सल्ले, सिन्धुपाल्चोक — संक्रान्ति मानी डाँडा है पारि जून लुकेछ । अँध्यारोबीच महादेव थानमा बन्दुक भुकेछ । त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करमा पञ्चायती शासनद्वारा भएको तत्कालीन दमन र हत्याकाण्ड सम्झाउने चर्चित गीतका हरफ हुन् यी ।
४१ वर्षअघि सहिद सम्झँदै दिवंगत जनवादी गायक जेबी टुहुरेले यही गीत भावुक भएर गाएका थिए । पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा त्यतिखेर जन्मिएका युवा र ती बेलाका युवा अहिले वृद्ध भइसकेका छन् । तर पिस्कर गाउँ भने अझै पुरानै दुर्गम र कष्टपूर्ण अवस्थामा बाँचिरहेको र सहिद परिवारका आँखा, दुःख र अवस्था अझै कहालीलाग्दा छन् ।
सहिद इले थामीका छोरा त्रिपुरासुन्दरी–३ धुस्कुन फापरचौर सल्लेका ६९ वर्षका दिलबहादुर जात्रामा आफ्नो बुबाको ज्यान गएको खबर सम्झिँदा अहिले पनि आफूलाई सम्हाल्न सक्दैनन् । ‘बुबाले जनताका लागि गोली खाएर ज्यान दिनुभयो, सरकारले घोषणा पनि गरिदियो, तर आहिले हामी सहिद परिवारलाई सरकारले लगातार अपमान गरिरहेजस्तै लाग्छ । यही घटनाले कयौं नेता ठूला मान्छे भए, हामीले के पायौं ? गाउँले के पायो ?,’ थामीले प्रश्न गरे ।
सानो टालटुले घर, खेतीपातीमा निर्भर चरम आर्थिक अभाव झेलिरहेका सहिद पुत्र थामी, श्रीमती डिल्लीमाया दम्पती गुजारा टार्न मजदुरी गर्न जान्छन् । केही महिना खेतीपातीबाट खान पुगे पनि सहिद परिवारलाई बाँकी सात महिना गाँस पुर्याउन हम्मे पर्ने अवस्था छ । सहिदभूमि पिस्करमा बेलाबेलामा बोलाएर दोसल्ला ओढाउने र चुनावमा भोट माग्न आउनेबाहेक अरू बेला कुनै नेता सुखदुःख सोध्नसमेत नआएको उनले दुखेसो गरे ।
‘चुनावमा हजुरहरू सहिद परिवारले भोट दिनुपर्छ है भन्दै लस्कर लागेर नेताहरू आउँछन्, केही कार्यक्रममा यिनीहरू सहिद परिवार हो भनेर दोसल्ला ओढाएर कुनामा राखिदिन्छन्, बस् त्यति हो हाम्रो काम,’ उनले भने ।
२०४० सालको माघे संक्रान्तिको अघिल्लो रात भएको जात्रामा पिस्कर हत्याकाण्ड मच्चियो । जात्रामा गोली लागेर बुबासहित उनका आफन्त वीरे थामीको मृत्यु भएको खबर पाएको र घरमा ल्याएर दाहसंस्कार गरेको सहिदद्वयका भतिज सहिदभूमिका स्थानीय ५५ वर्षे तिलकबहादुर थामीले बताए ।
घटनाको केही समयपछि आफन्त परिवार इले र वीरबहादुर थामीलाई सरकारले सहिद घोषणा गरेको सहिद परिवारको भनाइ छ । ‘सहिदमा दुईको नाम थपियो, तर सहिद परिवारले त्यस्तो केही पाएन । न गाउँले केही पाएको छ, सहिदका नाति विदेशिए भने हामी सहिदका सन्तानलाई छाक टार्न अभावले युद्धसरह बनाएको छ,’ उनले भने । दुई वर्ष चामल र पाँच हजार रुपैयाँ नगद दिएको उनले जनाए ।
अहिले सहिद वीरबहादुरका एक छोरा त्रिपुरासुन्दरी–३ बाघभैरवका ४४ वर्षका सञ्चबहादुर थामी गाउँमा परिवारसँग बस्छन् । सहिद पिताको सहादतबाट अभिप्रेरित उनी केही समय परिवर्तनका लागि माओवादी जनयुद्धमा होमिए । अहिले खेतीपातीबाट गुजारा गरिरहेका थामीको परिवार सिंगो गाउँझै कष्टकर जीवन बिताइरहेको छ ।
