रुकुम पूर्व — रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटस्थित आफ्नै घरको छतमा टोलाइरहेकी थिइन्, लपा केसी । २२ वर्षअघि मारिएका उनका श्रीमानबारे कुरा कोट्याउँदा निकैबेर उनी भावुक पनि बनिन् । कुराकानीका क्रममा धेरैपल्ट उनको गला अवरुद्ध भयो । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र संघर्षका क्रममा सहिद भएका थिए लपाका श्रीमान लक्षिराम केसी अर्थात् ‘कमरेड पवन’ ।
रुकुम जिल्लाअन्तर्गत साबिकको प्वाङ गाविस–१ सिउरेनी (हालको सिस्ने गाउँपालिका–२, रुकुम पूर्व)का पवन आफ्नो सारा जयजेथा बेचेर आफूसँगै परिवारलाई समेत पार्टी काममा लगाएका थिए । रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिकाको गरायलामा पार्टी काममा लागेका बेला तत्कालीन ‘शाही नेपाली सेना’ले बीभत्स तरिकाले उनको हत्या गरेको थियो ।
२०५९ मंसिर ९ गतेको दिनलाई कालो दिन मान्छिन् लपा । ‘पार्टीको जिम्मेवारी भनेपछि घर–परिवारसमेत माया मारेर काममा लाग्ने उहाँको स्वभाव थियो,’ उनले भनिन्, ‘त्यसबेला नेताहरूको सम्पत्ती सबै पार्टीकरण गर्नुपर्छ भनेपछि हामीले पनि यता (घरतिरको)को सबै सम्पत्ती बेचेर उहाँकै पछिपछि लागेर गरायला पुगेका थियौं । त्यहाँ पुगेको केही समयमै उहाँलाई मारिदिए ।’
लपाका अनुसार त्यसबेला पवन साबिकको गरायलासँगै आसपासका अरु चारवटा गाविस समेटेर बनाइएको एरियाको इन्चार्ज थिए । त्यस भेगमा हुने सबै पार्टी गतिविधि उनकै नेतृत्वमा हुने गर्दथ्यो । जिल्ला सदरमुकामदेखि धेरै टाढा नभएको गरायला क्षेत्र जतिबेला पनि सेना–प्रहरीको घेराबन्दीमा पर्न सक्थ्यो । तर यही जेखिम उठाएका थिए पवनले । 
पवनकाे फाइल तस्बिर
२०५९ मंसिर ८ गते पार्टीका विभिन्न जनवर्गीय संगठनको बैठकमा सहभागी हुन घरबाट निस्किए पवन । आफ्नै कार्यक्षेत्र अन्तर्गतको भलाचौरमा दिनभरि बैठकहरू सम्पन्न गरेर त्यस दिन उतै बास बसे । त्यो बेला अहिलेको जस्तो संचारसम्पर्क थिएन । तर पवनले पार्टी सम्पर्ककै माध्यमबाट आफू कहाँ छु, कस्तो अवस्थामा छु भनेर बेला–बेलामा जानकारी गराइरहन्थे र त्यो बेला पनि गराएका थिए ।
भोलिपल्ट बिहान झिसमिसेमै पवन आफू बास बसेको ठाउँबाट पार्टी कार्यालयतर्फ जाँदै गर्दा एक्कासि सेनाको घेरामा परे । अनि उनी पक्राउ परे । जिल्ला सदरमुकामबाट आएको सेनाको टोलीले आसपासमा अरु माओवादीहरू पनि खोज्यो । त्यही क्रममा भेटिएका अर्का एक जना माओवादी कार्यकर्तालाई ठाउँको–ठाउँ गोली हानेर हत्या गरियो । माओवादीले अघिल्लो दिन बैठक बसेको ठाउँमा छापा मारेपछि अर्का एक जना विनोद नाम गरेका माओवादी कार्यकर्तालाई फेला पारेर गिरफ्तार गर्यो । त्यसबेला धेरै माओवादी नेता–कार्यकर्ताहरू भागेर ज्यान बचाउन सफल भए ।
उसै दिन पवन र विनोदलाई साबिकको सिम्ली गाविसको सुलिहाले नजिकै रहेको पीपल चौतारामा पुर्याई रुखमा बाँधेर गोली हानी बीभत्स तरिकाले हत्या गरियो । ‘गाउँमा सैनिक आएको थाहा भएपछि भागाभाग भयो । तर हामीले भने उहाँकै खोजी गर्यौं,’ लपाले भनिन्, ‘यस्तो हुदाँसम्म पनि परिवारको नजिक किन आउनुभएन भन्ने भयो । त्यसबेला हामी पार्टीकै सहयोगमा जंगलमा गएर लुकेका थियौं । उहाँका बारेमा सोधीखोजी गर्दा थाहा भयो, उहाँ त सहिद भैसक्नुभएको रहेछ ।’
