काठमाडौँ — बिहे हुँदा उनी साह्रै सानी थिइन् । बिहेको सम्झनाका नाममा फोटोमात्र रहेको उनले बताइन् । फोटोमा उनी र उनका श्रीमान् बेहुला–बेहुली बनेका छन् । त्यही फोटोले उनलाई आफ्नो सानैमा बिहे भएको रहेछ भनेर सम्झना गराइदिन्छ ।
यो चिडीमार समुदायको एक महिलाको संघर्षको कथा हो । उनी हुन्, नेपालगन्जकी ३५ वर्षीया सुनिता चिडीमार । उनको पाँच वर्षमा बिहे भयो । बिहे हुँदा केही थाहा नै नपाई त्यसको रमझममा रमाइन् । तर सानै उमेरमा किन र कसरी बिहे गरियो बुझ्न भने उनलाई वर्षौं लागेको छ ।
‘मलाई मेरो विवाहको केही पनि सम्झना छैन । फोटो हेरेर यहाँ मेरो यस्तो विवाह भएको थियो भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘जब पार्टी र विवाहको कार्यक्रम हुन्छ, केटाकेटीलाई त्यसमा लिएर जान्छन् । त्यो पाँच वर्षको बच्चाले रमाउँछ मात्र । आफ्नो विवाहमा मैले पनि त्यही रमाइलो गरें होला ?’
बुवाआमा, बाजेबज्यै, काकाकाकीलगायतको ठूलो परिवार । परिवार छुट्टिएको थिएन । घरमा दुःख र गरिबी थियो । सुनिताका हजुरबुवा जमिनदारको घरमा काम गर्थे । उनका बुवाको नि आफ्नो जमिन थिएन । बुवा पनि जमिनदारकै खेतीमा काम गर्थे ।
सुनिता विगतलाई सम्झना गर्छिन्, ‘मेरो बाल्यकाल पनि कष्टकर गुज्रियो । किनभने, बिहानै भात पकाउनका लागि दाउरा हुन्थेन । गोबर बटुल्न बिहानै उठ्थ्यौं ।’
उनी घरकी जेठी छोरी । तीन दिदीबहिनी र एक भाइ छन् । सबैको सुनिताकै जसरी बालकैमा बिहे भयो । सुनिता १४ वर्ष लागिन् । उनको बुवाले असाध्यै माया गर्ने । त्यही मायाले बुवाले १० कक्षासम्म पढाए ।
दिन बित्दै गए । बिस्तारै बुवाको कमाइले घरमा सुधार भयो । तर, सुखको अनुभव लिन नपाउँदै उनी विवाह गरेको घर जानु पर्यो ।
‘बुवाले यो भन्न सक्नुभएन कि म यति सानो बच्चालाई विवाह गरेको घर पठाउन सक्दिनँ भनेर,’ त्यो अवस्थाबारे सुनिताले भनिन्, ‘तर हाम्रा लागि आफ्नो बुबाले त्यो कदम चाल्न सक्नुभएन । म आफ्नो बच्चालाई पढाउँछु, बिहे गर्दिन्न भन्न सक्नुभएन ।’
चिडीमार समुदायले मान्दै आएको ‘गौना’ चलनअनुसार उनी केही वर्ष माइतीमा बसिन् । तर बिहे भइसकेकी छोरीलाई लामो समय माइतीमा राख्नु भएन । उनको पढाइ बीचमै रोकियो । उनी आफ्नो विवाह भएको घर गइन् । ‘सायद मेरो सात वर्षको उमेरमा गौना भयो । त्यसपछि १४ वर्षमा मलाई मेरो विवाह भएको घर पठाइदिनु भयो,’ उनले भनिन् ।
सुनिताका अनुसार ४/५ वर्षमा विवाह हुने र त्यसपछि ३/४ वर्षमा गौना गरिने चलन थियो । त्यसपछि ६ अथवा एक वर्षमा विवाह भएको घरमा पठाइने चलन ‘गौना’ हो ।
सुनिता भन्छिन्, ‘गौना भनेको हाम्रो विवाहको चरण हो । विवाह भएपछि २/४ वर्ष पर्खिने र घर पठाइदिने । गौना भइसकेपछि घर गएर २/३ दिन बस्ने । गौना हुन्छ र त्यसपछि थौना हुन्छ । थौनामा बिहे भइसकेपछि छोरीलाई घर पठाइन्छ, माइतीमा राखिँदैन । एक महिना अथवा एक वर्षपछि थौना गरेर विवाह भएको घर पठाउने चलन हो ।’
यदि बीचमा श्रीमान्को मृत्यु भएमा छोरी गौना गरेर जान्छन् । विवाह भइसकेपछि छोरी उतैको हुने र उसको सबै अधिकार आमाबुवाबाट सासुससुरामा हस्तान्तरण हुने भएकाले बाल विधवा भएर बस्नुपर्ने बाध्यता रहेको सुनिताले सुनाइन् ।
पाँच दिनसम्म पानीको भरमा दिन कटाएको नमिठो अनुभव पनि उनीसँग छ । सुनिता भन्छिन्, ‘तिमी पनि केही काम गर्दैनौ ? पैसा पनि छैन । अब हामी के गरौं ? म यसभन्दा बढी भाेक सहन सक्दिनँ, अब म मरिहाल्छु । जाऊ यो पायल बेचेर जेजति हुन्छ, बिक्री गरेर खानेकुरा लिएर आऊ ।’
घर गएसँगै सुनिताको जीवनमा फेरि नयाँ दुःख थपिए । बिहे हुँदा सुनिताका श्रीमान् विक्रम पनि ६ वर्षका थिए । बालकैमा दुईको बिहे भयो । बालकमै अभिभावक बने । त्योसँग नयाँ समस्या र चुनौती थपिए ।
‘१४ वर्षको बच्चा अर्काको घरमा गएर कसरी अप्ठ्यारो परिस्थितिको सामना गर्ने ? एक त आफ्नो घर छोड्ने । अनि अर्काको घरमा गएर कसरी मिल्ने ? सबै नयाँ–नयाँ । त्यहाँ नियम पनि नयाँ–नयाँ,’ सुनिता सम्झना गर्दै भन्छिन्, ‘ऊ आफैं अर्काको घरमा अचम्म हुन्छ । के छ ? कस्तो छ ? को हो ? तिनीहरूको व्यवहार कस्तो छ ? त्यसपछि कतिवटा समस्या आइहाले । काम गर्नुपर्यो । बिहानै–बिहानै ३ बजे नै नुहाएर भान्सामा जानुपर्ने । घरको सबै काम आफैंले गर्नुपर्थ्यो ।’
बिहान चाँडै उठ्नुपर्ने चिन्ताले उनी रातभर राम्रोसँग निदाउन सक्दिनथिन् । काम राम्रोसँग नगरे गाली खानुपर्ने पिर । उनका ससुरा बाचुन्जेलसम्म घरपरिवार ठीकैसँग चलिरहेको थियो । तर जब उनी विवाह भएको घर गएको ६ महिनामै ससुरा बिते, उनका दुःखका दिन सुरु भए । उनी घरकी माइली बुहारी थिइन् ।
‘जबसम्म मेरा ससुरा हुनुहुन्थ्यो, ठीकै थियो । मेरी सासूआमा, जेठाजु–जेठानी सबै मिलेर मानसिक रूपले यातना दिन थाले,’ भावुक हुँदै उनले सुनाइन्, ‘मेरो बुढा काम गर्नुहुन्थेन । भर्खर १५ वर्षको बालकले के काम गर्छ ? बुवा मरिसकेपछि कस्तो हुन्छ ? कोही अभिभावक छैन । कसैले राम्रो बाटो देखाउँछ त कसैले नराम्रो । त्यही बेला मलाई छुट्याइदिनु भयो ।’
काम न कमाइ । हातमा पैसा पनि छैन । त्यही बेला परिवारबाट अलग गरियो । सुनिताको गर्भमा बच्चा बस्यो । इज्जतका कारणले माइतमा पनि केही भनिनन् । पाँच दिनसम्म जिन्दगीभर नबिर्सिने भोकको नमिठो पीडा भोगिन् । जुन अहिले सम्झिँदा पनि उनका आँखा रसाउँछन् ।
‘खाने कुरा केही थिएन । चामल, दाल, भाँडाकुँडा केही थिएन । पानीको धारा थियो । त्यही पानी खाएर भोक मेट्ने काम गर्यौं । त्यतिबेला मलाई ‘हे भगवान् ! म मरिहालौं कि फाँसी लगाऔं कि !’ जस्तो लागिरहन्थ्यो । आँखाभरि आँशु राखेर उनी सुनाउँछिन्, ‘तर मेरो बच्चा बसिसकेको थियो । म मरें भने बच्चा मर्छ भन्ने भयो । बच्चाको धेरै माया जाग्यो । मेरो घरबाट मलाई खुट्टामा लगाउने पायल दिनुभएको थियो । पायल बुढालाई दिएर ‘यो बिक्री गरेर केही खानेकुरा लिएर आउन’ भनें ।’
ज्यादै दुःख र अभावको जिन्दगी बिताउँदै २०७९ सालमा सुनिताले १० कक्षा पास गरिन् । अहिले उनी १२ कक्षामा समाजशास्त्र विषय लिएर नारायण माविमा अध्ययनरत छिन् । छोरा भने कक्षा ११ मा विज्ञान विषय लिएर पढ्दैछन् ।
पाँच दिनसम्म पानीको भरमा दिन कटाएको नमिठो अनुभव पनि उनीसँग छ । सुनिता भन्छिन्, ‘तिमी पनि केही काम गर्दैनौ ? पैसा पनि छैन । अब हामी के गरौं ? म यसभन्दा बढी भाेक सहन सक्दिनँ, अब म मरिहाल्छु । जाऊ यो पायल बेचेर जेजति हुन्छ, बिक्री गरेर खानेकुरा लिएर आऊ ।’
त्यही पायल बिक्री गरेर दाल, चामल त किने तर त्यसलाई पकाउने भाँडाकुडा थिएनन् । फेरि भाडा कहाँबाट ल्याउने ? ‘तब कानमा लगाएको मुन्द्रा दिएँ,’ उनले भनिन्, ‘अब यसैलाई बिक्री गरेर भाँडा किनेर ल्याऊ । अनि पकाएर खाउँला ।’ यसरी पाँच दिनको भोको पेट भरेको पनि उनले सुनाइन् ।
सुनिताले गर्भवती हुँदा राम्रोसँग खान पाइनन् । यसको असर बच्चा जन्माउने बेला देखियो । यो अझ पीडादायी थियो । बच्चा डेलिभरीको समयमा उमेर नपुगेकाले अस्पतालले भर्ना लिन मानेन । त्यसको साटो दुखाइ कम गर्ने औषधि खाइन् । त्यसपछि उनका बुवाले नर्सिङ अस्पतालमा लगेर भर्ना गरे । उनको दुखाइ भने कम भएको थिएन । स्वास्थ्य स्थिति पनि नाजुक थियो । त्यसैले प्रसव पीडा सम्झिँदा उनी अहिले पनि यस्तो कसैले भोग्नु नपरोस् भन्ने याचना गर्छिन् ।
दुखाइले गरेर उनको पाठेघरको मुख खुलेको थिएन । त्यत्तिकैमा उनको पेटभित्रबाट बेलुन फुटेजस्तो आवाज निस्कियो । लामो सास फेरेर उनले फेरि सुनाउन थालिन्, ‘यत्रो पीडा हे...भग्वान् । मेरो आमालाई भनें मेरो पेटभित्र केही फुटेको छ । आमाले हेरेर कराउन थाल्नुभयो । उहाँ कराउन थालेपछि म पनि आत्तिएँ ।’
डाक्टर बोलाइयो । सुनिताको मुत्रथैली र मलथैली फुटेको थाहा भयो । जुन उनको बच्चाले पनि खान पुग्यो । जसले गर्दा बच्चाको सास नै रोकिने अवस्थासम्म आयो । डाक्टरले बच्चा र आमा दुवैलाई बचाउन मुस्किल हुने सुनाए । उनलाई अपरेसन गर्न लगियो । बच्चाका लागि बाँच्ने साहस जुटाएकी उनले आमाको ममताले गरेर आफूभन्दा छोरालाई बचाउन डाक्टरलाई बिन्ती गरिन् । अपरेसन गर्ने कोठामा सुनितालाई बेहोस् पारियो ।
‘खै कुन्नि कसरी भगवानले साथ दियो । मेरो बाबुको अलिअलि सास चलिरहेको रहेछ । डाक्टरले जति चाँडो आईसीयूमा राख भन्नुभयो । अब अस्पतालमा आईसीयूका लागि डाक्टर थिएनन् । अब भेरी अस्पताल र नर्सिङ अस्पतालको दूरी टाढा थियो । बुवाले कसरी कसरी डाक्टरलाई ल्याउनुभयो,’ उनले बेलिविस्तार लगाइन्, ‘बुवाले नै अप्रेसनको खर्च बेहोर्नुभयो । मलाई १४ दिनपछि अस्पतालबाट डिस्चार्ज गरियो । मेरो बाबुलाई पनि २१ दिनमा अस्पतालबाट डिस्चार्ज गरियो । पछि म आफ्नो माइतीमै बसें ।’
उनी यति पीडाबाट गुज्रिरहँदा अस्पतालमा उनका श्रीमान् र ससुरालीबाट भने कोही पनि आएनन् । सुनिताका परिवारको डरले श्रीमान् विक्रम आउन सकेनन् । अस्पतालबाट बिदा हुन दुई दिनअघिमात्र विक्रम आफ्नो छोरा र श्रीमतीलाई हेर्न आए । उनले आफ्नो गल्ती महसुस गरे र रुँदै माफी पनि मागेको सुनिता सुनाउँछिन् ।
पहिलो सन्तान जन्माउनै शारीरिक पीडा भोगेपछि उनले दोस्रो सन्तानको रहर गरिनन् । उनी माइतीमै बस्न थालिन् । त्यसपछि भने आशाका किरणहरू पलाउन थाले । ऋण गरेर बुढालाई विदेश पठाइन् । बुढाले कमाएको पैसा उनले अन्त खर्च गरिनन् । उनको पढ्ने धोको अपुरै थियो, त्यसैले आफ्नो छोरालाई उत्कृष्ट शिक्षा दिन चाहन्थिन् ।
उनी भन्छिन्, ‘विदेशबाट आएको पैसा कतै लगाइनन् । किनकि मेरो एउटा इच्छा बाँकी थियो पढ्ने । बुढाको पैसा बाबुको शिक्षामा लगानी गरें । मेरो र बाबुको खाने बस्ने बुवाले हेरिदिनुभयो ।’ यसरी समय बित्दै गए । तीन वर्ष बसेर श्रीमान् कतारबाट फर्किए । राम्रै चलिरहेको थियो । छोराले आठ कक्षामा पढ्दै थिए । २०७५ सालमा उनको घरमा सानो दुर्घटना भयो । जसले फेरि दुःख निम्त्यायो ।
‘हसियाँको टुप्पोले श्रीमान्को पाइतालामा चोट लाग्यो । औषधि तुरुन्तै गरायौं । तर कसरी त्यो घाउ पाक्दै गयो,’ उनले भनिन्, ‘त्यो घाउ पाक्दै गएर क्यान्सरको रूप नै लिन गयो । कमाएको जति पैसा खुट्टाको उपचारमै गयो । पछि हाम्रो अवस्था फेरि बिग्रियो ।’
नेपालमा डाक्टरले उपचारका लागि १० लाख रुपैयाँ लाग्छ भने । यसैबीचमा उनी श्रीमान्को उपचारका लागि भारतको लखनउ पुगिन् । सन्चो पनि भयो । त्यसपछि श्रीमान् विक्रमले सुनितालाई आड दिए । रोकिएको सपना अब पूरा हुने अवस्थामा आयो । श्रीमानले पेन्टर र ज्यालाको काम सुरु गरे ।
खुसी हुँदै श्रीमान्ले भनेको कुरा सुनाइन्, ‘बाबुको पनि फिस तिर्न सक्छु, तिम्रो पनि फिस तिर्न सक्छु भन्नुभयो । तिमी पढ । हामी दुई जनाले निर्णय गर्यौं र मैले फेरि पढाइ सुरु गरें ।’ तर सोचेजति भने सहज थिएन । परिवारबाट अलग्गिए पनि पढ्नका लागि सुनिताले विक्रमको परिवारबाट अनुमति लिनुपर्थ्यो ।
‘कक्षा १० को परीक्षा दिन्छु भनेर बुढालाई भनें, बुढाले ठीक छ पढ भन्नुभयो,’ सुनिताले भनिन्, ‘तर मेरो जेठाजुको यसमा आपत्ति रह्यो । उहाँले महिलाहरू नै लगाएर मलाई पिट्न लगाउनु भयो ।’ घरबाट बाहिर नजाओस् भनेर आफ्ना जेठाजुले राजनीति नै गरेको उनको गुनासो छ । ‘मेरी सासु, नन्द र देवरानी लगाएर अनुहार र शरीर नै सुन्निने गरी पिटियो,’ उनले भनिन् । श्रीमतीको अवस्था देखेर विक्रम पनि नराएका होइनन् । आफ्नै दाजु र बहिनीले श्रीमतीको यस्तो हालत बनाए पनि उनी भने बोल्न सकेनन् ।
कुटपिटपछि उपचार गर्ने पैसा थिएन । डाक्टरलाई सबै घटना सुनाएपछि आफ्नो निःशुल्क उपचार भएको उनले सुनाइन् । त्यतिमात्र होइन, डाक्टरले नै प्रहरीमा उजुरी गर्न भनेको तर माइतीले परिवारको इज्जत जाने भन्दै उजुरी दर्ता गर्न नदिएको उनले सुनाइन् ।
ज्यादै दुःख र अभावको जिन्दगी बिताउँदै २०७९ सालमा सुनिताले १० कक्षा पास गरिन् । अहिले उनी १२ कक्षामा समाजशास्त्र विषय लिएर नारायण माविमा अध्ययनरत छिन् । छोरा भने कक्षा ११ मा विज्ञान विषय लिएर पढ्दैछन् ।
सुनिताले सुनाइन्, ‘अहिले पनि पेन्टरको काम गर्नुहुन्छ । यसैमा परिवार चलाउनुहुन्छ । म उठ्न अलि ढिला गरें भने बुढाले मेरो सहयोग गर्नु हुन्छ । छोराको कपडा आइरन गरिदिनुहुन्छ । असरल्ल मेरा किताब मिलाएर झोलामा राखिदिनुहुन्छ ।’
उनको स्वभाव हक्की छ । निर्धक्कसँग आफ्ना कुरा राख्न सक्छिन् । ११ मा भर्ना हुन जाँदाको अनुभव सुनिताले यसरी सुनाइन्, ‘भर्ना गर्न जाँदा बच्चाका लागि आएको भनेर सोधे । मैले भने नाई म मेरा लागि आएकी हुँ । मलाई हेरे । तपाईं ११ कक्षामा पढ्नुहुन्छ भनेर सोधे । किन ? कसैले भनेको छ यति उमेरको मान्छेले पढ्न सक्दैन भनेर । कि केही बाधा नियम छ ? मैले भर्ना गर्न केही प्रक्रिया पुर्याउनु पर्छ ? अनि पछि हाँस्नुभयो र केही भन्नु भएन ।’
उनी अहिले पढाइसँगै चिडीमार समुदायका महिला र बालबालिकाहरूलाई कसरी माथि लिएर जाने भनेर लागिपरेकी छन् । उनी चिडीमार समुदायकी पहिलो महिला सामुदायिक स्वास्थ्य स्वंसेविकासमेत हुन् । साथै टोल विकास चिडीमार संस्थाको अध्यक्षका रूपमा काम गरिरहेकी छन् । उनी अहिले बाल विवाह रोक्ने र चिडीमार समुदायका महिलाको काममा व्यस्त हुन्छिन् ।
चिडीमार समुदायमा पुर्खाहरूले नै सानैमा विवाह गर्ने चलन चलाएको उनी सुनाउँछिन् । उनको समयमा केटाकेटीको उमेर ४/५ वर्षको समानान्तर उमेरमा खुला रूपमा हुन्थ्यो भने अहिले लुकेर १३/१४ वर्षको बालविवाह भइरहेको छ ।
छोरीको महिनावारी हुनुअघि कन्यादान गरे पुण्य कमाइने अन्धविश्वासले बालविवाह कुप्रथा लादिएको पनि सुनिताले सुनाइन् । केटाकेटीका परिवार मिलेर स्थानीय जनप्रतिनिधिलाई थाहै नदिइ लुकेर विवाह गर्ने चलन बढेको पनि उनको अनुभव छ । यसले अझ समस्या निम्त्याइरहेको सुनिताले बताइन् ।
‘त्यसैले यसलाई रोक्नुपर्ने र आफूले भोगेको पीडा अरुले भोग्न नपरोस् भनी बालविवाहविरुद्ध लागेकी हुँ,’ उनले भनिन्, ‘त्यसका लागि महिलालाई शिक्षा दिनुपर्ने हुन्छ । शिक्षाले नै आत्मविश्वास बढाउने मरो विश्वास छ ।’ शिक्षाले नै महिलालाई जागरुक बनाउने र अधिकारका लागि बोल्ने हिम्मत दिने पनि उनी बताउँछिन् । ‘पुरुषलाई जन्म दिने को हो ? महिला होइन ?,’ उनले भनिन्, ‘अनि महिलालाई किन अगाडि नबढाउने त ? शिक्षामा किन विभेद ? छोरीलाई पढ्नबाट किन रोक लगाउने ?’
उनले पढाइ सुरु गर्दा उनकै समुदायका मान्छेले उडाए । ‘सोध्थे, पढेर के गछ्यौ यो उमेरमा ? हाम्रो समुदायमा जुन केटीहरू छन्, तिनीहरूको अधिकारका लागि कसले बोलिदिन्छ ? म भन्छु– उनीहरूलाई तपाईंमा क्षमता छ भने तपाईंहरू बोल्नुहोस् भनेर सम्झाउँथे,’ उनी भन्छिन्, ‘जुन स्थितिबाट म गुज्रिएँ, तपाईं पनि आफ्ना बच्चाहरू त्यही अवस्थाबाट गुज्रिऊन् ?’
अहिले उनलाई धेरैले मन पराउन थालेका छन् । सुनिता चिडीमार आफ्नो समुदायका महिलाका लागि अहिले आगोको झिल्को बनेकी छन् । तर पुरुषहरूले यसमा किन विरोध गरिरहेका छन् भन्ने कुरा उनले बुझ्न सकेकी छैनन् । तर पनि उनले आफ्नो छोरालाई महिलालाई सम्मान गर्न सिकाएकी छन् ।
‘हाम्रो चिडीमार समुदायको एउटा संस्था पाँच वर्षअघि दर्ता भयो । त्यसको कार्यसमितिमा मुख्य पाँच जना छन् । त्यसमा सबै पुरुष छन्, महिला कोही छैनन् । किन महिलालाई सामेल गरिएन त ?,’ सुनिताले सुनाइन्, ‘हालै संस्थाको पाँच महिना भयो साधरण सभा भएको । म चिडीमार संस्थाको एउटा टोलको अध्यक्षका रूपमा काम गरिरहेकी छु । संस्थाको अध्यक्षले मलाई यसमा सदस्य वा अरु पदमा राख्न भने । त्यतिबेलाको सचिवले काम छोडेर गए । दुई जनाले मलाई सचिवका लागि सिफारिस गरे तर अरुले विरोध गरे । यो कुरा यसै सेलायो ।’
कसै न कसैले हक र अधिकारका लागि बोल्नु पर्ने भएकाले सुनिता अगाडि बढेकी हुन् । उनको अधिकारबारे बोलिदिने कोही भएन तर अरुका बारे आफूले बोलिदिने हिम्मत सुनितामा जुटेको छ ।
अहिले पनि चिडीमार समुदायमा सयमा २५ प्रतिशतको बाल विवाह भइरहेको छ । १३/१४ वर्षमै उमेरमा बिहे हुने र लगत्तै आमा हुने भएकाले केटीहरू प्रसव पीडा सहन नसकेर ज्यान गुमाइरहेका छन् । जसको कुनै रेकर्ड नभएको सुनिता सुनाउँछिन् । कानुनी समस्या नआओस् भनी उमेर बढाएर जन्मदर्ता बनाइने गरेको उनले बताइन् ।
सुनिताका अनुसार चिडीमार समुदाय बाँके र बर्दिया जिल्लामा बसोबास गर्छन् । उनीहरूको अनुमानित संख्या १७ सयको हाराहारीमा छ । ‘बाँकेमा नेपालगन्ज उपमहानगरपालिका–१२ मा र कोहलपुरअन्तर्गत चौधरिया र प्रेमपूर्वा ठाउँमा यो समुदायको बसोबास छ । बर्दियामा ३० जनाका दुई परिवार छन्,’ उनले सुनाइन्, ‘बाँकेको राप्ती सोनारीमा ५२ जनाको परिवार छ । बच्चा धेरै पाउने भएकाले दुई परिवारको संख्या ५२ जना छ । म आफैंले गएर गनेर आएकी हुँ ।’
यसै सन्दर्भमा गत पुस १६ मा प्रधानमन्त्री केपी शर्मालाई भेट गरेको र प्रधानमन्त्री ओलीसँग आफूले भोगका पीडा सुनाएको उनले बताइन् । ‘यससँगै चिडीमार समुदाय नेपालको जनसंख्यामा सूचीकृत नभएकाले सूचीकृत गरिदिन अनुरोध गरेकी छु,’ उनले भनिन् ।
चिडीमारहरूको पुर्खा चरा मार्ने काम गर्थे । बिस्तारै उनीहरूको बाध्यताले पहिचान बन्न गएको सुनिताले बताइन् । ‘यो हाम्रो पेसा थियो । बाध्यतावश हाम्रो पहिचान बनिहाल्यो । पहिला जुन जमिनदारहरू थिए नि, उनीहरूको मुनि रहेर काम गर्थे हाम्रा बाउबाजे । उनीहरूले जे काम भन्छ त्यही काम गर्ने त हो । अब उनीहरूलाई राम्रो खान, चरा मार्न मन लाग्यो होला । उनीहरूले हाम्रो पुर्खालाई जंगलैजंगल पठाइदिन्थे खोज्नलाई । कति त मरे जंगलमै,’ उनले प्रधानमन्त्रीसमक्ष राखेको कुरा सुनाइन्, ‘हाम्रो जनसंख्या वृद्धि हुनै सकेन । बढ्नै सकेनन् । कतिको त परिवारको परिवार नै सकिए । हाम्रा पुर्खाले बडा दुःख झेले । त्यही पनि अझैसम्म सूचीकृत छैन । अब सायद सोधपुछ गर्छन् कि ?’
‘जबसम्म हामी सूचीकृत हुँदैनौं, सरकारले दिएको सेवा सुविधा कसैले पाउँदैन । अनि हाम्रो बच्चालाई कसले अगाडि बढाइदिन्छ । त्यसका लागि हामी सूचीकृत हुन जरुरी छ,’ उनी भन्छिन्, ‘मैले तीन वर्षअगाडि थाहा पाएँ । जब १० कक्षा पढ्न थालें, त्यतिखेर क्याटगोरी खोजियो सरकारी विद्यालयले । उतिबेला यो के हो ? मलाई थाहै थिएन । अब कोसँग सोधौं ! हाम्रो बाउबाजे नि पढेका छैनन् । उनीहरूलाई कुनै सेवासुविधा मिलेन । अब विचरा पढेका छैनन् । बस्, सबै सहेर बाँचिरहे । तब मलाई थाहा भयो अब हामी सूचीकृत हुनुपर्यो । अब आउने सन्तान र पिँढीका लागि केही गर्न जरुरी छ भनेर लागिपरेकी हुँ ।’
नासिइसकेको पुस्ताका लागि केही गर्न नसके पनि नयाँ पुस्ताका लागि आफ्नो लगनले लाग्ने सुर कसेको उनले सुनाइन् । ‘जे सम्भव हुन्छ गर्छु । जोसँग बिन्ती गर्नुपर्छ गर्छु । चिडीमार समुदायका लागि आउने पुस्ताले संघर्ष गर्नु नपरोस् । त्यसका लागि म जे गर्नुपर्छ गर्छु,’ सुनिताले थपिन् ।
उनको अनुभवमा बालविवाह नर्क हो । त्यसैले नर्कको जीवन कसैले भोग्न नपारोस् भन्ने सुनिताको कामना छ । ‘त्यो स्वर्ग कस्तो हुन्छ र नर्क कस्तो हुन्छ भनेर मरेर आएको व्यक्तिले यहाँ भन्दैन । तर जिउँदो नर्क कस्तो हुन्छ त्यो बालविवाहले बताइदिन्छ । जिउनै मुस्किल हुन्छ,’ सुनिता भन्छिन्, ‘यसको अन्त्यका लागि सबै मिलेर लाग्नुपर्छ । बालविवाह कसैको नगरौं । यो नर्कजस्तो जीवन कसैलाई पनि नदिऊँ । म हृदयदेखि चाहन्छु– बालविवाह अन्त्य गरौं नेपालबाट । जब नेपालबाट यो अन्त्य हुन्छ, हाम्रो समुदायबाट स्वतः हुन्छ ।’
