राजविराज — राजविराज नगरपालिका–९ मलेठको वस्तीबीचमा छ, एउटा सानो किराना पसल । यही पसलमा यताउति गरिरहेका भेटिन्छन् बुढ्यौली उमेरका लक्ष्मण मेहता र शान्तिदेवी । यो दम्पतीको अनुहारबाट खुसी हराएको वर्षौं भइसक्यो ।
२०७३ फागुन २३ गते । सप्तरीको मलेठमा एमालेले संचालन गरेको मेची–महाकाली अभियान चलिरहेको थियो । त्यही बेला भयो, सुरक्षाकर्मीसँग झडप । झडपमा ५ जना मारिए । तीमध्ये एक थिए, टाउकोमा गोली लागि मृत्यु भएका लक्ष्मण दम्पतीका छोरा सज्जन मेहता ।
सरकारले यो घटनामा ज्यान गुमाएका सज्जनसहित पाँचै जनालाई सहिद घोषणा गरिसकेको छ । लक्ष्मणले एकै सासमा सुनाए, ‘छोराको मृत्यु भयो, बुहारी पनि माइत गइन्, अनि हामी संकटमा फस्यौं ।’ उनले सालिन्दा फागुन २३ मा र बलिदानी दिवसमा मानिसहरू फोटो खिच्न आउने गरेको बताउँदै भने, ‘बस त्यत्ति न हो !’
तीन छोरामध्ये एकको मृत्यु भएपछि मेहता परिवारमा आर्थिक समस्या पनि सुरु भयो । उनले भने, ‘हाम्रो दुई छाक टार्ने माध्यम यही आँगनको किराना पसल भएको छ ।’ सज्जनकी आमा शान्तिदेवीले यही पसलको भरमा आफूहरूले औषधि उपचार र लत्ताकपडा पुर्याइरहेको बताइन् ।
दुई छोराहरूको पढाइ खर्च जुटाउन धौधौ हुने गरेको बताउँदै लक्ष्मणले आफ्नो दुःखेसो सुनाए, ‘न परिवारका सदस्यले रोजगारी पाए, न भरणपोषण नै । छोरा मर्यो, जीवनको उत्तरार्द्धमा समस्यामा पर्यौं ।’