त्यसबेला कम्तीमा अन्तिमपल्ट अनुहार हेर्न पाएको भए पनि हुन्थ्योझैं लागिरहेको उनले सुनाइन् । दुई छोरा, एक छोरीसहित पार्टी काममा लागेका पवनको हत्यापछि परिवार साबिककै गाउँ (तिप्तरा) फर्कियो । जसोतसो जीवन गुजारा चल्दै गयो । समय बित्दै गयो । अहिले लुमाका दुई छोरामध्ये ३४ वर्षीय जेठा छोरा विनोद वैदेशिक रोजगारीमा छन् । कान्छा छोरा ३२ वर्षीय जीवन रुकुमकोटमा होटल व्यवसायसँगै माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य भएर काम गरिरहेका छन् भने छोरी २७ वर्षीया समीक्षा सामान्य घरगृहस्थीमै व्यस्त छिन् । 
पवन दम्पती
त्यसबेलाका नाबालक सन्तान हुर्किबढेर आ–आफ्नो काममा जुटेको अनि नाति–नातिनासँग रमाउँदै लपा रमाए पनि यहाँसम्म आइपुग्न आफ्नो परिवारले गरेको संघर्षको कहानी लामो रहेको लपाले सुनाइन् । ‘तीन सन्तानको लालन–पालन गर्न मलाई फलामको चिउरा चपाएझैं भयो,’ उनले भनिन्, ‘तर परेपछि नगरी नहुने रहेछ । छोराछोरीले पनि नराम्रो बाटो समातेनन्, घरको दुःख बुझेर अघि बढे । श्रीमानको अभाव त कहिले पूरा होला र ! तर सन्तानको कर्मले सन्तुष्ट छु ।’
माओवादी आन्दोलनको सुरुवाती चरणदेखि नै पूर्णकालीन कार्यकर्ता भएर हिँडेका पवन पार्टीले दिएको जिम्मेवारी पूरा गर्न डटेर लाग्ने गरेको उनका तत्कालीन सहयोद्धा पूर्वमन्त्री गणेशमान पुन बताउँछन् । ‘उहाँ अन्ततः जुझारु, क्रान्तिकारी र इमान्दार नेता हुनुहुन्थ्यो,’ उनले भने, ‘पार्टी काममा निकै प्रतिबद्ध भएर काम गर्ने अनि कार्यकर्ताहरूको सुरक्षा र संरक्षण गर्ने उहाँको स्वभाव थियो । अहिले यहाँ भैदिएको भए हाम्रो अग्रज नेता भएर काम गरिरहनुभएको हुन्थ्यो होला ।’
घरमा आउँदा पनि प्रायः बास बस्ने गरी नआउने र आइहाले पनि भित्रबाट बाहिर एकैचोटि जाने बेला निस्किने गरेको लपा बताउँछिन् । ‘घर आएका बेला परिवारमा पनि पार्टीमा लाग्नुपर्छ, आन्दोलनमा जोडिनुपर्छ भनेर हामीलाई समेत उक्साउनुहुन्थ्यो । पारिवारिक सुख–दुःखभन्दा पनि उहाँलाई त देश, जनता र पार्टीकै चिन्ता थियो,’ उनी विगत सम्झिँदैं भन्छिन्, ‘देश बनेपछि मात्रै आफ्नो घर–पविार बन्ने, आफूहरू बन्ने हो भनेर प्रशिक्षण गर्नुहुन्थ्यो, त्यस बेला पनि हामीलाई ।’
आफ्ना बाबाको हत्या हुने बेला सैनिकले ‘मर्छस् कि आत्मसमर्पण गर्छस्’ भनेर सोध्दा ‘आफू कसैका अघि नझुक्ने’ भनेर कराएको कुरा बाबाको मृत्युपछि गाउँकै कसैले सुनाएको छोरा जीवन बताउँछन् । ‘बालाई ‘उहाँ शिक्षक हुनुहुन्छ’ भनेर बचाउन पनि खोजिएको थियो रे त्यस बेला तर उहाँको झोलामा पार्टी कागजातहरू भेटिएपछि सैनिकले छोडेनन्,’ जीवन थप्छन्, ‘जेहोस् बाले आत्मसमर्पण हैन, मृत्यु रोजे ।’
जनयुद्धकालमा पवन
परिवर्तनका लागि आफ्नो ज्यानको आहूति दिएका आफ्ना बाप्रति गर्व छ जीवन र उनको परिवारलाई । ‘बाको मृत्यु परिवारका लागि अपूरणीय क्षति थियो । तर, परिवर्तनका खातिर थियो । लोकतन्त्रका पक्षमा थियो,’ जीवनले भने, ‘यसकारण हामीलाई बाप्रति गर्व छ ।’
अघिल्लो कार्यकालमा सिस्ने गाउँपालिका–२ को वडाध्यक्षसमेत निर्वाचित भएर काम गरेका जीवन अहिले पनि पार्टी काममा डटेर लागेका छन् । ‘उहाँले देखको सपना अझै पूरा भएको छैन,’ जीवनले भने, ‘यसकारण म हाम्रा बाकाको भन्दा पनि कमरेड पवनको सपना पूरा गर्न राजनीतिमा लागेको छु ।’
आफ्ना बाजस्तै कयौंका बा–आमा, श्रीमान–श्रीमती र दाजु–दिदीहरूले बलिदान दिएर अहिलेको व्यवस्था ल्याएकामा नयाँ पुस्ताले यसै आएको हो भन्दा जीवनलाई चित्त दुख्छ । ‘माओवादी आन्दोलन र जनयुद्ध कुनै खेलाँची थिएन । परिवर्तनको एउटा रातो झिल्को थियो,’ उनले भने, ‘त्यही झिल्कोले आज जगतमा उज्यालो छाएको छ, सबैलाई न्यानो भएको छ । तर मान्छेहरू नजिकको कुरा मात्रै हेर्छन् । यो उज्यालो र न्यानो ल्याउन कतिले आफ्नो जीउ–ज्यान आगोमा झोसेका हुन् भन्ने कुरा वास्ता गर्दैनन् ।’
