जर्जर जिन्दगी बिताउँदै ‘जुगेडी संघर्षका योद्धा’

राजनीति गर्न भन्दै संघर्षमा लागेका उनलाई पक्राउ गरेर डाँका मुद्दामा जेल हालियो, ७ वर्षपछि छुटेर आउँदा श्रीमती घर छाडेर अन्तै गइसकेकी थिइन् । एक्लिएका उनले पुनः राजनीतितिर वास्ता राखेनन् । गोपालको हालत ४५ वर्ष पहिलेकै जस्तो छ ।

असार ६, २०८०

रमेशकुमार पौडेल

चितवन — गोपाल भनेर चिनिने उनको नागरिकताको नाम हो गोफले प्रजा । प्रजा अर्थात् चेपाङ समुदायको बसोबास क्षेत्र चितवनको पहाडी गाउँ मायाटारमा छ उनको घर । भरतपुरभन्दा केही चिसो भएकाले खडेरी परे पनि मायाटारमा मकै ओइलाएका छैनन् । हालैको एक दिन मकैबारीको आलीमा टुक्रुक्क बसेर गोपाल घुँडामा टाउको राखेर निदाइरहेका थिए ।

उल्टो पारेर लगाएको निकै पुरानो टोपी, कुममा धुजाधुजा भएको पुरानो टिसर्ट । पुरानो मैलो अस्कोट लगाएकाले टिसर्टका अरू धुजा छोपिएका थिए । खुर्पेटोको डोरीले कम्मर कसेका उनको कम्मरमुनिको पहिरनको पनि उस्तै बिजोग थियो । ठाउँठाउँमा टालेको र टाल्न नभ्याएका भ्वाङहरू भएको सुरुवाल लगाए पनि खुट्टा खाली नै थिए । पहिरनले नै उनका दुःख दर्शाइरहेका थिए । 

***

कसैलाई यस्ता दुःख नहोस् भन्न संघर्षमा होमिएका व्यक्ति हुन् गोपाल । दुःखी–गरिबको जर्जर अवस्था बदल्न भनेर पञ्चायती शासनकालमा संघर्षमा उत्रेका कारण उनी करिब सात वर्ष जेल बसे । त्यसयता पटकपटक व्यवस्था बदलिए पनि अवस्था उस्तै त रह्यो । गोपाल अहिले पनि खानलाउन धौधौ हुने उति बेलाकै अवस्थामा जिउन बाध्य छन् । 

असार ६ गतेलाई सत्ताधारी माओवादी केन्द्र र माओवादीका अन्य घटकले ‘जुगेडी संघर्ष दिवस’ नामले मनाउँछन् । तर त्यही संघर्षमा होमिएका ‘गोफले’को दुर्दशा सम्झने फुर्सद भने कसैलाई हुँदैन । विसं २०३४ असार ६ मा चितवनको जुगेडीमा एउटा घटना भएको थियो ।

अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङको अगुवाइमा भएको राजनीतिक संघर्ष भनेर वामपन्थीहरू त्यसलाई सम्झने गर्छन् । त्यो संघर्षमा घटनास्थलमै दुई जना चेपाङ मारिएका थिए । ‘गोफले’ जस्ता केही जेल परे । तर न मारिएका चेपाङलाई सहिद घोषणा गरियो, न त बाँचेका ‘योद्धा’को जीवन सुध्रियो । तर दिवस मनाउन भने छाडिएको छैन । ‘हामीले २०४८ सालदेखि जुगेडी संघर्ष दिवस मनाउन लाग्यौं । यो असार ६ मा पनि काठमाडौंमै कार्यक्रम छ,’ सत्तारूढ माओवादी निकटको अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठले भने । 

रूपलाल विश्वकर्मा चितवनलाई आधार बनाएर राजनीति गर्दै राष्ट्रिय तहमा चर्चामा आएका व्यक्ति हुन् । उनैको संगठनले गरेको घटना हो जुटपानी संघर्ष । ३० को दशकमा मुलुकका कम्युनिस्ट पार्टी टुटफुटका चरणबाट गुज्रिरहेको थियो । पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको समर्थक रहेर सोही संगठनमा राजनीति गर्दागर्दै पछि त्यहाँबाट पनि अलग भएर आफ्नै नेतृत्वमा संगठन खोलेका व्यक्ति हुन् रूपलाल । पुष्पलाल समूहमा सक्रिय रहेका बेला नै रूपलालले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विसं २०२८ मा पार्टी सदस्यता दिएका हुन् । तर पछि रूपलाल र दाहाल उक्त समूहमा रहेनन् । सँगै पनि भएनन् । ३० को दशकमा झापाली समूह र चौथो महाधिवेशन समूह चितवनको राजनीतिक प्रतिस्पर्धामा रहँदा पुष्पलाल समूह पनि अस्तित्वमा त थियो तर एकाएक चर्चामा आयो ‘जुगेडी संघर्ष’ गराउने रूपलालको समूह । 

रूपलाल २०२९ सालमा पुष्पलाल सूमहबाट अलग भएपछि ‘किसान संघर्ष समूह’का नाममा राजनीतिक गतिविधि गरेको ‘नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा’ पुस्तकका लेखक तथा इतिहासमा विद्यावारिधि भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र रेग्मीको भनाइ छ । उक्त समूहले चितवनको पहाडी क्षेत्र जहाँ गोपालको गाउँ मायाटार पनि छ, त्यतातिर सांगठनिक गतिविधि विस्तार गर्न थाल्यो ।

‘हामी पहाडका भीरपाखा उक्लेर चेपाङ गाउँमा पुगेका थियौं । उनीहरूका घरघरमा आटो, पिठो, गिट्ठा, तरुल सिस्नो खाएर राजनीतिक प्रशिक्षण र संगठन निर्माण गरेका थियौं,’ माओवादी केन्द्रबाट हाल प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले भने । हाल नारायणगढ–मुग्लिन सडक आडमा पर्ने जुगेडी बजारमा त्यो बेला धर्म साहू भनिने धर्मलाल मुल्मीको ठूलो पसल थियो । संगठन निर्माणमा जनतालाई परेका समस्या सुन्ने अभियानअन्तर्गत ‘मुल्मीले अत्याचार गरेको’ विवरण आएपछि पहाडी भेगमा चेपाङ, दलित र गुरुङहरूले उनीविरुद्ध संघर्ष गरेको बरालीले बताए । ‘लामो समय राजनीतिक प्रशिक्षण चल्यो । साथै जुगेडीका साहू–महाजनले अत्याचार गरे भन्ने जनगुनासोलाई मिहिन पाराले अध्ययन गरेर उनीविरुद्ध कारबाही गर्नुपर्ने निष्कर्ष निस्कियो, पछि पहाडका जनताले नै कारबाही गरे,’ बरालीले भने ।

बराली उक्त घटना राजनीतिक निर्णय र राजनीतिक अभियानअन्तर्गत नै भएको भन्ने दाबीमा कायम छन् । ‘गोफले’ चेपाङसहित मायाटा वरपरका २०/३० जना जुगेडीका लागि हिँडेका थिए । जुगेडीमा अन्य गाउँबाट पनि मानिसहरू आएकाले ‘कारबाही’ गर्ने समूह ठूलो थियो भन्छन् उनी । ‘असार मास जहिल्यै अनिकाल लाग्ने हो । अनिकालको मेसोमा साहू–महाजनले निकै ठग्छन् अब जनताले उनीहरूको अन्न खोस्नुपर्छ भनेर हामी त्यहाँ गएका थियौं,’ गोफलेले भने । 

चितवनको इच्छाकामना–२ मायाटारस्थित आफ्नो मकैबारीमा गोपाल चेपाङ । जुगेडी संघर्षमा सामेल भएपछि पक्राउ परेर ७ वर्ष जेल परेका उनी गुमनाम जीवन बिताउँदै छन् । तस्बिर : रमेशकुमार/कान्तिपुर

असार ६ को बिहान झिसमिसेमै सुरु भएको ‘कारबाही’ अन्तर्गत अनेक ठाउँबाट जुगेडी गएका सर्वसाधारणले धर्मलाल मुल्मीको गोदाममा रहेको अन्न कब्जामा लिए । आडैको सानुलाल जोशीको कपडा पसलमा पसेर सामान झिके । अन्न र अन्य समान बोकेर ‘कारबाही’मा आएकाहरू उकालो लागे । नारायणगढबाट जुगेडी १० किलोमिटर पर्तिर छ । यो खबर नारायणगढ प्रहरीमा पुग्न धेरै बेर लागेन । यता जुगेडीबाट हिँडेकाहरू दुई घण्टा उकालो चढेपछि सिमलचौर भन्ज्याङमा पुगेर सामान बाँड्न थाले । त्यहीबेला प्रहरी पुगेर कारबाही गर्‍यो । प्रहरीले गोली चलाउँदा दशरथ चेपाङको घटनास्थलमै निधन भयो । भाग्न लागेका सन्तबहादुर चेपाङ भीरबाट खसेर घाइते भए । घाइते सन्तबहादुरलाई पनि पुलिसले गोली हानेर ज्यान लिएको विवरण आफूले पाएको इतिहासकार रेग्मीले बताए । 

