जुगेडी संघर्षमा सहादत दिने सन्तबहादुर र दशरथ चेपाङ : सन्तानलाई थाहा छैन सहिद घोषणाको खबर

जग्गासमेत भएको छैन नामसारी 

माघ ११, २०८१

रमेशकुमार पौडेल

Sant Bahadur and Dashrath Chepang, who helped in the Jugedi conflict: Children do not know the news of the declaration of martyrdom.

चितवन — ‘नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष र क्रान्तिको क्रममा सहादत प्राप्त गर्ने’लाई सहिद घोषणा गर्ने निर्णय भएको भन्दै नेपाल सरकारले २०७९ सालको फागुन २९ गते ‘नेपाल राजपत्र’मा सूचना प्रकाशन गर्‍यो । सो राजपत्रको चितवन खण्डको ८४ नम्बरमा सन्तबहादुर चेपाङ र ८५ नम्बरमा दशरथ चेपाङको नाम छ ।

राजपत्रमा नै नाम आइसकेपछि उनीहरूलाई राज्यले सहिदको दर्जा दिएको पक्का भयो । तर यसरी नाम समावेश भएको दुई वर्ष पुग्न लाग्दा पनि सन्तबहादुर चेपाङ र दशरथ चेपाङका सन्तानलाई यस बारेमा जानकारी छैन । बिहीबार बिहान भेट भएका सन्तबहादुरका कान्छा छोरा अकिल चेपाङले भने, ‘सहिद घोषणा हुन्छ भनेर धेरै वर्षदेखि नेताहरूले सुनाउँदै आएका त हुन् । भए नभएको थाहा छैन ।’

त्यसैगरी दशरथ चेपाङका माइला छोरा किस्टबहादुर प्रजा चेपाङले पनि अकिलले जस्तै अनभिज्ञता व्यक्त गरे । राजपत्रमा उल्लेख भएअनुसार सन्तबहादुर र दशरथको साहदत मिति हो, २०३४ साल असार ७ गते । पञ्चायतकालमा चितवन जुगेडीमा भएको संघर्षमा सामेल हुँदा उनीहरू सहिद भएका थिए । उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय सरकारले २०६५ सालको पुस ९ मा गरेको राजपत्रमा विवरण छ ।

घटना भएकै लामो समय भयो, सहिद घोषणा गर्ने निर्णय भएको पनि वर्षौंपछि राजपत्रमा सूचना निस्कियो । तर यो सूचना परिवारमा अझैसम्म पुगेको छैन । सहिद दशरथ र सन्तबहादुरका सन्तानहरूले पुर्ख्यौली थलो हपनी गाउँ छाडेका छैनन् । हपनी चितवनको पहाडी गाउँ हो । पहिला काउले र हाल इच्छाकामना गाउँपालिका–२ मा पर्ने हपनी सदरमुकाम भरतपुरबाट झन्डै ४५ किलोमिटर उत्तरमा छ । 

Sant Bahadur and Dashrath Chepang, who helped in the Jugedi conflict: Children do not know the news of the declaration of martyrdom.नातिअगाडि लगाएर खानेपानी बोकेर आउँदै गरेका सहिद सन्तबहादुर चेपाङका छोरा अकिल चेपाङ । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर 

बाटोघाटो राम्रो हुँदै गएका कारणले अहिले गाडीमा डेढ दुई घण्टामा भरतपुरदेखि हपनी पुग्न सकिन्छ । उ बेला यस्तो सजिलो थिएन । तैपनि भरतपुरनजिकको जुगेडी जान दशरथ र सन्तबहादुर तयार भएका थिए । पैदल जानुको विकल्प थिएन । हपनीबाट दशरथ र सन्तबहादुर मात्रै होइन, महिला र बालबालिकाबाहेक पूरै गाउँ जुगेडी गएको थियो । बाटामा भोक लागे पोलेर खानका लागि दूधिलो मकै पोको पारेर । घरमा अन्न सकिएको थियो । 

हपनीभन्दा पल्लो पाखामा रहेका दुम्किम गाउँका सुन्दर प्रजा चेपाङले ‘जानुपर्छ है’ भनेका थिए सबैलाई । सुन्दर मात्रै हैन एकजना मदन भन्ने व्यक्तिले पनि उनीहरूलाई उत्प्रेरित गरेका थिए । मदनजस्तै नचिनेका अर्का एक जना पनि दुई चार दिनदेखि गाउँमा डुलेका थिए तिनको नाम अहिले किस्ट र अकिललाई हेक्का रहेन । किस्ट पनि बाबु दशरथका साथ लागेर जुगेडी हिँडेका थिए । अकिल त अलि सानै थिए ।

उबेला बाटो गाह्रो अफ्ठ्यारो थियो । तरपनि संघर्षमा जानु पर्दछ भन्दै नेताहरू गाउँ आए । अहिले गाउँ जान सजिलो भएको छ । तर सहिद घोषणा गरेको सूचना परिवारसम्म पुग्न सकेको छैन । अन्य सरकारी सेवा सुविधा त झनै परको कुरा भयो । ‘हामीलाई पहिला–पहिला नेताले सम्झन्थे । बैठकमा डाक्थे । तर जाँदा आउँदा खर्च मात्रै भयो । भो अब केही पर्दैन भनेर मैले त्यता जान  छाडे’ सन्तबहादुरका छोरा अकिलले भने । 

के हो जुगेडी संघर्ष ? 

रूपलाल विश्वकर्मा चितवनलाई आधार बनाएर राजनीति गर्दै राष्ट्रिय तहमा चर्चामा आएका व्यक्ति हुन् । उनी नेतृत्वको संगठनले थालेको आन्दोलन हो– ‘जुटपानी संघर्ष’ । ३० को दशकमा नेपाल कम्युनिस्ट पार्टी टुटफुटका चरणबाट गुज्रिइरहेको थियो । पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको समर्थक रहेर सोही संगठनमा राजनीति गर्दागर्दै पछि त्यहाँबाट पनि अलग भएर आफ्नै नेतृत्वमा संगठन खोलेका व्यक्ति हुन्, रूपलाल । 

पुष्पलाल समूहमा सक्रिय रहेका बेलामा नै रूपलालले पूर्व प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष रहेका पुष्पकमल दाहाललाई २०२८ सालमा पार्टी सदस्यता दिएका हुन् । तर पछि रूपलाल र दाहाल नै पुष्पलाल समूहमा रहेनन् । ३० को दशकमा झापाली समूह र चौथो महाधिवेशन समूह चितवनको राजनैतिक प्रतिस्पर्धामा रहँदा पुष्पलाल समूह पनि अस्तित्वमा त थियो तर एकाएक चर्चामा आयो ‘जुगेडी संघर्ष’ गराउने रूपलालको समूह । 

रूपलाल २०२९ सालमा पुष्पलाल सूमहबाट अलग भएपछि ‘किसान संघर्ष समूह’का नाममा राजनैतिक गतिविधि गरेको इतिहासमा विद्यावारिधि गरेका वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका प्राध्यापक राजेन्द्र रेग्मीले ‘नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा’ पुस्तकमा उल्लेख गरेका छन् । रूपलालको समूहले चितवनको पहाडी क्षेत्रमा संगठनिक गतिविधि विस्तार गर्न थाल्यो । 

Sant Bahadur and Dashrath Chepang, who helped in the Jugedi conflict: Children do not know the news of the declaration of martyrdom.सहिद दशरथ चेपाङका छोरा किस्टबहादुर (दायाँबाट तेस्रो) र उनका छोरा तथा बुहारी ।

नारायणगढ-मुग्लिन सडकको आडमा पर्ने जुगेडी बजारमा थियो धर्म साहु अर्थात् धर्मलाल मुल्मीको ठूलो पसल । उ बेला चेपाङ गाउँमा चैत्रपछि अनिकाल सुरु हुन्थ्यो । असार र साउनमा अनिकाल झनै बढ्थ्यो । नेताहरूले धर्म साहुको पसलबाट अन्न ल्याएर अनिकाल टार्ने योजना बनाएको भन्दै गाउँलेहरूलाई झारेका थिए । ‘घरबाट बिहान खाना खाएर हिँड्यौं । राति बीचमा बास बस्यौं । भोलिपल्ट जुगेडी पुग्यौं’ किस्टले भने ।

हपनी र आसपासका पहाडी गाउँका डेढ दुई सय मान्छे उपरदाङगढीमा जुटेर एकै टोली बनाएर दाहखानी हुँदै जुगेडी झरेका थिए । उज्यालो हुँदा जुगेडी पुगेको टोलीले धर्मसाहुको पसलमा पुगेर धमाधम अन्न र अन्य सामान झिक्न सुरु गर्‍यो । आडमा रहेको सानुलाल जोशीको पसलबाट पनि सामान झिकेर टोली उकालो लाग्यो । पसलबाट ल्याएको सामान सबैलाई बराबर भाग लगाउने भनेर उनीहरु दाहाखानीको चौरमा भेला भए ।

‘हामी त निकै अलमल गरेर सामान बाँड्न थाल्यौं । भाइ अंश लगाए जसरी सबैलाई सबै चिज बराबर बाँड्ने भनियो । त्यही बेलामा पुलिस आयो । ड्याम्म गोली पड्काएको सुन्यौं । भागाभाग भयो’ किस्टले भने । किस्टका बाबु दशरथलाई घटनास्थलमै गोली लाग्यो । अकिलका बाबु सन्तबहादुर पक्राउ परे । पक्राउ परेको वर्ष दिन पुग्न लाग्दा जेलमै सन्तबहादुरको निधन भयो । 

तत्कालीन पञ्चायती सरकारले यो घटनालाई ‘डाँका समूहको लुटपाट’ भनेको थियो । त्यो बेला यो घटनाले राष्ट्रिय राजनीतिमा नै चर्चा ल्याएको इतिहासकार राजेन्द्र रेग्मीले आफ्नो पुस्तकमा लेखेका छन् । चर्चा, आलोचना र समर्थनबीच रूपलालले संगठन फैलाउँदै लगे । पछि उनले नेपाल सर्वहारावादी श्रमिक संगठन भन्ने पार्टी नै गठन गरे । पछि यो पार्टी अन्य बाम घटकसँग एकीकृत भयो । 

पुष्पकमल दाहालको तत्कालीन नेकपा मशाल र निर्मल लामाको नेकपा चौम र रुपलालको पार्टी एकीकरण भएर २०४८ सालमा नेकपा (एकताकेन्द्र) गठन भयो । तर तीन वर्षपछि दाहालले अलग पार्टी नेकपा माओवादी गठन गरे । रूपलाल पनि एकता केन्द्रमा बसेनन् । वाम राजनीतिबाट नै अलग भए । एकता केन्द्र हुँदा नै जुगेडी घटना भएको दिनलाई किसान संघर्ष दिवसको रूपमा मनाउन लागियो । माओवादीले पनि यसलाई जारी नै राख्यो ।

त्यसैले आफूहरूलाई कुनै बेला जनमोर्चा र पछि माओवादीेले पनि बेला बेलामा सम्झने गरेको किस्टबहादुर बताउँछन् । ‘तर २०७२ सालको भूकम्पपछि म बैठक या अन्य कार्यक्रमतिर जानै छाडेँ । बुढो पनि भइयो’ उनले भने । बाबु नै मरेर गएपछि अरु धेरै आशा नगरेको सन्तबहादुरका छोरा अकिलले सुनाए । तर उनीहरूको अवस्था कष्टकर नै छ । गुजारा जेनतेन चलेको छ ।

जग्गासमेत नामसारी भएको छैन 

जुगेडी जान सन्तबहादुर निस्कँदा अकिल १३ वर्षका थिए । अनिकाल टार्ने खाद्यान्न लिन लहरै निस्केका गाउँलेहरू दुईचार दिनपछि एक्लाएक्लै गरेर खाली हात फर्कन थाले । तर अकिलका बुबा आएनन् । जेल परे भन्ने सुनेपछि बुबालाई भेट्न आफन्तको साथ लागेर अकिल भरतपुर कारागार पुगे । कारागारमा छोरो देखेर बुबा रुने, बुबा देखेर छोरो रुने गरे । अरु केही कुरा भएन । त्यसरी फर्केको केही समयपछि बुबा बितेको खबर आयो ।

पाखो भए पनि एक बिघा जति जमिन थियो सन्तबहादुरको नाममा । अकिल सन्तबहादुरका कान्छा छोरा भएपनि माइला छोरा सानैमा बितेका थिए । बाबु बितेको दुई वर्षपछि जेठा दाजु बिते । भाउजू त्यसअघि नै बितेको अकिलले बताए । परिवारमा एकपछि अर्को बज्रपात भयो । आमा पनि बितेपछि अकिल एक्लै भए । घरव्यवहार धान्न सम्हाल्नसमेत नसकेको उनी बताउँछन् । बाबु सन्तबहादुरको नामको जग्गासमेत नामसारी नगरेको उनले बताए ।

‘उ बेला भरतपुर जानु पनि सकस थियो । एक्लै परियो । अब बूढो भइयो । फेरि जग्गा पनि बाटोमा परेर थोरै मात्रै बाँकी छ । नामसारी गर्ने जाँगर पनि छैन,’ अक्किलले दिक्दार हुँदै भने । ३१ वर्षको लक्का जवान भएको हुँदा बाबु दशरथसँगै किस्टबहादुर पनि जुगेडी लागेका थिए । तर फर्कदा उनी एक्लै परे । गोली लागेर बाबुको मृत्यु भएको सुनेका मात्रै हुन्, लाश पनि परिवारले बुझ्न पाएनन् ।

जर्जर जिन्दगी बिताउँदै ‘जुगेडी संघर्षका योद्धा’

‘घटना भएको नजिकका गाउँलेहरूले हामीले अन्तिम संस्कार गरेका हौं भने । उनीहरूले गाडेको भनेर देखाएको ठाउँमा घटना भएको त्यस्तै तीन चार महिनापछि गएर दूध, पानी र फलफूल चढाएँ’ किस्टबहादुरले भने । अहिले सम्झिँदा उनलाई नेताहरुले आफूलाई झुक्याएको र बच्न सक्ने सम्भावनामा पनि मृत्युवरण गर्न बाध्य पारेझैं लाग्छ । ‘मर्ने र जेल पर्ने गाउँले मात्रै भए, नेता कोही समातिएनन्,’ किस्टले भने,‘हामीलाई अनिकाल टार्ने खाद्यान्न ल्याउन जाउँ भनेका थिए । त्यो पनि फ्रिमा हैन, केही समयपछि पैसा तिर्ने गरेर ल्याउन लागेको हो भनेका थिए । हामीले त बाँकी पनि अन्न नपाउने बेला थियो त्यो । त्यसैले जान राजी भइयो ।’

तर धर्म साहुलाई नियन्त्रणमा लिएपछि कुरा नेताले भनेको जस्तै नभएर अर्कै भएको भेउ पाएको उनी बताउँछन् । यसरी कब्जामा लिएको सामान धेरै समय लिएर बाँड्नै नहुने उनले बताए । ‘दिनभर लगाएर बाँड्न बस्दा पुलिस आयो गोली चलायो, गिरफ्तार गर्‍यो । यस्तो सामान त छिटोभन्दा छिटो आ-आफूले जे जति लिएको छ लिएर गइहाल भनेर गाउँलेलाई भनेको भए हामी डाँडा काटि सक्थ्यौं । पुलिसले भेटाउँदैन थियो,’ किस्टले भने । किस्टका पाँच दाजु भाइ भए पनि जीवित रहेकामध्ये माइला उनी र साइँला भाइ मात्र हुन् । त्यसैले अरु धेरै आशा छैन जेनतेन गुजारा चलेकै छ, अरु सहयोग किन चाहियो भन्छन् उनी ।

चेपाङ समुदाय सीमान्तिकृत वर्गमा पर्ने आदिवासी हुन् । चितवनको विकट पहाडी भूभागमा उनीहरूको बसोबास छ । आजभन्दा पुग–नपुग आधा शताब्दी अगाडि राजनैतिक संघर्षमा भाग लिने चेपाङ कमै हुन्थे । दशरथ र सन्तबहादुर संघर्षमा होमिए । दशरथले गोली नै खाएर प्राण त्यागे । सन्तबहादुर जेलमा बिते । ‘घटना भएको लामो समयपछि भए पनि सहिद घोषणा गर्नु राम्रो थियो । तर घोषणामा मात्रै सीमित राखेर भएन,’ नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले भने । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully