चिया पसलको आम्दानीले गुजारा चलाउँदै सहिद–पत्नी

माघ १३, २०८१

शंकर आचार्य

Martyr-wife living on the income of the tea shop

पर्सा — वीरगन्जस्थित नेपाली सेनाको व्यारेकपछाडि होटल लाइनमा विनीता देवीले एउटा सानो चिया पसल चलाएकी छन् । ३२ वर्षीया विनीता देवी सहिद पत्नी हुन् ।

पति सोहनप्रसाद गुप्ताले मधेश आन्दोलनका क्रममा २०७२ साउन १५ गते वीरगन्जको नगवामा सहादत प्राप्त गरेपछि आफ्नो जीवनको रथको पाङ्ग्रा एक्लै घिस्रिरहेको उनले सुनाइन् । ‘उहाँ हुँदा दुवै मिलेर होटल चलाउँथ्यौं,’ उनले भनिन्, ‘पेट पाल्नै पर्‍यो । एक्लै भए पनि भ्याइनभ्याइ होटल चलाइरहेकी छु ।’

आफ्नो फुसको छाप्रो साढे तीन वर्षअघि आएको हुरीले उडाएपछि होटेलनजिकै डेरा लिएर बस्नुपरेको उनले सुनाइन् । खिरिएको ज्यान, मलिन अनुहार र धँसेका आँखाले उनको अन्तरपीडा मज्जाले बोलिरहेको अनुमान लगाउन सकिन्छ ।  

चियापसलसँगै दुई नाबालक सन्तानलाई हुर्काउन र पढाउनमा आफ्नो जीवन समर्पित गरिरहेकी यी कर्मवीर आमाले छोराहरूलाई उच्च शिक्षा दिलाएर ठूलो मान्छे बनाउने सपना साँचेकी छिन् । ‘बुवाको अनुहार पनि सम्झना नभएका टुहुरा सन्तानलाई सक्दो पढाएर ठूलो मानिस बनाउने मेरो सपना छ,’ उनले भनिन्, ‘त्यसैले दिनरात नभनी शरीर घोटिरहेकी छु ।’ आफ्ना दुवै छोरालाई मिनिल्याण्ड स्कुलले निःशुल्क पढाइदिएको उनले बताइन् ।

पति सहिद भएपछि सरकारले दिएको १० लाख र त्यसपछि २ पटक सहिद दिवसमा पाएको क्रमशः २ र ३ लाख रुपैयाँले नगवामै ५ धुर घडेरी किनेको उनले बताइन् । ‘त्यो घडेरीमा २ कोठाकै भए पनि एउटा सानो घर बनाउने सपना छ,’ उनले भनिन्, ‘अहिले त घर बनाउने कुरा पनि सपना नै जस्तो लाग्छ । मेरो पालामा नभए पनि छोराहरू पढेर कमाउने भएपछि त बनाउलान् नि !’ 

विगतमा आन्दोलनको समयमा सहिद परिवारको सोधखोज हुने गरे पनि अचेल सहिद परिवारलाई सम्झेर कोही पनि नआउने गरेको गुनासो विनीताको छ । ‘पहिले सहिद दिवसको दिन भए पनि वर्षमा एकपटक हामीजस्ता सहिद परिवारलाई बोलाएर सहिद दिवस मनाउने गरिन्थ्यो,’ उनले भनिन्, ‘यस वर्ष त सहिद दिवसमा हामीलाई सम्झिँदा पनि सम्झिएन ।’ 

आन्दोलनका घाइते तथा सहिद परिवारको संरक्षणमा लामो समयदेखि सक्रिय रहेका सामाजिक अभियन्ता प्रकाश थारु सहिद–पत्नी विनीता र उनको परिवारको तत्कालको आवश्यकता टाउको ओत लगाउने एउटा घर रहेको बताउँछन् ।

‘एकातिर सहिद–पत्नी जुठा भाँडा माझेर जीवन गुजारा गर्दैछिन्, अर्कोतिर उनको परिवार घरविहीन छ,’ उनले भने, ‘यो भन्दा ठूलो लज्जास्पद कुरो के नै होला, तैपनि हामी केही अभियन्ताहरूको टोली सहिद परिवारलाई एउटा सानै भए पनि घर बनाइदिन लागिपरेका छौं, हेरौं कहिलेसम्म सफलता मिल्छ ।’

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully