आमाको बिहे उत्सव मनाउने छोराहरू

रविनाले जसरी छोराको बिहेका लागि तयारी गरेकी थिइन्, छोराहरूले उनको बिहेका लागि, २२ जुन २०२३ मा रविनाले बेलायती नागरिक स्टुआर्टसँग लगनगाँठो कसिन्, कतिले आमाको विवाह गराइदिएको भन्दै छोराहरूको तारिफ गरे, कतिले गाली

माघ १५, २०८१

समर्पण श्री

Sons celebrating mother's wedding

काठमाडौँ — ‘म तिम्री आमा हुँ, भगवान् हैन !’ हुर्कंदा छोराहरूलाई उनले सिकाएकी थिइन् । भनिरहन्थिन्, ‘म पनि मान्छे हुँ । मबाट पनि गल्ती हुन सक्छन् ।’ सिकाएजस्तै दुई छोराहरूले कहिल्यै ‘भगवान्’ ठानेनन् उनलाई । ठाने त एउटा साथी । जसको अगाडि श्रद्धाको शिर झुकाउन र स्नेहको वासना पाउन सक्थे उनीहरू ।

अभिनेताद्वय दाजुभाइ आयुष्मान देशराज र आशिरमान आमा रविना देशराजमा जीवनका स्वर्णिम पल भेटाउँथे । र, मामुलाई उनीहरूले सधैं साथीको व्यवहार गरे ।

आमाले छोराहरू हुर्काइन्, छोराहरूले पनि आमा हुर्किएको देखे । खासमा उनीहरू सँगसँगै हुर्किए । आयुष्मानले एक दिन अनुहारमा उज्यालो चमक बोकेर आमाका निम्ति सुनौलो खबर ल्याए । आयुष्मान अभिनेत्री प्रियंका कार्कीसँग प्रेममा थिए । उनले रविनालाई बताए, ‘मामु, हामी बिहे गर्दै छौँ ।’ छोराको प्रदीप्त अनुहारमा हेर्दै रविनाले सोधिन्, ‘तिमी खुसी छौ ? छौ भने ओके ।’ रविनाले आयुष्मान र प्रियंकाको विवाहलाई ‘सेलिब्रेट’ गरिन् । वैवाहिक जीवन अगाडि बढ्दै जाँदा आयुष्मान र प्रियंकाकी छोरी जन्मिइन्– आयंका । रविना अब आमा मात्र हैन, हजुरआमा पनि बनिन् । 

आयुष्मान र आशिरमानका बासँग सम्बन्धविच्छेदपछि थुप्रै वर्ष रविनाले एकल जीवन काटिन् । एक दिन अचानक उनको जीवनमा बहार आयो । प्रेमको नयाँ अंकुरण टुसायो । उनले छोरा आयुष्मानसँग भनिन्, ‘मैले एक जना असल मान्छे भेटेकी छु, ऊसँग डेट जाँदै छु ।’ आयुष्मानले आमाको अनुहारमा हेरे । आमा प्रेमको पँखेटा हालेर उड्न आतुर थिइन् । उनले उसैगरी आमालाई सोधे, ‘तपाईं खुसी हुनुहुन्छ ? हुनुहुन्छ भने ओके ।’ हरेक सुखदुःखका साक्षी आयुष्मानले आमा थप उज्यालिएको देखे । उनले आमाको निर्णयलाई अंकमाल गरे । आमाले आफ्नो प्रेमी बेलायती नागरिक स्टुआर्ट च्याप्म्यानलाई छोराहरूसँग भेटाइन् ।

Sons celebrating mother's wedding

प्रेम दिवसको दिन काठमाडौंको एउटा रेस्टुराँमा आयुष्मान प्रियंकासँग र आमा आफ्नो प्रेमी स्टुआर्टसँग छुट्टाछुट्टै टेबलमा बसेर प्रेमालाप गरे । रविनाले जसरी छोराको बिहेका लागि तयारी गरेकी थिइन्, छोराहरूले उनको बिहेका लागि । २२ जुन २०२३ मा रविनाले स्टुआर्टसँग लगनगाँठो कसिन् । ‘हामीले बिहेलाई हैन मायालाई सेलिब्रेट गर्‍यौँ । मायालाई सेलिब्रेट गर्ने मान्छेहरूलाई निम्ता पनि दियौँ,’ आयुष्मान सुनाउँछन् । 

अहिले रविना आफ्ना श्रीमान् स्टुआर्टसँग मलेसियामा छिन् । भाइ आशिरमान भारतमा । आमाछोराहरूको दिनको सुरुवात एकअर्कालाई ‘गुडमर्निङ’ भनेर हुन्छ । रविना जहाँ गए पनि, जहाँ भए पनि उनलाई आमाको दायित्व र ममता महसुस भइरहन्छ । एक वर्षअगाडि बुहारी प्रियंकासँगको पडकास्टमै भनेकी थिइन्, ‘आमाको अर्को श्रीमान् होस् वा बाको अर्को श्रीमती । सन्तानका लागि तिम्रो दायित्व जहिल्यै हुन्छ । उनीहरूलाई बाआमा जहिल्यै चाहिन्छ ।’ आफू हुर्किरहँदा होस् वा हुर्किसकेपछि, आयुष्मान आमाको आवश्यकता उत्तिकै महसुस गर्छन् । उनी अनुभूतिको गहिरो बिन्दुमा उभिएर भन्छन्, ‘आफूलाई नसोचेर अलि बेसी माया अर्कालाई गर्न सक्ने नै आमा हो । न त्यो बाले सक्छन्, न साथीभाइले ।’ 

आमालाई सम्झँदा मात्र पनि प्रफुल्ल हुन्छन् आयुष्मान । ‘झन् आमाकै विषयमा कुरा गर्न कुनचाहिँ छोराहरू नरमाउलान् ?,’ सहरको एउटा क्याफेमा ‘मामु’ को सिलसिला जोड्दै उनले भने । यथार्थमै होस् वा सम्झनामा, आमाको आगमन सधैँ चाहन्छन् उनी । विगतका न्याना स्मृतिले पछ्याइरहँदा आँखामा दृश्य र कानमा आवाज मात्र हैन, नाकमा सुगन्धित वासना पनि फैलन्छ । उनी ठम्याउँछन्, ‘त्यो आमाको वासना हो ।’ रविना बैंकर थिइन् । राजीनामा दिनुअघिसम्म उनी तत्कालीन मेगा बैंकको ‘डेपुटी सीईओ’ रहिन् । आयुष्मान स्कुलबाट घर फर्केपछि आमाको प्रतीक्षामा हुन्थे । जब रविना आउँथिन्, छोराहरूलाई अँगाल्थिन् । अँगाल्दा आमाको लुगाबाट परिचित वासना आउँथ्यो । त्यो वासना रविना रिटायर्डपछिका दिन घर आउँदा पनि आइरह्यो । पछि अनुभूत भयो, ‘त्यो त स्नेहको वासना रहेछ ।’ 

Sons celebrating mother's wedding

शनिबार स्कुलको छुट्टी हुन्थ्यो । बिदामा उनीहरू हरेक साता पोखरा घुम्न जान्थे । घुम्ने सिलसिला स्कुले जीवनमा नियमित चलिरह्यो । कवि तीर्थ श्रेष्ठको ‘आमा’ कवितामा भने जस्तै रविनालाई आमा हुन साह्रै असजिलो थियो । कुनै बच्चा नसुम्सुम्याएको हातले एकै पटक आफ्नो सन्तान समात्नु ! २३ वर्षे रविनालाई जीवनको युद्ध मैदानमा हाम फालेजस्तै भयो । प्रियंकासँग पडकास्टमा उनले अनुभूति साटेकी थिइन्, ‘ऊ रुँदा किन रोएको छ थाहा छैन । तर उसको रुवाइले आफूलाई दुखिरहेको हुन्थ्यो ।’ उनी बच्चासँगै रोइदिन्थिन् । बच्चा हाँस्थ्यो, उनी बच्चासँगै हाँसिदिन्थिन् । 

छोराहरू हुर्काउने क्रममा उनले थुप्रै पुस्तक पढिन् । पुस्तकले उनलाई बालकबाट किशोर बन्दै गइरहेका छोराहरूको मनोभाव बुझ्न सहायता गर्थे । रविनाले आयुष्मान र आशिरमानलाई माया मात्र बाँडिनन्, जीवनमा एक्लै हुँदा बाँच्न चाहिने ‘स्किल’ पनि बाँडिन्, अनुशासन, व्यवहार अनि जीवनशैलीका कुरा । आयुष्मानलाई कुनै दिन आमा कठोर पनि लाग्थ्यो । ‘तर जब मैले जीवन बुझ्न थालेँ, बल्ल मामुलाई पनि बुझ्न थालेँ,’ उनी सम्झन्छन् । 

सन् २००९ तिर, बाआमाबीच तिक्तता चलिरहेको थियो । सम्बन्धविच्छेदको प्रक्रियामा थिए उनीहरू । त्यसबेला आयुष्मान १५ वर्षका थिए । आफन्तहरू भन्थे, ‘मिलाऊ, मिलाउने प्रयास गर ।’ एक हदसम्म ती बालकले प्रयास नगरेका पनि हैनन्, तर सकेनन् । अन्ततः बाआमाको ‘डिभोर्स’ भयो । त्यसपछि भने उनी आफ्नै मन बुझाउनतिर लागे । ‘त्यतिबेला मैले मायालाई सेल्फिस चिजका रूपमा बुझेँ,’ आयुष्मान सुनाउँछन् ।

Sons celebrating mother's wedding

हुन त कुनै पनि सन्तान स्कुलबाट घर आउँदा बा र आमा सँगै भएको देख्न चाहन्छन्, सँगै घुमेको, यात्रा गरेको हेर्न चाहन्छन् । आयुष्मान पनि त्यही चाहन्थे । ‘तर मैले चाहेँ भन्दैमा मेरा लागि उहाँहरू सँगै बस्नुपर्ने ? मेरो खुसीका लागि बसिदियो भने उहाँहरूको खुसी त हरायो नि,’ छुट्टिँदै गरेका बाआमालाई हेरेर पलाएको मनोभावबारे उनी सुनाउँछन् । त्यति बुझेपछि आयुष्मानसँग बाआमाप्रति कुनै गुनासो रहेन । 

बा व्यवसायी थिए, आमा बैंकर । सँगै हुँदा उनीहरूको एउटै घर थियो । छुट्टिए पछि दुइटा भए । ‘बुबासँग झगडा पर्दा आमासँग बस्न पाउँथे । आमासँग झगडा पर्दा बुबासँग । त्यसमा पनि मैले राम्रै देख्न चाहेँ,’ आयुष्मान सुनाउँछन् । उसो त दुवै घर उनीहरूको ललितपुरमै थियो । आयुष्मानका दाजुभाइ आमासँग भेट्दा होस् वा बासँग, उनीहरू विगत सम्झन्छन् । सम्झेर हाँस्छन् । नोस्टाल्जिक हुन्छन् । ‘हामी छुटेका दिन सम्झेर दुःखीचाहिँ हुँदैनौँ,’ उनी भन्छन्, ‘हामीलाई थाहा छ कि खुसी स–साना कुरामै भेट्टाइन्छ ।’

बैंकर आमालाई सबैले ‘स्ट्रङ लेडी’ ठान्थे । तर, सबैले ‘स्ट्रङ’ ठान्ने मान्छे कतिसम्म कमजोर हुन सक्थिन् त्यो दाजुभाइले देखेका छन् । ‘उहाँको सेफ स्पेसमा केवल हामी हुन पाउँथ्यौँ,’ आयुष्मान सम्झन्छन् । महिलाहरू सामान्य कर्मचारी हुन् वा कुनै नेतृत्व तहमै पुगून्, त्यहाँ समाजको पितृसत्ताले ‘डोमिनेट’ गर्न खोजिहाल्छ । रविनाले पनि सायद त्यो भोगिन् । घर आउँथिन् र छोराहरूसँग रुँदै पोखिन्थिन्, ‘गाह्रो छ । एउटा केटी मान्छे भएर काम गर्न धेरै गाह्रो छ ।’ रविना अहिले आफ्ना छोराहरूले दुःखको बेला दिएका साथबारे खुलेरै व्यक्त गर्छिन् । र, भन्छिन्, ‘उनीहरू त मेरा दाहिने र देव्रे आँखा हुन् । दुई दिन दाँतै नमाझेर, बेडमै सुतेर बसे पनि मलाई खाना ल्याउने उनीहरू हुन्थे । म आफ्नो अनुभूति उनीहरूलाई सेयर गर्न सक्थेँ । रुन सक्थेँ,’ उनले प्रियंकासँग पडकास्टमै सुनाएकी थिइन् ।

जीवनको गणित थोरबहुत बुझेका आयुष्मान परीक्षामा भने गणितमै फेल हुन्थे । परीक्षा जे होस्, छोरा जीवनमा असफल भएको देख्न चाहन्नथिन् आमा । रविनाले कहिल्यै ‘यो गर’ भनेर अह्राइनन् । यो पढ भनेर अडान राखिनन् । सोध्थिन्, ‘पढेको बुझिरहेको छौ ?’ आयुष्मानले ‘ए लेभल’ पढे । उनलाई ‘ह्युम्यानिटिज्’ पढ्न मन थियो । तर जुन कलेज पढे, त्यहाँ यो विषय थिएन । विज्ञान पढ्ने चाहना त रत्तिभर थिएन । बाध्य भएर व्यवस्थापन लिए । जुन कहिल्यै बुझ्नै सकेनन् । ‘ए लेभल’ पढ्दा उनी साहित्यानुरागी थिए । ‘ए वान’ मा साहित्य विषय थियो । ‘त्यो विषयमा कलेज टप गरेँ । बाँकी सबै विषयमा फेल ! बाआमाले सायद मैले सफर गरिरहेको देख्नुभयो होला,’ उनी सम्झिन्छिन् ।

Sons celebrating mother's wedding

आयुष्मानले त्यतिबेला रुँदै भनेका थिए, ‘यो त म पढ्दिनँ ।’ आयुष्मानले सक्दिनँ भनेर हातै उठाएपछि बाआमाले दबाब दिएनन् । भने, ‘तिमीलाई जे ठीक लाग्छ त्यही गर ।’ उनको रहर, निर्णयमा आमा कहिल्यै बाधक भइनन् । चाहे हिजो ‘साइकलिस्ट’ बन्छु भन्दा होस् वा पछि कलाकार । सधैँ छोराहरूको रहरलाई सदर गरिरहिन् । पहिलो पटक प्रेमिका बनाउँदा पनि आयुष्मानले बाआमालाई नै सेयर गरेका थिए । उनलाई लाग्थ्यो, ‘आफूले सुनाउने सुरक्षित स्पेस नै उहाँहरू हो ।’

त्यो मात्र हैन, आफ्नो आदतका बारेमा पहिलो पटक सेयर गरेको पनि उनले बा आमालाई नै हो । आयुष्मान चुरोट पिउँथे । एक पटक उनले सुनाए, ‘म चुरोट खान्छु । तपाईंले नखा भन्नुभयो भने लुकेर झन् बेसी खान सक्छु । कम गर भन्नुस् । कम गर्ने प्रयास गर्छु ।’ छोराको आदतबारे आयुष्मानले भन्नु अगावै थाहा थियो उनीहरूलाई । जवाफमा पनि त्यही आयो, ‘हामीलाई थाहा छ ।’

अझ रविनाले त थपिन्, ‘तिमी २१ वर्ष पुगेपछि मेरो अगाडि खान पाउँछौ ।’ दबाबबाट नियन्त्रण हुन्न भन्ने थाहा थियो रविनालाई । छोराहरूको आदतलाई कठोर भएर हैन, नरम भएरै सहजीकरण गरिन् । आयुष्मानले पछिसम्म चुरोट पिए । तर आयंकाको आगमन हुनु अगावै छाडे पनि ।

रविनाको विवाहपश्चात् विभिन्न टीकाटिप्पणी आए । कतिले उनको कदमलाई क्रान्तिकारी भने । कतिले संस्कारविपरीत । कतिले आमाको विवाह गराइदिएको भन्दै छोराहरूलाई तारिफ गरे । कतिले गाली । कति छोराहरूले त भने, ‘हामी पनि हाम्री आमाको बिहे गराइदिन्छौँ ।’ रविनाले न उनको कदमलाई क्रान्तिकारी ठानिन् न गलत । जीवनमा प्रेम हुनु, खुसी हुनु र त्यो खुसीलाई ‘सेलिब्रेट’ गर्नु सुन्दर कुरा हुन् । उनले त्यही मानिन् । बरु समाजमा परेको सकारात्मक प्रभावले भने उनीहरू आनन्दित छन् ।

Sons celebrating mother's wedding

अहिले तीन आमाछोरा भिन्नाभिन्नै देशमा छन् । भिन्नाभिन्नै देशबाट उनीहरू एकअर्काको खुसी बाँडिरहेका छन् । अब रविनाको जन्मदिन नजिकिँदै छ । छोराहरू ‘सेलिब्रेसन’ को योजना बुनिरहेका छन् । आयुष्मान र आशिरमान अब छिट्टै आमाकहाँ जानेछन् । ‘मामु’ लाई अंकमाल गर्नेछन् । विगत सम्झेर उसैगरी खुसी हुनेछन् । ‘हामी त्यो दिनको प्रतीक्षा गरिरहेका छौँ,’ आयुष्मान खुसी मुद्रामा भन्छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully