भाइ गुमाएको पीडा सम्झाउने बेचनको सालिक

अन्तरिम संविधानको विरोध प्रदर्शनका क्रममा मृत्यु भएको थियो मोहम्मद बेचन मियाँको

माघ १५, २०८१

पर्वत पोर्तेल

Bechan's salik reminds of the pain of losing a brother

विराटनगर — २०६३ सालमा जारी अन्तरिम संविधानको विरोधमा मधेशमा भएको आन्दोलनले सिंगो तराई क्षेत्रलाई लपेटेको थियो । लहानबाट सुरु भएको आन्दोलनको झिल्को विराटनगरसम्म फैलियो । भारतीय सीमावर्ती क्षेत्र जोगबनीनजिकैको रानी बजारमा पनि आन्दोलनको फिलिङ्गो उछिट्टिएर आइपुग्यो । सीमावर्ती क्षेत्रमा बस्ने मुस्लिम समुदायका विपन्न किशोर मोहम्मद बेचन मियाँको आन्दोलनको घानमा परेर मृत्यु भयो ।

विद्यालयबाट घर फर्किने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर माघ दोस्रो सातातिर घाइते भएका उनको उपचारका क्रममा भारतको सिलगुडीमा माघ २४ मा निधन भएको हो । यो घटनाले मियाँ परिवारमा गहिरो चोट पुर्‍यायो । उनी वृद्ध आमाका सहारा र तीन दिदीबहिनीका एक्ला भाइ थिए । उनका दिदी गुल्सा खातुनका अनुसार भाइको मृत्युपछि परिवार छिन्नभिन्न भयो ।

बेचनको निधनपछि परिवारले धेरै पीडा सहनु पर्‍यो । दशगजामा पर्ने जमिनमा बस्दै आएका उनीहरूलाई अन्तर्राष्ट्रिय सीमा कानुनअनुसार त्यहाँबाट हटाइयो । आर्थिक सहायताका लागि नेपाल सरकारसँग गुहार मागे पनि अहिलेसम्म कुनै राहत नपाएको परिवारले बताएको छ । ‘आन्दोलनमा घाइते भएपछि हामीले भारततिरैबाट उपचार गराउन सिलगुडी पुर्‍याएका थियौं,’ आन्दोलनका अगुवा जयराम यादवले भने, ‘उपचारका क्रममा उनको मृत्यु भयो ।’

आन्दोलनमा मारिएपछि सबैभन्दा ठूलो घात उनकी आमालाई भएको थियो । ‘भाइको मृत्युपछि हाम्रो परिवार नै उजाडियो,’ दिदी गुल्सा खातुनले भनिन्, ‘आमाको मानसिक सन्तुलन बिग्रिएर घर छाडेर हिँड्नु भयो ।’ उनलाई नेपाल, भारत सबैतिर खोजे पनि नभेटेको उनले बताइन् । पछि उनी पनि बितेको खबर आयो । ‘यति धेरै दुःख काटियो नि त्यो त भनेरै साध्य छैन,’ भारतको जोगबनी ग्रामपञ्चायतमा बस्ने गुल्साले सुनाइन् ।

जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादवका अनुसार नागरिकता समस्याका कारण उनले अहिलेसम्म राहत पाउन सकेका छैनन् । यादवले बेचनको परिवारलाई राहतका लागि धेरै पटक प्रयत्न गरे पनि केही नपाइएको बताए । २०७१ मंसिर १९ मा जसपा नेता यादवको अगुवाइमा बेचनको स्मरणमा रानीमा सालिक निर्माण गरियो । तर, यो सालिक पनि गुल्सा खातुनलाई भाइ गुमाएको पीडा झल्झली सम्झाउने माध्यम मात्रै बनेको छ । गुल्सा भन्छिन्, ‘सालिक देखेपछि भाइको कलिलो अनुहार आँखाअघि झल्झली आइदिन्छ ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully