एआई दुनियाँमा ‘डिपसिक’ को तुफान

अमेरिकी प्रविधि क्षेत्र सोमबार एकै दिन ५.६ प्रतिशतले घटेको थियो, केही वर्षयता निरन्तर उक्लिरहेको उन्नत चिप निर्माता कम्पनी एनभिडियाको कुल बजार मूल्यमा एकै दिन झन्डै ६ खर्ब डलरको गिरावट आयो

माघ १६, २०८१

सजना बराल

The storm of 'Deepsick' in the AI ​​world

काठमाडौँ — अमेरिकामा नयाँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले पदभार सम्हालेर प्रविधि बजारमा उल्लेख्य लगानी गर्ने गरी ‘स्टारगेट’ जस्ता परियोजना सार्वजनिक गरिरहेका बेला एउटा चिनियाँ एपले त्यहाँको सेयर बजार र अर्थतन्त्रमै तरंग ल्याइदिएको छ । ट्रम्पले शपथ लिएकै दिन अर्थात् जनवरी २० मा सार्वजनिक भएको ‘जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स’ (जेन–एआई) एप ‘डिपसिक’ अहिले आँधीझैं देखापरेको छ ।

गएको दुई वर्षयता सधैं चर्चा र उत्सुकताको केन्द्र बन्ने गरेको ओपनएआईको च्याटजीपीटीलाई डिपसिकको पछिल्लो तुफानी उडानले ओझेल पारिदिएको छ । च्याटजीपीटी र डिपसिकबीच तुलना गर्दै सामाजिक सञ्जालमा कसले उत्कृष्ट नतिजा दिन्छ भनेर धमाधम पोस्ट आइरहेका छन् ।

प्रविधि क्षेत्रकै अर्को प्रमुख कम्पनी एनभिडियाले त सोमबार एकै दिनमा आफ्नो बजार मूल्यको १७ प्रतिशत हिस्सा गुमाएको खबर सार्वजनिक भयो । विश्वका लगभग १ सय ११ देशमा उपलब्ध यो एपलाई च्याटजीपीटीभन्दा उल्लेख्य सस्तो लागतमा निर्माण र सञ्चालन गर्न सकिने उदाहरणका रूपमा पनि व्याख्या भइरहेको छ । 

डिपसिकले कोडिङलगायत कतिपय विषयमा ओपनएआईले भन्दा राम्रो नतिजा दिएपछि विज्ञहरूले यसलाई ‘एआई क्षेत्रको स्पुतनिक क्षण’ अर्थात् गम्भीर कोसेढुंगाको संज्ञा दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले समेत चिनियाँ एआई कम्पनीको पछिल्लो उभार सम्पूर्ण अमेरिकी कम्पनीहरूका लागि चेतावनी भएको उल्लेख गरेका छन् ।

त्यसलाई जित्न अमेरिकी कम्पनीहरूले थप मिहिनेत गर्नुपर्ने ट्रम्पको प्रतिक्रिया छ । अर्को चिनियाँ एप टिकटकको भविष्य अमेरिकामा के हुने भन्ने विवाद किनारा नलाग्दै यो चिनियाँ च्याटबटले एकै सातामा अमेरिकी प्रयोगकर्ताहरूको ध्यान आफूतर्फ तानिसकेको छ । 

The storm of 'Deepsick' in the AI ​​world

के हो डिपसिक ?

ओपनएआईको च्याटजीपीटीजस्तै एलएलएम भनिने ‘लार्ज ल्यांग्वेज मोडल’ मा आधारित जेनेरेटिभ एआई प्लाटफर्म हो, डिपसिक । झन्डै ६ खर्ब ७० अर्ब प्यारामिटरमा आधारित ‘आर–वान’ भनिने डिपसिकको लार्ज ल्यांग्वेज मोडल यसका चलेका प्रतिस्पर्धीहरूभन्दा फरक र कम उन्नत कम्प्युटर चिपहरूको प्रयोग गरी विकास गरिएको मानिन्छ । 

अमेरिका र चीनबीच चलिरहेको चिपयुद्धका कारण चीनमा प्रतिबन्धित ‘एनभिडिया ए–१००’ नामक उन्नत चिपलाई स्थानीय रूपमा उपलब्ध अन्य चिपसँग मिसाएर यसको ‘एलएलएम’ निर्माण गरिएको बताइन्छ । यसरी ‘जुगाड’ शैलीमा बनेको भए पनि यो प्रविधि ओपनएआईको ‘ओ१’ नामक एलएलएमजत्तिकै शक्तिशाली रहेको मानिन्छ । ‘डिपसिक–भीथ्री’ मोडेलमा सञ्चालित यो एआई ओपेन–सोर्स मोडलमध्ये उत्कृष्ट मात्रै नभएर क्लोज–सोर्स मोडलहरूलाई पनि टक्कर दिन सक्षम देखिएको विश्लेषण भइरहेको छ । 

ओपनएआईको जीपीटी–४ जत्तिकै क्षमता भएको डिपसिकले प्रति १० लाख आउटपुट टोकनका लागि २.१९ डलर खर्च गर्ने दाबी गरेको छ । जीपीटी–४ का लागि भने यो लागत झन्डै ६० अमेरिकी डलर आसपास पर्ने गरेको छ । यसले अविश्वसनीय रूपमा लागत घटाएको चर्चा भइरहेको छ । एआई मोडल विकास गर्ने नाममा करोडौँ डलर उठाइरहेका अमेरिकी कम्पनीहरूको तुलनामा यो एप झन्डै ६० लाख अमेरिकी डलरमै निर्माण भएको दाबी गरिएको छ । 

The storm of 'Deepsick' in the AI ​​world

हाल अमेरिकामा एप्पलको एपस्टोरमा यो सबैभन्दा लोकप्रिय निःशुल्क एप बनेको छ । लगभग ४० देशमा दुइटै एपस्टोरमा हाल यो ‘टप फ्री एप’ का रूपमा देखिएको न्युज विकले जनाएको छ । झन्डै ८० प्रतिशत डाउनलोड पछिल्लो केही दिनमा भएको मानिन्छ । उपलब्ध भएका विश्वका सबैजसो देशमा उत्कृष्ट १० मा पर्न सफल यो एप बाइडु र बाइटडान्सका विभिन्न सर्च मोडलजस्तै चीनसँग सम्बन्धित गम्भीर राजनीतिक प्रश्नको भने उत्तर नदिने गरी निर्माण गरिएको छ । 

कसले बनाएको हो डिपसिक ?

यसअघि प्रविधि क्षेत्रमा खासै नाम नसुनिएका लियाङ वेनफेङ नामक चिनियाँ उद्यमीले २०२३ डिसेम्बरमा स्टार्टअप कम्पनीका रूपमा डिपसिक स्थापना गरेका थिए । बीबीसीका अनुसार हालै मात्र चिनियाँ प्रधानमन्त्री ली चियाङले बोलाएको बैठकमा देखिएका उनी केही दुर्लभ अन्तर्वार्तामा पनि बोलेका छन् । तिनमा उनले ‘अमेरिकीहरूले बनाउन सक्छन् भने चीनले किन सक्दैन’ भन्ने शैलीका टिप्पणी गरेका छन् ।

यी ४० वर्षीया उद्यमी वेनफेङले झेजियाङ विश्वविद्यालयबाट एआई र विद्युतीय सञ्चारमा स्नातकोत्तर गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१६ र २०१९ मा गरेर आफूले स्थापना गरेको हेजफन्ड कम्पनीका लागि अर्बौं चिनियाँ युआन लगानी जुटाएका थिए ।

‘अहिले चिनियाँ एआई अमेरिका वा अन्य देशभन्दा झन्डै दुई वर्षले पछि परेको देखिन्छ, हामी अरूले बनाएको प्रविधिको पछि लाग्ने होइन, आफैंले त्यसमा नवीनता हालेर नेतृत्व गर्नुपर्छ,’ चाइना एकेडेमीमा प्रकाशित उनीसँगको अन्तर्वार्ताको अंग्रेजी अनुवादमा वेनफेङले भनेका छन्, ‘डिपसिकको उद्देश्य उन्नत एआई प्रविधिलाई पहुँचयोग्य र सस्तो बनाउनु हो । यसका लागि अहिलेको बजारलाई चुनौती दिन र नवीन सोच बढाउन जरुरी छ ।’

डिपसिकको प्रभाव

अमेरिकी भेन्चर क्यापिटलिट व्यवसायी मार्क एन्डरसनले डिपसिकको उदयलाई ‘एआईको स्पुतनिक क्षण’ का रूपमा टिप्पणी गर्दै सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेका छन् । सन् १९५७ मा तत्कालीन सोभियत संघले विश्वमै पहिलो पटक अन्तरिक्षमा स्पुतनिक नामक भूउप्रह प्रक्षेपण गरेको थियो । अन्तरिक्षमा को पहिलो हुने भन्ने प्रतिस्पर्धा चलिरहेका बेला आफ्ना प्रतिस्पर्धी देशले प्रविधि क्षेत्रमा फड्को मार्दा अमेरिका इर्ष्यालु र चकित बनेको थियो । अहिले एआईमा पनि चिनियाँ प्रविधि अघि बढ्नुलाई स्तुपनिक घटनासँग जोडिएको हो । 

The storm of 'Deepsick' in the AI ​​world

अलजजिराका पत्रकार जन पावरले प्रविधि र एआईमा एउटा सानो चिनियाँ स्टार्टअप कम्पनी सिलिकन भ्यालीका ठूला खेलाडीहरूसँग प्रतिस्पर्धमा उत्रिन सक्नुले एआईमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिएको उल्लेख गरेका छन् । एनभिडिया र मेटाजस्ता कम्पनीको अचाक्ली ठूलो बजार मूल्यांकन वास्तविकताभन्दा टाढा वा अधिक मूल्यांकन भएको हुन सक्ने पावरको टिप्पणी छ । 

डिपसिकको चर्चाले अमेरिकी प्रविधि र अर्थतन्त्रको क्षेत्रमा कतिसम्म हलचल ल्याएको छ भने यो साता बजार खुल्नेबित्तिकै अमेरिकी सेयर बजारमा ठूलै पहिरो गएको देखियो । अमेरिकी प्रविधि क्षेत्र सोमबार एकै दिन ५.६ प्रतिशतले घटेको थियो । केही वर्षयता निरन्तर उक्लिरहेको उन्नत चिप निर्माता कम्पनी एनभिडियाको कुल बजार मूल्यमा एकै दिन झन्डै ६ खर्ब डलरको गिरावट आयो । 

प्रविधि क्षेत्रको इन्डेक्स नासडक ३ प्रतिशतभन्दा बढीले ओर्लियो भने अन्य सिलिकन भ्याली कम्पनीहरू पनि त्राहिमाम बनेका थिए । एनभिडियाका महँगा सेमिकन्डर चिपहरूलाई अन्य स्थानीय उपलब्ध प्रविधिसँग मिसाएर यति ठूलो सफलता डिपसिकले हासिल गरेपछि बजारमा एनभिडियालगायत एआई कम्पनीका सेयर बेच्नेहरूको ओइरो लागेको हो । 

माइक्रो सफ्टका प्रमुख सत्य नाडेलाले डिपसिकको उपलब्धि अत्यन्तै प्रभावकारी रहेको र कम्प्युटरको क्षेत्रमा उल्लेख्य कोसेढुंगा भएको बताएका छन् । चिनियाँ प्रगतिलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको राय छ । एआई मार्केट रिसर्चका गुइसेप सेटले पनि वेनफेङको कम्पनीले अत्यन्तै थोरै स्रोतमा अहिले चलेका धेरै कम्पनीले भन्दा ठूलो परिणाम ल्याएको प्रतिक्रिया दिएका छन् । 

डिपसिकको यो प्रशंसाले ओपनएआईजस्ता कम्पनीलाई आफूले गर्दै आएको अर्बौं खर्चको प्रभावकारिता पुष्टि गर्न र यो चिनियाँ स्टार्टअपभन्दा अघि रहेको प्रमाणित गर्नुपर्ने चुनौती थपिएको छ । बीबीसीका अनुसार चिनियाँ सरकार डिपसिकको उछालबाट एकदमै सन्तुष्ट देखिन्छ र स्वतन्त्र रूपमा पश्चिमाभन्दा उत्तम एआई प्रविधि बनाउनेतर्फको एक महत्त्वपूर्ण कदम भएको उनीहरूको धारणा छ । चिनियाँ राज्य नियन्त्रित मिडियाहरूले आफ्नो सफलताले सिलिकन भ्याली र वालस्ट्रिटका ठूला भनिने लगानीकर्ताको निद्रा गायब भएको टिप्पणी गरेका छन् । 

मेटाका प्रमुख एआई वैज्ञानिक येन लिकुनले पनि डिपसिकको सफलता ओपन–सोर्स मोडलको सफलता भएको र यसले एआईको विकास गर्न सहकार्यको खाँचो रहेको उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले डिपसिकको एआई मोडल यसका अमेरिकी प्रतिस्पर्धीहरूको तुलनामा छिटो र सस्तो रहेको स्वीकार गर्दै यो अमेरिकाका लागि लाभदायक हुन सक्ने विश्वास व्यक्त गरेका छन् । 

अब के हुन्छ ?

डिपसिकको चर्चाले अमेरिकी शेयर र प्रविधि बजार केही समयका लागि जोखिमपूर्ण रहने र विशेषगरी मंगलबार बजार अझै कम हुन सक्ने विज्ञहरूको अनुमान थियो । तर मंगलबार बजार खुलेको सुरुवाती घण्टामा भने केही सुधार देखिएको छ । डिपसिकको आँधीले अमेरिकी सेयर बजार मात्र नभएर युरोप र एसियाका प्रमुख बजारहरूमा समेत उल्लेख्य गिरावट देखिएको छ । सोमबार क्रिप्टो मुद्रा बिटक्वाइनको मूल्यसमेत १ लाख अमेरिकी डलरभन्दा तल ओर्लिएको थियो । 

डिपसिकको चर्चा चुलिएको भए पनि लगानीकर्ताहरूले यसलाई सावधानीपूर्वक नियालिरहेको र लगभग अढाई खर्ब अमेरिकी डलर आसपास भएको मानिने एआई बजारमा यसले पार्न सक्ने दीर्घकालीन प्रभावबारे चिन्तित रहेको रोयटर्सले जनाएको छ । एआईसँग प्रत्यक्ष जोडिएका क्षेत्रबाहेक अन्य बजारमा डिपसिक आँधीबेहरीको प्रभाव क्रमशः कम हुने उनीहरूको अनुमान छ ।

ओपनएआईका संस्थापक एवं प्रमुख साम अल्टम्यानले डिपसिकको उपलब्धिलाई गजब भएको मानेका छन् । अर्का अमेरिकी धनाढ्य इलन मस्कले डिपसिकका बारेमा आएका आर्थिक तथा प्राविधिक विवरणको सत्यतामाथि शंका व्यक्त गरेका छन् । डिपसिकको सफलताले प्रयोगकर्ताहरूलाई भने एउटा अर्को सस्तो र प्रभावकारी विकल्प दिएको छ । ओपनएआई, डिपमाइन्डजस्ता ठूला एआई कम्पनीलाई चाहिँ आफ्नो रणनीति र प्रभावकारिताबारे सोच्न बाध्य तुल्याएको छ ।

(एजेन्सीको सहयोगमा)

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully