घाइते लडाकु, स्वास्थ्यकर्मी र स्थानीयसहित २१ जनाको ज्यान गएको बगाले काण्ड

माघ १६, २०८१

लक्ष्मी गौतम

21 people including injured fighters, health workers and locals were killed in the Bagale incident

हृवाकु, तेह्रथुम — माओवादी सशस्त्र द्वन्द चर्कँदै थियो, दैनिकजसो प्रहरी चौकी, सैनिक क्याम्प र सरकारी कार्यालयमा अक्रमणका घटना दोहोरिइरहेका थिए । अभियानलाई निरन्तरता दिँदै माओवादीले २०५८ माघ १० गते पाँचथरको गोपेटारमा रहेको प्रहरी चौकी आक्रमण गर्‍यो । त्यसक्रममा ५ प्रहरी र ७ माओवादी सेनाको ज्यान गयो ।

माओवादी तर्फका १३ जना घाइते भए । आफ्ना घाइते सेनालाई गोपेटारमूनि तमोर तारेर तेह्रथुमबाट गुफापोखरी हुँदै संखुवासभा लगेर सुरक्षित स्थानमा उपचार गर्ने योजना माओवादीले तय गर्‍यो ।

घाइतेलाई बोकेर हिँडेको टोली माघ १४ गते छिमेकी तेह्रथुमको हृवाकु पुग्यो । घाइतेलाई बाँसका स्ट्रेचरमा बोकिएको थियो । बगालेनजिकै पुग्दा एउटा स्ट्रेचर भाँचियो । घाइतेलाई बगाले गाउँका पासाङ शेर्पा र इन्द्र शेर्पाको घरमा राखेर उपचार गर्ने चाँजो मिलाइयो ।

सकुशल रहेका नेता कार्यकर्ता घाइतेलाई माओवादीको स्थानीय कमिटीलाई जिम्मा दिएर अन्यत्र लागे । पासाङ कहाँ १३ घाइते र ४ स्वास्थ्यकर्मीसहित १७ जनालाई राखिएको थियो । तर त्यहीबेला पासाङको घरमा राखिएका घाइते र स्वास्थ्यकर्मी खाना खाँदै थिए, पासाङको घर तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर अन्धाधुन्द गोली चलायो । बगालेमा भएको त्यो घटना सम्झिँदा स्थानीयबासीहरू अहिले पनि झसङ्ग हुन्छन् ।

उक्त आक्रमणमा परी गोपेटार घटनामा घाइते भएर उपचार गराइरहेका र उपचारमा खटेका स्वास्थ्यकर्मीहरू माओवादीतर्फका १७ र घरधनी पासाङसहित तीन जना स्थानीयबासी गरी २० जनाको घटनास्थलमै हताहत भए । ज्यान जोगाउन भागेका स्थानीय तुलसी विश्वकर्मालाई सेनाले पक्रेर गोली हान्यो ।

21 people including injured fighters, health workers and locals were killed in the Bagale incident

तत्कालीन माओवादी सेनाको कमाण्ड सम्हाल्दै गोपेटार प्रहरी चौकी आक्रमणमा सहभागी भएका माओवादीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ घाइतेलाई गोपेटारदेखि बगाले गाउँसम्म बोकेर पुर्‍याएपछि स्ट्रेचर भाँचिनु नै बगाले हत्याकाण्ड हुनको मुख्य कारक रहेको स्मरण गर्छन् । ‘घाइतेलाई उपचार गर्ने जिम्मा पार्टीको स्थानीय कमिटीलाई दिएर हामी ताप्लेजुङ तर्फ लाग्यौं, सुराक पाएर आएको सेनाले घर घेरा हालेर गोली चलाएछ,’ नेम्वाङले भने ।

नेम्वाङका अनुसार बगाले गाउँमा खाना खाएसँगै भाँचिएको स्ट्रेचर फेरेर गुफा पोखरी हुँदै जंगलैजंगल संखुवासभा लगेर उपचार गर्ने योजना बनेको थियो । ‘स्ट्रेचर भाँचिएपछि घाइते बोक्न असहज भयो, नभाॅचिएको भए टोली अगाडी बढिसकेको हुन्थ्यो सेनाले भेट्ने सम्भावना थिएन,’ उनले भने, ‘घाइतेको उपचारका क्रममा रहनु भएका कमरेडहरूमध्ये एक जनासँग पनि हतियार थिएन । त्यहीँ भएर सबै जना हताहत हुनुभयो ।’

हाल कोशी प्रदेश सभा सदस्य रहेका माओवादी केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईसहित ४० जना छिमेकी इन्द्र शेर्पाको घरमा थिए । इन्द्र कहाँ भने संगठन समिति, पार्टी जिल्ला कमिटी र स्थानीय कमिटीमा आबद्व कार्यकर्ता रहेकाले भाग्न सफल भएका थिए ।

‘घाइते राखिएको पासाङका घरमा सेनाले गोली चलाउन थाल्यो, हामी भागेर ज्यान बचाउन सफल भयौं,’ चापागाईले भने । घटनाका प्रत्यक्षदर्शी स्थानीय कुलबहादुर गुरुङले यत्तिका मान्छे हताहत हुनेगरी गोली चलाएको सेनाले भोलीपल्ट (माघ १५ गते)बिहानै गाउँका सबैलाई बोलाएर खाल्डो खन्दै शव पुरेको बताए ।

‘मान्छे मरिसकेपछि राति नै घरघर आएका सेनाले भोली उज्यालो हुनासाथ भेला हुनु । जुन घरबाट कोही आउँदैन उनीहरूलाई पनि कारवाही गर्छौं भन्दै बोलाए,’ गुरुङले स्मरण सुनाए, ‘बिहान आउँदा मान्छे यत्रतत्र ढलेका देख्यौं, खाना खाँदै गर्दा आक्रमण भएको रहेछ । मरेका मध्ये कसैका हातमा साग भात मुट्ठी परेको त कसैको मुखमा हालेको बुजो त्यसै थियो, गाउँभरका मान्छे भेला भएपछि खाल्डो खनेर पुरेपछि सेना आफ्नो बाटो लागे ।’

घाइतेको उपचार गराइरहेको क्याम्पमा सेनाले आक्रमण गरेर ज्यान लिएको सोही स्थानमा हालै सहिद पार्क निर्माण गरिएको छ । घटना भएको २३ वर्षपछि निर्माण सम्पन्न भएको उक्त स्थानमा निर्मित उक्त पार्कलाई ‘बगाले शहिद स्मृति पार्क’ नाम दिइएको छ ।पार्कको यहीँ माघ १४ गते आइतबार माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे । पार्क उद्घाटनका क्रममा त्यहाँ दाहाललाई माओवादीका कोशी प्रदेश अध्यक्ष नेम्वाङ, केन्द्रीय सदस्य चापागाई र आठराई गाउँपालिका उपाध्यक्ष बलिराज इङनामले दृष्टान्त सुनाए ।

21 people including injured fighters, health workers and locals were killed in the Bagale incident

बगाले काण्डमा ज्यान गुमाएका २१ जनालाई शान्ति स्थापना पश्चात सरकारले सहिद घोषणा गरेको हो । पार्कको उद्घाटन पश्चात बोल्दै दाहालले बगाले हत्या काण्ड मानवीय क्षतिका दृष्टिकोणले द्वन्द्वकालकै सबैभन्दा ठूलो र सामूहिक दुर्घटना रहेको टिप्पणी गरे । दाहालले बगाले घटनामा ज्यान गुमाएका सँगै द्वन्दकालमा विभिन्न स्थानमा भएका घटनामा ज्यान गुमाएका परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरे । सम्मान ग्रहणका क्रममा उपस्थित सहिद परिवारका सदस्यले दाहालसँग पार्टी र राज्यले सहिदको सपना साकार पार्न नसकेको गुनासो गरे ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully