छोराछोरीले कहिलेकाहीँ ‘हाम्रो बाबा नआउने गरी जानुभयो, किन आन्दोलनमा जान दिएको ?’ भनेर भागीरथीसँग प्रश्न गर्छन् । भन्छिन्, ‘जवाफ दिने आँट छैन ।’
लुम्बिनी — राजधानीबाहिर दोस्रो जनआन्दोलनको केन्द्रजस्तै बनेको थियो, साबिक लुम्बिनी अञ्चलको बुटवल र आसपासको क्षेत्र । तत्कालीन शाही सत्तालाई चुनौती दिन रूपन्देही र आसपासका जिल्ला सदरमुकाम र बजारमा भेला भएर आन्दोलनकारीले दिनहुँ प्रदर्शन गर्थे । उक्त जनआन्दोलनमा यहाँका राजनीतिक दलमात्र सहभागी थिएनन्, तिनका भ्रातृसंगठन, विद्यार्थी, नागरिक समाज, कानुन व्यवसायी, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका साथै जनसाधारण पनि ओइरिएका थिए ।
आन्दोलनकारीका आ–आफ्नै भूमिका र जिम्मेवारी थिए । उनीहरू आफ्नो जिम्मेवारी दत्तचित्त भएर निर्वाह गर्न लागिपर्थे । आन्दोलनका घाइतेलाई अस्पताल पुर्याएर उपचार गर्ने जिम्मेवारी पाएका थिए– पश्चिम नवलपरासीको सुनवल–५ वनकट्टीका स्वास्थ्यकर्मी २९ वर्षीय विष्णुप्रसाद पाण्डेले ।
२०६२ चैत ३० मध्यान्ह खाना खाएर गाउँका साथीभाइसँगै पाण्डे ‘शाही निरंकुशता’ विरुद्ध प्रदर्शनका लागि पश्चिम नवलपरासीको सदरमुकाम बुद्ध चोकमा पुगेर जुलुसमा सहभागी भए । भान्जाको साइकल लिएर उनी प्रदर्शनस्थलमा पुग्दा प्रहरीले आन्दोलनकारीमाथि लाठीचार्ज, अश्रुग्यास बर्साइरहेका थिए । आन्दोलनकारीबीच भागदौड मच्चिएको थियो । पाण्डे उक्त प्रदर्शनका घाइते प्रदर्शनकारीलाई स्थानीय पृथ्वीचन्द्र अस्पताल पुर्याएर उपचारमा सघाउन खटिएका थिए ।
प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा भागदौड मच्चियो । त्यस क्रममा दुई जना प्रदर्शनकारीलाई गोली लाग्यो । गोली लागेका एक जना उपचारपछि निको भए । ६ वटा गोली लागेका स्वास्थ्यकर्मी पाण्डे भुईंमा ढले । गम्भीर घाइते उनलाई उपचारका लागि बुटवलस्थित तत्कालीन लुम्बिनी अञ्चल अस्पताल ल्याइयो । परिवारका अनुसार अस्पताल ल्याउने क्रममा नवलपरासीको स्वाठीसम्म श्वास रहेको थियो । त्यसपछि पाण्डेको श्वास रोकियो । अनि उनी सहिद बनेको खबर फैलियो । स्थानीय एफएम रेडियोले पाण्डे सहिद बनेको खबर फुकेपछि आफन्त र छिमेकीले थाहा पाए ।
भगीरथीलाई पति आन्दोलनमा गएको क्षण अहिले पनि झलझली सम्झना आउँछ । घाइते भएको अर्को दिन प्रदर्शनकारीसहित पतिको शव घर आइपुगेको क्षण सम्झिँदा भने कहाली लाग्छ । त्यो दिनको सम्झनाले उनलाई अहिले पनि रुवाउँछ । नरुवाओस् पनि किन ! त्यसदिन उनको सबैभन्दा ठूलो खुसी खोसिएको दिन थियो ।
विवाह भएको पाँच वर्षमै उनले जीवनसाथी गुमाउनु परेको थियो । मुलुकमा लोकतन्त्र फर्काउने आन्दोलनमा जनता सडकमा उर्लिंदा उनका पतिले पनि मन थाम्न सकेनन् । ‘उहाँ सधैं जनताको शासन आएमात्र देशले विकास गर्छ भन्नुहुन्थ्यो,’ भागीरथीले भनिन्, ‘बिहानसँगसँगै खाना खाएर गएको मान्छे सहिद भएर फर्किनु भयो ।’
जनआन्दोलन–२ का क्रममा साबिक लुम्बिनी अञ्चलमा सहादत प्राप्त गर्ने पहिलो व्यक्ति विष्णु भएकालाई उनलाई दोस्रो जनआन्दोलनका प्रथम सहिद घोषणा गरियो । पति सहिद बनेका बेला भागीरथीको पेटमा ४ महिनाको गर्भ थियो । दुइटी छोरी सानै थिए । सुरुमा पतिको मृत्युको खबर गाउँले र आफन्तले उनलाई दिएनन् । उनले भनिन्, ‘रबरको गोली लागेको छ, अस्पतालमा छन्, उपचारपछि ठीक हुन्छ भनिरहे ।’
आफू पनि स्वास्थ्यकर्मी भएकाले उपचारपछि निको हुनेमा सुरुमा उनी पनि विश्वस्त थिइन् । तत्काल अस्पताल पुग्न पूर्व–पश्चिम राजमार्गमा गाडी चलेका थिएनन् । साना छोरी छट्टै छाडेर हिँड्न मिल्ने अवस्था पनि थिएन । ‘त्यो रात कौतूहल र डरमा बिताएकी थिएँ,’ उनले सम्झिइन्, ‘अर्को बिहान आफन्त आएर घरअगाडि पार्किङ गरिएको ट्रक हटाउन लगाए, वरपरबाट मानिस जम्मा हुन थालेपछि भने केही नराम्रो भएको अनुभव गरेँ ।’ त्यसको केही क्षणमा शवसहित लामबद्ध मानिस घरमा आएपछि आफू मूर्छित बनेको उनले सुनाइन् । घरमा केहीबेर राखेपछि आन्दोलनकारीसहित शव त्रिवेणी पुर्याएर अन्तिम संस्कार गरियो ।
विष्णुका जेठा दाइ लक्ष्मी पाण्डेले श्रद्धाञ्जली सभा गरेर भाइलाई सहिद घोषणा गरिएको सम्झना सुनाए । उनका अनुसार भाइको अन्तिम बिदाइमा सहभागी सर्वसाधारणको लाम आँखाले ठम्याउनै मुस्किल भएको थियो । अहिले भने उनलाई लोकतन्त्रका लागि भाइको उक्त सहादत खेर गएको अनुभूति भइरहेको छ ।
‘म र मेरो भाइ सामाजिक कार्यमा सक्रिय थियौं,’ लक्ष्मीले भने, ‘राजा फ्याँक्ने आन्दोलन भनेर होमिएको थियो । नेताले सम्झिन छाडे । सहिदको सपना अधुरो रह्यो, उसको बलिदानीको मोल रहेन ।’ विद्यार्थी कालमा अनेरास्ववियुको नेतृत्व सम्हालिसकेका विष्णुलाई श्रद्धान्जली दिन नेकपा एमालेका ठूला नेता घाटसम्म पुगेका थिए । त्यसपछि नेताले आफ्ना भाषणमा विष्णुको सहादत खेर जान नदिने बताउने गर्थे । भाइको अभावमा दुईवटी छोरी, गर्भमा बच्चा बोकेर बुहारीले साह्रै कष्ट गर्नुपरेको उनले बताए । ‘हामी छायामा त थियौं, तर भाइको अभाव पूरा गर्न सक्थेनौं,’ उनले भने, ‘कसरी सन्तान र आफूलाई सम्हालिन् होला ? त्यो सोच्दा अहिले पनि गाह्रो अनुभव हुन्छ ।’
लक्ष्मीले नै भाइ विष्णुलाई हुर्काएर पढाएका थिए । आमाबुवा नभएकाले भाइलाई पढाएर अहेबसम्म बनाएका लक्ष्मी जनआन्दोलन–२ मा सहभागी हुन काठमाडौं पुगेका थिए । त्यही आन्दोलनमा सहभागी भइरहेका बेला भाइको मृत्युबारे थाहा पाए पनि तत्काल आउन सकेनन् । अर्को दिन बिहान विमानबाट भैरहवा आइपुगेका उनलाई त्यसबेला स्थानीय पत्रकारले मोटरसाइकलमा राखेर घरसम्म पुर्याइदिएको उनले बताए । भाइलाई सम्झिँदा मनमा गाँठो पर्ने भए पनि उसले गरेको त्यागलाई मर्न नदिने सोंचका साथ लागिपरिरहेको उनले जनाए ।
भागीरथीलाई श्रीमान् गुमाएपछिको दुःख र संघर्ष अहिले सम्झिनै नपरे हुन्थ्यो जस्तो लाग्ने बताउँछिन् । २०५७ सालमा विवाह हुँदा सदरमुकाम परासीको जोडेनीमा विष्णुको परिवारको बसोबास थियो । पुर्ख्यौली घरमा दुलही बनेर भित्रिएकी भागीरथी र विष्णु मिलेर २०६० सालमा आफ्नो घर बनाएका थिए । मेडिकल संचालन गरेर गुजारा गरिरहेका दम्पतीले ३ सन्तानसहितको खुसी परिवारको कल्पना गरी त्यसै अनुसार अगाडि बढिरहेका थिए ।
विष्णु घरको काममा श्रीमतीलाई सघाउने, बिरामी हुँदा अत्यन्तै स्याहार गर्थे । आफ्नो श्रीमान् आन्दोलनमा जाँदा पनि भागीरथीलाई चिन्ता लाग्थेन । उनले भनिन्, सबै जना सहभागी भएका थिए, उहाँ सामाजिक काम भनेपछि बढी चासो दिनुहुन्थ्यो, रोक्ने कुरै भएन, घटना परिआएपछि अहिले त्यसबेला रोकेको भए भन्ने कता कता लाग्छ !’ त्यतिबेला जेठी छोरी स्मृति तीन र आकृति दुई वर्षका थिए । छोरा विजयराजले बुवालाई देख्नै पाएनन् ।
छोराछोरीले कहिलेकाहीँ ‘हाम्रो बाबा नआउने गरी जानुभयो, किन आन्दोलनमा जान दिएको ?’ भनेर भागीरथीसँग प्रश्न गर्ने, कुरा गर्ने गर्छन् । उनी भन्छिन्, ‘जवाफ दिने आँट छैन, त्यतिबेला कुन हिम्मतले यिनीहरूलाई हुर्काएँ, अहिले बोलेर बताउन सक्दिनँ । छोराले बुवालाई नदेखेको, भित्तामा तस्बिर देखेर सोध्दा विदेश हुनुहुन्छ, आउनुहुन्छ भन्ने जवाफ दिन्थिन् भागीरथी । एकपटक छिमेकी साथीले विदेशदेखि मिठाई लिएर बुवा आउने सुनाए । विजयले आफ्नो बुवा कहाँ गएको र विदेशदेखि काठमाडौं आए आफू लिन जाने कुरा बताएपछि भागीरथीले बुवाको मृत्यु, त्यो घटनाका बारेमा छोरालाई सबै कुरा बताएको सुनाइन् ।
विजय र दुई छोरीले अहिले भने बुवालाई सम्झेको कुरा आफूलाई त्यति नसुनाउने उनले बताइन् । मनमा कति होला, विद्यालयमा सहिदका छोराछोरी भनेर राम्रो व्यवहार भयो, विद्यालयले शुल्कमा छुट दिएर पढाउन सकियो, मासिक रूपमा शिक्षा खर्च भनी शिक्षा कार्यालयले २ हजार दिने सुविधा थियो, सहिद पत्नीलाई मासिक ५ हजार दिइन्थ्यो । त्यो हटाएर सरकारले रित्तै बनायो, राज्यको तर्फदेखि केही भएन ।
सहिदका छोराछोरी र परिवारलाई शिक्षा, स्वास्थ्य, रोजगारी दिने भनी गरिएको भाषण नेताले भुलेर आफ्नो दुनो सोझाइरहेको उनले जनाइन् । ‘आफ्ना मान्छे घुसाउने, जागिर मिलाउने, बजेट पार्नेबाहेक नेताले केही गरेनन्,’ उनले भनिन्, ‘वास्तविक सहिदको पहिचान र सम्झना सकियो, अहिले त पैसा दिएर सहिद घोषणा, सहिद नबनाइदिए आन्दोलन, सहिदको नामै सस्तो भयो ।’ जसले देशका निम्ति लोकतन्त्र ल्याउन मृत्युवरण गरे, तिनीहरूका बारेमा राज्य मौन रहेको उनले बताइन् । ‘सहिद परिवारको समिति स्थापना गरेर केही गर्न सकिन्छ कि भनेर लागि परेका पनि हौं, तर सरकारले हाम्रो कुरै सुनेन, हाम्रा मान्छे गए पनि बाँचेकाको जीवन सरल हुनुपर्ने तर भएन,’ उनले थपिन् ।
‘हेपाइ खाएर बाँच्न ग्राहो हुन्छ, एक्लो भएर सबै जिम्मेवारी निभाउँदाको चुनौती भोग्नेले मात्रै जान्ने रहेछ । तर अब त सन्तान पनि हुर्किए, उहाँ सहिद बन्दा गर्भमा रहेको सन्तान नै १२ कक्षामा पुगिसक्यो, अब बलियो भएकी छु भन्ने लाग्छ ।’
–भागीरथी पाण्डे, सहिदपत्नी
भागीरथी हाल रामग्रामस्थित स्वास्थ्य चौकीमा कार्यरत छिन् । यति जागिर नभएको भए सन्तानको पढाइ खर्च जुटाउन नसक्ने उनले बताइन् । कम्तीमा सरकारबाट सुविधा पाएको भए मरेर गएकाले गरेको त्यागको महत्त्व रहने उनको भनाइ छ । उनी श्रीमान्को सम्झनामा रातभर एक्लै रोए पनि मानिसका अगाडि आँशु झारेर नहिँड्ने बताउँछिन् । ‘हेपाइ खाएर बाँच्न ग्राहो हुन्छ, एक्लो भएर सबै जिम्मेवारी निभाउँदाको चुनौती भोग्नेले मात्रै जान्ने रहेछ,’ उनले भनिन्, ‘अब त सन्तान हुर्किए, बाबु १२ मा पुगिसक्यो, अब बलियो भएकी रहेछु भन्ने लाग्छ ।’
लामो समयसम्म सँगै हुन नपाई श्रीमान् सहिद भएपछि न भागीरथीले अर्को जीवनबारे सोचिन्, न त घरपरिवारले नै त्यस्तो सोच्यो । ‘छोराछोरीले राम्रो पढ्न सके, त्यसले भने खुसी दिइरहेको छ,’ उनले भनिन् । आफूले कमाएको तलबले सबै खर्च धान्न समस्या परे पनि कसैलाई दुःख देखाउन मन नलाग्ने उनले बताइन् ।
घरमा एउटा ट्रक थियो । त्यसले पनि आर्थिक उपार्जनमा सहयोग नै पुर्याइरहेको थियो । तर, त्यो पनि दुर्घटनामा परेपछि आर्थिक समस्या पर्दै गएको उनले सुनाइन् । तर समय र परिस्थितिले डोर्याएको अभिभावकत्वको भूमिका निर्वाह गर्नकै लागि उनले संघर्षपूर्ण एक्लो जीवन बाँचेरै छोराछोरीलाई अगाडि बढाएको बताइन् ।
दोस्रो जनआन्दोलनमा सहभागी थिए– परासीको सुनवल–१२ भुमहीका नारायणप्रसाद न्यौपाने पनि । काठमाडौंमा पढ्दै गरेका उनी दोस्रो जनआन्दोलनसँगै विश्वविद्यालयले बिदा दियो र उनी पनि घर आए । ‘घरनजिकै चोकको चौतारीमा बस्दै गर्दा बासातिरबाट मान्छेको हुल आएको देखेँ,’ उनले भने, ‘म पनि जान्छु भनेर साइकलमा गएँ ।’ परासी चोकमा पुगेपछि जिल्ला प्रहरी कार्यालयअगाडि जम्मा भएको मानिसको भीड प्रहरी परिसरतर्फ पस्न खोज्दै गरेको दृश्य उनले देखे । ‘प्रहरीको लाठीचार्ज सुरु भएपछि मानिसहरू भाग्न थाले । नजिकैको विद्यालयको पर्खाल भत्केको रहेछ, त्यहींबाट पसेर गेट हुँदै बुद्धचोकतिर लागियो,’ उनले भने । बुद्धचोकमा त प्रहरीले अश्रुग्यास फालेको रहेछ । त्यही हुलमा आफ्नाअगाडि पाण्डे ढलेको देखेपछि न्यौपाने पनि उनलाई उठाउन गए । उनलाई पनि गोली लाग्यो ।
‘पाण्डेको टाउकोबाट रगत बगेको थियो, म उनलाई उठाउँदै थिएँ । एक्कासि मेरो ढाड दुख्यो । पछाडि फर्केर यसो हेर्छु त मलाई पनि गोली लागेको रहेछ, भलभली रगत बगेको देखें,’ उनले थपे, ‘मलाई गोली लाग्यो भनें, मान्छेले उठाएर लगे ।’ आफूभन्दा अगाडि विष्णुलाई उठाएर एम्बुलेन्समा हालिएको उनले बताए । पाण्डेको टाउकोमा गोली लागेको र अवस्था गम्भीर देखेका उनले आफू पनि अचेत हुँदै गएकाले त्यसपछि अरु केही थाहा नपाएको बताए ।
भैरहवामा शल्यक्रिया गरी न्यापानेको गोली निकालिएको थियो । ‘तर, रगत बग्न नरोकिएर हेलिकप्टरमार्फत काठमाडौं लगी १९ दिन वीर अस्पतालमा उपचार गरेपछि निको भएको हुँ,’ न्यौपानेले भने, ‘प्रहरीले गोली चलाउँछ भन्ने त सोंचेकै थिएनौं, खै के दसा लाग्यो थाहा नै भएन । प्रहरीको गोली लागेर यसरी पाण्डेले सहादत प्राप्त गरेका थिए ।’
बुद्धचोकमा त प्रहरीले अश्रुग्यास फालेको रहेछ । त्यही हुलमा आफ्नाअगाडि पाण्डे ढलेको देखेपछि न्यौपाने पनि उनलाई उठाउन गए । उनलाई पनि गोली लाग्यो ।
विष्णुको मृत्युपछि नेतालगायत स्थानीयले छलफल गरेर उनको स्मरणमा प्रतिष्ठान स्थापना गरे । १५ विघा क्षेत्रफल रहेको त्यस प्रतिष्ठानमा सभाहल, पिकनिक स्पट, सहिद संग्रहालय, बाल उद्यान आदि बनेको छ । स्थानीय सरकार, प्रदेश सरकारले समय समयमा गरिदिएको बजेटबाट संरचना बनाएको र यसको प्रगति गरी वृद्धवृद्धाका लागि चौपारी बनाउने योजना रहेको सहिद विष्णुका दाइ लक्ष्मीले बताए । ‘भाइ जीवित नरहे पनि उसको सम्झनाका लागि प्रतिष्ठान परिसरमा प्रतिमा स्थापना गरिएको छ,’ उनले भने ।
पाण्डे परिवारले सहिद परिवारलाई संरक्षक राखेर समिति निर्माण गरी प्रतिष्ठानमा रहेको संग्रहालयमा यस क्षेत्रमा सहादत प्राप्त गरेका अन्य २४ जना सहिदको पनि प्रतिमा बनाउने, त्यसबेलाका उनीहरूको अवस्था, आन्दोलनका बारेमा हेर्ने सामग्री बनाएर राख्ने योजना बनाएको छ । अहिले प्रदेश सरकारले ५० लाख छुट्याएको प्रतिष्ठानमा सुन्दर पार्क बनाउने योजना रहेको पाण्डेले जानकारी दिए ।
विष्णुको देहावसानलगत्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भागीरथीलाई सम्मानपत्र दिन र दोसल्ला ओढाउन काठमाडौं बोलाएका थिए । त्यो क्षण भागीरथीले अहिले पनि झलझली सम्झिरहेकी छन् ।
त्यसयता सरकारी तहबाट सहिदहरूको बेवास्ताजस्तै गरिएको भागीरथीको अनुभव छ । ‘वास्तविक सहिद परिवार हौं, राज्यले सोधपुछसमेत गर्न छोड्यो,’ उनले भनिन्, ‘अहिले त सहिद शब्द नै सस्तो बनाइएको छ । सहिदहरूको बलिदान खेर गएजस्तो लाग्छ ।’
पुराना दिन सम्झिंदा मात्र पनि भागीरथी भावुक बन्छिन् । अचेत नै भए पनि विष्णुको शव खोलेर अनुहार हेरेकी उनले टाउकोमा गोली लागेको प्वाल देखेको बताइन् । ‘अझै पनि त्यो प्वाल झलझली सम्झिन्छु,’ उनले भनिन्, ‘घरको मूल मान्छे, अभिभावक र कमाउने युवालाई गुमाएको परिवारप्रति छिमेकी, आफन्तले देखाएको सहानुभूतिप्रति सधैं नतमस्तक छु । तर, जनताको शासन ल्याउन जनतालाई सडकमा उतारेका राजनीतिक दलले भने सहिद र उनको परिवार बिर्सिएको देख्दा साह्रै दुःख लाग्छ ।’
