रौतहट — ईशनाथ नगरपालिका–४ महुलीयास्थित सहिद राजकिशोर ठाकुरको आँगनमा सोमबार ६५ वर्षीया आमा सिकिलिया देवी एकोहोरो टोलाइरहेकी थिइन् । उनी घरमा पुग्ने जोकोहीलाई छोराको यादले सधैं सताइरहेको पीडा सुनाउँछिन् । मधेश आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर २० वर्षीय छोरा राजकिशोरको मृत्युपछि आमा सिकिलिया देवीको मन विक्षिप्त छ ।
२०७२ भदौ ८ गते बिहान आमालाई टाउको दुख्यो भनेर छोरा राजकिशोर हस्याङफस्याङ गर्दै औषधि लिन सदरमुकाम गौर पुग्छन् । गौरस्थित बीपी चोकमा केही बेर अलमलिन्छन् । चारैतिर ठूलो संख्यामा आन्दोलनकारी जम्मा भएको देख्छन् र त्यही भीडमा उनी पनि सहभागी हुन्छन् । त्यसपछि सुरक्षाकर्मी र आन्दोलनकारीबीच ढुंगामुढा हानाहान हुन्छ ।
‘राज्यमा बराबरको हिस्सेदारी’सहितको नारा दिएर सुरु भएको आन्दोलनले उग्र रूप लिएपछि प्रहरीसित दिनहुँ भिडन्त हुन थालेको थियो । त्यही भिडन्तको सिकार बने राजकिशोर । आन्दोलनमा सहभागी भएका उनी सुरक्षाकर्मीले चलाएको गोली पेटमा लागेर त्यहीँ ढले । आन्दोलनकारीले उठाएर गौर अस्पताल लगे । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो । आमालाई औषधि लिन गएका राजकिशोर यसरी कहिल्यै नफर्किने गरी बिदा भए ।
छोराको मृत्युपछि ६५ वर्षीया आमा सिकिलिया विक्षिप्त बनेकी हुन् । छोराको नाम लिँदा उनका आँखा अहिले पनि आँसुले टिलपिल टिलपिल हुन्छन् । ‘हाम्रो त आशाको दियो नै निभ्यो । परिवारले आशा गरेको छोरा गुम्यो,’ उनले भनिन्, ‘मधेश आन्दोलनमा होमिएर अहिले के पायौं ? मधेशले नै बिर्सिसक्यो हाम्रो छोरालाई ।’
सिकिलियाका चार छोरामध्ये राजकिशोर कान्छा हुन् । उनका तीन छोरा नेपाली सेनामा कपाल काट्ने (हजाम) मा कार्यरत छन् । चारै छोरा अलग भइसकेका थिए । कान्छा राजकिशोरसित आमा सिकिलिया र बुवा महेन्द्र ठाकुर बस्थे । घटनाको दुई घण्टापछि मात्र छोरालाई गोली लागेर अस्पताल लगेको भनेर ठाकुर परिवारले खबर पाएको थियो । खबर सुन्नासाथ घरमै ढलेकी थिइन् राजकिशोरकी श्रीमती अंशु देवी । उनको काखमा दुई महिनाको छोरा थियो ।
राजकिशोरको मृत्युपछि उनको शव गौर अस्पतालमा तीन दिनसम्म राखियो । सहिद घोषणा नगरेसम्म परिवारले शव नबुझ्ने अडान राख्यो । उनलाई सहिद घोषणा गर्नुपर्ने माग राखेर चर्को आन्दोलन भयो । स्थानीय प्रशासनले सहिदका लागि सिफारिस गर्यो । २०७३ भदौ २ गते सरकारले उनलाई सहिद घोषणा गरेको थियो । सरकारले क्षतिपूर्तिबापत १० लाख दिएको थियो । ठाकुर परिवार क्षतिपूर्तिको भरले थेग्ने अवस्थामा छैन । आमा सिकिलिया पनि छोराको मृत्युपछि परिवारमा कष्टका दिन सुरु भएको सुनाउँछिन् । ‘सहिद परिवार भएको नाताले सरकारले एउटा घर बनाइदिनु पर्यो,’ उनले भनिन्, ‘गोली हान्यो, मान्छे मार्यो अनि १० लाख दिएर पन्छियो । यो कहाँको न्याय हो ।’
राजकिशोरकी श्रीमती अंशु २०७३ सालदेखि गाउँकै स्वास्थ्य चौकीमा कार्यालय सहायक पदमा करारमा काम गरिरहेकी छिन् । राजकिशोरका दाजु हरेराम ठाकुर मधेश आन्दोलनका सहिदलाई बेवास्ता गरेको आरोप लगाउँछन् । ‘घटनाको सुरुमा प्रदेश र जिल्लाबाट नेताहरू घर आउँथे । अहिले एक जना पनि आउँदैनन्,’ उनले भने, ‘सहिद दिवसको दिन मधेशका कुनै पनि नेताले हामीलाई सम्झँदैनन् ।’ सहिदका नाममा गाउँमा निर्माण गर्न लागेको सहिद गेटसमेत अलपत्र परेको छ । गेट बनाउन जसपाका सांसद शोभा साहले पहल गरेकी थिइन् ।
मधेश आन्दोलनका क्रममा मधेशीको हकअधिकार, राज्यमा बराबरको हिस्सेदारी भन्दै मधेशका जिल्लामा आन्दोलन उत्कर्षमा पुगेको थियो । यसै मुद्दालाई स्थापित गराउन मधेशले बलिदानीपूर्ण संघर्ष गर्नुपरेको थियो । गाउँगाउँबाट मानिस सदरमुकाम गौर पुगेर सरकारविरुद्ध आन्दोलन गर्थे । त्यस बेला गौर लामो समयदेखि आक्रान्त थियो । गौरको बीपी चोकमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच दोहोरो झडप भइरहेको थियो ।
२०६३ माघ ५ गते पहिलो बलिदानीपूर्ण मधेश विद्रोहपछि दोस्रो २०६४ र तेस्रो मधेश आन्दोलन २०७२ सालमा एउटै मुद्दाका लागि भएको थियो । आन्दोलनले धेरै नेता जन्माए पनि मुद्दा ज्यूँकात्यूँ रहेको मधेशकै नेताहरू बताउँछन् । आन्दोलनका नेतृत्वकर्ता नेता सत्ता केन्द्रित भइदिँदा मधेश अनिश्चित आन्दोलनको सुरुङमा फसेको तत्कालीन मधेशी जनअधिकार फोरम छाडेर बसेका एक नेताले सुनाए ।
‘नाम सार्वजनिक गर्दा मलाई समस्या होला । मेरो एउटै मात्र भनाइ के छ भने मधेशको मुद्दामाथि खेलवाड गर्ने मधेश र मधेशी जनतामाथि निरन्तर प्रहार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसँग मधेशी नेताहरूको निकटता देखेर ताजुब लाग्छ,’ उनले भने, ‘मधेशको मुद्दा बोक्ने नेताहरू सत्तामा पुगेपछि सबै बिर्सन्छन् । उनीहरू मधेशको मुद्दा बोक्दै–बिसाउँदै गर्छन् । यसले सहिदको पनि अपमान भएको छ ।’
मधेश आन्दोलनका क्रममा रौतहटमा तीन जनाले ज्यान गुमाएका थिए । आन्दोलनका क्रममा २०७२ पुस ५ गते दिउँसो सदरमुकाम गौरस्थित बीपी चोकमा सुरक्षाकर्मीको गोली लागेर परोहा नगरपालिकाको पोखरियाका १९ वर्षीय शम्स तबरेजको पनि मृत्यु भएको थियो । उनको पेटमा गोली लागेको थियो ।
घटनापछि तबरेजका बुवा फिरोज अख्तरले गाउँ छाडेका छन् । एक्लो छोरा तबरेजको मृत्युपछि मानसिक रूपमा विचलित भएका अख्तर अहिले गौरमा डेरा लिएर बस्छन् । सोही दिन राजपुर नगरपालिकास्थित बलुवाका मैनसद्धिन वस्ताको पनि सुरक्षाकर्मीले चलाएको गोली लागी मृत्यु भएको थियो ।
मधेश आन्दोलनपछि मधेशी जनअधिकार फोरम नेपाल दलका रूपमा स्थापित भयो । उसले मधेशको मुद्दालाई सार्थकता दिने भन्दै पार्टी प्रवेशलाई प्राथमिकतामा राख्यो । आन्दोलनको रापमा स्थापित फोरममा प्रवेश गर्ने लहर नै चल्यो ।
एमाले, कांग्रेसबाट उक्त पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेपछि पहिलो संविधानसभा निर्वाचनमा फोरम ५३ सिट ल्याएर संसदको चौथो दल बन्यो । त्यसपछि लगातार सत्तामा पुगेको मधेशवादीदलहरू अलग हुन थाल्यो र मधेश मुद्दा ओझेलमा परेको मधेशी नेताहरू बताउँछन् । फोरमसँगै सद्भावना पार्टी मात्रै थिए । पछि आफ्नै नेतृत्वमा कांग्रेसका विजय गच्छदारले फोरम लोकतान्त्रिक, राजकिशोर यादवले फोरम गणतान्त्रिक र शरदसिंह भण्डारीले राष्ट्रिय मधेश समाजवादी पार्टी बनाए ।
विजय गच्छदार अहिले कांग्रेसमै फर्किसकेका छन् । राजकिशोर र शरदसिंह जसपामा छन् । सद्भावनाका राजेन्द्र महतोले अर्कै पार्टी दर्ता गराएका छन् । अनिल झा सद्भावनामै छन् । कांग्रेसबाट अलग भएर महन्थ ठाकुरले तराई–मधेश लोकतान्त्रिक पार्टी गठन गरे । मधेशलाई नेताहरूले धोका दिएका हुन् तर आन्दोलनले धोका नदिएको गौर–९ सबगढा घर भएका सद्भावना पार्टीका जिल्ला नेता शेख नुरुलहोदाले बताए ।
‘सद्भावना पार्टीले नेताहरूलाई नाम दियो, मन्त्री बनायो, काठमाडौंमा घर बनाए, महल ठ्डयाए तर अहिले तिनै मधेशका नेतालाई बिर्सिए, सहिदलाई बिर्सिए,’ उनले भने, ‘अहिले मधेशी नेताहरू सबै अलग–अलग भए । पैसा हुनेलाई मात्र नजिक बनाउन थाले । पुराना कार्यकर्तालाई पाखा लगाउने काम गर्न थाले ।’
