जल तथा मौसम विज्ञान विभागले पछिल्लो ६ वर्षयता यसै समयमा मापन गरेको तापक्रमलाई हेर्दा बिहीबार हिउँदको सबैभन्दा गर्मी दिन हो
काठमाडौँ — पछिल्लो साता काठमाडौं उपत्यकालगायत पहाडी भेगमा गर्मी बढेको महसुस भएको छ । तराईमा भने बाक्लो हुस्सु लागिरहेको छ । पहाडी क्षेत्रमा हिउँदे वर्षा सक्रिय नहुँदा बालीमा समेत असर परेको छ । तीन महिनाअघि नै जल तथा मौसम विभागले अक्टोबरदेखि डिसेम्बरसम्म मुलुकमा अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको थियो ।
विशेषरी डिसेम्बर, जनवरी र फ्रेबुअरी (मंसिर, पुस, माघ) सम्मलाई जाडोको महिना मानिने गरिन्छ । तर यसपालि भने जनवरी दोस्रो साता अर्थात् माघ नसकिँदै सामान्य तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए ।
पश्चिमी वायु प्रणाली कमजोर हुँदा सामान्य तापक्रम बढ्दै गइरहेकाले जाडो नसकिँदै पछिल्लो एक सातायता गर्मी महसुस गरिएको उनले बताए । ‘सन् २०२५ को जाडो सकिएको होइन । हाम्रोमा जनवरीलाई अलिक बढी चिसो महिना मानिन्छ । तर यो वर्ष जाडो कम भइरहेको छ,’ उनले भने, ‘किनभने पश्चिमी वायु नआइसकेकाले तापक्रम त्यति धेरै घट्न सकेन ।’
विभागका अनुसार काठमाडौंमा जनवरीको समयमा १९.२ डिग्री सेल्सियससम्मलाई सामान्य तापक्रम मानिन्छ । तर अहिले जनवरी १७ देखि २३ (माघ ४ देखि १०) सम्मको तापक्रम औसत ५.२ डिग्री सेल्सियसम्मले बढिरहेको छ । ‘जनवरी १७ सम्म काठमाडौं उपत्यकाको तापक्रम सामान्यभन्दा तल थियो । १७ देखि २३ तारिखसम्म लगातार तापक्रम बढिरहेको छ,’ उनले भने, ‘बुधबार २४.६ र बिहीबार २३.६ डिग्री तापक्रम मापन गरिएको छ ।’ गतवर्ष यसै दिन १७.८ डिग्री तापक्रम मापन गरिएको थियो । २०२४ जनवरी १७ देखि २४ तारिखसम्म तापक्रम सामान्यभन्दा मुनि नै रहेको उनले जनाए ।
यसैगरी २०२० देखि २०२५ को सोही अवधिको तापक्रम तुलना गर्ने हो भने २०२१ पछि मापन गरिएको यो दोस्रो उच्चतम तापक्रम हो । २०२१ जनवरीमा काठमाडौंको तापक्रम औसतमा २० डिग्री सेल्सियस थियो । ‘पछिल्लो ६ वर्षको यसै समयको तापक्रमलाई हेर्ने हो भने २०२५ जनवरी सन् २०२१ भन्दा अझ तातो हो,’ हुमागाईंले थपे, ‘सन् २०२१ को भन्दा उच्च तापक्रम मापन गरिएको हो ।’
२०२० जनवरीमा काठमाडौंमा १७.१ डिग्री सेल्सियस औसत तापक्रम मापन गरिएकोमा २०२२ जनवरीमा १७.३, २०२३ जनवरीमा १८.३ र २०२४ जनवरीमा औसत १८.० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
दोलखाको शैलुङ गाउँपालिका–८ मा आलुमा हाल्न बोरामा राखिएका मल । हिउँ वा पानी पर्ने आशामा किसान आलु रोपेर मल हाल्ने पर्खाइमा छन् । तस्बिर : केदार शिवाकोटी/कान्तिपुर
‘यो ७ दिनयता काठमाडौं उपत्यकाको तापक्रम बढ्न थालेको पाइएको छ । त्योभन्दा अगाडि तापक्रम सामान्यभन्दा कम नै थियो, त्यसैले पनि ६ वर्षयताको यसै समयको औसत तापक्रमलाई मात्र तुलना गर्दा यस पटकको गर्मी उच्च देखिन्छ,’ मौसमविद् हुमागाईं भन्छन्, ‘पछिल्लो सात दिनलाई हेर्ने हो भने अघिल्ला वर्ष यत्तिको बढी तापक्रम थिएन ।’ यसैगरी नेपालमा सरदर जनवरीमै सबैभन्दा धेरै तातो भएको वर्षमा १९९०, २००६, २००९ र २०१७ पर्छन् । तर यस वर्षको जनवरी सकिन अझैं बाँकी रहेकाले औसत तापक्रम थाहा पाउन नसकिने उनको भनाइ छ ।
काठमाडौं उपत्यका र पहाडी भूभागमा गर्मी बढिरहँदा भने यो साता तराईका केही र मध्य तथा पूर्वका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो उक्त क्षेत्रमा भएकाले तापक्रम नबढेको उनले बताए । तर तराईमा तापक्रम कम भए पनि पहाडी भूभागमा भने औसतमा २० डिग्री सेल्सियस तापक्रम मापन भएको छ । उनी भन्छन्, ‘पछिल्लो एक सातामा पहाडी भूभागमा पनि तापक्रम तराईको भन्दा बढी देख्न सकिन्छ । २० डिग्रीभन्दा माथि पहाडी भूभागमा देखिन्छ ।’
के यो जलवायु परिवर्तनको असर हो ?
तराईमा हुस्सु लागिरहँदा जाडो नसकिँदै पहाडमा गर्मी बढेको छ । उच्च हिमाली भेग र पहाडमा पानी पर्न नसकेकाले हिउँदे बालीमा असर परेको छ । के यो जलवायु परिवर्तनको असर हो ? जलवायुविज्ञ सुदीप ठकुरी भन्छन्, ‘यसलाई अझै जलवायु परिवर्तन भन्न मिल्दैन । हामीसँग तथ्यांक हेर्ने हो भने पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ । यस पटक कमजोर हो कि भन्ने देखिन्छ । अलिकति पश्चिमी वायु सक्रिय नभएर यस्तो भएको हो ।’
ठकुरी त्रिविका सह–प्राध्यापक तथा मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिनसमेत हुन् । हिउँदे वर्षा नहुँदा खेतीपातीमा प्रभावित भए पनि जलवायु परिवर्तनकै कारणले हो भन्न नमिलेको उनको भनाइ छ । ‘पृथ्वीमा बढिरहेको तापक्रमले यस्तो भएको हो भन्न सकिन्छ । जलवायु परिपवर्तनको स्पष्ट देखिने हिमनदी र हिमतालको अवस्था स्पष्ट देखिने सूचक हुन्,’ उनी थप्छन्, ‘नेपालमा १५ प्रतिशत हिमनदीको क्षेत्रफल घटेको छ । हिमालमा कम हिउँ परेको देखिन्छ । त्यसको प्रत्यक्ष प्रभाव खोला, जमिनमा पर्छ ।’ नेपालका विभिन्न ठाउँको ३ वर्ष अगाडि पानीको स्रोतबारे गरिएको एक अध्ययनअनुसार २५ प्रतिशत पानीको मूल स्रोत सुकेको पाइएको उनको भनाइ छ ।
यसमा पछिल्लो तीन दशकयता पानी पर्ने क्रम घटेर कृषिमा असर परेको उनले स्वीकार गरे । तर यसको प्रभाव कति छ भनेर स्पष्ट भन्न नसकिने बताउँछन् । ‘हिमाली क्षेत्रमा त्यहाँको आलु र तरकारीखेती हिउँ परे सप्रिने भन्ने हुन्छ, त्यहाँ प्रभाव परेको हुन सक्छ,’ उनले थपे ।
दोलखाको शैलुङ गाउँपालिका–८ मा आलुमा हाल्न बोरामा राखिएका मल । हिउँ वा पानी पर्ने आशामा किसान आलु रोपेर मल हाल्ने पर्खाइमा छन् । तस्बिर : केदार शिवाकोटी/कान्तिपुर
यही विषयमा मौसम विभागका मौसमविद् सुदर्शन हुमागाईं पनि ३/४ वर्षको तथ्यांकलाई हेरेर जलवायु परिवर्तनले गरेर पानी कम परेको भन्न नमिल्ने बताउँछन् । ‘हामीले लामो समय, जस्तै ३० वर्ष अवधिमा परिवर्तन आयो भने त्यसलाई जलवायु परिवर्तन भन्ने हो,’ उनी भन्छन्, ‘अब यो कुनै वर्ष अतिवृष्टि हुनु र कुनै वर्ष अनावृष्टि हुनु सामान्य प्रक्रिया हो ।’
विभागले जलवायु परिवर्तनको अध्ययन सन् १९७१ देखि २०१४ को तथ्यांक प्रयोग गरेर २०१७ मा एउटा रिपोर्ट तयार गरेको थियो । ‘त्यो रिपोर्टअनुसार तापक्रम ०.०५ डिग्री प्रतिदशकले अधिकतम तापक्रम वृद्धि भइरहेको देखाउँछ । न्यूनतम तापक्रम पनि ०.२ डिग्रीले प्रतिदशक बढेको देखाउँछ,’ उनले थपे, ‘यो औसतको संख्या सानो देखिन्छ तर धेरै वर्षको औसत भएकाले सानो सुनिएको हो । हामीले हरेक वर्ष यही मानक जोड्दै जाने हो भने त्यो धेरै हुन्छ ।’
यस विषयमा वातावरण अनुसन्धानकर्मी गोविन्दप्रसाद पोखरेल पनि पानी कम पर्नु र चाँडै गर्मी महसुस गरिनु जलवायु परिवर्तनकै कारण हो भन्ने स्पष्ट नभए पनि यसको संकेत भने देखिएको बताउँछन् । ‘सामुद्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविकीय प्रणालीको अवस्थाले तापक्रमको अवस्था थाहा हुन्छ,’ उनले भने, ‘अहिले पूर्वी प्रशान्त महासागरको तापक्रम बढी हुँदा नेपालमा बर्खायाममा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढी हुने हुन्छ ।’
हिउँदे मनसुन किन सक्रिय भएन ?
यसपालि हिउँदे मनसुन सक्रिय भएको छैन । यसको कारणबारे मौसम विभागकै मौसमविद् हुमागाईं भन्छन्, ‘नेपालमा हिउँदमा पानी पश्चिमी न्यून चापीय प्रणालीका कारणले पर्छ । अफगानिस्तान, पाकिस्तान र भारतमा पानी पर्दै हामी कहाँ आउने हो । त्यो प्रणाली कमजोर हुँदा नेपालमा पानी कम पर्छ ।’ उनका अनुसार यो सिजनमा पश्चिम, सुदूरपश्चिम र कर्णालीका माथिल्ला भूभागमा केही वर्षा भएको छ । त्यो वर्षा विस्तारै पूर्वतिर सर्दै आउँदा त्यो हावाले आद्रता गुमाइसक्ने र पानी कम भइसक्छ ।
‘त्यो सुक्खा हावा मात्र पूर्वतिर आउँछ, त्यही भएर पानी पम पर्ने हो,’ उनले थपे, ‘वर्षभरिमा पर्ने पानीको ३–४ प्रतिशत मात्रै हिउँदमा पर्ने हो ।’ डिसेम्बर, जनवरी र फेब्रुअरीमा सरदर ६० मिलिमिटर पानी पर्ने भएकाले हिउँद सुक्खा समय भएको उनको भनाइ छ । ‘यो सुक्खा नै सिजन हो । पश्चिमी वायु प्रणाली सक्रिय नहुँदा पानी पर्न सकेको छैन,’ उनले थपे । यसअघिका वर्षहरूमा पनि नेपालमा हिउँदे वर्षा कम भएको विभागको तथ्यांक छ । जनवरीमै सन् २०१६ यता २०२० र २०१९ बाहेक अन्य वर्षमा पानी राम्रो नपरेको हुमागाईंले बताए ।
‘सन् २०१६, २०१७, २०१८, २०२१, २०२२, २०२३, २०२४ र २०२५ एकदमै सुक्खा हिउँदे रेकर्ड भएको समय हो । यी समयमा सरदरभन्दा कम पानी परेको हो । सरदरभन्दा बढी पानी परेको २०१९ र २०२० मा हो,’ उनले सुनाए, ‘यसमा हाम्रो नेपालको मनसुन पछाडिसम्म आउने सेप्टेम्बरसम्म पानी पर्न बन्द भइसक्थ्यो पहिला । अहिले अक्टोबरको पहिलो सातादेखि बीचसम्म पानी पर्छ । मनसुन पछि सर्दै छ । पछिल्लो ट्रेन्ड हेर्ने हो भने हिउँदे वर्षा कम भइरहेको छ ।’
कहिले सुरु हुन्छ नेपालमा हिउँदे मनसुन ?
नेपालमा हिउँदे मनसुन जुनको मध्यबाट सुरु भएर अक्टोबर दोस्रो सातासम्म रहन्छ । ‘तर यस वर्ष मनसुन बहिर्गमन पनि ढिलो भएको थियो,’ वातावरण अध्येता पोखरेलले बताए । यस वर्ष १० जुनमा मनसुन सकिएको १२ अक्टोबरमा बाहिरिएको थियो । तर नेपालमा साधारणतः अक्टोबर २ देखि मनसुन बाहिरिन्छ ।
यसैगरी, २०२४ जुन १४ मा नेपाल प्रवेश गरेको मनसुन अक्टोबर १५ मा बाहिरिएको थियो । तर यस वर्ष भने १० दिनपछि मनसुन सकिएको मौसम विभागले जानकारी दिएको छ । गत वर्ष १५७०.४ मिलिमिटर वर्षा भएको मौसम विभागले जनाएको छ । गत वर्ष डिसेम्बरदेखि फेब्रुअरीसम्मको अवधिमा औसतभन्दा कम वर्षा भएको थियो भने देशको अधिकांश भूभागमा पानी परेको थिएन ।
