‘जसले छातीमा गोली खाएर देशका लागि रगत बगायो, उसैको सम्मान नहुँदा दुःख लाग्छ’

माघ १६, २०८१

रुपा गहतराज

”He who took a bullet in the chest and shed his blood for the country, it is sad that he is not respected”

बाँके — लालबहादुर थारुलाई अहिले पनि आफ्ना हजुरबा बैजनाथ थारुको नाम लिँदा गर्वको अनुभव हुन्छ । नहोस् पनि किन ? उनका हजुरबाले राणा शासनविरुद्ध नेपाली कांग्रेसका तर्फबाट किसान आन्दोलनको नेतृत्व गरेका थिए । त्यही नेतृत्वका कारण उनलाई तत्कालीन शासकहरूको निर्देशनमा भारतीय सैनिकले निर्मम कुटेका थिए । अनि यही कुटपिटका कारण २००७ चैत १४ मा उनको निधन भएको थियो ।

बैजनाथको सम्मानमा अहिले बाँकेमा तत्कालीन चिसापानी, नौबस्ता, बनकटवा र टिटिहिरिया गाविस गाभेर बनाइएको गाउँपालिकाको नाम नै बैजनाथ गाउँपालिका राखिएको छ । साबिकको वनकटवा वडा नं. ३ मा जन्मेका बैजनाथ अहिले पनि यस क्षेत्रमा सहिदका रूपमा सम्झिने नाम हो ।

लालबहादुरले हजुरबाको सहादतलाई नागरिक समाज र राजनीतिक दलहरूले सम्मान गर्नुपर्ने बताए । भने, ‘सहिद नामकरण गरेर मात्रै हुँदैन, उनको सम्मान पनि निरन्तर गरिराख्नुपर्छ ।’ उनले हजुरबाको सम्मानमा एउटा सालिकसमेत नबनाउँदाको दुःख सुनाउँदै भने, ‘जसले आफ्नो छातीमा गोली खाएर देशका लागि रगत बगायो, उसैको सम्मानसमेत नहुँदा दुःख लाग्छ । ’

स्थानीय कांग्रेस नेता सनत रेग्मीले सहिद बैजनाथ तत्कालीन व्यवस्था परिवर्तनका निम्ति संघर्षशील एउटा क्रान्तिकारी योद्धा भएको बताए । उनले त्यतिबेला बैजनाथको हत्या गर्न भारतीय सेनाले सिंगो पेडारी गाउँलाई घेराबन्दी गरेको बताउँदै भने, ‘भारतीय सेनाको बन्दुकको कुन्दा र बुटको निर्घात कुटाइबाट थलिएका बैजनाथको उपचारका क्रममा मृत्यु भयो ।’

कांग्रेसका अर्का स्थानीय नेता युवराज शर्माले बैजनाथलाई क्रान्तिकारी नेताका रूपमा सम्झिए । पश्चिम तराईका जिल्लासँगै देशैभर जमिन्दार र राणा शासकको अन्याय, अत्याचार, शोषण र दमन बढ्दै गएका बैजनाथ क्रान्तिमा होमिएको उनले बताए ।

बैजनाथ गाउँपालिका- ७ पेडारीका वडाध्यक्ष दिनेश थारुले बैजनाथको सम्झनामा पालिकामा बैजनाथ प्रतीक्षालय निर्माण गरिएको र उनको सम्झनामा बाँकेमा एउटा संग्रहालय निर्माण हुन लागेको बताए । उनले भने, ‘नयाँ पुस्ताले पनि बैजनाथको इतिहास सम्झिन जरुरी छ ।’ पालिका अध्यक्ष प्रकाश शाहीले बैजनाथको योगदानको कदर गर्दै सम्मान र सम्झनाका लागि सिंगो गाउँपालिकाको नाम समेत उनकै नाममा राखिएको बताउँदै भने, ‘उहाँ थारु समुदायको नेतामात्र नभई सिंगो नेपाल राष्ट्रको मुक्तिकामी गरिब किसानको नेता हुनुहुन्थ्याे ।’

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully