गत सातादेखि बढेको चिसोले तराईको जनजीवन कष्टकर, कैयौं सर्वसाधारण चटाई र पातलो ओढ्नेको भरमा, यसपालि पुस सकिने बेलासम्म हिउँ नपरे पनि चिसो निकै बढेकाले हिमाली भेगका बालबालिका र वृद्धवृद्धालाई सास्ती
पर्सा, रौतहट, राजविराज, ताप्लेजुङ — वीरगन्ज महानगरपालिका–१३ माल्दिभ्स टोलकी ६५ वर्षीया जोयालस हवारी बिहीबार दिउँसो देखिएको मधुरो घाम ताप्न आँगनमा बसेकी थिइन् । पक्षाघातले गलेको शरीर जाडोले काँपिरहेको थियो । ‘धेरै दिनमा घाम झुल्कियो,’ भनिन्, ‘घाम लागे पनि जाडो असह्य छ, शरीरको कम्पन रोकिएको छैन ।’
खाटमा चटाई र पातलो ओढ्नेको भरमा चिसो रात कटाउने गरेकी जोयालसले एक सातादेखि बढेको चिसोले कष्टकर बनाएको बताइन् । ‘एक त लकवाले आफ्नै शरीर भारी छ, हामी गरिबलाई जाडो, त्यसमा पनि शीतलहर ठूलो कहर हो,’ थपिन्, ‘हाम्रो लागि बरु गर्मी नै बेस, न न्यानो कपडा चाहिने न सिरक ।’
वीरगन्ज–१२ मुर्लीकी ७१ वर्षीया साहजहान अन्सारीको दैनिकी पनि जाडोले कष्टकर बनाएको छ । पक्षाघातका कारण शरीरको देब्रे भाग चल्न छोडेकी उनको बोली पनि हराएको छ । उनको खाटमा एउटा प्लास्टिकको चटाई र पातलो ओढ्ने मात्र छ । बुहारी मायरा खातुनले जाडो बढेपछि सासुलाई झनै सास्ती भएको उनले बताइन् ।
‘काम्दै बस्नुभएको छ, हामीले न्यानो कपडा र सिरकको व्यवस्था गर्न सकेका छैनौं,’ भनिन्, ‘मुटु कमाउने जाडोमा अशक्त सासुलाई कसरी जोगाउने भन्ने चिन्ता छ, शीतलहर हामीजस्ता गरिबका लागि कहर बनेर आउँछ ।’ सातायता शीतलरहले तराइमा विपन्न वर्गदेखि बालबालिका र वृद्धवृद्धालाई झनै सास्ती भएको छ ।
तराई–मधेशमा लगातार चलेको शीतलहर, हुस्सुका कारण जनजीवन अस्तव्यस्त भएको छ । चिसो बढेपछि सडकमा आवागमन पातलिएको छ । चिसोका कारण बालबालिका अस्पताल भर्ना हुने क्रम बढेको छ ।
रौतहटको चन्द्रपुर–८ डुमरिया, वडा ९ चेतनगरको मुसहर र वृन्दावनको हरसाहास्थित डोम बस्तीमा शीतलहरले जनजीवन प्रभावित पारेको छ । मुटु काप्ने जाडोले आफू र छोराछोरीलाई समस्या परेको धमौराका सञ्जय मल्लिकले सुनाए । ‘जाडोले घरबाट बाहिर निस्कन सकेका छैनौं, न्यानो कपडा नहुँदा हामी गरिबलाई जाडो काल हुने रहेछ,’ उनले भने ।
सडक छेउमा ७ परिवारको बसोबास रहेको यो बस्तीका अधिकांश घरमा ओढ्ने सिरक छैन । शीतलहरले वृद्धवृद्धा र बालबालिका बिरामी हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । चिसो बढेयता दिनहुँ ४/५ बालबालिका निमोनियाका कारण भर्ना हुने थालेको चन्द्रपुर अस्पतालका चिकित्सक अभिषेक अधिकारीले बताए ।
चेतनगरको मुसहर बस्तीका बालबालिका चिसोले बिरामी पर्न थालेका छन् । चिसो बढ्न थालेपछि जिल्लाका बालबालिका विद्यालय आउन छाडेका छन् । विद्यालयको पठनपाठनसमेत प्रभावित हुन थालेपछि स्थानीय तहले दुई दिन विद्यालय बन्द गरेको छ । जिल्लाको गौर, ईशनाथ, चन्द्रपुर, वृन्दावन, फतुवाविजयपुर, राजदेवी, यमुनामाई, गोनाहीदेबाही नगरपालिकाले शुक्रबारसम्मका लागि विद्यालय बन्द गरेको थियो ।
गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै ३ दिन नगर क्षेत्रका विद्यालय बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत सुभास ठाकुरले बताए । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले शीतलहरबाट मानवीय क्षति हुन रौतहटका १८ वटै पालिकाले पनि गाउँका बजार र चोकमा दाउरा बाल्ने व्यवस्था मिलाएको छ । चिसोले सबैभन्दा बढी दलित बस्तीमा प्रभाव पारेको छ ।
सप्तरीको राजविराज नगरपालिका–९ महिनाका बिक्की सदा आठ दिनदेखि रुघा र ज्वरोले थलिएका छन् । तिलाठी कोइलाडी–८ स्थित कोशी पश्चिमी नहरको डिलमा छाप्रो बनाएर बसेकी गीतादेवी सदा शीतलहरका कारण नाति बिक्की निको नभएपछि चिन्तित छिन् । ‘शीतलहर चलेकाले मजदुरी लागिरहेको छैन, घरखर्च र नातिको उपचारमा समस्या भयो,’ उनले भनिन् ।
यो मुसहर परिवार शीतलहरका कारण अहिले समस्यामा छ । अत्यधिक चिसोका कारण बस्तीमा बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । अधिकांश कच्ची घर रहेको यो बस्तीका प्रायः सिरेटो छेक्ने अवस्थाका घरसमेत छैनन् ।
‘परालको ओछ्यान, पातलो ओढ्ना हाम्रो भाग्य भइसकेको छ,’ स्थानीय खेलन सदाले भने, ‘बालबच्चालाई जाडोबाट बचाउन बहुतै समस्या छ ।’ बिहानैदेखि चिसो हावासँगैको शीतलहर घुरको सहारामा कटाइरहेको स्थानीय अनितादेवी सदाले बताइन् । ‘कच्ची घरले हावा पनि छेक्दैन, पर्याप्त लुगा छैन, जाडो छल्न मुस्किल छ,’ उनले भनिन्, ‘बिहानैदेखि घुर बालेर रातिसम्म ज्यान न्यानो बनाउनुपरेको छ । कतै मजदुरी गर्न नपाइए खानै समस्या आइपरेको छ ।’
यो बस्तीकै आधा किलोमिटर उत्तर तिलाठी कोइलाडी–८ मै अर्को मुसहरबस्तीमा पनि यस्तै स्थिति रहेको स्थानीय भुलन सदाले बताए । ‘हामी गरिबलाई सधैं मौसमको समस्या । वर्षा र बाढी पनि हाम्रै घरमा पस्छ, जाडो र शीतलहरले पनि हामीलाई नै खान्छ,’ उनले भने । तिलाठी कोइलाडी गाउँपालिकाको विपद् व्यवस्थापन शाखा संयोजक राजेशकुमार झाले शीतलहर बढ्दै गएकाले कम्बल र आगो बाल्न दाउरा वितरण गर्ने तयारी रहेको बताए ।
अधिकांश विपन्न बस्तीमा पर्याप्त ओढ्ने, ओछ्याउने अभावमा चिसो हावासँगै चलेको शीतलहरले जाडो छल्न सकस भइरहेको छ । ‘वर्षौंदेखि एउटै समस्या झेलिरहँदा पनि राज्यको चासो नभएपछि गरिब दलितले आफ्नो भाग्य नै यस्तो भनेर चित्त बुझाइरहेका छन्,’ तिलाठी कोइलाडी गाउँपालिकाकी दलित महिला पूर्ववडा सदस्य मानती सदाले भनिन् । अधिकांश भूमिहीन रहेको मुसहर समुदायका बहुसंख्यक परिवार नहरको डिल, खोला किनार, बस्तीभन्दा अलग सार्वजनिक जग्गा खोजेर बसोबास गर्छन् ।
अत्यधिक चिसो भएपछि तराईमा आगो ताप्नेसम्मको व्यवस्था गरिदिन्छ सरकारले । तर, हिउँदका झन्डै तीन महिना शून्यभन्दा धेरै कम तापक्रमसम्म झर्ने हिमाली क्षेत्रका बासिन्दाले भने आफ्नो बसाइको व्यवस्था स्वयंले गर्नुपर्छ । ताप्लेजुङको घुन्सा, खम्बाछेनका बासिन्दा चिसो छल्न तुलनात्मक रूपमा छिटो घाम लाग्ने फले र याङमाका चेने र तोक्पेगोलाको पापुङ झर्छन् । फले र चेनेमा पनि अचेल रातिको तापक्रम शून्यभन्दा तल (माइनसमा) रहेको अनुमान छ ।
चिसो र हिमपातबाट बच्न यहाँका बासिन्दाले ओढ्ने–ओछ्याउनेको राम्रो बन्दोबस्त मिलाउनुपर्छ । आगो बालेर घर न्यानो बनाउन निकै दाउराको जोहो गर्नुपर्छ । साह्रै चिसो भए राति उठेर पनि आगो बाल्नुपर्छ । हिमपात हुने तीन महिनाको समय घरबाट बाहिर निस्कन नसक्ने हुँदा खाद्यान्नको जोहो पहिल्यै गरिसक्नुपर्छ । हिउँ पर्न थालेपछि घरभित्रै थुनिएर बस्नुपर्ने बाध्यता हिमाली क्षेत्रका बासिन्दाले भोग्दै आएको बाध्यता हो । त्यसका लागि उनीहरू मानसिक रूपमा तयार हुनुबाहेक उपाय छैन । यसपालि पुस सकिने बेलासम्म हिउँ नपरे पनि चिसो भने निकै बढेको छ ।
फक्ताङलुङ गाउँपालिका–६ फलेका मिङमा शेर्पाले तीन महिनाका लागि पुग्ने गरी तापेथोकबाट चौंरी र खच्चडमा बोकाएर दाल–चामल, नुन–तेल, मरमसलाको बन्दोबस्त मिलाएका छन् । दुहुना चौंरीका लागि घाँस र खोलेको व्यवस्थापन गरिसकेका छन् । तातो पानीमा मिसाएर दिने नुन र भुस पनि तयारी अवस्थामा राखेका छन् ।
थारो चौंरी र याकलाई ठूला खर्क र टारतिर खेदिसकेका छन् । हिउँ पर्ने सिजन भएकाले मिङमाको ध्यान आफू, परिवार र चौपायाको सुरक्षामा केन्द्रित छ । स्थानीय बासिन्दा मंसिरदेखि नै हिउँद छल्ने तयारीमा बसे पनि अहिलेसम्म हिउँ भने परेको छैन । ‘केही दिनअघि एक/दुईचोटि अलिअलि सेतो–सेतो भयो, तर खै राम्रोसँग हिउँ पर्न सकेको छैन,’ मिङमाले भने । हिउँ र चिसोबाट जोगिन घुन्सा, खम्बाछेनका बासिन्दा उनको आसपासका घरमा आएर बसेका छन् ।
यहाँ अहिले चिसो अत्यधिक छ । घाम नलाग्दासम्म बाहिर निस्कन कठिन हुन्छ । बिहान–बेलुका आगो तापेर बस्नुको विकल्प छैन । मुहानमा पानी जम्न थालेको छ । ‘यतिबेला टम्म हिउँ पर्दिए राम्रो हुने थियो,’ मिङमाले थपे, ‘हिउँ परेपछि उति सारो हावा चल्दैन, त्यसले गर्दा न्यानो पनि हुन्छ । जमिन मज्जाले भिज्छ र घाँस पलाउने सुरसार सुरु हुन्छ ।’
मौसमी चक्रमा आएको परिवर्तनले हिमाली क्षेत्रका बासिन्दालाई पिरोलेको छ । समयमा हिउँ नपर्दा उनीहरू असामञ्जस्य अवस्थामा छन् । न हिउँ पर्दैन भनेर दिगो योजना बनाएर ढुक्कले काम गर्न सक्छन्, न पुरानो मौसमी चक्रअनुसार नै चल्न पाएका छन् ।
फले घुन्सादेखि एक घण्टाको पैदलमा छ । घुन्सा, खम्बाछेनका स्थानीय यहाँ सर्नुको कारण यो ठाउँ पारिलो छ । छोटा दिनमा पनि यहाँ बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्मै घाम लाग्छ । पारिलो घामले नै दिउँसोको समय यहाँका बासिन्दालाई चिसोबाट जोगिन केही राहत दिने गरेको छ ।
हिमाली क्षेत्रका बासिन्दाको मुख्य पेसा पशुपालन हो । यहाँ एकै परिवारले चौंरी, याक दुई/तीन दर्जनसम्म पालेका हुन्छन् भने कम पाल्नेका घरमा पनि १०/१५ वटासम्म हुने फलेकी फुछिरिङ शेर्पा बताउँछिन् । चौंरी, याकबाहेक बाख्रा, च्यांग्रा, कुखुरा पनि पाल्ने गरेका छन् । चिसोमा तिनलाई पनि जोगाउँदै आफू पनि सुरक्षित हुनु यहाँका बासिन्दाको दैनिकी हो ।
मान्छेका लागि न्यानो रहन, चौपायालाई सुरक्षित राख्न दाउरा सबैभन्दा बढी उपयोगी हुने गरेको छ । जंगलबाट ल्याएका दाउराको मात्रै भर नपरी स्थानीयले गोबरलाई पनि सुकाएर बाल्नका लागि प्रयोग गर्ने गर्छन् । छिटो बल्ने झिक्रा दाउरादेखि लामो समय तातो रहने गोबरको प्रयोग गर्छन् ।
प्रत्येक घरले मंसिरदेखि फागुनसम्म पुग्ने गरी अन्नपातको जोहो गर्नैपर्ने फुछिरिङ बताउँछिन् । ‘हिउँ पर्न थालेपछि बाटो बन्द भएर ओसार्न सकिँदैन,’ उनले भनिन्, ‘कहिले त निकै दिन घरभित्रै बस्नुपर्ने हुन्छ, बाहिर हिँडडुल गर्न कठिन हुन्छ, त्यसैले तयारी भएर बस्नुपर्छ ।’
समुद्री सतहदेखि ३१ सय मिटर उचाइमा बसेका स्थानीयले घर बनाउँदै दाउरा राख्ने ठाउँको व्यवस्था गरेका हुन्छन् । चौपायाको गोठ र खोर न्यानो हुने गरी बनाएका हुन्छन् । तापक्रम मापन गर्ने उपकरण नभएको यी क्षेत्रमा पानी जम्न थालेपछि स्थानीयले तापक्रम ऋणात्मकतर्फ झरेको हुन सक्ने आकलन गर्छन् । मुहान तथा पाइपमा चिसोले पानी जमेपछि त्यहाँ तातोपानी लगेर खन्याउँछन् । त्यसले पनि नभए बल प्रयोग गरेर जाम खुलाएर पानी बहने बनाउनुपर्ने उनीहरू सुनाउँछन् ।
हिउँ पर्न थालेपछि त्यही हिउँलाई उठाएर ठूलो भाँडामा तताएर पानी बनाउँछन् । फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार ओलाङचुङगोला र घुन्सामा दुई वर्षअघि घुन्सा फाउन्डेसनकी अध्यक्ष याङजुङ शेर्पाले तापक्रम नाप्ने मेसिन उपलब्ध गराएकी थिइन् ।
त्यसले देखाएको तापक्रमअनुसार मंसिरदेखि फागुन लाग्दासम्म नै प्रायः तापक्रम शून्यभन्दा तल झरेको देखिएको थियो । माइनस १७ डिग्रीसम्म मापन गरेको छेतेनको दाबी छ । चिसोका कारण ब्याट्री लगाए पनि डाउन भइहाल्ने भएकाले मेसिनलाई नियमित राख्न नसकिएको छेतेनले बताए ।
६/७ वर्ष अगाडि जस्तो चाँडो हिउँ नपरे पनि चिसो भने उस्तै भइरहेको हिमाली क्षेत्रका बासिन्दाको दाबी छ । सामान्यतया ताप्लेजुङका ३ हजार मिटरमाथिका बासिन्दाले हिउँको प्रतीक्षा र चिसोको सामना गर्नुपरेको छ । घुन्सा, फले, ग्याब्ला, याङमा, गोला, तोप्केगोलाका करिब ४५ बढी परिवार यसको साक्षीका रूपमा रहेका छन् ।
‘सरकारले चिसोमा तराईमा दाउरा किनिदिने, आगो बाल्ने व्यवस्था मिलाइदिने, न्यानो कपडा वितरण गर्ने जस्ता गतिविधि गरे पनि माइनस तापक्रम हुने हिमाली गाउँमा चिसोको सामना आफैंले गर्नुपर्ने डण्डु बताउँछन् । ओलाङचुङगोलाका नुपु शेर्पा चिसो उस्तै समयमा सुरु भएर अन्त हुने तर हिउँ पर्ने क्रम परिवर्तन हुँदा पशुपालन र पानीको समस्या भएको बताउँछन् । बेलामा हिउँ परिदिए पगालेर प्रयोग गर्न मिल्ने उनले बताए ।
चिसोमा यहाँका विद्यालय तीन महिना बन्द हुन्छन् । बर्खायामको असार, साउनमा भने यहाँ पढाइ भइरहन्छ । एक दशकसम्म घुन्सा आधारभूत विद्यालयको नेतृत्व गरेका लीलाचक्र गुरुङ आफूले मंसिरमै हिउँले डुबेको बस्ती पनि भोगेको र माघसम्म हिउँ नै नपरेको पनि देखेको बताउँछन् ।
‘हामीले कात्तिकमै हिउँमाथि राखेर पनि पढायौं,’ गुरुङले भने, ‘पुस–माघमा हिउँ नपरेर फागुन–चैतमा हिउँको रास कुल्चँदै स्कुल गएर पनि पढायौं ।’ दुई वर्षअघि मात्रै अवकाश पाएका उनले हिउँ नपरे पनि यहाँ मंसिर अन्तिमदेखि चिसोले टिक्नै नसक्ने अवस्था हुने गरेको बताउँछन् । ‘फागुन–चैतमा घामले जित्दो रहेछ र टिक्न सकिने रहेछ,’ उनले थपे, ‘हिउँ नपरे पनि मंसिरदेखि माघसम्म त बस्न कठिन हुन्छ ।’
हिउँदका बेला यस्ता बस्तीबाट बाहिर जान नपाएर उपचारका लागि पनि कठिनाइ हुने गरेको छ । अहेब/अनमिले सामान्य उपचार दिनेबाहेक हिउँदमा जटिल बिरामीलाई समस्या हुने गरेको स्थानीय बताउँछन् ।
अन्य बेला खेतीपाती, खर्कतिर, व्यापारका सिलसिलामा रहने स्थानीय यतिबेला परिवारसँग मज्जाले बस्न पाइने बताउँछन् । ‘चिसोको लाभ पनि छ,’ मिङमाले भने, ‘हामी यता प्रायः पशुपालन गर्नेहरू छौं, धेरै गोठमा बस्नुपर्छ तर परिवारसँग घरमा बस्न पाउने बेला चाहिँ यतिबेलै हो ।’ ८–१० वर्षअघिसम्म आकाशमा बादल लागेर बर्सन थाल्दा पानी नझरेर हिउँ मात्रै झर्ने भए पनि पछिल्ला वर्ष पानी नै पर्न थालेको मिङमा बताउँछन् ।
‘पहिला मंसिर अन्तिम, पुसदेखि सुरु हुने हिमपात फागुन/चैतसम्मै रहन्थ्यो । फागुनमा तातो सुरु हुन थालेपछि स्थानीय हिउँको पर्वाह नगरी काममा फर्कन्थे,’ मिङमा भन्छन्, ‘खै मौसमी चक्र हो कि जलवायु परिवर्तन हो, हामी हिमालमा बस्ने मान्छेलाई बुझिनसक्नु पो बनायो ।’
