पोखराको लेकसाइडमा कोरोनाअघि दुई दर्जनभन्दा बढी लाइभ ब्यान्ड थिए, अहिले त्यो संख्या आधा घटेको छ, सक्रिय ब्यान्डले पनि आर्थिक रूपमा संघर्ष गर्नुपरेको छ
पोखरा — पदयात्राबाट फर्किएपछि आफ्नो अनुभव साट्न पश्चिमाहरू लेकसाइडको रेस्टुरेन्ट पुग्थे । लामो कपाल, ब्यागी जिन्स, लेदर ज्याकेट र बुटमा ठाँटिएका स्थानीय युवा गितार बोकेर पश्चिमा संगीत सुनाउँथे । विदेशी पर्यटक ब्लुजमा मग्न हुन्थे । बब मार्लीको रेगीमा रमाउँथे ।
रोलिङ स्टोन्स र बिटल्सको रक एन्ड रोल, ब्रायन एडम्सको पप सुनेर हेभी मेटलमा उफ्रिन्थे । तीन दशकअघिदेखि सुरु भएको ‘लाइभ’ संगीतको संस्कृति अझै उस्तै छ । लेकसाइड र ‘लाइभ ब्यान्ड’ एकअर्काका परिपूरकका रूपमा अगाडि बढिरहेका छन् ।
लेकसाइडमा लाइभ संगीतका लागि चल्तीको रेस्टुरेन्ट ‘बिजी बी’को आडैमा छ, अशोक परियारको घर । रेस्टुरेन्टमा बज्ने गितार र ड्रम सेटको धुन उनको घरसम्मै पुग्थ्यो । फेवाताल किनारमा हुने पप कन्सर्टमा उनी पुगिरहन्थे । वरपरको माहोल नै सांगीतिक थियो । सन् २००८ मा उनले पाँच जना साथीसँग मिलेर ब्यान्ड खोले, ‘ओभिर्याप्टर्स’ । रक गीत ‘कभर’ गर्ने यो ब्यान्ड स्थापना भएयता धेरै जना आउनेजाने गरे तर उनी निरन्तर ब्यान्डमा छन् ।
उनको ब्यान्डमा आशिभ कार्की भोकलिस्ट, असिम लम्साल ड्रमर र सुनिल परियार लिड गितारिस्ट हुन् । लम्साल ट्याटु आर्टिस्टसमेत हुन् । यो ब्यान्डको प्रस्तुति अहिले लेकसाइडका रेस्टुरेन्ट रोलिङ स्टोन्स्, डुंगा, बिजी बी, अन्नपूर्ण गार्डेनमा सुन्न पाइन्छ । क्लासिक रक र रक एन्ड रोल आफ्नो विधा भए पनि ग्राहकको मागअनुसार व्यावसायिक गीत पनि प्रस्तुत गर्नुपर्ने परियार बताउँछन् ।
ब्यान्डका सदस्य नटिक्दा उनको ब्यान्डले पनि समस्या खेपेको छ । ब्यान्डका सदस्यलाई विदेशी महिलाले मन पराएर उनीहरूसँगै बिहे गरेर गएको किस्सा उनले सुनाए । केही भने उच्च शिक्षा र रोजगारीको सिलसिलामा बिदेसिएका छन् । ‘अहिले पनि लेकसाइडको ब्यान्डका सदस्यहरू विदेशी विवाह गरेर जाने, रोजगारीको खोजीमा जाने चलन बढ्दो छ,’ उनले भने, ‘निश्चित समयका लागि ब्यान्डमा बस्नु रमाइलो छ । पढाइ, करिअर, परिवार हेर्ने हो भने बाहिर जानु ठीक छ भन्ने मनस्थिति छ ।’
उचित व्यवस्थापन गर्ने र ‘कभर’ भन्दा आफ्नै गीतमार्फत परिचय स्थापित गर्न सके ब्यान्डको भविष्य निराशाजनक नरहेको उनी बताउँछन् । ‘अहिले बारमा गाउँदागाउँदै आफ्नो ओरिजिनल गीत निकाल्ने समय ब्यान्डसँग नभएको देखिन्छ,’ उनी भन्छन्, ‘कभर गरेर मात्रै ब्यान्ड सुरक्षित हुँदैन, ओरिजिनलमा फोकस गर्नैपर्छ ।’
‘द इन्फ्लेम’ ब्यान्डको व्यवस्थापन हेरिरहेका जोनी पुनका अनुसार कोरोनाअघि दुई दर्जनभन्दा बढी लाइभ ब्यान्ड लेकसाइडमा थिए । अहिले ती ब्यान्डको संख्या आधामा सीमित भएको छ । कोभिडपछि रेस्टुरेन्ट र बारको संख्या घटेको र भएका रेस्टुरेन्टले पनि लाइभ ब्यान्ड राख्न नसक्दा धेरै ब्यान्डका सदस्य लाखापाखा लागेको उनले सुनाए । अन्य ब्यान्डमा जस्तै ‘द इन्फ्लेम’मा पनि सदस्य जाने आउने भइरहन्छन् ।
