गोरखा — राणा शासनविरुद्ध पहिलो पटक विद्रोह गर्ने लखन थापाका सहयोद्धा जयसिंह चुमी मगरका चौथो पुस्ताका सन्तान हुन्, रत्नसिंह । ९० वर्ष टेकेका रत्नसिंहको एउटै माग छ, ‘मेरो बाजे (जयसिंह) लाई सहिद घोषणा गर्नुपर्यो ।’
वि.सं. १९३३ फागुन २ मा लखन थापासँगै जयसिंह चुमी मगरलाई हालको सहिद लखन गाउँपालिका–७ काहुले भंगारमा तत्कालीन राणा सरकारले झुण्ड्याएर फाँसी दिएको थियो ।
तत्कालीन गोरख गणमा कार्यरत लखन र जयसिंह १९२७ सालमा एकमहिने बिदामा आएपछि पल्टनमा नफर्की जनविद्रोह सुरु गरेका थिए । काउले भंगारमा किल्लाले घेरी दरबार बनाए । दरबार सम्हाल्न जिम्मा उनै चुमीले पाएका थिए । राणा शासनविरुद्ध विद्रोह गरेको भन्दै राणा प्रधानमन्त्री जंगबहादुरको आदेशमा १९३३ फागुन २ मा एकैदिन उक्त किल्ला परिसरमा लखन र चुमीलाई मृत्युदण्ड दिइएको थियो । उनै जयसिंह चुमी मगरलाई सहिद घोषणा गर्नुपर्ने माग पटक/पटक उठ्दै आएको छ ।
२०५६ सालमा मन्त्रिपरिषद् बैठकले लखन थापालाई सहिद घोषणा गरेको थियो । २०७२ असोज ३ को तत्कालीन मन्त्रिपरिषद् बैठकले लखन थापालाई नेपालकै पहिलो सहिद भनी घोषणा गर्यो । थापासँगै मृत्युदण्ड पाएका जयसिंह भने अहिले पनि राज्यको उपेक्षामा परेको स्थानीयको गुनासो छ ।
‘त्यो बेला दाहिनेपट्टि लखन थापालाई र देव्रेपट्टि जयसिंहलाई राखी फाँसी दिएको रहेछ,’ रत्नसिंह भन्छन्, ‘एउटै रगत मिसिएर मरेको हो, ठूलो चाहना केही छैन, यो उमेरमा बाजे (जयसिंह) सहिद घोषणा भएको सुन्न पाए पुग्थ्यो ।’
राणाशासनविरुद्ध पहिलो विद्रोह गर्ने लखन थापाको विद्रोही किल्ला परिसरमा अघिल्लो वर्ष जयसिंह चुमी मगरको शालिक स्थापना गरिएको छ । ‘शालिक बनाउने भनेको सुन्दा पनि खुसी लाग्यो, कसैले जग्गा नदिए मेरो जग्गा दिन्छु भनिदिएँ,’ उनले भने, ‘पछि सालिक बन्यो, खुसी लाग्यो ।’
काहुले भंगारसहित, दर्वुङ, राना गाउँ, वीरेन्चोक, ताक्लुङमा छरिएर बसेका जयसिंहका पछिल्लो पुस्ताका ४३ परिवार छन् । नेपालकै राजनीतिक विद्रोही चेतना ल्याउने पहिलो योद्धा लखन थापालाई नेपालको पहिलो सहिद घोषणाका बेला पनि जयसिंह चुमी मगरलाई सहिद घोषणा गर्न माग गरिएको थियो । २०७८ कात्तिक २६ गतेको सहिद लखन गाउँपालिकाको कार्यपालिका बैठकबाट निर्णय गराएर जयसिंह चुमी मगरसहितका योद्धालाई प्रदेश र संघ सरकारसमक्ष सहिद घोषणाको माग पनि गरिएको थियो ।
लखन थापा र जथयसिंह चुमी मगरसँगै राणा शासनविरुद्ध विद्रोह गरेको भन्दै फाँसीको सजाय सुनाएका विराज थापा, जुठ्या थापा, जीतमान गुरुङ, अछामी मगर र अजपसिंह थापालाई पनि फाँसी दिइएको थियो ।
‘त्यो बेला दाहिनेपट्टि लखन थापालाई र देव्रेपट्टि जयसिंहलाई राखी फाँसी दिएको रहेछ । एउटै रगत मिसिएर मरेको हो, ठूलो चाहना केही छैन, यो उमेरमा पनि सहिद घोषणा भएको सुन्न पाए पुग्थ्यो ।’
-९० वर्षीय रत्नसिंह
लखन थापालाई जनविद्रोहमा साथ दिएका सुपती गुरुङ, सुकदेव गुरुङ, कालु लम्साल, सन्त ज्ञानदिल दास, कुराल राना मगरलाई प्रजातान्त्रिक योद्धाका रूपमा घोषणा गर्न कार्यपालिका बैठकबाट निर्णय गराएर सिफारिस गरिएको उनले बताए ।
‘पहिलो जनक्रान्तिमा लागेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकालाई प्रजातान्त्रिक योद्धाका रूपमा राज्यले घोषणा गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने । लखन थापाको किल्ला रहेको स्थलमा ‘नेपालका प्रथम सहिद लखन थापा मगर तथा जयसिंह चुमी प्रजातान्त्रिक’ क्लब नामकरण गरिएको छ । उक्त क्लबको आयोजनामा प्रत्येक वर्षको फागुन २ मा स्मृति दिवस मनाउने गरिन्छ ।
गाउँपालिकाको नामकरण पनि लखन थापाका नामबाट भएको छ । गाउँपालिकाले प्रत्येक वर्षको फागुन २ मा पालिकाभरि सार्वजनिक बिदा पनि दिँदै आएको छ । पहिलो सहिद घोषणा भएका लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग पनि प्रतिष्ठानले अघि सार्दै आएको छ ।
जयसिंह चुमी मगरलाई सहिद घोषणाका लागि अभियान संचालन गर्दै आएको प्रतिष्ठानका संस्थापक अध्यक्ष रुलबहादुर आलेले बताए । ‘पुस्तकहरू प्रकाशन गर्ने काम भइरहेको छ, पटक–पटक ज्ञापनपत्र पनि बुझाएका छौं,’ उनले भने, ‘सहिद घोषणा हुनुपर्यो भनेर अभियान निरन्तर चलिरहेको छ ।’
विद्रोहीको किल्ला रहेको काहुले भंगरलाई पर्यटकीय स्थलका रूपमा परिचित गराउन पनि विभिन्न संरचना निर्माण गरिएको छ । परम्परागत घुमाउने घर, पोखरी, लखन थापा, जयसिं चुमी मगरको सालिक स्थापना गरिएको छ ।
