‘सहिद भनेका कांग्रेस, एमाले र माओवादीका भन्ने छ, जुन गलत हो'

सहिदको वर्गीकरणप्रति असन्तुष्टि

माघ १६, २०८१

प्रतीक्षा काफ्ले

”They say martyrs are from Congress, UML and Maoist, which is wrong”

कास्की — स्याङ्जाको पुतलीबजार नगरपालिका–८ मा जन्मिएका विजय ढकालको २०६१ पुस २९ मा तत्कालीन शाही सेनाले कास्कीको निर्मलपोखरीस्थित साम्नी भन्ने ठाउँमा हत्या गरेको थियो ।सानैदेखि राजनीतिक चेत भएका विजय पढाइमा पनि अब्बल थिए । पारिवारिक वातावरण राजनीतिक भएकै कारण परिवर्तनका लागि उनी माओवादी आन्दोलनमा होमिए । उमेर सानै भए पनि पार्टी जिल्लाको नेतृत्व सम्हालेका विजय शाही सेनाको नजरमा परे ।

उनका बुबा घनश्याम ढकाल पेसाले प्राध्यापक हुन् । पोखराको पीएन क्याम्पसमा अध्यापन गराउँदै आएका घनश्यामले लेखनबाट माओवादी आन्दोलनलाई सघाउँदै आए । विजय बाबुको राजनीतिबाट पनि प्रभावित भए ।

परिवार पोखरा बसाइँ सरेकाले विजय २०५६ सालमा कास्कीबाट जनयुद्धमा होमिए । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य हुँदै २७ वर्षको उमेरमा कास्की पार्टीको जिल्ला सेक्रेटरी बनेका विजय प्रखर वक्ताका रूपमा चिनिन्छन् । अहिले उनलाई सम्झिने साथीभाइले पनि निडर र स्पष्ट वक्ताका रूपमा सम्झिने गर्छन् । २०६८ मा जनयुद्ध मनाउने क्रममा घनश्यामको पनि ५८ वर्षको उमेरमा सडक दुर्घटनामा मृत्यु भयो ।

विजयको मृत्यु भएको भन्दा पनि परिवर्तनको आन्दोलनमा ज्यान गुमाएका सहिदको नामोनिशाना मेटिन लागेको गुनासो विजयकी आमा पारु ढकालको छ । पोखरा महानगरपालिका–८ रत्नचोककी ६९ वर्षीया ढकाल भन्छिन्, ‘रहर एकातिर हुन्छ, पीडा अर्कोतिर । छोरो भएको भए अहिले घरमा बुहारी हुन्थिन् । नातिनातिना हुन्थे । परिवर्तनको पक्षमा लड्दा ज्यान गुमाएको प्रति मलाई गर्व त छ । तर छोरो मर्यो भनेर पीडा हुनुभन्दा पनि छोरो लडेको परिवर्तन केका लागि ? कतै त्यो सपनाले बाटो त बिराएन भन्ने चिन्ता छ ।’

विजयले पर्वत, चितवन, नवलपरासी र रूपन्देहीमा गएर पनि काम गरे । पछिल्लो समय राजनीतिक दलले सहिदले देखाएको बाटो बिराउँदा भने सहिदको परिवारलाई धेरै पीडा भइरहेको  पारु बताउँछिन् । उनले सरकारले सहिद परिवारलाई सम्बोधन नगरेको प्रति चित्त दुखाइन् ।

‘हामीलाई लाभ लिम्ला भन्ने आश छैन,’ उनी भन्छिन्, ‘मेरो छोरा जस्तै अधिकारको पक्षमा लड्दा अरु जनताले ज्यान नगुमाए हुन्थ्यो भन्ने लाग्छ । देशको परिवर्तनका लागि लडेका सहिदलाई पार्टीको सहिद भन्दा चित्त दुख्ने हो ।’ उनले कांग्रेस–एमालेले माओवादीको सहिद भनेर सम्बोधन गरेको प्रति पनि गुनासो गरिन् । ‘अहिले त सहिदका नाममा व्यापार मात्रै भएको छ,’ उनले भनिन् । ”They say martyrs are from Congress, UML and Maoist, which is wrong”

पोखरा महानगरपालिका–५ पर्स्याङकी ३८ वर्षीया अनिता भूर्तेलले जनयुद्धका क्रममा बाबुआमा दुवै जनालाई गुमाइन् । आफू १६ वर्षकी हुँदा २०६१ वैशाख ३१ मा तत्कालीन शाही सेनाले बीभत्स हत्या गरेको थियो । सेनाको अपहरणमा परेका बाबु राजविक्रम (इन्द्रजीत) भूर्तेललाई भेट्न जाने क्रममा आमा सीताको पनि बीभत्स हत्या गरिएको अनिता बताउँछिन् ।

‘मेरो बुवा २०४६ सालको आन्दोलनमा पनि लड्नु भएको हो,’ अनिता विगत सम्झिन्छिन्, ‘२०४३ देखि ०४६ सम्म जेल बस्नुभयो । ०४६ को आन्दोलनपछि जेल मुक्त हुनुभयो ।’

कास्की जिल्लाको इन्चार्ज भएका इन्द्रजितलाई सेनाले कमजोर बनाएर पार्टीको सूचना लिनका लागि श्रीमतीको हत्या गरेको थियो । अनिता भन्छिन्, ‘बुबाकै अगाडि सेनाले बलात्कार गरेको थियो रे ! त्यसपछि बीभत्स हत्या गर्यो । हामीले मृत्यु भएपछि मात्रै थाहा पायौं ।’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको सूचना विजयले अनितालाई दिएका थिए । 

‘विजय दाइले बुबाआमाको हत्या भएको छ भन्नुभएन,’ उनी सम्झिन्छिन् । अस्पताल पुगेकी अनितालाई बाबुआमाको शव हेर्न दिइएन । शव कहाँ लगियो ? के गरियो ? अहिले पनि थाहा पत्तो नभएको उनले सुनाइन् । ‘लाश हेर्न सकिने अवस्थामा थिएन रे, त्यही भएर मलाई देखाइएन,’ रुँदै उनले भनिन्, ‘अन्तिमपटक झुलुक्क हेर्न मात्रै पनि पाइनँ । त्यो धोको नै रह्यो ।’ 

अनिताका ३ बहिनी र एक भाइ छन् । १६ वर्षको उमेरमा नै घरको जिम्मेवारी समालेकी अनिताले बाबुआमाको मृत्युपछि पार्टीबाट पनि साथ नपाएको गुनासो गरिन् । ‘पहिले नेताहरूको खाने र बस्ने मेरै घर हुन्थ्यो,’ उनी भन्छिन्, ‘बुवाआमाको मृत्यु भएपछि पनि नेताहरू घरमा आउने खाने, बस्ने गरे । त्यसपछि सहिद परिवार हो भनेर कहिल्यै सम्झिएनन् ।’ उनले सहिदका नाममा प्रतिष्ठान स्थापना गरी नेताका आफन्तले लाभ लिने गरेको भन्दै सहिदका परिवार नेताको छायामा परेको गुनासो गरिन् ।

इन्द्रजित २०५२ देखि नै भूमिगत भएका थिए । उनलाई पोखरा–२३ पामे लगेर हत्या गरिएको थियो । अनिताले परिवर्तनको पक्षमा भएको आन्दोलनलाई गर्वका रूपमा लिन्छिन् । तर, आन्दोलनको संरक्षण गर्न नसकिएको प्रति उनको चित्त दुखाइ छ । नयाँ पुस्तामा सहिदबारे बुझाउन नसकिएको उनी बताउँछिन् । सहिदको वर्गीकरण गरिएको प्रति उनले गुनासो गरिन् । अनिता सहिद प्रतिष्ठान पोखरा महानगरकी अध्यक्ष पनि हुन् । 

स्थानीय तहको पाठ्यक्रममा पनि सहिदको विषय सम्बोधन हुनुपर्ने पोखरा–८ की सिर्जना ढकाल बताउँछिन् । परिवर्तनको पक्षमा ज्यान गुमाएका २००७ साल, पंचायतविरुद्धको आन्दोलन २०१८, २०३६, २०४६, झापा आन्दोलन र जनयुद्धको समयमा ज्यान गुमाएका सबै सहिदलाई सम्मान गर्नुपर्ने उनको तर्क छ । ‘सहिद भनेका कांग्रेसका, एमालेका र माओवादीका भन्ने छ,’ उनी भन्छिन्, ‘यो गलत हो । २००७ का कांग्रेसका सहिद, झापा आन्दोलनका एमालेका सहिद र जनयुद्धका माओवादीका सहिद भनिन्छ । देशका हुनुपर्ने पार्टीका किन बनाइयो ?'

जनयुद्धका क्रममा उनले दाइ गुमाइन् । घरको जेठो सन्तानको मृत्यु भएपछि घरको सबै जिम्मेवारी सिर्जनाले समाल्नुपर्‍यो । सिर्जनाकी एक बहिनी छन् । सरकारबाट पदको लाभ लिँदैमा सहिदको सपना पूरा गर्न नसकिने उनको भनाइ छ । ‘सहिदलाई स्थापित गर्ने माध्यम के हुन सक्छ ? के राजनीतिक दल सहिदप्रति इमान्दार छन् त ? यसतर्फ सोचौं न !’ उनले भनिन्, ‘मुख्य कुरा राजनीति हो । राजनीति नै सही छैन । सहिदको सपना कसरी साकार हुन्छ ?’

सहिदका सपना एकातिर रहेको र सरकारको ध्यान व्यापारीतिर भएको उनी बताउँछिन् । आधारभूत आवश्यकता सम्बोधन भए कहिल्यै गुनासो नआउने सहिद परिवार बताउँछन् । सहिदका परिवारलाई शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने र रोजगारीको व्यवस्था सरकारले गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतीक्षा

Link copied successfully