पक्राउ परेकामध्ये नन्दलाल चेपाङको जेलमै र रुद्रबहादुर चेपाङको जेलबाट छुटेपछि निधन भएको थियो । ‘प्रहरी आएपछि हामी भाग्यौं । दिनभर जंगलमा दबेर बसेको हो । तर साँझ कता कताबाट प्रहरीले समायो,’ गोपालले भने । आफूसँगै हपनीका नन्दलाल चेपाङ र गुछिबाङका पूर्णबहादुर पनि पक्राउ परेको उनले बताए । उक्त घटनामा सात जना पक्राउ परेको इतिहासकार रेग्मीले आफ्नो पुस्तकमा लेखेका छन् । ‘भोकमारीको समस्या थियो । यही गाउँका नेता सुन्दर चेपाङले लौ जाम भने पनि दोकानको चामल झिक्न भनेर गएका हौं,’ गोपालले सुनाए । जेल पर्दासम्म उनको नाम गोपाल नै थियो । लगभग सात वर्ष जेल बसेर उनी घर आए । तीन वर्ष भरतपुर र अरू समय वीरगन्ज जेलमा बसे । जेलबाट छुटेर २०४१ जेठमा गाउँमै आएको टोलीबाट नागरिकता लिँदा उनको नाम गोफले बनेको हो । 

विसं २००२ मा जन्मेका उनी नागरिकता बनाउँदा ३९ वर्षका थिए । त्यतिबेला नागरिकतामा जन्ममिति नलेखेर उमेर लेख्ने चलन थियो । टोलीले उमेर ३९ लेख्दा नौ अंकलाई अलि फरक ढंगले लेखेको छ । यसो हेर्दा ३२ जस्तो भान पर्छ । त्यसैले अलमल भएर वृद्धभत्ता पाउन पनि ढिला भएको उनी बताउँछन् । राजनीति गर्न भन्दै संघर्षमा लागेका उनी डाँका मुद्दा लागेर जेल बस्नुपर्‍यो । सजाय कटाएर आउँदा श्रीमती अर्कैसँग बिहे गरेर गएकी थिइन् । जेलबाट फर्केपछि उनले राजनीतितिर वास्ता राखेनन् र खेतीपाती गरेर बसे । गाउँका सुन्दर चेपाङबाहेक अरू कोही नेता नचिनेको उनले सुनाए । सुन्दर पनि गतवर्ष बिते । गोपालको घरको हालत ४५ वर्ष पहिलेकै जस्तो छ । कोही नेताले वास्ता नगरेको उनको दुखेसो छ ।

जुगेडी घटनालाई तत्कालीन सरकारले ‘डाँका समूहले लुटपाट’ गरेको र त्यसमा संलग्नलाई कारबाही गरेको बताएको थियो । तर नेपाली राजनीतिक वृत्तमा यसले राम्रो चर्चा पायो । उक्त घटनापछि रूपलालको चर्चा बढ्न थाल्यो । त्यसपछि उनले अन्य समूहसँग एकीकरण गरेर नेपाल मजदुर किसान संगठन खोले । यो प्रक्रिया बढ्दै गएर रूपलालको नेतृत्वमा नेपाल सर्वहारावादी श्रमिक संगठन गठन भयो । रूपलालको सोही संगठनसहित पुष्पकमल दाहाल र अन्य तीन कम्युनिस्ट समूह मिलेर २०४७ मा नेकपा एकता केन्द्र बन्यो । पछि एकता केन्द्र फुटेर दाहालले माओवादी पार्टी गठन गरेर ‘जनयुद्ध’ सुरु गरेका थिए । 

‘०४७ सालमा पार्टी एकीकरण भएपछि हामीले जुगेडी संघर्षमा राज्यले हत्या गरेकालाई सहिद मानेर ०४८ सालबाट जुगेडी संघर्ष दिवस मनाउँदै आएका हौं,’ माओवादी केन्द्रका किसान नेता चित्रबहादुर श्रेष्ठले भने । राज्यले औपचारिक रूपमा सहिद घोषणा भने नगरेको उनले बताए । ०५३ मा आफूले गठन, पुनर्गठन र एकीकरण गर्दै ल्याएको नेकपा एकता केन्द्र रूपलालले ०५३ मा छाडेको घोषणा गरेका थिए । ०५८ जेठ १९ मा उनको निधन भएको थियो । हालको एमाले र तत्कालीन मालेले रूपलालका नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा ल्याउँदा जुगेडी संघर्ष गरेको पार्टीका नेता भनेर गर्व पर्ने गरेको रूपलालका पुराना सहकर्मी अमरबहादुर विश्वकर्मा बताउँछन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully