कवितामा पोखिने यमनकी आमा

यशोदालाई क्यान्सर थियो । एक दिन उनलाई अचानक गाह्रो भयो । अस्पताल लैजानुपर्ने भयो । उनको खुट्टा चलेन, यमनले जुरुक्क बोकेर भने, ‘मलाई त अहिले तपाईंलाई अन्माउन लागेजस्तो भयो ।’ छोराको कुरा सुनेर आमा उन्मुक्त हाँसिन् । यमन पनि उसैगरी हाँसे । हाँसेर घरबाट अस्पताल पुगेकी यशोदा त्यसपछि कहिल्यै फर्किनन् ।

पुस २३, २०८१

समर्पण श्री

A Yemeni mother who pours into poetry

काठमाडौँ — 'पख्नुस् है, मलाई सम्झना छ’ कलाकार यमन श्रेष्ठ अक्षरमा उनिएका आमाका स्मृतिहरू उधिन्दै थिए । सम्झिए, कविता नम्बर १ । 

‘आमा, आमा तिमी कस्ती आमा ?

पृथ्वीभन्दा पनि ठूली मेरी आमा ।’

कक्षा तीन पढ्दै गर्दा भानु जयन्तीको दिन, उनले लेखेका थिए यो कविता । जति बेला उनलाई पृथ्वी कत्रो छ भन्ने नै थाहा थिएन । जब यमन देश–विदेश घुमे, अपरिचित भूगोलहरू टेक्दा अनुभूत गरे, ‘यो त भीमकाय रहेछ ।’ अमेरिकामा बस्दै गर्दा एक दिन खबर आयो, ‘आमालाई क्यान्सर देखियो ।’ सपनाको देशमा जरो गाडेर बसेको छोरालाई एक दिन बा मदनकृष्ण श्रेष्ठले सोधे, ‘तँलाई अमेरिका ठूलो कि आमा ?’ यमनलाई आमाले सिकाएकी थिइन्, ‘संसारमा भावना महत्त्वपूर्ण हुन्छ ।’ 

‘बाह्र वर्षपछि खोलो फर्किन्छ’ भनेजस्तै भयो मदनकृष्ण र यशोदाको परिवारमा । बाह्रै वर्षपछि यमन फर्किए । उनी फर्किएको ६ वर्षपछि आमा अनन्त यात्रामा गइन् । देश छाडेको छोरा त आमाका लागि फर्किए । तर संसार छाडेकी आमा यशोदाचाहिँ त्यसपछि कहिल्यै फर्किइनन् । आमा गएपछिका उराठलाग्दा दिनहरूमा यमनले कविता नम्बर २ लेखे :

यो वर्ष पहिलो पटक तिम्रो पाउ छुन पाइनँ

ह्याप्पी मदर्स डे भन्दै अँगालो हाल्न पाइनँ

माया ममता तिमीले दिएको झन् पो झन् बुझ्दै छु

यति धेरै रैछ त्यो, यो जुनीमा सम्हाल्न भ्याइनँ

गत बिहीबारको चिसो बिहान यमन जाउलाखेलस्थित आफ्नै कफी सपमा भेटिए । नयाँ वर्षको पहिलो दिन उनले पुराना सम्झनाहरू कोट्याए । सम्झनामा उनै फरासिली आमा आइरहिन्, पुसको घामले भन्दा पनि न्यानो लिएर । कक्षा १ मा भर्ना हुन साइकलको पछाडि बसेर सिद्धार्थ वनस्थलीतिर गइरहेको बालक, जाँदा–जाँदा खुट्टा पांग्रामा अल्झियो । लडेर चोट लाग्यो । होस आउँदा अस्पतालको शय्यामा । रोइरहेका उनलाई अरूले नरुन फकाउँदै थिए । हस्याङफस्याङ गर्दै आमा यशोदा आइपुगिन् । छोरालाई गम्लङ्ग अँगालो हाल्दै भनिन्, ‘रोऊ बाबु, रोऊ ।’ त्यसपछि त के चाहियो ? बालक यमन कोठै थर्कने गरी रोए । 

A Yemeni mother who pours into poetry

पशुपति आर्यघाट, बागमतीको किनारमा धूवाँ उडिरहेको थियो । आमाको बिदाइमा आफन्तहरूका आँखा रसाएका थिए । आमाका स्नेही हात, न्यानो काख, हाँसिरहने अनुहार सबै जलिरहेका थिए । गलिरहेका यमनलाई थमथम्याउँदै अरूले उसैगरी भने, ‘नरोऊ बाबु, नरोऊ ।’ यमनले सकभर आँसुलाई रोके । थुप्रै दिन विरहका बादल अनुहारभरि छाइरहे । उनी उकुसमुकुसमा बाँचे । त्यसै वर्षको आमाको मुख हेर्ने दिन, यमनले फोटो एल्बम पल्टाए, त्यस दिन आमाले उसैगरी फुसफुसाएझैं लाग्यो, ‘रोऊ बाबु, रोऊ ।’

यमनको अनुहारको बादल फाट्यो, अश्रुवर्षा भयो । उनी निचोरिएर रोए । निकैबेर रोएपछि शरीर हलुका भयो, मन शान्त । अनि कविता नम्बर ३ लेखे ः 

यो वर्ष पहिलो पटक तिमीलाई दुख्यो सोध्न पाइनँ

ह्याप्पी मदर्स डे भन्दै अँगालो हाल्न पाइनँ

आमा यशोदा सञ्चय कोषको जागिरे थिइन् । जीवनभर एउटै संस्थामा काम गरेर उनी सेवा निवृत्त भइन् । उनी फुर्सदमा पुस्तक पढ्थिन् र व्यवहारमा लागू गर्थिन् । यमन सम्झन्छन्, ‘त्यसकारण ममीलाई जिन्दगीको व्याकरणबारे थाहा हुन्थ्यो ।’

A Yemeni mother who pours into poetry

मदनकृष्ण र यशोदाका दुई सन्तान । यमनपछि बहिनी सराना । मह जोडीमध्येका एक मदनकृष्ण त्यस समयका व्यस्त कलाकार थिए । उनी पाँच बजे अफिस पुगिसकेका हुन्थे । खाना खान मध्याह्न घर आउँथे । यमन र बहिनीको बढी समय आमासँगै बित्यो । आमाले उनीहरूलाई जीवन बाँच्नका लागि पर्याप्त सीपहरू सिकाउँथिन् । लाग्छ, ‘आमा कुशल प्रशिक्षक पनि थिइन् ।’ सानैदेखि यमन आफूले खाना खाएको थाल आफैं माझ्थे । मीठा परिकार पकाउँथे । कुनै बेला आफ्ना साथीहरू घर आउँदा यशोदा तारिफमा भनिदिन्थिन्, ‘यो यमनले यस्तो मीठो चिया पकाउँछ, खायौ भने पल्कन्छौ ।’ हरेक शनिबार उनी कौशीमा बसेर आमासँगै लुगा पनि धुन्थे । 

मदनकृष्ण र यशोदाको अन्तरजातीय विवाह थियो । यशोदा पछिसम्म पनि माइत गइनन् । तर यमन जन्मिएपछि अवस्था सहज हुँदै गयो । उनी ५ वर्षसम्म कुपन्डोलस्थित मामाघरमै बसे । त्यसकारण यमनले नेवार र ब्राह्मण दुवै संस्कारलाई नजिकबाट नियाल्न पाए । घरमा बुबा, बहिनी र यमन तीनै जनाको मीठो गायकी छ । यमन थप्छन्, ‘हामी मात्र हैन । ममी पनि गाउनुहुन्थ्यो ।’ यशोदा एक्लै हुँदा आफ्नै सुरमा गीत गुनगुनाउँथिन्, ‘बादलजस्तै उडी हिँड्ने, बादल हो त्यो बादल... ।’ 