सहिदपुत्रद्वयझै पिस्कर गाउँका शान्तबहादुर थामीले ७८ वर्ष पुग्दा पनि अझै त्यो दिन बिर्सन सकेका छैनन् । ४१ वर्षअघिको त्यो घटना आफ्नैअघि भएको क्षण सम्झँदा तर्सिन्छन् उनी । हरेक वर्ष हत्या भएका दुई सहिदका नाममा स्मृति सभा गरिँदै आएको छ । ती क्षण सम्झेर सहिद परिवार अझै भक्कानिन्छन् । घटना सम्झिँदा पिस्करबासी निदाउन सक्दैनन् ।
२०४० सालको त्यो घटना गाउँबासीको मानसपटलमा अमिट छाप बनेर बसेको छ । फेरि त्यस्तै घटना होला कि भन्ने त्रासमा छन् यहाँका वृद्धवृद्धा । २०४० पुस ३० मा गाउँमा मेला लागेको थियो । नाटक खेल्ने, गीत गाउने, सभा गर्ने कार्यक्रमहरू भइरहेको थियो । जब साँझ भयो, तब झडप सुरु भयो ।
‘पहिलेका वर्ष पनि मेला लाग्थ्यो, त्यतिबेला नाटक चलिरहेको बेला झडप भयो, गोली चल्यो, भागभाग भयो,’ स्थानीय ७८ वर्षका मंगलमान थामी भन्छन्, ‘गाउँमा सडक थिएन । बिजुली बत्ती नभएकाले सांस्कतिक कार्यक्रम गर्न उज्यालो दिन मइनटोल (पेट्रोम्याक्स) को प्रयोग गरेका थिए ।’ उनका अनुसार तीनवटा पेट्रोम्याक्समध्ये दुईमा ढुगामुढा गरेर फुटेपछि गोली चल्यो र जात्रामा सहभागी ज्यान बचाउनका लागि तितरबितर गर्दै भागदौडमा लागे । त्यतिबेला कतिलाई गोली लाग्यो, कसलाई के भयो भन्नेबारे कसैले थाहा पाएनन् ।
एमालेका पुराना नेता अमृतकुमार बोहराका अनुसार माघ १ मा पिस्करमा साँझमा तत्कालीन नेकपा मालेले यो स्थानमा सांस्कृतिक कार्यक्रम राखेको थियो । जसमा तत्कालीन पञ्चायती शासनबाट भएको शोषण र जनताले पाउनुपर्ने अधिकारबारे चेतना फैलाउने कार्यक्रम राखेको थियो । त्यतिबेला माले भूमिगत थियो । मालेका अगुवा तथा नेताको टाउकोको मूल्य ५० हजारदेखि ५ लाखसम्म तोकिएको थियो ।
कार्यक्रममा प्रस्तुत भएका गीत, कविता, नाटकलगायतले पञ्चायतकालको विरोध गरेका थिए । कार्यक्रम बिथोल्न सरकारी पक्षबाट दमन भएको थियो । त्यही दमनले यहाँका स्थानीयको खुसी खोस्यो, दमनमा स्थानीय इले र वीरबहादुर थामीले ज्यान गुमाए भने धेरै घाइते भए । आफ्नै दाजुभाइले यस घटनामा ज्यान गुमाएपछि प्रत्येक पुसले पिस्करबासीको अझै पनि मन दुखाउँछ । त्यतिबेला प्रहरीले धेरै गाउँबासीलाई लग्यो । नेपाली सेना, प्रहरीले घरघरमा पुगेर जात्रामा सहभागी मान्छे समात्न थालेपछि त्यो घटनाले सबैमा त्रासदी फैलायो । गाउँमा वृद्धवृद्धा र महिला मात्रै बाँकी बसेको र सबै भागेको त्रिपुरासुन्दरी–६ टेकानपुरका ५९ वर्षका रामशरण बोहराले बताए ।
सहिदपुत्र दिलबहादुरका साथ भतिज तिलक थामी
‘त्यतिबेला ठूलो बुबा जगतबहादुरलाई पाखुरामा गोली लागेर रगतले लत्पततिँदै घर ल्याएको हिजोजस्तो लाग्छ, घाइते अवस्थामा रहनुभएका उहाँसहित हाम्रो परिवारका १५ जना सदस्यलाई हिँडाएर जेलमा लगेको थियो,’ बोहराले भने । मालेका नेतासहित स्थानीयले जेलनेलको कठोर यातना भोगे । राज्यविरुद्धको आरोप लागेकाले अधिकांशले वासस्थान छाडेर भागेका कारण गाउँ रित्तो बन्यो ।
पुलिसका बुट र लाठी बर्सिंदा बिनाकारण पाएको यातनाले स्थानीयमा आक्रोश बढेको थियो । यो घटना हुनुभन्दा पाँच दिनअघि मालेका नेता अमृतकुमार बोहरा, माधव पौडेल, भोला बोहरा, सावित्री बोहरा पिस्कर पुगेका थिए । साबित्री बोहराबाहेक कार्यक्रमको व्यवस्था मिलाएर उनीहरू काठमाडौं फर्केका थिए । तर, प्रहरीले पार्टीको उच्च नेतृत्व नै कार्यक्रममा सहभागी हुने सूचनाका आधारमा आक्रमण गरेको थियो ।
त्यतिबेला पूर्वमन्त्री अरूण नेपाल, सरेश नेपाल, मेघनाथ पौडेल, छत्रबहादुर बोहरा, मानबहादुर थामी, भोला बोहरालाई जेल हालेको थियो । यस घटनापछि देशव्यापी विरोध चल्यो र प्रतिवादको योजना अघि सारिएकामा मानवअधिकारको हनन भएको निष्कर्षसहित मानवअधिकारकर्मी संस्था परिचालित भए । यसलाई अन्तर्राष्ट्रियकरण गरिएपछि दरबारलाई समस्यामा पारेको र राजाका निकट मानिनेले पनि यस घटनाको विरोध गरेको पुराना नेता बताउँछन् ।
यही संघर्षका कारण पिस्कर क्षेत्रमा गरिएको नाकाबन्दी हटाउन र दमन खुकुलो पार्न सरकार बाध्य बन्यो । यसको ६ वर्षमै देशमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । स्थानीयले पिस्कर हत्याकाण्ड मच्याउने आरोप राप्रपाका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री पशुपतिशमशेर राणा र तत्कालीन पिस्करका पञ्च देवीजंग पाण्डेलाई लगाउँदै आएका छन् । यसबारे माथिल्ला र तल्ला तह स्पष्ट बोल्न चाहँदैनन् ।
जर्जर सहिदभूमि, सालिकविहीन अलपत्र सहिद पार्क
पिस्करको घटनालार्ई लिएर धेरै नेता र राजनीतिक हस्ती उदाए । एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि अन्य चर्चित नेताहरूको भूमिगतकालको आश्रयस्थल बन्यो पिस्कर । यस घटनाबाट माधव पौडेल उकासिए, अमृतकुमार बोहराले सांसद, मन्त्री र राष्ट्रियस्तरमा उचाइ बनाए । तर पिस्कर उस्तै छ । प्रजातन्त्रका लागि लडेका यहाँका स्थानीयले अहिले गणतन्त्र देखेको र विकासका लागि गाउँपालिकाले काम गरिरहेको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले बताए ।
सहिदभूमि : पिस्कर गाउँ
राजनीति र भाषणमा चर्चा हुने सहिदभूमि पिस्कर लगभग ४१ वर्षअघिकै पृष्ठभूमिमा बाँचिरहेको छ । कच्ची सडकले जोडिएको दुर्गम पिस्कर बल्ल क्रमशः तङ्ग्रिने क्रममा छ । तर, सडक खुलेको डेढ दशकपछि साढे १७ किलोमिटर लामो बाह्रबिसे–सुनकोसी–धुस्कुन–पिस्कर सडक पक्की बनाउने काम थालिएको थियो ।
चरिकोट सडक डिभिजनका अनुसार ३९ करोड ४० लाखमा कान्छाराम कन्ट्रक्सनले सडक स्तरोन्नति तथा कालोपत्रको जिम्मा पाएको थियो । सम्झौताअनुसार २ वर्ष ६ महिनामा काम सक्नुपर्ने थियो । ०७७ सालमा काम सुरु गरे पनि अहिलेसम्म यो कामले पूर्णता पाएको छैन ।
सहिदको सम्झनामा सहिद गेट र सालिक चाहिँ बनाइएको छ । तर, सहिदको सालिक भवनभित्र थन्क्याइएको छ । दुई वर्षदेखि निर्माणाधीन सहिद पार्क अलपत्र छ । सहिद पार्कमा सहिदको सालिक नै छैन । झारपात उम्रिएर सहिद पार्क क्रमशः खण्डहरमा परिणत हुँदैछ । प्रदेश सरकार र स्थानीय तहको झण्डै १५ लाख बजेटमा यसको काम थालिएको थियो । यसको जिम्मा कसले कति बजेटमा पाएको र अलपत्र पारेको भन्नेबारे केही जानकारी नभएको पालिकाले जनाएको छ ।