आठ वर्षअघि खुलेको यो ब्यान्डको भोकलिस्टमा प्रवेश गायक, गितारिस्टमा रुबेन जलारी, बेस गितारिस्टमा रोहन मगर र ड्रमरमा सुनिल परियार छन् । उनीहरू सबै पोखराकै हुन् । आफ्ना केही सदस्य यसअघि पढाइ र रोजगारीको सिलसिलामा बिदेसिएको उनले सुनाए । ‘ब्यान्डको कमाइले एक्स्ट्रा हुँदैन, जिन्दगी चल्छ,’ उनी भन्छन्, ‘आफ्नो रुचि र संगीतप्रतिको लगावको कारण पनि ब्यान्डलाई निरन्तरता दिएका छौं ।’
हाल पश्चिमा संगीत कभर गर्ने ओभिर्याप्टर्स, द इन्फ्लेम, ब्लु फायर, वेभ, वेभ उल्भ, निस्कर्ष, अल्फा, अदृश्य किरण, प्रोभर्ब्स, ब्ल्याक फिदर, मिस्टिरियस ग्रुभर्स, रंगमञ्चलगायत ब्यान्ड लेकसाइडमा सक्रिय छन् । सुगम संगीततर्फ भने ओपन सी, मेलोडियस, ब्रदर्श र सिक्स स्ट्रिंग्स ब्यान्ड सक्रिय छन् । चारदेखि ८ जनासम्म सदस्य यी ब्यान्डमा छन् । यी ब्यान्डले सातामा दुई वा दुईभन्दा बढी रेस्टुरेन्टमा आफ्नो प्रस्तुति राख्छन् । एकल कलाकारको प्रस्तुति पनि कतिपय रेस्टुरेन्ट र बारले राख्ने गर्छन् । विभिन्न मेला महोत्सवमा हुने कन्सर्टले केही हदसम्म ब्यान्डलाई भरथेग गरेका छन् ।
लेकसाइडका ओपन हाउस, अन्नपूर्ण गार्डेन, रोलिङ स्टोन्स, आइरिस पब, हाई टाइड, सिमसारा, सनसेट, त्रिशारा, डुंगा, माया पब, किंग्स, बिजी बी, जुसरी क्याफे, अफिस बारले हरेक दिन ब्यान्डको प्रस्तुति राख्छन् । लेकसाइड बाहिर सभागृह चोकमा रहेको द मुग्लान रेस्टुरेन्टले पनि हरेक दिन लाइभ ब्यान्डको प्रस्तुति राख्छ । लेकसाइडको ओपन हाउसमा ३ दिन र सभागृह चोकको मुग्लानमा ४ दिन सुगम संगीत प्रस्तुत गर्ने द मेलोडियस ब्यान्डका गायक अनिल विक दुवै रेस्टुरेन्टका ग्राहकको सांगीतिक स्वाद फरक रहेको बताउँछन् ।
‘लेकसाइडमा रक, पप र हिन्दी गीत बढी गाउनुपर्छ, मुग्लानमा लोक लयका गीत मन पराउने ग्राहक बढी आउँछन्,’ उनले भने, ‘ब्यान्डलाई लामो समयसम्म लैजानेबारे सोचिरहेका छौं । हाम्रा लागि अभ्यास पनि भइरहेको छ ।’ मेलोडियसकी गायिक उषा गुरुङ आफ्नो मातृभाषाका गीतमा चल्तीकी गायिका हुन् ।
अनिलले पनि केही गीत रेकर्ड गराएका छन् । केही सार्वजनिक गर्ने तयारीमा छन् । ब्यान्डमा २५ देखि ३३ वर्ष उमेर समूहका सदस्य भएकाले संघर्षकै चरणमा रहेको उनी सुनाउँछन् । ‘यसैमा गुजारा चल्न गाह्रो छ । पारिश्रमिक जति हुनुपर्ने हो त्यति छैन । कम्प्रोमाइज गर्नुपर्छ,’ उनले भने, ‘संगीतमै केही हुन्छ कि भनेर कोसिस गरिरहेका छौं ।’
सन् २०१६ मा द ड्रिमर्ज ब्यान्ड बनाएर लेकसाइडका रेस्टुरेन्ट र बारमा गाउन थालेका स्मृति राई र योगेश गुरुङ अहिले आफ्नै गीत सार्वजनिक गर्ने तयारीमा छन् । ब्यान्डको आफ्नो गीत नभई परिचय स्थापित नहुने बुझेर रेस्टुरेन्टमा प्रस्तुत हुन छाडेको गितारिस्ट गुरुङले बताए । ‘लेकसाइडमा भिजेको धेरै भयो । आफ्नो गीत नहुँदा चिनिने मौका नमिल्दो रहेछ,’ उनले भने, ‘बिस्तारै रक फ्लेभरका गीत सार्वजनिक गर्दै जान्छौं ।’ अनुशासनमा बस्ने हो भने ब्यान्डको आम्दानी अहिले राम्रै हुने उनको अनुभव छ ।
कलाकार सुनिल थापा, अजुदा थापा, अमित गुरुङ, सन्तोष बस्याल, प्रिया गुरुङलगायत सदस्य रहेको ओपन सी ब्यान्डले अन्नपूर्ण गार्डेन रेस्टुरेन्टमा आफ्नो प्रस्तुत राख्छ । यो ब्यान्ड गत असोजमा आफ्नो प्रस्तुति राख्न हङकङसमेत पुगेर आएको छ ।
ब्यान्डका गायक सन्तोष बस्यालका अनुसार हाल ब्यान्डका सदस्यले राति ८ देखि १२ बजेसम्म प्रस्तुति राख्दा एक हजार दुई सयदेखि १ हजार ५ सय रुपैयाँसम्म बुझ्छन् । ‘टिप्स’ बापत आउने रकम सबैले बराबर विभाजन गर्छन् । मेला महोत्सवमा प्रस्तुति राख्न पाउँदा राम्रै आम्दानी हुन्छ । ‘अहिले ब्यान्डको आम्दानी राम्रो छ,’ उनी भन्छन्, ‘राम्रो ब्यान्डले खाली बस्नुपर्ने अवस्था छैन ।’
पोखरामा प्रत्यक्ष बाजागाजा बजाएर गीत गाउने गरी गजल रेस्टुरेन्टको सुरुआत ओपन हाउसले गरेको हो । सन् १९८८ मा चिप्लेढुंगा र महेन्द्रपुलको बीचमा ओपन हाउस रेस्टुरेन्ट खुल्यो । बद्रिजंग गुरुङ, विश्वशंकर पालिखेलगायतले ओपन हाउसको सुरुआत गरेका थिए । त्यतिबेला कलाकार रामभक्त जोजिजु, डीबी चक्रधर, मनोज गुरुङ, देबुका थापाले ओपन हाउसमा आफ्नो प्रस्तुति राख्थे ।
नेपाली सुगम संगीतदेखि हिन्दी गजलसम्म प्रस्तुत हुन्थ्यो । २०५२ मा ओपन हाउसको लेखा हेर्ने सुरेश गुरुङ अहिले यसको सञ्चालक छन् । उनले अन्य ३ जना सञ्चालक थपेर ४ वर्षअघि चिप्लेढुंगाबाट लेकसाइडमा सारे । ‘पछिल्लो समय रात्रिकालीन व्यवसाय लेकसाइडमा बढी चल्न थाल्यो,’ उनी भन्छन्, ‘आन्तरिक पर्यटक र भारतीय पर्यटक पनि वृद्धि भइरहेको अवस्थामा यता सिफ्ट हुनुपर्यो ।’
लेकसाइडको बिजी बी रेस्टुरेन्टका सञ्चालक ज्याक तामाङ पोखरामा प्रत्यक्ष संगीत प्रस्तुत गर्ने चलन ओपन हाउसले नै भित्र्याएको स्विकार्छन् । उनले लेकसाइडमा सन् १९८७ मा अहिलेको बिजी बी भएकै स्थानमा बिम बिम रेस्टुरेन्ट चलाएका थिए । स्न १९८८ मा ओपन हाउस खुलेपछि उनले पनि आफ्नो रेस्टुरेन्टमा सन् १९९१ देखि गजल साँझ चलाए । तर गजल साँझ धेरै समय चलेन ।
लेकसाइडमा गितार भिरेर आउने विदेशी पर्यटकबाट पश्चिमा संगीतमा बानी परेका स्थानीय युवाले ब्यान्ड खोल्न थालेपछि सन् १९९७ देखि उनले बिम बिममा लाइभ ब्यान्डको प्रस्तुति राख्न थाले । कलाकार कर्ण दास त्यतिबेला उनको रेस्टुरेन्टमा लिड गितारिस्ट थिए । पछि लेकसाइडबाटै धर्मेन्द्र सेवान पनि उदाए । सन् २००० पछि भने उनले व्यवस्थापन परिवर्तन गरी बिजी बी सुरु गरे । ‘विगत १८ वर्षदेखि लाइभ म्युजिक छोडेको छैन,’ उनी भन्छन्, ‘पहिले विदेशी मात्रै ग्राहक हुन्थे, अहिले नेपाली र भारतीय बढेका छन् ।’
लेकसाइडको वल्ड ब्लुज बार, क्लब आम्सटर्डममा लाइभ म्युजिक सुरु भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराई सम्झन्छन् । त्यतिबेला र अहिलेको रेस्टुरेन्ट र संगीत संस्कृतिमा भने उनले भिन्नता पाएका छन् । ‘त्यतिबेला रेस्टुरेन्टमा विदेशी मात्रै भेटिन्थे । पदयात्रा गएर फर्किएपछिको सुखदुःख सुनाउँथे,’ उनी भन्छन्, ‘अहिले त्यस्तो वातावरण छैन । संगीतको स्वाद पनि फेरिएको छ ।’