यमनले २०४८ मा एसएलसी पास गरे । क्याम्पस पढ्न जाँदा आमाले भनेका शब्द सम्झेर अहिले पनि हाँस्छन् उनी । त्यो दिन आमाले अरू दिनभन्दा धेरै पैसा खल्तीमा हालिदिइन् । यमनले सोधे, ‘किन यति धेरै पैसा ?’ आमाको रमाइलो जवाफ थियो, ‘तँ अब कलेज जान्छस् । कलेज गएपछि केटी साथीहरू पनि बन्छन् होला । खाजा खाँदा केटीहरूलाई कहिल्यै पैसा नतिराउनू, आफैं तिर्नू ।’ यमनको आइकम बिग्रियो । उनले भारत गएर पढ्ने निधो गरे । बा–आमाले पठाए । भारतको पुनेमा बसेका दिन घरको साह्रै याद आउँथ्यो । बाआमा सम्झेर एउटा प्रेम कविता लेखे । साथीहरूले उडाए, ‘प्रेमिकालाई सम्झेर लेखिस् कि क्या हो ?’ स्नातक पढ्न उनी फेरि नेपालमै आए । स्कुल पढ्दा होस् वा कलेज । बाको प्रसिद्धिकै कारण जहिल्यै यमन अनुशासनमै बस्नुपर्थ्यो । गलत बाटोमा हिँडे बाको प्रतिष्ठामा आँच आउँछ भन्ने डर थियो उनमा । 

A Yemeni mother who pours into poetry

यमनलाई अभाव कहिल्यै भएन । उनलाई गितार किन्न मन थियो । तर, पैसा माग्न अप्ठ्यारो मान्थे । कहिल्यै बालाई किनिदिनु भनेनन् । एक दिन मदनकृष्णले सँगै सिक्किम लिएर गए । त्यो दिन छोराको रुचि गितारमा देखेर किनिदिए । यमनलाई संगीतमा रुचिसँगै केही गरौं भन्ने हुटहुटी थियो । त्यसताका यमनलाई किबोर्ड किन्न मन थियो । आमाले मनको कुरा थाहा पाइन् र पैसा दिइन् । किबोर्ड ल्याएपछि त यमन आफैं आत्मनिर्भर भए । उनी विज्ञापन, जिंगलहरू बनाउँथे । कमाएको पैसाले आफैं कलेज शुल्क तिर्थे । एक दिन मदनकृष्णले हजार–हजारका नोट निकाल्दै थमाइदिए । उनले लिएनन् । त्यसपछि मदनकृष्णले ठट्टा गर्दै भने, ‘लि न लि । फेरि तँ ठूलो भएपछि बाउले मलाई पैसा दिएन, म सबै आफैं गर्थे भन्लास् ।’

सन् २००० मा २५ वर्षको उमेरमा यमन पढ्न अमेरिका गएका हुन् । त्यहाँ उनले कहिल्यै महसुस नगरेको अभाव अनुभूत गर्नुपर्‍यो । एक आम मान्छेले गर्ने संघर्ष गर्नुपर्‍यो । उनले सुरुमै टेक्ससको एउटा ग्यास स्टेसनमा काम गरे । ‘तर पहिलो महिनाकै तलब रोकियो । म छटपटिएँ,’ यमन सुनाउँछन्, ‘त्यसपछि चिनजानका अंकलले मेरिल्यान्डको होटलमा काम लगाइदिए ।’ उनले त्यहाँ नाइट ड्युटीबाट जागिर सुरु गरे । रातभरि लुगा धुन्थे । त्यही होटलमा उनले १२ वर्ष काम गरे र म्यानेजरसम्म भए । संघर्षकै बेला अमेरिकामा यमनको भेट रिंकु बज्राचार्यसँग भयो । ‘हामी अमेरिकाको दुःखमा सँगै थियौं । दुवैले जिन्दगीको डुंगा सँगै खियायौं,’ उनी सम्झन्छन् ।

लामो समय ग्रीनकार्डको प्रतीक्षा गरिरहे यमनले । जब ग्रीनकार्ड पाए, नेपालबाट राम्रो खबर आएन । बालाई पार्किन्सन्स र आमालाई क्यान्सर । यमन विक्षिप्त बने । बाले ‘अमेरिका ठूलो कि आमा’ भनेर सोधेपछि उनको मन अब त्यो देशमा अडिएन । तर, छाडिहाल्न सजिलो थिएन । छोरीको भविष्य अनि श्रीमतीको चाहना । उनले श्रीमतीसँग नेपाल जानेबारे सल्लाह गरे । सोचेका थिए, ‘निर्णय सजिलो छैन ।’ तर श्रीमतीले भनिन्, ‘उसो भए पहिला म जान्छु । अनि ६ महिनापछि तिमी आउनू ।’ उनी धन्य हुँदै सम्झिन्छन्, ‘यदि उनले ओके नभनेको भए... ?’ फर्किने बेला मदनकृष्णले फोनमा भने, ‘बाबु, प्याकिङ गर्दै हो ?’ यमनले ह्युमरसहित भने, ‘प्याकिङ हैन, अब फ्याँकिङ गर्दै हो ।’

उपचारका लागि यशोदालाई नेपाल हुँदै कहिले थाइल्यान्ड त कहिले भारत लगियो । यमन नेपाल फर्किएपछिका धेरैजसो दिन अस्पतालमा बिते । छोरी ग्रीष्मा स्कुलबाट फर्कनेबित्तिकै घर जान पाउन्न थिइन् । उनलाई सिधै अस्पताल ल्याउनुपर्थ्यो । उनी खाजादेखि गृहकार्यसम्म अस्पतालमै गर्थिन् । यो दृश्य लगातार दोहोरियो । यमनलाई त्यतिबेला बिझ्थ्यो, ‘छोरा भएर त ठीक निर्णय गरें तर बा भएर सोच्दा छोरीलाई अन्याय पो गरें कि ?’ एक दिन ग्रीष्माले भनिन्, ‘ड्याडी म पनि पछि तपाईंजस्तै हुन्छु ।’ यमनले बुझेनन् । सोधे, ‘के भनेको बाबु ?’ ग्रीष्माले थपिन्, ‘तिमी पनि पछि बूढाबूढी हुन्छौ । जसरी तिमीले तिम्रा बुबाआमालाई हेरिरहेका छौ । म पनि तिमीलाई त्यसैगरी हेर्छु ।’ छोरीको कुराले यमन भावुक भए । सोचे, ‘मैले गलत हैन, सही गरेछु ।’

A Yemeni mother who pours into poetry

छोरी हजुरबा–हजुरआमाको काखमा नै हुर्किइन् । हजुरबाको प्रसिद्धिबारे थाहा पाइन् । कलालाई पछ्याइन् । अंग्रेजी मात्र हैन, नेपाली भाषा र शब्दहरूलाई प्रेम गर्न थालिन् । ‘उनले संस्कार सिकिन्, दायित्व सिकिन् । प्रेम सिकिन्,’ यमन भन्छन् । मदनकृष्णले आफ्नो पुस्तक ‘महको म’ मा छोराबुहारीले अमेरिका छाडेर आएको प्रसंग लेखेका थिए । ग्रीष्माले पढेपछि हजुरबालाई सोधिन्, ‘यहाँ मेरो नाम खै ? मैले पनि त छाडेर आएको छु नि ।’ छोरी अहिले स्नातक अध्ययनका लागि पेरिस छिन् । न उनलाई पेरिसमा बस्ने रहर छ, न अमेरिकाको चाह । बालाई भन्छिन्, ‘पढाइ सकेर म नेपालै फर्किन्छु ।’

यमन अमेरिका फर्कंदा बेला–बेला बासँग हिँड्थे । उनलाई विरक्त लाग्थ्यो । ‘बासँग सयौं फोटो खिच्न आउँथे । मलाई एक जनाले पनि नचिन्ने । कस्तो जिन्दगी रैछ भन्ने लाग्यो,’ उनी सम्झिन्छन् । यही कुरा उनले आफ्नी आमालाई सुनाए । आमाले ढाडस दिइन्, ‘तँ पनि कलाकारिता गर न ।’ भने, ‘मदनकृष्णको छोरा भनेर कसले वास्ता गर्छ र ?’ आमाले भारतीय कलाकार डेनी डेन्जोङ्पाको उदाहरण दिँदै भनिन्, ‘पहिले उनलाई मान्छेले के रोल खेलेको भन्थे रे । उनले मैले खेलिनँ भने अरूले खेलिदिन्छन् भन्थे । तँलाई पनि जे–जे आउँछ, खेल्दै जा, रिहर्सल हुन्छ । दर्शकले हेर्छन् । सिक्दै गइन्छ नि ।’

आमाको प्रेरणाले यमनलाई ऊर्जा दियो । केदार घिमिरेहरूसँग मिलेर टेलिसिरियल ‘खासखुस’ बनाए । यो टेलिसिरियल उनीहरूले ६५ भागसम्म बनाए । हरेक भाग उनी सबैभन्दा पहिला आमालाई ल्याएर देखाउँथे । यशोदा थपडी मार्दै हाँस्थिन् । कहिले गीत बनाएर सुनाउँथे, कहिले गितार बजाएर । आमाका लागि छोरा र छोराका लागि आमा प्रेरणा थिए ।

यशोदालाई आन्द्रा र फोक्सोको क्यान्सर थियो । क्यान्सरले धेरै गलिसकेकी थिइन् उनी । एक पटक ललितपुरस्थित सुनाकोठी घरमा यशोदालाई अचानक गाह्रो भयो । उनलाई अस्पताल लैजानुपर्ने भयो । माथि कोठाबाट तल ओर्लनुपर्ने । तर, यशोदाको खुट्टा चलेन । यमनले जुरुक्क बोकेर यशोदालाई गाडीभित्र लगे । यमनले आमाको मलिन अनुहार हेरे । अनि भने, ‘ममी म तपाईंलाई हँसाइदिउँ ? मलाई त अहिले ममीलाई अन्माउन लागेजस्तो भयो ।’ छोराको कुरा सुनेर उन्मुक्त हाँसिन् यशोदा । त्यो वेदनाका बेलामा हाँसिरहेकी आमालाई देखेर यमन पनि उसैगरी हाँसे । त्यसपछि गाडी अस्पतालतर्फ हुइँकियो । हाँसेर घरबाट हिँडेकी यशोदा त्यसपछि कहिल्यै फर्किनन् । 

ियमन दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालसँग बसेर ‘छक्का पञ्जा ३’ को स्क्रिप्टमा काम गरिरहेका थिए, गोकर्ण रिसोर्टमा । अस्पतालमा रहेका यमनलाई लिन केदार आइपुगे । केदारले यशोदालाई अस्पतालको शय्यामा फेरि हँसाए । ‘ममी निकैबेर हाँस्नुभयो, त्यसपछि मैले ममीको हात समात्दै गएँ भनेर निस्कें,’ यमन सम्झन्छन् । गोकर्णेश्वरमा बसेर कमेडी फिल्मको पटकथा लेखिरहेका बेलामा दीपकराज अनि केदारलाई फोन आयो । फोनसँगै यमनले उनीहरूको अनुहार अँध्यारिएको देखे । उनीहरूले घुमाएर भने, ‘ममीलाई गाह्रो भयो रे ।’ यमन गाडीमा बतासको स्पिडमा हुइँकिए । अस्पताल आउँदासम्म आमाले चोला फेरिसकेकी थिइन् ।

A Yemeni mother who pours into poetry

यशोदा कहिलेकाहीं सपनामा आउँछिन् । सपनामा उनी आमासँग खाना खाइरहेका हुन्छन्, गफ गरिरहेका हुन्छन् । ब्युँझँदा विपनासँग दिक्क लाग्छ । सपनै सही, आमा त हुन्थिन् । क्यान्सर अस्पतालमा हुँदा आमासँगको एउटा स्मृति ताजा भइरहन्छ । यमनको खुट्टामा दाद आएको थियो । औषधि लगाउँदा पनि निको भएको थिएन । क्यान्सरसँग जुधिरहेकी आमालाई छोराको खुट्टामा आएको सानो घाउले बढी दुखाउँथ्यो । यमन खुट्टा लुकाउँथे । आमा चिन्ता लिँदै भन्थिन्, ‘खै, खुट्टा देखा ।’

अहिले त आमा सम्झनामा मात्र छिन् । अनि कवितामा सम्झिन्छन्, 

अन्तिम सास फेर्दै थियौ

तर मेरोबारे सोच्दै थियौ

आफ्नो घाउमा मलम नलाई

मेरो घाउ रोज्दै थियौ... । 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully