरूबीच फाँटो आयो । जितु टिमबाट बाहिरिए । बाहिरिँदा पनि जितु कामविहीन भएनन् । उनलाई लाग्थ्यो, ‘मलाई हिरो कसले पत्याउला र ?’ तर उनलाई हिरो पत्याउनेहरू आए । 

उनको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’ त व्यापारको हिसाबमा सफल भएन । तर गत दसैंमा रिलिज भएको ‘ज्वाइँसाब’ ले लगानी सुरक्षित गर्‍यो । अहिले पनि जितुलाई नयाँ फिल्ममा प्रस्ताव आइरहेका छन् । उनी अभिनीत ‘कार्साङ’ प्रदर्शनरत छ । गरिरहेको भन्दा फरक चरित्र उक्त फिल्ममा उनले निर्वाह गरेका छन् ।

कोही सफल, कोही असफल

टेलिशृंखलाबाट फिल्ममा जम्नेहरू सफल मात्र भएका छैनन्, कसैको भने पहिलो गाँसमै ढुंगा परेको पनि छ । थुप्रै हास्य कलाकारलाई अभिनयमा डेब्यु गराउने श्रेय जान्छ– कलाकार सन्तोष पन्तलाई । ५० को दशकको चर्चित हास्य टेलिशृंखला ‘हिजो आजका कुरा’ मा देखिनु धेरै कलाकारका लागि सपना थियो । यो टेलिशृंखलालाई सन्तोष पन्तले नै निर्देशन गरेका थिए । प्रमुख भूमिकामा पनि उनी नै थिए । उनै सन्तोषले २०७९ मा सोही नाममा फिल्म बनाए । कमेडी फिल्म चल्छ भन्ने भाष्य निर्माण भइरहेको बेलामा उनको फिल्म ‘हिजो आजको कुरा’ रिलिज भयो । तर अपेक्षित व्यापारचाहिँ गरेन ।

०७६ को अन्तिमतिर फागुनमा फिल्म ‘सेन्टी भाइरस’ प्रदर्शनमा आयो । फिल्मलाई ‘मेरी बास्सै’ टेलिशृंखलामा जबर्जस्त जमिरहेका सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले निर्माण गरेका थिए । फिल्ममा उनीहरूकै प्रमुख भूमिका थियो । यो फिल्मले पनि अपेक्षित व्यापार गरेन । सीताराम त्यसअघि ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ मा महत्त्वपूर्ण भूमिकामा थिए ।

उनको त्यो भूमिकालाई भने दर्शकले रुचाएका थिए । अहिले सीताराम फिल्म ‘लाज शरणम्’ बाट कमब्याक गर्दै छन् । हालै सार्वजनिक भएको फिल्मको पोस्टरमा उनको फरक अवतारलाई दर्शकले तारिफ गरिरहेका छन् । टेलिचलचित्रबाटै बलियो परिचय बनाएका कलाकार शिवहरि पौडेलले पनि दुई वर्षअघि फिल्म ‘लक्का जवान’ निर्माण गरे । कमेडी विधामा बनेको उक्त फिल्म पनि व्यावसायिक रूपमा सफल भएन ।

लामो समयदेखि टेलिशृंखलासँगै फिल्ममा पनि उत्तिकै जमेका कलाकारमध्येमा पर्छन् ‘महजोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । पछिल्लो समय उनीहरूले निर्माण गरेको फिल्म व्यापारिक हिसाबमा सफल भएका छन् । ०७६ वैशाखमा रिलिज भएको ‘महजोडी’ को फिल्म ‘दाल, भात, तरकारी’ ले सन्तोषजनक व्यापार गर्‍यो । त्यसअघि दीपक–दीपासँग मिलेर उनीहरूले निर्माण गरेको फिल्म थियो ‘शत्रु गते’ । यो फिल्म ०७५ चैत्रमा रिलिज भयो । फिल्मले दर्शकको उल्लेख्य साथ पायो । 

फिल्म निर्माण मात्र हैन, महत्त्वपूर्ण भूमिकाका लागि पनि उनीहरूलाई प्रस्ताव उत्तिकै आइरहन्छन् । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ मा हरिवंश र मदनकृष्णको बलियो भूमिका थियो । अघिल्लो वर्ष रिलिज भएको फिल्म ‘महाजात्रा’ मा पनि हरिवंशले नेगेटिभ भूमिका निर्वाह गरेका थिए । आगामी वैशाखमा रिलिज हुन लागेको फिल्म ‘भूठान’ मा पनि हरिवंश फरक अवतार र प्रमुख भूमिकामा देखिँदै छन् ।

हरिवंशका अनुसार आजभन्दा चार दशकअघि ठूलो पर्दालाई ठूलो दर्जाको रूपमा लिइन्थ्यो । फिल्ममा खेल्नेलाई ठूला र स्टान्डर्ड मान्छेका रूपमा बुझिन्थ्यो । तैपनि टेलिशृंखलाको महत्त्व उत्तिकै थियो । ‘टीभी करोड बढीले हेर्थे । फिल्म ३ लाखले । देशमा फिल्म विस्तारै विकास भइरहेको बेलामा टेलिफिल्ममा सिक्ने मौका पाए । सिकाइसँगै उनीहरूले पनि दर्शक पाए,’ हरिवंश भन्छन् ।

त्यतिबेला पनि उनीहरूले फिल्म बनाउँदा खिसिट्युरी चल्थे । भन्थे, ‘टेलिसिरियलमा काम गर्नेले कसरी फिल्म गरेर खालान् ।’ तर ‘हरिवंशहरू’ ले फिल्म गरेरै खाए । उनीहरूको कमाइ टेलिसिरियलभन्दा फिल्मबाटै भयो । ‘३० वर्षअगाडि हामी तीन जनाले लगानी गरेर फिल्म ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ बनायौँ । फिल्मबाट ६० लाख नाफा भयो । मेरो भागमा २० लाख पर्‍यो,’ उनी भन्छन्, ‘त्यो पैसाले मैले चार आना जग्गा किनेँ ।’ 

उनका अनुसार त्यतिबेला टेलिशृंखलामा कमाइ थिएन । कमाइको माध्यममध्येमा फिल्म पर्थ्यो । ‘हामीले टेलिशृंखला पनि छाडेनौँ । फिल्म मात्र पनि गरेनौँ । दुवै गरिरह्यौँ,’ उनी भन्छन् । हरिवंश र मदनकृष्णले २०५४ मा बनेको फिल्म ‘बलिदान’ मा निर्वाह गरेको भूमिकाबारे अहिले पनि तारिफ भइरहन्छ । सन् २००६ देखि २०११ सम्म रिलिज भएको टेलिशृंखला थियो, ‘मदनबहादुर हरिबहादुर’ । ती पात्रको सम्झना अहिले पनि भइरहने गर्छ । हरिवंशले आफ्नो पात्र हरिबहादुरमाथि त फिल्मको कथा नै लेखे । उक्त पात्रमाथि लेखिएको फिल्म ‘हरिबहादुरको जुत्ता’ केही दिनमै फ्लोरमा जानेछ । हरिवंश अहिले त्यसकै तयारीमा छन् । ‘महजोडी’ कै समकालीन राजाराम पौडेल र किरण केसी पनि फिल्ममा सक्रिय छन् ।

नेपालमा मात्र हैन, बलिउडमा पनि लोकप्रिय कलाकारको पृष्ठभूमि टेलिसिरियल छ । यसका उदाहरण हुन् अभिनेता शाहरूख खान । उनले सन् १९८० को दशकको उत्तरार्धमा धेरै टेलिभिजन शृंखलाहरूमा भूमिका निर्वाह गरे । टेलिशृंखलाहरूमा जमेपछि मात्र उनले सन् १९९२ मा फिल्म ‘दिवाना’बाट बलिउडमा डेब्यु गरे । उनी मात्र हैन, विद्या बालन, आदित्य रोय कपुर, आर माधवन, मौनी रोय, प्राची देशाई, यमी गौतम र आयुष्मान खुरानाहरू पनि टेलिशृंखलाबाटै फिल्ममा आएका हुन् ।

The leap from teleserye to film

टेलिशृंखला : फिल्मसम्म पुग्ने बाटो

प्रायः कलाकारले टेलिशृंखलालाई फिल्मसम्म पुग्ने बाटोको रूपमा लिन्छन् । जस्तो कि अहिले ‘लाज शरणम्’ निर्देशन गरेका कुमार कट्टेलको सपना फिल्म नै थियो । उनले फिल्म निर्देशन बेलायतमा पढेर आए ।

‘नेपाल फर्कनेबित्तिकै फिल्म गर्छु भन्ने थियो । तर सहज भएन,’ कुमार भन्छन्, ‘बाँच्नका लागि टेलिसिरियलमा काम गर्न थालेँ । दर्शकहरूले रुचाउँदै जानुभयो । यहाँ रमाउँदै पनि गइयो ।’ टेलिसिरियलमै वर्षहरू बित्दै गए । तर फिल्म बनाउने सपनाले हरेक रात उनलाई अँठ्याउँदै गयो । ‘अन्ततः फिल्मका लागि तयारी गर्‍यौं । अब नयाँ प्रोजेक्हरू पनि लगातार अगाडि बढ्नेछन्,’ उनी भन्छन् । 

‘सक्किगो नि’ का दर्शक थुप्रै छन् । ती दर्शक हलसम्म जाने आशा छ, कुमारलाई । दीपक–दीपाको फिल्ममा पनि उनीहरूका टेलिशृंखलाका दर्शक फिल्मसम्म पुगे । ‘कहिल्यै हलमा नआउनुभएका दर्शक पनि हाम्रो फिल्म हेर्न आउनुभयो,’ दीपा सम्झिन्छिन् । ‘परान’ निर्देशनको तयारी गरिरहेका दीपक आचार्यको पनि सपना फिल्ममै थियो ।

फिल्मसम्मको बाटो हिँड्न उनले टेलिशृंखला, म्युजिक भिडियो र सर्ट फिल्मको अभ्यास गरिरहे । अहिले उनलाई व्यापारिक घरानालाई फेरि फिल्मतर्फ फर्काएको जससमेत छ । ‘त्यसकारण मलाई चुनौती पनि छ,’ उनी भन्छन्, ‘फिल्मलाई उहाँहरूले निरन्तरता दिने कि नदिने भन्ने कुरा मेरो पर्फमेन्समा भर पर्छ ।’

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully