सशस्त्र द्वन्द्वमा दुई छोरा गुमाएकी आमा भन्छिन्- 'दुःख लुकाउन नसकिँदो रहेछ'

माघ १६, २०८१

मनोज पौडेल

A mother who lost two sons in the armed conflict says - 'Sorrow cannot be hidden'.

कपिलवस्तु — चाउरी परेको अनुहार, बसेर न पकाउन सक्छिन्, न अरु काम नै । लौरोको सहारामा खोच्याउँदै हिँड्ने उनी राति पनि राम्ररी देख्न सक्दिनन् । ७८ वर्षको बुढ्यौली उमेरमा सहारा चाहिने बेला उनी एक्लो र कष्टकर जीवन यापन गरिरहेकी छिन् । दुई छोरा माओवादी सशस्त्र द्वन्द्वमा मारिएपछि सहाराविहीन बनेकी हुन्– शिवराज नगरपालिका–९ बानियाँभारकी देवीमाया सुनार ।

तत्कालीन माओवादी सेनामा कार्यरत उनका जेठा छोरा शंकर विक (अशोक) रुकुमको खारामा २६ वर्षको उमेरमा ०५९ माघ १४ गते मारिएका थिए । दुई वर्ष नपुग्दै देवीमायाका कान्छा छोरा राजु विक कपिलवस्तुकै गुगौलीमा २२ वर्षको उमेरमा सरकारी सेनाद्वारा मारिए । एरिया कमिटी सदस्य रहेका उनी पछिल्लो शान्ति वार्ताको चर्चाका बेला ०६१ साउन १६ गते मारिएका हुन् । 

जेठा छोरा पञ्चायतकालदेखि नै कम्युनिस्ट विचारधारा अँगालेर हिँडिरहेका थिए । प्रहरीले गाउँमा गरिब विपन्नलाई अनावश्यक मुद्दा लगाउने, दुःख दिने, साहु महाजनले हपेको र थिचोमिचो गरेकाले विद्रोहको आवाज निकाल्नु परेको सुनाउने गरेको आमा देवीमायाले बताइन् । 

पुर्ख्यौली घर प्यूठान भएका उनीहरू ०४९ मा बानियाभार बसाइ सरेका थिए । ‘अलिकति पनि थिचोमिचो, डरत्रास नसहने छोरा यस्तै भएर त्यतिबेला माओवादीतिर लागेको हुनपर्छ,’ आमा देवीमायाले भनिन्, ‘त्यतिबेला अरु जिल्लामा गएर काम गर्थ्यो । घरमा सम्पर्क हुन छोड्यो । सन्चै होला भन्ने लाग्यो । हुँदा हुँदा प्लाटुन भाइस कमाण्डर भएको रैछ ।’ 

A mother who lost two sons in the armed conflict says - 'Sorrow cannot be hidden'.

‘माओवादी युद्धका बेला जेठो छोरा मारिएको गाउँभरि हल्ला चल्यो । हल्ला मेरा कानसम्म आएपछि मैले त केही गर्नै सकिनँ, भुइँमै ढलेँ । एक–दुई दिनमा पार्टीका जिम्मेवार व्यक्तिले खबर ल्याएपछि त छाँगाबाट खसेजस्तो भएँ,’ देवीमायाले सुनाइन्, ‘मृत्यु कसैका लागि राम्रो हैन । मन कुडाउँदै बसेँ । जेठो गए पनि कान्छो छोरा राजु छ भनेर मन सम्हालेर बसेँ ।’ पछि दाजुकै प्रभावले कान्छो पनि माओवादी आन्दोलनमै लागेको उनले सुनाइन् । राजुको पनि माओवादी भएकै कारण उखुबारीमा सेनाले लगेर मारेको घटना सुनाउँदा देवीमाया सम्हालिनै सकिनन् ।

दुवै छोरा गुमाएपछि उनको दैनिकी गाह्रो भएको छ । ‘परिवारै नभएको त होइन,’ उनले भनिन्, ‘तर, अहिले नभएजस्तै छ ।’ माओवादी युद्धकै बेला ०५७/५८ तिर जेठा छोरा शंकरको कपिलवस्तुकै उमा भुजेलसँग प्रगतिशील विवाह भएको थियो । दुवै जनाले पार्टीमा सँगै काम गर्थे । उनीहरूको ०६० मा छोरी जन्मिइन् । उनी अहिले २१ वर्षकी भएकी छिन् । उनी पनि ३ वर्षदेखि चन्द्रौटामा बसेर बालापुरको एक निजी बोर्डिङ स्कुलमा पढाउँछिन् । 

A mother who lost two sons in the armed conflict says - 'Sorrow cannot be hidden'.

यता माओवादी पार्टीले उमालाई समानुपातिकबाट पहिलो संविधानसभा सदस्य बनायो । संविधानसभा सदस्य भएपछि उमाले अर्को विवाह गरिन् । उताबाट पनि एक छोरा र एक छोरी जन्मिएका छन् । अर्को विवाह गरेपछि अलग्गै बस्न थालिन् । अहिले रोजगारीका लागि भारत गएकी छिन् । छोराछोरी भने चन्द्रौटामा बस्छन् । तर, सासू देवीमायासँग खासै सरोकार छैन । देवीमायाका श्रीमान् चक्रबहादुरको भारतको आसाममा पेट्रोल पम्पमा ज्याला–मजदुरी गर्दा गर्दै ०६३ मा निधन भयो । यता देवीमायाको आफ्नै ४८ वर्षे एक छोरी ममता पनि छुट्टै बस्छिन् । उनी नजिकै रहेको एक निजी बोर्डिङ स्कुलमा पढाउँछिन् । उनको अविवाहित हुन् । 

बुढेसकालको सहारा कोही छैन । कहिलेकसो १५ वा एक महिनामा आएर छोरी र नातिनी (जेठा छोराकी छोरी) आएर घर सरफाइ गर्ने र नुहाइदिएर फर्कने उनले सुनाइन् । आम्दानीको स्रोत केही छैन । चुलोचौको गर्न गाह्रो भइरहेको छ । कच्ची माटोले जोडेर उठाएको पर्खाल भएको २ कोठे र एक बरण्डा भएको टिनको छानो भएको घर छ ।

वर्षाका बेला माटोको पर्खाल कमजोर भएर घरभित्रै पानी पस्छ । यसले घरभित्र हिँडडुल गर्न सकस हुन्छ । जग्गा–जमिन छैन । ‘१२ कट्ठा जग्गा थियो, ०६८ मा १० कठ्ठा बेचेर ३ लाख रुपैयाँमा घर बनाएँ । बाँकी दुई कठ्ठा बेचेर १ लाख ५० हजार रुपैयाँ ढाडको उपचार लिएको ऋण तिरेँ,’ उनले भनिन्, ‘गाईले लडाएर ३ वर्षअघि ढाड भाँच्चियो । ऋणधन गरेर ३ लाखमा शल्यक्रिया गराएपछि केही बिसेक भएको छ । तर भुइँमा बस्न सक्दिनँ । बसे उठ्न सक्दिनँ ।’ 

शल्यक्रिया गर्दा लघुबित्तबाट डेढ लाख ऋण लिएकामा अझै ६६ हजार रुपैयाँ तिर्न बाँकी रहेको उनले सुनाइन् । सामाजिक सुरक्षा भत्ताबापत पाइने महिनाको ४ हजारले खर्च चलाइरहेको उनले बताइन् । ‘दुःख बिमार हुँदा गाह्रो हुन्छ । दुई कठ्ठा ऐलानी जग्गा छ । त्यो जमिन पनि वार्षिक ५० किलो चामल र ३ लिटर तेल दिने सर्तमा अँधियाँमा दिएकी छु,’ उनले भनिन् । 

A mother who lost two sons in the armed conflict says - 'Sorrow cannot be hidden'.

अहिले त महिनामा खानेपानी र बिजुलीको महसुल तिर्नै समस्या हुने गरेको उनले बताइन् । ‘आम्दानीभन्दा खर्च दुगुना छ । खर्च टार्न गह्रौं भइरहेको छ । कसलाई दुःख सुनाउनु, कसलाई भनौं,’ उनले भनिन्, ‘सुख लुकाउन सकिन्छ । तर जति गरे पनि दुःख भने लुकाउन नसकिँदो रहेछ ।’

छोरा सहिद भएका नाममा अभिनन्दन र सम्मान–पत्र प्रशस्त पाए पनि राहत भने नपाएको दुखेसो गरिन् । ‘कार्यक्रममा बोलाउँछन् । हजार/पाँच सय दिएर एउटा खादा लगाइन्छिन् । राज्यले पनि उपहास गरेको छ । कुनै सहयोग गरेको छैन,’ उनले भनिन्, ‘अहिले रक्तचापको समस्या बल्झिएकाले खान मन लाग्दैन । नखायो बिमारले च्याप्छ । खाना बनाउन जाँगर पनि लाग्दैन ।’

छोराहरूको सम्झनामा उनले छोराले लगाउने एउटा घडी राखेकी छन् । ‘याद आएका बेला त्यही समातेर मन बुझाउँछु । त्यो घडी पनि रुकुममा सेनासँग लड्दा उसका साथीले भेट्टाएर तीन महिनापछि ल्याइदिएका थिए । त्यही एउटा चिनोमात्रै अब बाँकी छ,’ उनले भनिन् ।

कहिलेकाहीँ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाल, चामल ल्याइदिन्छन् । अहिले चन्द समूहले नै दुई कोठे पक्की घर र शौचालय बनाइदिन लागेको उनले सुनाइन् । ‘गत असारमा इँटाको पर्खाल उठ्यो । अब टिनको छाना, सरसफाइ गर्न र झ्यालढोका राख्न बाँकी छ । अब यही नयाँ घरमा सरेर मर्ने धोको छ,’ उनले भनिन् ।

घरपरिवारमा कोही नभए पनि पार्टीले हेरचाह गरिरहेको चन्द समूहकी केन्द्रीय सदस्य सुष्मा सीले बताइन् । पार्टीले सहयोग उठाएर सहिदको सम्मान गर्दै उनका लागि नयाँ घर बनाइरहेको उनले बताइन् ।

मनोज

Link copied successfully