‘सुन्दरपानी’ चियाको जर्मनी यात्रा

फिक्कलमा करिब ५ सय रोपनीबाट सन् १९९८ मा सुरु भएको ‘गोर्खा टी इस्टेट’ बाट उत्पादित चिया ‘सुन्दरपानी’ अहिले जर्मनीका ९० भन्दा बढी सहरसहित फिनल्यान्ड, जापान, रसिया र अमेरिकामा निर्यात भइरहेको छ भने हालै चीनको बजारमा पनि जान थालेको छ

माघ १३, २०८१

पर्वत पोर्तेल

'Sundarpani' tea trip to Germany

विराटनगर — सन् १९८३ ताका जर्मनीका महावाणिज्यदूत मार्वोक बुसाकको निम्तोमा पहिलो पटक जर्मनी टेकेका थिए, झापा भद्रपुरका उदय चापागाईं । दुई महिना लामो जर्मनी बसाइमा उनी सहर मात्रै घुमेनन्, त्यहाँका उद्योगधन्धा र आर्थिक क्षेत्रलाई पनि चासोका साथ नियाले ।

मार्वोकले उनलाई जर्मनी नै बस्न सुझाए । तर, मानेनन् । बरु, बेला–बेला आउजाउ गर्छु भनेर उम्किए । त्यसताका जर्मनी जान नेपालीलाई प्रवेशाज्ञा नलाग्ने भएकाले पनि आउजाउ गर्न सहज थियो । मार्वोकले भनेछन्, ‘तिमी जर्मनी बस्दैनौ भने नेपाल र जर्मनीलाई जोड्ने गरी के काम गर्न सक्छौ ?’ 

उदयले कुनै व्यापारमार्फत द्विदेशीय सम्बन्ध ताजा राख्ने योजना बनाउन थाले । नेपाल फर्केपछि उनले बाँसबारी छाला जुत्ता कारखानामा काम गर्न थाले । सँगै पशुका छाला जर्मनी पठाउन सुरु गरे । तर, परीक्षणमा उनले पठाएको छाला असफल भयो । ‘जर्मनीमा गाई र बाख्राको छालाको माग बढी रहेछ, मैले भैंसीको पठाएको थिएँ,’ उनले भने, ‘यो व्यापारबाट नहुने रहेछ भनेर हात झिकें ।’ 

जर्मनी जाँदा उदयले जर्मन व्यवसायी थोमस होल्सलाई पनि भेटेका थिए । त्यसपछि सन् १९८० को दशकमा होल्स इलाम घुम्न पनि आए । इलामको हावापानी र हरियो चियाले उनको मन लोभिएको उदयले चाल पाए । त्यसपछि उनी नेपाली चियालाई जर्मनी पुर्‍याउने योजनामा लागे । तर, त्यो बेला नेपाली चिया जर्मनी पठाउने काम कम चुनौतीपूर्ण थिएन । उदयको होस्टेमा होल्सले हैंसे गरिदिए ।

होल्स नेपाली चिया निरन्तर किन्ने वाचासहित जर्मनी फर्किए । सन् १९९० को दशकमा पहिलो पटक नेपाली अर्थोडक्स चिया जर्मनीको बजारमा पुग्यो । त्यसपछि उदयले निरन्तर जर्मनीमा चिया निर्यात गरे ।

सुरुवातमा होल्सले चिया विकास निगमले उत्पादन गरेको अर्थोडक्स चिया किनेर लगेका थिए । पछि उदयमार्फत किन्न थालेका हुन् । अहिले पनि उनले नेपाली चिया किनेर जर्मनीमा बिक्री गरिरहेका छन् । ‘यहाँको चिया पहिलो पटक जोगवनी–कोलकाता बन्दरगाह हुँदै जर्मनी पठाएको थिएँ,’ उदयले भने । जर्मनीमा चियाको माग बढ्दै गएपछि उनले सन् १९९४ मा केही साथीसँगको साझेदारीमा ‘नेपाल स्मल टी प्रोडुसर लिमिटेड’ सुरु गरे । सन् १९९५ देखि उत्पादन गरे, १९९८ सम्म चिया निर्यात गरे । 

सन् १९९८ ताका उनले फिक्कलमा करिब ५ सय रोपनी जमिन खरिद गरेर एकल स्वामित्वमा चिया खेती सुरु गरे । जसलाई ‘गोर्खा टी इस्टेट’ को रूपमा विकास गरे । त्यही बगानबाट उत्पादित चियाको नाम ‘सुन्दरपानी’ राखे । त्यही सुन्दरपानी अहिले जर्मनीका ९० भन्दा बढी सहरमा बिक्छ ।

'Sundarpani' tea trip to Germany

सँगै फिनल्यान्ड, जापान, रसिया र अमेरिका पनि जान्छ । भर्खरै यो चिया चीन निर्यात सुरु भएको छ । दार्जिलिङको चिया बेलायतीले रोपे । बजार पनि उनीहरूले नै खोजिदिए । त्यसैले चियाका लागि दार्जिलिङ ब्रान्ड विश्वभर चिनियो । तर, नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन असाध्यै गाह्रो भएको चापागाईंको अनुभव छ । 

दार्जिलिङमा करिब ८७ वटा चिया बगान थिए । हाल केही त बन्द भइसके । केही भने उत्पादन गरिरहेकै छन् । ब्रिटिसहरूले हुर्काएको चियाको बोट दुई सय वर्ष पुरानो भइसक्यो । जसबाट चियाको अर्ग्यानिक स्वाद बिस्तारै हराउँदै गएको छ । दार्जिलिङलाई साख बचाउन पनि हम्मे हुँदै गएको छ । ऊ बेला दार्जिलिङ चियाको माग संसारभरबाट हुन्थ्यो । अहिले दार्जिलिङ ब्रान्ड खस्किँदै गएको छ ।

‘नेपाल र दार्जिलिङको भूगोल, हावापानी उस्तै हो,’ चापागाईं भन्छन्, ‘चियाको स्वाद पनि उस्तै हो ।’ पछिल्लो समय भने इलामको चिया दार्जिलिङको भन्दा मिठो मानेर पिइरहेका छन् विदेशीहरूले । ‘हाम्रो भर्जिनल्यान्ड छ । दार्जिलिङको २ सय वर्ष पुरानो बोट छ । हाम्रो तन्नेरी बोट छ । दुई पात एक सुइरो मात्रै टिपेर हामी चिया बनाउँछौं,’ चापागाईं भन्छन् ।

सुन्दरपानी चिया पूर्ण रूपमा अर्ग्यानिक छ । जसका लागि चापागाईंले किसानलाई ३५ वटा गाई नै किनेर दिए । व्यवस्थित गोठ बनाइदिए । किसानलाई पूर्ण अर्ग्यानिक गराउनतिर लागे । सँगै उनले टी टुरिजम पनि सुरु गरे । होम स्टेहरू पनि बनाए त्यहीबीचमा । 

'Sundarpani' tea trip to Germany

आईएमओले अर्ग्यानिक प्रमाणपत्र दिएपछि बल्ल उनले चिया जर्मनी निर्यात सुरु गरेका हुन् । ‘जर्मनीमा नेपाली चियाले राम्रो पहिचान पायो,’ उनी थप्छन्, ‘हाम्रो चिया अहिले प्रतिकिलो २ सय युरोसम्ममा बिक्री भइरहेको छ ।’

अर्ग्यानिक चियाको उत्पादन लागत अन्य चियाको दाँजोमा बढी हुन्छ । तर पनि नेपाली चियालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन उनी निरन्तर लागिरहेका छन् । उनका अनुसार आर्थिक कूटनीतिमार्फत नेपाली चिया प्रवर्द्धनमा सरकारले लगानी गर्नुपर्ने भनाइ उनको छ ।

अमेरिका, युरोप, चीन, जापान जस्ता देशहरूका चिया पारखीको स्वाद पहिचान गरेर त्यहीअनुसारको चिया उत्पादनका लागि सरकारले किसानलाई प्रोत्साहन गर्न जरुरी छ । त्यसअनुसारको चिया बनाउन सक्ने क्षमता नेपाली चिया किसानसँग छ । 

हाल १७ वटा जिल्लामा २० हजार हेक्टरभन्दा बढी क्षेत्रमा चिया खेती भइरहेको छ । ७० लाख किलो अर्थोडक्स चिया उत्पादन भइरहेको छ । उक्त चियालाई कलात्मक रूपमा विभिन्न स्वादमा तयार पारेर संसारभर बिक्री गर्न सक्ने सम्भावना रहेको उनी दाबी गर्छन् । जस्तो कि एउटै बगानबाट तयार पारेको आधा दर्जन बढी स्वादको चिया विदेश निर्यात भइरहेको छ । ग्रिन टी क्लासिक, लाइट एन्ड ब्राइड, वाइट टी, गोर्खा क्लासिक, गोल्डेन टी, सेकेन्ड फ्लस टाइप, रेड याकलगायत स्वादका चिया विदेश निर्यात हुन्छ । 

पूर्ण रूपमा अर्ग्यानिक चिया उत्पादन गरेर तेस्रो देश निर्यात गर्ने किसान र उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने चापागाईं बताउँछन् । ‘यसरी चिया उत्पादन गरी निर्यात गर्नेलाई १० प्रतिशत नगद अनुदान दिनुपर्छ,’ चापागाईंले भने, ‘बल्ल चिया किसान र उद्यमीलाई राहत मिल्न सक्छ ।’

अर्थमन्त्रीछँदा युवराज खतिवडाले एक पटक चिया निर्यातकर्तालाई ५ प्रतिशत अनुदानको व्यवस्था गरेका थिए । तर, उत्पादन लागत बढी भएका र कम भएका दुवै व्यवसायीलाई बराबरी अनुदान उपयुक्त नभएको भन्दै त्यसको विरोध पनि भयो । ‘तर, त्यो पनि पाइँदैन,’ चापागाईं गुनासो पोख्छन्, ‘सरकारले नीतिबाट हटाएको पनि छैन, हामीले पाएका पनि छैनौं ।’ 

गोर्खा टी इस्टेटले वार्षिक करिब ८० हजार किलो चिया उत्पादन गर्छ । लिप ग्रेड जर्मन शतप्रतिशत निर्यात हुन्छ । ब्रोकेन चिया फिनल्यान्ड, जापानमा जान्छ । ‘जर्मनीले मागेजति दिन अझै सकिएको छैन । अमेरिकामा पनि गइरहेको छ,’ चापागाईंले थपे, ‘रुस, चीन सुरु भयो भर्खरै ।’

'Sundarpani' tea trip to Germanyउदय चापागाईं, प्रमुख, गोर्खा टी इस्टेट

गत वर्ष ३० हजार किलो चिया जर्मनी निर्यात भयो । यो वर्ष ३५ हजार किलो पठाउने योजना छ । विदेशीले पूर्ण अर्ग्यानिक, गुणस्तरीय र समुदायको उत्पादन खोज्छ । पछिल्लो समय चिया उद्योगमा श्रमिकको चरम अभाव छ । तर पनि ३ सयभन्दा बढी श्रमिकले प्रत्यक्ष रोजगारी पाएका छन् ।

‘सबैभन्दा ठूलो समस्या चिया टिप्ने कामदारै पाइन छाड्यो,’ उनले भने, ‘रोपाइ र टिपाइ प्रक्रियासँग चियाको गुणस्तर जोडिएको हुन्छ ।’ चैत, वैशाखको चिया हवाई जहाजबाट जान्छ । त्यसपछिको चिया कन्टेनरमा कोलकाता हुँदै पानी जहाजको बाटो जर्मनी पुग्छ । ‘पहिले २३ सय डलर पर्थ्यो एक कन्टेनर चियाको निर्यात लागत,’ चापागाईंले भने, ‘अहिले ६ हजार डलर तिरेर पठाउनुपर्छ ।’ चिया निर्यातबाट गोर्खा टी इस्टेटले वार्षिक करिब ७ करोडभन्दा बढी विदेशी रकम भित्र्याउँदै आएको छ । 

बुद्धिवल ब्रान्ड 

इलामको फिक्कलमा रहेको गोर्खा टी इस्टेटमा एक दशकदेखि कार्यरत छन्, बुद्धिवल राई । उनै बुद्धिवलको मिहिनेतले तयार पारिएको स्वादिलो र विशेष प्रकार अर्थोडक्स चिया जर्मनीका विभिन्न सहरहरूमा बिक्री भइरहेको छ ।

‘नेपाल बुद्धिवल्स बेस्ट’ नाममा जर्मनीका सानाठूला ९० भन्दा बढी सहरका पारखीले बुद्धिवलको चियाको सुर्को स्वाद मानीमानी लिइरहेका छन् । बुद्धिवल विगत अढाई दशकदेखि चिया क्षेत्रमा सक्रिय छन् । गोर्खा टी इस्टेटमा व्यवस्थापक बनेपछि आफ्नो सीपलाई उनले निखार्दै लगे । जसले स्वादिलो चिया तयार पार्न उनलाई ऊर्जा मिल्यो । 

गोर्खा टी इस्टेटले विगत लामो समयदेखि जर्मनी, जापान, फिनल्यान्ड, रसिया र अमेरिका जस्ता देशहरूमा ‘सुन्दरपानी’ ब्रान्डको नेपाली अर्थोडक्स चिया निर्यात गरिरहेको छ । त्यसैमध्ये बुद्धिवल नामको चिया पनि बिक्री भइरहेको हो ।

सन् २०१८ मा गोर्खा टी इस्टेटका सञ्चालक उदय चापागाईं जर्मनी भ्रमणमा गएका बखत राईका नाममा छुट्टै ब्रान्ड बनाएर चिया बिक्री भइरहेको देखेर छक्क परेका थिए । ‘हामीले निर्यात गरेको चियामध्ये बुद्धिवलका नाममा विशेष प्रकारको चिया बनाएर बिक्री भइरहेको देखेर छक्क परें,’ चापागाईंले अनुभव साटे, ‘नेपाली चियाका लागि जर्मर्नीले गरेको यो ठूलो सम्मान हो ।’ 

चापागाईंबाटै बुद्धिवलले पनि आफ्नो नामको चिया बिक्रीको खबर चाल पाए । त्यो सुनेपछि उनलाई खुसीसँगै रमाइलो पनि लागेछ । ‘मेरा लागि त यो कल्पना बाहिरको कुरा हो,’ बुद्धिवल भन्छन्, ‘आफ्नो मिहिनेतलाई जर्मनीले सम्मान गरेको देख्दा धेरै गर्व लाग्यो ।’

गोर्खा टी इस्टेटले विभिन्न चरणमा टिपिएका चिया जर्मनी लगायतका देश पठाउँछ । बुद्धिवलका नाममा बिक्री भइरहेको चिया अलि विशेष छ । यो चैत र वैशाख महिनामा टिपेर सोझै हवाई जहाजमार्फत पठाइन्छ । जसलाई जर्मनीमा ‘एरोप्लेन टी’ भनेर चिनिन्छ । जर्मनीमा नेपाली चिया लोकप्रिय बन्दै जानु चिया उद्योगको गुणस्तर र सम्भावनाको उत्कृष्ट प्रमाण हो ।

'Sundarpani' tea trip to Germany

विशेष प्रकारको यो चियाको टिपाइदेखि तयारीसम्मै फरक प्रक्रिया अपनाइन्छ । त्यसैले जर्मनीका विभिन्न सहरमा यो नेपाली चिया उच्च मूल्यमा बिक्री भइरहेको छ । ‘प्रतिकिलो करिब २ सय युरो (झन्डै २९ हजार रुपैयाँ) का दरले नेपाली चिया बिक्री भइरहेको छ,’ चापागाईंले भने, ‘यो हाम्रा लागि गौरवको कुरा हो ।’

जर्मनीमा ‘एडमन्ड स्टिम’ नामले परिचित विशेष प्रकारको चिया अत्यन्त महँगो दरमा बिक्री भइरहेको छ । बुद्धिवल्स बेस्ट त्यही गुणस्तरको चिया हो । ‘यो चियाको उत्पादन प्रक्रियामा टिपाइदेखि तयार गर्नेसम्म धेरै मिहिनेत र ध्यान दिनुपर्छ,’ बुद्धिवलले सुनाए ।

जर्मनीमा संसारभरबाट चिया आयात हुन्छ । तर, बुद्धिवलको मिहिनेतले बनेको चिया विशेष र लोकप्रिय बनेको छ । ‘यो सफलताले नेपाली चिया उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ,’ बुद्धिवल भन्छन् ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully