धनगढी — सहिद दिवसको पूर्वसन्ध्यामा सुदूरपश्चिम प्रदेश सरकारले दुई जनालाई सहिद घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ककड शान्ता मोतीपुरमा जन्मेका बलदेव शाही (बाकाबीर) र कैलालीको लम्कीचुहा नगरपालिका–४ का लोकराज ढकाललाई सहिद घोषणाका लागि सिफारिस गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
बाकाबीरलाई सहिद घोषणाका लागि जिल्ला समन्वय समिति अछामले प्रदेश सरकारलाई सिफारिस गरेको थियो भने ढकाललाई लम्कीचुहा नगरपालिकाले सिफारिस गरेको थियो ।
राणा शासकको दमनविरुद्ध अभियान चलाएका बाकाबीर जंगबहादुर राणाको निरंकुशताविरुद्ध लड्दालड्दै मारिएको जिल्ला समन्वय समिति अछामको सिफारिसमा उल्लेख छ ।
ढकाललाई सहिद घोषणाका लागि लम्कीचुहा नगरपालिकाले गरेको सिफारिसमा उनी द्वन्द्वकालमा मारिएका पहिलो व्यक्ति भएको उल्लेख गरेको छ । तत्कालीन तरुण दल कैलालीका सदस्यसमेत रहेका ढकाललाई तत्कालीन सशस्त्र विद्रोहीले ०५५ माघ ४ गते घरमा सुतिरहेको अवस्थामा हत्या गरेको उल्लेख छ ।
