काभ्रे — ठ्याक्कै तीन वर्ष भयो, गोविन्द ताम्राकारको घरमा उस्तै व्यहोराको चिठ्ठी नआएको । त्यसअघिका वर्षहरूमा त माघ १६ मा मनाइने ‘सहिद दिवस’मा परिवारलाई सम्मान गर्ने सम्बोधन भएको चिठ्ठी आउने गर्थ्यो ।
‘त्यो चिठ्ठी आउँदा मात्र पनि सरकारले सहिदको परिवार सम्झेको रहेछ भन्ने आभास दिलाउँथ्यो,’ सहिद सगुन ताम्राकारका बुवा गोविन्दले भने, ‘अब त सरकारले पनि बिर्सेछ सगुनलाई, उसले दिएको बलिदानलाई र मुलुकमा लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि उसको योगदानलाई ।’
पनौती घर भएका सगुन त्यसताक काठमाडौंको कलंकीमा बस्थे । २०६३ वैशाखमा जनआन्दोलमा सहभागी १८ वर्षीय सगुनको काठमाडौंमा छातीमा गोली लागि घटनास्थलमै मृत्यु भएको थियो । यो खबर एकैछिनमा गोविन्दसम्म पुग्यो । त्यतिबेला सगुनको शव काठमाडौंस्थित टिचिङ अस्पतालमा थियो ।
जनआन्दोलनका कारण देशभर कर्फ्यु लागेको थियो । गोविन्दको परिवारलाई टिचिङ अस्पतालसम्म पुग्न सहज थिएन । जसोतसो उनीहरू काठमाडौं पुगे । ‘अस्पतालको एक पोस्टमार्टम कक्षमा १७ वटा शव लहरै राखिएका रहेछन्,’ गोविन्दले भने, ‘मनलाई दह्रो पारेर एकपछि अर्को गर्दै हेर्दै गएँ, ४ नम्बर लेखिएको बाकसमा खोल्दा छातीमा लागेको गोलीले छिया–छिया भएको सगुनको शव रहेछ । आफूले हुर्काएको सन्तानलाई त्यो अवस्थामा कसरी हेर्न सक्थेँ र ! मनै सम्हाल्न सकिनँ ।’
सगुनको शवलाई पनौतीसम्म ल्याउन पनि त्यति सहज थिएन । शवलाई बनेपा ल्याइपुर्याएपछि हजारौंको भीड जम्मा भयो । श्रद्धाञ्जली र्याली निकालियो । हरेकको हातमा प्ले कार्ड थियो । जसमा लेखिएको थियो, ‘सहिद सगुन अमर रहून्, सगुनको योगदानलाई सरकारले कदर गर, सहिद सगुनलाई राज्यले सम्मान गर’, जुन शब्दहरू सम्झँदा उनको मन अहिले पनि भक्कानिन्छ । ‘अहिले त ती शब्दहरू केही दिनका लागि मात्रै रहेछन् भन्ने लाग्छ,’ उनी भन्छन्, ‘देशमा लोकतन्त्र ल्याउन सगुनले जुन त्याग र बलिदान दियो, अहिले सरकारले त्यो गुनलाई सम्झेन ।’
गोविन्द दम्पतीका एक्ला छोरा थिए, सगुन । गोविन्द दम्पतीको सम्बन्ध राम्रो नभएका कारण उनीहरू छुट्टाछुट्टै बस्दै आएका थिए । सगुन भने कहिले बुबासँग पनौती, त कहिले आमासँग काठमाडौंमा बस्ने गर्थे । घटनाताका सगुन आमासँग काठमाडौं बसेका थिए । काठमाडौंमा साथीहरूसँगै आन्दोलनमा होमिएका सगुनले आफ्नो ज्यानको आहूति दिए ।
सगुनको देहान्तपश्चात् गोविन्दलाई एक्लोपनले पिरोल्न थाल्यो । जसका कारण उनले मानसिक समस्या झेले । केही समयपछि उनले अर्को विवाह गरे । अहिले उनको दोस्रो सन्तानका रूपमा छोरा छन् । ‘जुन सन्तान आफूले गुमाए, त्यो त फर्केर आउँदैन,’ उनले भने, ‘सगुन यो मनमा अझै पनि जिउँदै छ, उसलाई एक पल पनि बिर्सन सकेको छैन ।’
१८ वर्ष बितिसक्दा पनि त्यो घाउ अझै आलै छ । सहिदको परिवारलाई अहिले न राज्यले सम्झन्छ, न कुनै राजनीतिक दल, न कुनै अन्य निकायले नै ।’ उनका अनुसार पहिले पहिले त सरकारबाट सहिद दिवसमा परिवारलाई सम्मान गर्न भन्दै कार्यक्रमको निम्तो आउँथ्यो । कार्यक्रममा जानका लागि गाडीसमेत लिन आएको उनलाई सम्झना छ ।
‘तीन/चार वर्ष भयो हामी सहिदको परिवारलाई कसैले नसम्झेको,’ उनले भने, ‘हामीलाई अरु के नै चाहिन्छ र ? उनीहरूले गरेको योगदान र बलिदानलाई सरकारले कदर र सम्मान मात्रै गरिदिए हुन्थ्यो ।’ दोस्रो अनआन्दोलनका क्रममा काभ्रेका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलंकीमा, भीमखोरीका शिवहरि कुँवर बनेपामा र नाग्रे गगर्चेका अनिलकुमार लामा काठमाडौंको जोरपाटीमा मारिएका थिए ।
