डेजी बराइलीको काठमाडौं यात्रा

नोरदेनका गीतलाई नयाँ पुस्तामाझ चिनाउन र पुराना पुस्तालाई ‘नोस्टाल्जिक’ बनाउन गायिका छोरी विमोचनालाई लिएर संगीतकार चन्दन र गायिका डेजी दार्जिलिङदेखि काठमाडौं आएका छन्, आउादो शुक्रबार यो सांगीतिक परिवार ‘पलोटी’ मा नोरदेनका गीतमा पोखिनेछन्

फाल्गुन १०, २०८१

श्रीजु सरल

Daisy Baraili's Journey to Kathmandu

काठमाडौँ — चन्दन लोमजेललाई स्कुल छँदा फुटबल खेल्नमा निकै रुचि थियो । हुर्किंदै जाँदा फिल्म हेर्ने क्रम बढ्दै गयो । फिल्ममा गीत गाउने र संगीत दिनेहरूको नाम पर्खिएर हेर्थे उनी र सोच्थे, ‘कुनै दिन मेरो पनि नाम यसरी आउनुपर्छ ।’ उनी गीत गाउने प्रयास पनि गर्थे । तर, साथीहरूले ‘तिम्रो स्वर लुकेको छ’ भनेपछि उनले आफूलाई संगीततिर लगाउन थाले ।

कलातिर चासो लिएको उनको परिवारलाई त्यति निको लाग्दैन थियो । यद्यपि, उनी ख्यालख्यालमै बाजा बजाउन सिक्न पुगिहाल्थे । सानैदेखि हार्मोनियममा पोख्त थिए । उनले गितार बजाउन पनि सिके । मेनडोलिन बजाउन त उनी माहिर भएर नै निस्किए । 

चन्दन बिस्तारै दार्जिलिङको कार्निभल ब्यान्डको अभिन्न हिस्सा बन्न पुगे । उनले आफूलाई सम्पूर्ण रूपमा वाद्यवादनमा होमिदिए । सुरु–सुरुमा उनी आफैं गीत लेखेर त्यसमा संगीत भर्थे । पछि उनलाई लाग्न थाल्यो, ‘हामीले लेखेर हुँदैन । गीतकारले लेखेको गीत, गीत नै हुन्छ । मैले पनि अब गीतकारले लेखेको गीतमा संगीत भर्नुपर्छ ।’ 

त्यसपछि गीतकार खोज्दै दार्जिलिङका गाउँ–सहर डुल्ने क्रममा उनले पुरण गिरीलाई भेट्टाए ।

आँखामा लुकेको समुद्र आज

दुई किनारमा बगेर फेरि गयो

पिरतीको साइनो जोडेको थिएँ

कसले–कसले फेरि नै तोडिदियो

यो मनको आशा टुटेन फेरि

कसलाई–कसलाई पर्खिरह्यो

भाग्यमा प्वाल परेर पनि

यादमा यो मुटु नै कुरिरह्यो

आँखामा लुकेको समुद्र आज...

डेजी बराइलीसँग चन्दनको यतिन्जेल राम्रै दोस्ती भइसकेको थियो । पुरणको यस गीतमा आफैंले संगीत भरे र स्वर भर्न डेजीलाई दिए । लोक गीत ‘भैंसी लड्यो है माया’ बाट नेपालमा पनि लोकप्रिय दार्जिलिङकै डेजी १० वर्षको कलिलो उमेरबाटै संगीतकार बद्री दुर्गा खरेलसँग संगीत सिक्ने गर्थिन् । उनले जस योञ्जन ‘प्यासी’, भैरवनाथ रिमाल ‘कदम’, नरदेन रुम्बालगायतका गीतकारका गीत गाएकी छन् । 

‘कदम’ ले लेखेको यो कालजयी गीतमा पनि यही संगीतकार र गायकको जोडीले धुन र आवाज भर्ने काम गर्‍यो । गीतकार ‘कदम’ को अध्यात्मिक गहिराइ बोकेको यस गीतको सदाबहारपनलाई चन्दनको संगीत र बराइलीको स्वरले पनि उत्तिकै न्याय गर्‍यो । 

भिकारी हुँ म हिँड्नु छ आखिर जंगल चहारी

परन्तु अस्थायी छ बास मेरो, मन्दिर छहारी

आँखाको आँसु सिवाय अरू केही छैन सहारा

के रैछ कुन्नि नबुझी सक्नु भाग्यको इसारा

शून्यको सारमा रहनुपर्ने के रैछ जिन्दगी

भिकारी हुँ म, हिँड्नु छ आखिर जंगल चहारी...

त्यसबेला दार्जिलिङमा मात्र नभएर नेपालमा पनि एक यस्ता गीतकारको लोकप्रियता छाएको थियो जसको अभाव आजसम्म कसैले पूर्ति गर्न सकेको छैन । चन्दनलाई नोरदेनको साहित्यिक खुबी सम्झिँदा आज पनि आश्चर्य लाग्छ । नोरदेनलाई सम्झिएर ‘नोस्टाल्जिक’ भएका चन्दन एउटा रोचक प्रसंगको बेलिविस्तार लगाउँछन्, ‘गोर्खाल्यान्डको आन्दोलन चर्किरहेको थियो, २७ जुलाईको दिन, सडक अस्तव्यस्त थियो ।

Daisy Baraili's Journey to Kathmandu

आन्दोलनकारी र प्रहरीको कुदाकुद, टायर बलेको, ढुंगामुढा चलिरहेको थियो । धूवाँ उडिरहेको थियो । यस्तोमा त्यतिबेलाको फिल्म निर्देशक जीवन गुरुङ नोरदेनसँग भेट्न आएका थिए । मैले उनलाई नोरदेनको अफिसमा लिएर गएँ । आन्दोलनका कारण अफिस त बन्द रहेछ, त्यसपछि उनी घरैमा भेटिए । गीत लेख्ने भनेपछि उनले हामीलाई सडकछेउको एउटा रेस्टुराँमा छिराए र सोधे, कस्तो ‘थिम’ मा लेख्नुपर्ने हो गीत ?

गुरुङले प्रतिउत्तरमा यो फिल्ममा म आफैं हिरो हुँ, मेरो नाम प्रेम हो । म एउटी केटीलाई असाध्यै प्रेम गर्छु तर लुकेर । एक दिन, उही केटी मलाई खोज्दै आउँछे र एउटा पत्र दिन्छे । त्यो निम्तो पत्र हुन्छ । केटीको अरू कसैसँग विवाह हुँदैरहेछ । यस्तोमा मैले कस्तो महसुस गर्छु होला ?’

यति सुनेपछि, नोरदेनले भने, ‘मलाई एउटा कलम र कागज दिनुस् ।’ त्यहीँ बसीबसी उनले केही मिनेटभित्र गीत तयार पारे । बाहिर ‘धारा ७’ जलिरहेको छ, धूवाँ उडिरहेको छ तर भित्र बसेर उनी रोमान्टिक गीत लेखिरहेका छन् । उनी त्यसरी पनि डुब्न सक्ने मान्छे !’ उनी थप्छन्, ‘त्यो गीत मलाई अझै सम्झना छ ।’

कस्तो यो खुसी दियौ तिमीले

म किन–किन दुखिदिएँ

जब बहार आयो तिम्रो यहाँ

म किन–किन सुकिदिएँ

कस्तो यो पर्खाल दियौ तिमीले 

म किन–किन ढलिदिएँ

कस्तो यो उजेलो दियौ तिमीले

म किन–किन लुकिदिएँ

शान्त ठाउँमा, घरको ‘स्टडी रुम’ मा, बार्दली, चौर या चौतारीमा । या फेरि जंगलको शान्तिमा त जो कोही डुब्न सक्ला तर हूलदंगाको बीचमा पनि प्रेमिल भावमा चुर्लुम्म डुबेर लेख्न सक्ने चन्दनले नोरदेनबाहेक अर्को गीतकार आफ्नो समयमा देखेनन् । सायद त्यसरी डुब्न सक्ने भएकैले होला उनी बहुतै छिटो गीत लेख्न सक्थे । बढीमा एक दिनभित्र उनी एउटा अब्बल गीत लेख्न सक्थे । त्यसो त केही मिनेटभित्र पनि उनले गीत लेखेर दिएका सम्झना छन् चन्दनसँग ।

Daisy Baraili's Journey to Kathmandu

एक दिनको कुरा हो, गीतकार पुरणसँगै नोरदेनकहाँ गीत लेखाउन पुगेछन् चन्दन । उनलाई शब्दहरू यति धाराप्रवाह आइदिए कि कलमले आफ्नै मनको गतिलाई भेट्नै सकेनछ । त्यसपछि, छेउमा बसिरहेका पुरणलाई उनले भनेछन्, ‘भाइ म भन्दै जान्छु, तपाईं लेख्नुस् त ।’ नोरदेन गीत भन्ने र पुरण लेख्दै जाने सिलसिला चलेर एउटा काव्यिक गीत तयार भएछ जसलाई चन्दनले संगीत भरे ।

बाँधेर खोजे दस खोलापारि

मुटु पिरोल्ने भन्ज्याङभरि

साँझको पापी जंघारतिर

देउदेउता नाच्दछ संघारतिर...

 चन्दन भन्छन्, ‘मोतीराम भट्टलाई आशुकवि भनिन्छ । आशु गीतकार पनि हुने हो भने ती नोरदेनबाहेक अर्को हुन सक्दैन ।’ चन्दनको कुरामा ‘हो’ मा ‘हो’ मिलाउँछिन् डेजी । भन्छिन्, ‘नोरदेनकहाँ म बिहान ८/९ बजेतिर गीत लेखाउन भनेर गएकी थिएँ, सोचेकी थिएँ, मलाई यस्तो भावको गीत गाउन मन छ भनिराखेर फर्किन्छु । केही दिनमा त गीत तयार हुन्छ होला । तर, उहाँले त्यही दिन नै, घाम अस्ताउन भ्याएकै थिएन, मलाई गीत लेखेर दिनुभयो ।’

कति बग्यो, कति बग्यो पुलमुनि पानी रेशम

आसैआसमा बितेछ यो छोटो जिन्दगानी रेशम

कति बग्यो कति बग्यो

दिन उठ्यो रात टुट्यो धेरै–धेरै साथ छुट्यो 

पारि डाँडा फूलै फुल्यो वारि मनको चुरा फुट्यो 

हात जोडी देउरालीमा 

दुइटा फूल राखें मैले

भाग्य तर,

कति साह्रो रै’छ बैमानी रेशम 

कति बग्यो कति बग्यो पुलमुनि पानी रेशम

आसैआसमा बितेछ यो हो, छोटो जिन्दगानी रेशम

कति बग्यो कति बग्यो...

नोरदेनको यस गीतमा पनि चन्दनले नै संगीत भरे । कार्निभल ब्यान्डबाट निस्किएको क्यासेटमा नोरदेनको यो गीत समावेश गरे चन्दनले । नोरदेनको गीतमा संगीत गर्न पाउँदा उनलाई एउटा सन्तुष्टि मिल्ने गर्थ्यो । भन्छन्, ‘जसरी गीतका शब्दहरूमा स्वरसम्राट् नारायण गोपाल ‘चुजी’ थिए, नोरदेन पनि संगीतमा उस्तै चुजी थिए ।’

उनलाई हार्मोनियम बजाउन रहर पनि लाग्थ्यो । संगीतमा रुचि भएका नोरदेनले भलै संगीत रचना गर्ने प्रयास गरेनन् । तर, उनलाई संगीतको कल्पना आउँथ्यो । कलमले गीतका शब्दहरूसँग खेल्दा उनको मनमस्तिष्कमा धुनको चित्र आउँथ्यो । गीत लेख्दालेख्दै उनी भन्थे, ‘यो गीतको धुन यस्तो शैलीमा हुनुपर्छ ।’

Daisy Baraili's Journey to Kathmandu

चन्दन यस मानेमा आफूलाई भाग्यशाली ठान्छन् कि उनले यी दुवै स्रष्टा नारायण गोपाल र नोरदेनसँग एकसाथ काम गर्न पाए । नारायण गोपालले स्वर दिएको नोरदेनको शब्दमा चन्दनले दिएको संगीतले वास्तवमै एउटा सुन्दर कालजयी गीत जन्माएको छः

मेरा सबै रात अब मातहरू भए

जिन्दगी नै नबुझ्ने बातहरू भए 

आफैंलाई राख्ने यहाँ कुनै ठाउँ भएन 

सबै बास बेहोसीका बरातहरू भए 

मेरा सबै रात अब...

सधैं यो सडकमा म के–के रोज्दै हिँड्छु 

आफन्तको माझमा परिचय खोज्दै हिँड्छु 

भुलेर बजारभरिका हजार बैंसहरू 

म त आफैंलाई हराई आफैं खोज्दै हिँड्छु 

आफैं खोज्दै हिँड्छु 

मेरा सबै रात अब... 

 चन्दन सम्झिन्छन्, ‘बादलको दरबारमा पहाडको मेला’ को प्रतिभाको खोजीमा यही गीत गाएर नोरदेन प्रथम भएका थिए । तर, चन्दनलाई बिझाइरहने एउटा घटना छ । अल्पायुमै बितेका नोरदेनले लेखेको अन्तिम गीतमा उनी संगीत गर्दै थिए । रक्सी खुबै पिउनुपर्ने नोरदेन भने बिरामीले च्यापेर अस्पताल भर्ना हुन पुगे ।

उता चन्दनले गीतलाई संगीत दिएर सक्दा यता नोरदेन मृत्युको सन्निकट थिए । सास छँदै अस्पताल पुगेको भए पनि, त्यो भावविह्वल माहोलमा चन्दनले उनलाई संगीत सुनाउन सकेनन् । यो क्षण उनको मानसपटलमा तीतो तर अविस्मरणीय सम्झना बनेर आजसम्म बसेको छ । उनी भन्छन्, ‘उनले लेखेको अन्तिम गीतमा पनि मृत्युकै कुरा छ । तर, यो मृत्युको गीतमा डरछेरुवापन छैन । यद्यपि, त्यसले सुन्नेलाई भने मर्ममा हिर्काउँछ ।’ 

म मरेर खाली हुँदैन धर्ती

नरुनु तिमी कहाली–कहाली

नरुनु तिमी देखेर अर्थी

जब शंख बज्छ बिदाइको

म लड्नु गएको सम्झ

एक्लै अब कुनै शिखर

म चढ्नु गएको सम्झ

आफ्नो नयाँ जीवनको 

किताब पढ्नु गएको सम्झ

रातको आकाशमा कुनै 

मेरो एउटा तारा गनेर

म मरेर खाली हुँदैन धर्ती

सक्छौ भने खोजी–खोजी

मैले गरेका आसहरू

रित्ता–रित्ता गिलासभरि नै

मैले छोडेका प्यासहरू

सबै बटुली चढाइदिनू

म जलेको चिताभरि

म मरेर खाली हुँदैन धर्ती...

रक्सीकै विषयमा नोरदेनले अरू पनि गीत लेखेको उनी सुनाउँछन् । तर, रक्सी पिउने आदतले एउटा अद्वितीय प्रतिभा अल्पायुमै अस्ताएकामा नेपाली संगीतमा एउटा अपूरणीय क्षति भएको उनको ठहर छ । कति गीत नोरदेनले उनलाई संगीत गर्न दिएका थिए । जुन अहिले पनि उनीसँग सुरक्षित छन् तर उनले ती गीतको धुन नसुनेरै गए ।

Daisy Baraili's Journey to Kathmandu

१९८३ मा मात्रै सक्रियताका साथ संगीत कर्ममा लागेका चन्दनलाई कहिलेकाहीँ थकथक पनि लाग्छ । कति थोरै समय रहेछ नोरदेनसँग सहकार्य गर्नका लागि । १९४९ मा जन्मिएका नोरदेनले ५० वर्ष पनि नपुग्दै जीवनबाट अवकाश लिए । पवन गोलेको स्वर, वसन्त क्षेत्रीको संगीतमा नोरदेनले नै लेखेको एउटा गीत नोरदेनकै लागि सम्झिएर उनी दुखिदिन्छन् : 

कहीँ तिमीलाई नदेखेको भए पनि हुन्थ्यो

त्यो लजालु आँखाले मलाई नछोएको भए पनि हुन्थ्यो

यसै पनि रुखो छ जिन्दगी

उसै पनि फिका जिन्दगी

त्यो मुस्कानको रङ मलाई नपोखेको भए पनि हुन्थ्यो

कहीँ तिमीलाई...

बल्झिएर मैले धेरै पाइलाहरू हिँडिसकें

सल्किएर मैले धेरै आगोहरू तरिसकें

हिँड्दाहिँड्दै दोबाटोमा तर मायालु आज कतै

कहीँ तिम्रो कदमहरू नसुनेको भए पनि हुन्थ्यो

यसै पनि रुखो जिन्दगी !

उसै पनि फिका जिन्दगी...

नेपाली फिल्म ‘बाँच्न चाहनेहरू’का लागि गीत लेख्ने नोरदेनको असामयिक निधनलाई सम्झिएर डेजी पनि भावुक हुन्छिन् । उनलाई लाग्छ– नोरदेन बाँचिरहेका भए नेपाली गीत–संगीतको स्वर्णकाल केही परसम्म अवश्य धकेलिने थियो । 

उनै नोरदेनलाई नयाँ पुस्तामाझ चिनाउन र पुराना पुस्तालाई फेरि एक पटक ‘नोस्टाल्जिक’ बनाउन संगीतकार चन्दन र गायिका डेजी दार्जिलिङदेखि काठमाडौं आएका हुन् । नेपालयको निम्तोमा पलेँटी शृंखलामा नोरदेनलाई मात्र गाउने गरी यस पटक उनीहरू आफ्नी छोरी विमोचना लोमजेलका साथमा नेपाली संगीतका श्रोतामाझ छन् ।

Daisy Baraili's Journey to Kathmandu

चन्दन र डेजीलाई सुन्दै गर्दा नोरदेनले नै लेखेको एउटा रोमाञ्चक गीत सम्झिएँ, ‘फूललाई सोधे कहाँ गयो, कता गयो भँवरा !’ तर, यस पटक यो गीतले रोमाञ्च बोलेन, हृदयमा चाञ्चल्य ल्याएन । बरु, मनको चित्रपटमा कता–कता नोरदेन त्यो भँवरा बनेर आए अनि हठात् बिलाएर गए ।

खैर, यो पटक दार्जिलिङको यो सांगीतिक परिवारले नोरदेनलाई नेपाली श्रोतामाझ एउटा खुला किताबका रूपमा राखिदिनेछ । जस योञ्जन ‘प्यासी’ को शब्द र कर्मा योञ्जनको संगीतमा उनै डेजीले गाएको यो गीतमा भनिएजस्तै–‘एउटा खुला किताब हुँ म तिमीले पनि पढे हुन्छ !’ र, नोरदेन रुम्बा एउटा त्यस्तो किताब जसलाई पाठकले होइन, श्रोताले पढेर मात्र बुझ्न सक्छ !

म्यागेजिन

श्रीजु

Link copied successfully