सहिद परिवार भन्छन्, ‘बलिदानको सम्मान होस्’

माघ १६, २०८१

ज्योती श्रेष्ठ

Martyr's family says, 'Sacrifice should be respected'

काभ्रे — कोठाको एउटा कुनामा झुण्ड्याएको ठूलो तस्बिरमा लेखिएको छ, ‘राष्ट्रिय सहिद मुकेश कायस्थ’ । कोठाको अर्को कुनामा रहेको दराजमा मुकेशका कयौं तस्बिर राखिएका छन् । मुकेशका ६५ वर्षीय बाबु कृष्णमान यिनै तस्बिर हेरेर आफूलाई सम्हाल्छन् । ‘तस्बिर हेर्दा मुकेशलाई केही नभएझै लाग्छ,’ उनले भने, ‘जबकि, ऊ यो संसारमा छैन ।’

कृष्णमानको जीवनको लामो कालखण्ड एउटा अत्यासलाग्दो पर्खाइमा बितेको थियो । त्यो १७ वर्ष लामो पर्खाइ थियो, छोराले ‘बुबा’ भनेको शब्द सुन्न । मुकेश बितेपछि यो पर्खाइको पनि अन्त्य भयो ।

हिजोआज कहिलेकाहीं कृष्णमान मुकेशका साथीहरूसँग भेट हुन्छ । कहिलेकाहीँ मुकेशका साथी हामीलाई भेट्न आउँछन्, उनले सुनाए, ‘तिनीहरू पनि मुकेशझैं लाग्छ । उनीहरूलाई भेट्दा आँखामा आँसु नै थाम्न सक्दिनँ, मन भारी हुन्छ । उनीहरू आउँदा खुसी लाग्छ । तिनीहरू पनि मुकेशको झल्को दिलाएर जान्छन् ।’

कृष्णमान २०६२ चैत २७ गतेको दिनलाई कहिल्यै भुल्दैनन् । त्यही दिन त थियो, मुकेशको परिवारमा नसोचेको घटना घटेको । मुकेश त्यतिबेला १४ वर्षका थिए र कक्षा ८ मा पढ्थे । अन्तिम परीक्षा सकेर फुर्सदको समयमा थिए । २०६२/६३ को जनआन्दोलन उत्कर्षमा थियो । बनेपा–४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट ०६२ चैत २६ गते पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रे झन् आन्दोलित बनेको थियो । त्यो आन्दोलनमा मुकेश पनि सहभागी भए  । प्रतिगमनविरुद्धको आन्दोलनमा प्रहरी र सेनाले पानीको फोहोरा, लठ्ठी, अश्रुग्यास, रबरको गोली मात्र होइन, गोली नै चलाए । त्यही गोली कलिला मुकेशको कञ्चटमा लाग्यो ।

गोली लागेर गम्भीर घाइते भएका मुकेशलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगियो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंका विभिन्न अस्पताल पुर्‍याइयो । तर मुकेश निको भएनन् । उनी उठ्नै नसक्ने भए । कृष्णमान र आमा मीराले छोरालाई पूर्ववत् अवस्थामा फर्काउन अनेकन कोसिस जारी राखे अनेक ठाउँमा धाए, अनेक मान्छे भेटे । तर अहं केही भएन ।Martyr's family says, 'Sacrifice should be respected'

मुकेशजस्तै नागरिकले खाएको गोलीबाट व्यवस्था बदलियो । राजतन्त्र ढलेर संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो । शासनसत्तामा अनेक नेतृत्व आउने र जाने भयो । मुकेशलाई ‘जिउँदो सहिद’ भनियो । उनले ६ हजार २ सय ३५ दिन अर्धचेतमै बिताए ।

जीवन र मृत्युसँगको यो लामो लडाइँमा २०८० वैशाख २७ गते साँझ ६ः१३ बजे मुकेशले जीवनसँग हार खाए । ‘मेरो बाबु साथमा छैन, तर आज मलाई त्यो दिनको घटनाले झस्काइरहेको छ,’ आमा मीराले भनिन्, ‘जुन दिन जनआन्दोलनका लागि बनेपामा मानिस उर्लिएका थिए, त्यही दिनको सम्झना मलाई अझै पनि छ, जनआन्दोलनमा होमिएर कति सहिद भए, कति घाइते भए, उनीहरूको सपना सबै मिलेर पूरा गर्नुपर्छ ।’

सरकारले जनआन्दोलनका गम्भीर घाइते मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि ६ हजार २ सय भत्ता र एक नर्स उपलब्ध गराएको थियो । सरकारले २०७८ सालमा गठन गरेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको मूल्यांकन गर्दै मुकेशलाई ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।

सरकारले मुकेशको उपचार र उनलाई गरेको सम्मानप्रति सधैं आभारी रहेको मुकेशका बुबा कृष्णमानले बताए । उनका अनुसार सरकारले मुकेशलाई सहिद घोषणा गरिसकेको छ । तर, सहिदको परिवारलाई सरकारले दिनुपर्ने सेवासुविधा भने नपाएको उनले बताए । ‘सरकारले मुकेशलाई सहिद घोषणा त गर्‍यो,’ उनले भने, ‘सहिदको परिवारले पाउनुपर्ने अहिलेसम्म केही पाएका छैनौं, कागजातमा केही समस्या देखिएकाले सेवासुविधा प्रदान नभएको भनिएको छ ।’

सरकारले मुकेशको परिवारलाई सेवासुविधा दिनेभन्दा पनि सहिदको सम्झनामा केही राम्रो र उदाहरणीय काम गरिदिए हुन्थ्यो भन्ने लागेको कृष्णमानले सुनाए । ‘सरकारले दिने रकम त केही दिनका लागि मात्र हुन्छ,’ उनले भने, ‘मुकेशलाई सधैं सम्झनामा रहनका लागि उसको नाममा स्वास्थ्य संस्था, स्मृति पार्कजस्ता काम सरकारले गरिदिए हुन्थ्यो भन्ने लागेको छ ।’

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully