जितुका लागि हरपलकी साथी थिइन् योगमाया

‘प्रेमयुद्ध’ फिल्ममा जितुलाई ‘भिलेन’ ले मस्त कुटेको दृश्य हेर्दाहेर्दै हलमै रोइन् योगमाया । घर पुग्दा पनि उनी रोइरहेकै थिइन् । छोरो कुट्ने त्यो ‘भिलेन’ लाई तीन दिनसम्म गाली गरिरहिन् उनले । भनिरहिन्, ‘मेरो छोरालाई पिट्ने त्यसले ?’ आँसु झार्दै जितुलाई सम्झाइन् पनि, ‘ए कान्छा ! यस्तो अरूले पिट्ने फिलिम नखेल न !’

फाल्गुन १३, २०८१

दीपक सापकोटा

Yogamaya was Jitu's constant friend

काठमाडौँ — किरियापुत्री भवनमा अभिनेता जितु नेपाललाई भेट्न आउने प्रियजनको लस्कर छ । त्यो लस्कर, त्यो भीडमा उनी भने आफूलाई एक्लो केवल एक्लो, असहाय र शक्तिहीन सोचिरहेका छन् । आमाको स्मृतिमा पौडिरहन्छन् जितु । उनको मस्तिष्कमा जीवन र मृत्युबीचको अन्तरविरोध ओहोरदोहोर गरिरहन्छ ।

फागुनको आकाशमा तुवाँलोको पत्र बाक्लै छ । आमा बितेको दिन जितुको मनमा पनि तुवाँलो लाग्यो । ‘कस्तो बाक्लो भने त्यो कहिल्यै नहट्लाजस्तो,’ नरेफाँटको मनोहरा किरियापुत्री भवनमा जितुले भने, ‘मेरो शिर ढलेजस्तो भयो । अब त म टुहुरो भएँ ।’ आमा योगमाया नेपाल (१९९२ माघ २८–२०८१ फागुन ४) को प्रस्थानपछि जितुलाई आकाशको मधुरो घाम पनि सिउँडीको तिखो काँडाजस्तै लागेको छ । सहरबीच कोलाहल छ, किरियापुत्री भवनछेवै बग्छ– मनोहरा खोला । तर, त्यो कोलाहल र हल्लाबीच पनि जितुको मनमा बडेमाको बाढी आउँदा उर्लेको मनोहराको जस्तै आवाज आउँछ । असाध्यै दुःखी छन् उनी, शोकमग्न छन् । ‘आमाबिनाको भविष्य झन् निराशाले भरिएला,’ जितु भन्छन्, ‘मनमा लागेको डम्म तुवाँलो नहट्दासम्म दुःख र पीडा नै जीवनको साथी बनिरहला !’ 

हास्यपारखीका आँखामा जितु भव्य र सानदार कलाकार हुन् नै, नजिकका मित्रमण्डलीका आँखामा चाहिँ एक रसिक मित्र । तर, भर्खरै आमा गुमाएको छोरा कसरी रसिक हुन सक्छन् ? उनी छन्– बक बसेको र शब्द खोसिएको बालकजस्तो, शब्दविहीन । जितुकै भाषामा आमाले सधैंका लागि आँखा चिम्लेको दिनपछि उनी यो संसारलाई चारैतिर अन्धकार देखिरहेका छन् । 

...

नेपाली समाजको पिँध–यथार्थ, दुःखले बाँचिरहेका साना मान्छेका जीवनशैली देखाउँछन् जितु आफ्ना फिल्म, टीभी सिरियलमार्फत । नेपाली समाजको जटिल समस्यामाथि केन्द्रित व्यंग्य उनका हास्य ‘कन्टेन्ट’ हुन् । समाज बाँचिरहेको समयको दस्ताबेज हुन्, उनका सिर्जना । उनी अभिनीत फिल्म ‘छ एकान छ’, ‘वडा नं ६’, ‘छक्कापञ्जा सिरिज’, ‘छ माया छपक्कै’, ‘ज्वाइँसाब’, ‘कार्साङ’, ‘दर्पणछाया’, टेलिसिरियल ‘ट्वाक्क टुक्क’, ‘जिरे खुर्सानी’ लगायत दर्शकबाट प्रशंसित छन् । एक दशक पहिले नेपाल टेलिभिजनमा प्रसारण हुने ‘जिरे खुर्सानी’ सिरियलमा उनी त्यस समयका निराश बेरोजगार युवाका प्रतिनिधि पात्र थिए, मुन्द्रा र चस्मा लगाएर मान्छेका कथा भनिरहेका । हास्यरसबाटै उनी युवा पलायन, तिनका दिक्दारी र दुःखको गम्भीर विमर्शमा सामेल थिए । र, यसरी हास्यव्यंग्यका कलाकारहरूको पंक्तिमा जितु फरक उभिए । 

Yogamaya was Jitu's constant friend

आमा गएपछि जितुलाई मृत्यु–बोध भएको छ– मान्छेको शरीरमा अर्को कुनै अस्तित्व छ, सायद त्यो अस्तित्व शरीरबाट फुत्त निस्केर ब्रह्माण्डमा मिसिनु नै मृत्यु हुनु हो । उनको अनुहारको बत्ती निभेको छ आमाको मृत्युपछि । दमले गलेर ओइलाएकी आमा पलपल, बिस्तारै मर्दै गएको देखे जितुले । उत्तरार्द्धमा योगमाया नेपाल फतक्कै गलेकी थिइन्– हिँड्न–उठ्न नसक्ने, दमले सास फेर्न नसक्ने । तैपनि अस्पताल जान नमान्ने । दुई वर्षअघि उनलाई ‘हर्ट एट्याक’ भयो, निको भएपछि एक दिन जितुलाई भनिन् योगमायाले, ‘साह्रै–साह्रै पोलिरहेको छ शरीर । ए कान्छा एउटा औषधि ल्याइदे न !’

जितुले कस्तो औषधि आमा भनेपछि थपिन्, ‘माथि जाने औषधि क्या, साह्रै गाह्रो भयो, काल पनि कस्तो ! लैजाँदा नि लैजाँदैन ।’ पीडाले गलेकी उनले एक दिन फेरि भनिन्, ‘कान्छा साह्रै नै गाह्रो भयो । एउटा इन्जेक्सन लगाइदे न, मरिहाल्ने !’ आमा योगमायाको यस्तो अवस्थाले जितुको आँसु बग्थ्यो । उनी साह्रै भत्किन्थे । मृत्युको अघिल्लो रात एक बजेसम्म जितु लोकन्थलीको घरमा आमासँग थिए । उनले पानी मागिन्, जाउलो खाइन् । जितु झ्यालतिर हेरिरहे, योगमाया निदाएजस्तो गरिन् । 

‘आमा निदाइन्’ सोचेर जितु सुत्न गए । बिहान झिसमिसेमै आए र आमालाई बोलाए, ‘बूढीमाउ गुड मर्निङ, हरे कृष्ण । अब उठ्नुपर्छ, उठ ।’ नाकको अक्सिजन, मास्क ओछ्यानमा लत्रेको थियो र मेसिन चलिरहेको । उनी पनि लत्रिएकी थिइन्, अलिअलि ढुकढुकी बाँकी । स्वास्थ्यकर्मी आएर भने, ‘अब अस्पताल लैजानुपर्दैन ।’ आमाको हात–गोडा बिस्तारै चिसा भए । रुवाबासी चल्यो घरमा । पशुपतिको आर्यघाट ब्रह्मनालमा सुतिरहेकी आमाको गोडा धोइदिँदा जितुलाई लाग्यो– अहो ! यो गोडामा आगो बल्छ । तत्काल झसंग भए– अहो ! म त फेरि टुहुरो भएँ । अनि फेरि बरर आँसु झरे । जितुका लागि आमा गएपछिका दिनहरू साँच्चै अँध्यारै रहे । जितुलाई अब लागेको छ– आमाले अर्कै यात्रा तय गरिन्, फरक संसारको ।

...

योगमाया पीर लिने स्वभावकी थिइन् । भनिरहन्थिन्, ‘म बूढी भएँ, केही गर्न नसक्ने भएँ ।’ जितु आमालाई हँसाउन खोज्थे, उनी कदापि हाँसिनन् । उनी आमासँग भन्थे– ओइ बूढीमाउ ! म कस्तो हास्यकलाकार ? आफ्नै आमालाई हँसाउन नसक्ने ? योगमाया भन्थिन्, ‘हँसा न हँसा अरूलाई ।’ एक दिन योगमायाले जितुसँग 

भनिन्, ‘तैंले त कत्ति चढिस्–चढिस् प्लेन, मैले चढेको छैन ।’ अहो ! जितु बल्ल पो झस्किए, मेरी आमाले अझैसम्म प्लेन चढेकी छैनन् ? 

भैरहवामा एउटा महायज्ञमा अतिथि भएर जाँदै थिए जितु । उनले आमालाई पनि सँगै लिएर गए । महायज्ञमा ‘जितुकी आमा’ भनेर दोसल्ला ओढाएर योगमायाको सम्मान गरियो । भैरहवाको होटलमा एकै कोठामा बस्दा योगमायाले भनिन्, ‘तँ सानोमा चकचके भएर हिँड्दा पण्डितले तिम्रा छोराहरूमा सबैभन्दा भाग्यमानी यही हो भनेका थिए । मैले पत्याएकै थिइनँ, पण्डितलाई सबैभन्दा फटाहा यही छ भनेकी थिएँ । तर, हो रहेछ, तँ ठूलो कलाकार भइस् कान्छा !’ पछि जितुले आमालाई जनकपुर पनि लिएर गए । ८३, ८४ वर्षकी भएपछि योगमायाले भनेकी थिइन्, ‘पोखरा नगई मरिने भइयो ।’ जितु फेरि झस्के र आमालाई पूरै पोखरा घुमाए । 

Yogamaya was Jitu's constant friend

योगमाया थिइन्– कृष्ण प्रणामी । ‘कृष्ण भक्तिमा लाग्नुपर्छ’ भनिरहन्थिन् । वृन्दावन जाने रहर गरिन्, ‘त्यहाँ त साक्षात् कृष्णको दर्शन गर्न पाइन्छ रे । आफ्नो त कर्मै यस्तो, जानै पाइएन !’ त्यसपछि जितु आमालाई लिएर वृन्दावन पनि गए । जीवनका अन्तिम दिनहरूमा अक्सिजन दिइरहनुपर्ने भयो योगमायालाई । जितुले नै खाना खुवाइदिनुपर्ने, तेल लगाइदिनुपर्ने । ‘मोबाइलमा भजन लगाइदिन्छु यति खाऊ बूढीमाउ’ भन्नुपर्थ्यो । 

ठ्याक्कै साना छोराछोरी हुर्काएझैं स्याहार्नुपर्थ्यो,’ जितु भन्छन् । आमाका ती दिनहरूको सत्संगपछि जितुले बोध गरे– बालक मात्रै बूढो हुँदैन, बूढाहरू पनि फेरि बालक हुँदारहेछन् ।

जितुलाई आमा ‘बाहिर, टाढा नजा है ! मलाई गाह्रो हुन्छ’ भन्थिन् बेलाबेला । जितु हङकङ जानुपरे आमासँग ‘पोखरा जाँदै छु’ भन्थे । पछि थाहा पाउँथिन् र जितुलाई गाली गर्थिन्– ‘मलाई किन ढाँटिस् हँ ?’ जितुको विचार–बुझाइ–पढाइमा संसारकी गुरु नै आमा हुन् । ‘हामीलाई हिँड्न, पहिलो वाक्य बोल्न सिकाउने गुरु,’ जितु भन्छन्, ‘मेरो अस्तित्व नै आमा हो । आमा छउन्जेल खुब सेवा गर्न पाएँ, भाग्यमानी रैछु ।’ आमाहरूलाई हेला गर्ने, झिँजो मान्नेहरूप्रति जितु दिक्क छन् । भन्छन्, ‘सास गइसकेपछि संसारका सबै शक्ति खन्याए पनि आमा भेट्न पाइन्न । आमा–बुबा नै भगवान् हुन् ।’

...

आमालाई गाईजात्रा कार्यक्रमहरूमा लिएर जान्थे जितु, उनी खुसी हुन्थिन् । ‘ह्यारीकी प्यारी’ फिल्ममा जितुले ‘हिरो’ खेलेपछि योगमायाले प्रतिक्रिया दिइन्– ‘अरू हिरो सिद्धिएछन् र ?’ छोराको दुःख रिलमा पनि हेर्न सक्दिनथिन् योगमाया । ‘प्रेमयुद्ध’ फिल्ममा जितुलाई भिलेनले मस्त कुटेको दृश्य थियो । फिल्म हेर्दाहेर्दै अँध्यारो हलमा रोइछिन् योगमाया । फिल्म हेरेर घर फर्किंदा पनि उनी रोइरहेकै थिइन् । छोरो कुट्ने त्यो ‘भिलेन’ लाई तीन दिनसम्म गाली गरिरहिन् योगमायाले । भनिरहिन्, ‘मेरो छोरालाई पिट्ने त्यसले ?’ आँसु झार्दै जितुलाई सुझाव दिइन्– ए कान्छा ! यस्तो अरूले पिट्ने फिलिम नखेल न ! 

...

व्यंग्यमा आफ्नै ‘सिग्नेचर’ भएका जितुकी आमाका दुःखका बेग्लै रङहरू छन् । किरियाघरबाट मनोहरा खोलाको बगरतिर हेर्दै जितु भन्छन्, ‘मेरी आमाले जीवनमा दुःख र मात्र दुःख बेहोरिन् ।’ जितुको नजरमा साह्रै दुःखको जीवन बाँचिन् योगमायाले । धेरै पटक भरपेट खाइनन्, ‘केटाकेटी भोकै होलान्’ सोचेर । घाँस काट्न, मेला–पर्म वा खेत रोप्न जाँदा बर्खामा भिजेर वा पसिनाले निथ्रुक्कै भएर घर फिर्थिन् उनी । ती दिन जितुको स्मृति–कोषमा उस्तै ताजा छन् । 

योगमाया मेलापात–पर्म गइरहन्थिन्, मेलामा मकै–भटमास खाजा दिइन्थ्यो, त्यो खाजा चपाएर आफैं ननिली उनी छोराछोरीलाई खुवाउँथिन्, भाग लगाएर दिँदा दाजुभाइको झगडा पर्ला भन्ने सोचेर आागनमा छरिदिन्थिन्, छोराछोरी टिपेर खान्थे

जितुको गाउँ हो– सिन्धुपाल्चोक फुल्पिङडाँडा, हालको बलेफी गाउँपालिका–५ । काठमाडौंबाट ७५ किमि परको कोठे बजारबाट एक घण्टा टाढाको बाटो हिँडेपछि घर पुगिन्छ । उनी ५ दाजुहरू (गोविन्द (जो बितिसके), कमल, गणेश, मीनप्रसाद, योगप्रसाद) र दिदी उर्मिलापछिका कान्छा छोरा हुन् । 

योगमाया जितुलाई सुनाइरहन्थिन्– तँ जन्मिँदा म मेला गएकी थिएँ, मेलाबाट बेलुका फर्किंदा तँलाई पाएकी हुँ । जितु पनि ‘दुःखमै हुर्किएँ’ भन्छन्, ‘आमाले मेला, दुःख गरेर हुर्काउनुभएको हो ।’ माथि गाउँमा पनि जग्गा थियो, तल बजारछेउ पनि । गाउँबाट तल बजारमा मल लैजानुपर्ने, अन्न उब्जाउनुपर्ने थियो । 

योगमाया मेलापात–पर्म गइरहन्थिन् । मेलामा मकै–भटमास खाजा दिइन्थ्यो । त्यो खाजा चपाएर आफैं ननिली उनी छोराछोरीलाई खुवाउँथिन्, भाग लगाएर दिँदा दाजुभाइको झगडा पर्ला भन्ने सोचेर आँगनमा छरिदिन्थिन्, छोराछोरी टिपेर खान्थे । जितु काम बिगार्ने, छुकछुके किसिमका थिए । घरमा गाई, भैंसी, बाख्रा, कुखुरा हुन्थे । उनी लुसुक्क तर चोरेर खाइदिन्थे, तर खाएपछि घिउ बन्दैनथ्यो । पाहुनाका लागि चिया खुवाउन आमाले जोगाएर राखेको सक्खर पनि चोरेर खाइदिन्थे । त्यसपछि आमा उनलाई कुट्थिन्, फकाउँथिन् । फेरि कुट्थिन्, फेरि फकाउँथिन् । यो ऋतु चक्रझैं रीत थियो । 

Yogamaya was Jitu's constant friend

जितु एकदमै छुकछुके थिए । खेल्दाखेल्दै एक दिन ठाइँलो दाइलाई लात्ताले हानेछन् । दाइ मुर्छै परेछन्, प्याकप्याकै परे । ‘झन्डै तैंले दाइलाई मारिस्’ भन्दै आमाले ढोडैढोडले सुम्ला उठ्ने गरी दिनैभरि चित्त दुखाउँदै, रुँदै जितुलाई पिटिन् । त्यसपछि जितु घर छाडेर हिँडे कोलडाँडामा । साँझ पर्‍यो, योगमाया आत्तिन थालिन् । खोज्दै–खोज्दै आइन्, पछाडि गाउँलेको ठूलो लस्कर लिएर । जितुले घुर्की लगाए– घरै जान्न । योगमायाले साह्रै कर गरेपछि बल्लबल्ल घर गए । ‘आमाले ढिँडो र मकै खा’ भनिन् तर खाएनन् । जितुको ढाडमा डाम बसेको थियो, योगमायाले तेल लगाइदिइन् र आफैं रोइन्– घुँक्कघुँक्क । 

...

जाल्पा माध्यमिक विद्यालय, कोठेमा १ कक्षामा भर्ना भए जितु । स्कुल जान–आउन एक घण्टा हिँड्नुपर्थ्यो, पुल तरेर पुग्नुपर्थ्यो । काकाहरूले स्कुल खातामा उनको नाम जितबहादुर नेपाल राखिदिए । त्यो जितुलाई थाहै थिएन । घर–गाउँमा त कान्छो थिए उनी, मात्रै कान्छो । मन मिसले हाजिर गर्दा ‘जितबहादुर नेपाल’ भनिन् । उनी उठेनन्, मिसले ‘तेरो नाम हो जितबहादुर नेपाल’ भनेपछि मात्रै उनले ‘यस मिस’ भने । 

उनीसँग न गोडामा चप्पल थियो, न गतिलो लुगा । त्यसरी स्कुल–घर आउजाउ गर्थे । अधिकांश समय गाईभैंसी चराउन, घाँस काट्नमै बित्थ्यो । बारी–जंगल जानु, स्याउला ल्याउनु उनको दैनिकी बन्यो । ‘पढिस् कि पढिनस् ?’ कसैले सोध्दैनथे । बरु सोध्थे– आज कति घाँस काटिस् ? स्कुल जानुअघि र फर्केपछि एक भारी घाँस अनिवार्य ल्याउनैपर्थ्यो । स्कुल पुग्दा पहिलो कक्षाको आधा वा दोस्रो कक्षाको सुरुमा पुग्थे, लखतरान परेर ।

कहिल्यै किताब मात्रै बोकेर स्कुल जान पाएनन् जितु । बजार तलतिर थियो, आमा भन्थिन्, ‘स्कुलबाट फर्किंदा एक पाथी नुन ल्या है केटा !’ स्कुल जाने बाटैमा बारी पर्थ्यो, मल बोकेर स्कुल जान्थे जितु । किताब–कापी साथीहरूले बोकिदिन्थे । पहिले बारीमा मल हालेर स्कुल पुग्थे । स्कुलबाट घर फर्किंदा कि घट्टमा धान पेलेर चामल लैजानुपर्थ्यो कि गहुँ–मकै कुटेर पिठो । घर पुगेपछि किताब फाल्नु, कोदाको रोटी, मकै–भटमास खानु अनि गीत गाउँदै वा रामायणका सुन्दरकाण्डका श्लोक भन्दै, नाम्लो–हँसिया बोकेर घाँस काट्न पुग्नु, रूख चढ्नु, खनायो–पीपल–कुटमिरोको स्याउला झार्नु अनि घर आउनु ! यही थियो, जितुको ग्रामीण बालापन । 

पछिपछि गोठ नै तलतिर सारे जितुका बा–आमाले । घरभन्दा आधा घण्टामुनिको बाटोमा थियो गोठ । गोठमा धेरै पटक बसे जितु । गोठमा गाई–भैंसी बाँध्ने किला ठोक्यो, ओढ्ने–ओछ्याउने राख्यो, सानो छाप्रो बनायो, आगो बाल्यो र रात कटायो अनि एक सातापछि गोठै सार्‍यो । जितु सानै छँदा मेला जान्थे, आमालाई सघाउँथे । रूख चढ्न भनेपछि जितु निकै उत्साहित हुन्थे । ‘गाउँमा मलाई बाँदरै भन्थे,’ उनी भन्छन् । बुबा शशिधर नेपाल घरमा गुणरत्नमाला–गीता पढ्थे, त्यो सुनेर कण्ठै पारेका जितु गुणरत्नमालाका श्लोक भन्दै रूख चढ्थे । 

...

जितुले एसएलसी पास गरे सेकेन्ड डिभिजनमा । सबै दाइहरू काठमाडौं पसे, दिदीको बिहे भइहाल्यो । घरमा आमा, बा र जितु मात्रै । एसएलसी पास गर्नु के–के न पराक्रम गरेजस्तो भयो गाउँमा । ‘ए कान्छा तैंले पनि एसएलसी पास गरिस् है’ भनिन् आमाले । जितुका काकाको छोरो कृष्ण भारतमा हराएका थिए, ५–७ वर्षदेखि । उनी गाउँ आएका बेला उनकै पछि लागेर जितु पनि भारत भास्सिए । २३ महिना आगराको पसलमा काम गरे, चौकीदारी गरे । 

कृष्ण गाउँ फर्किंदा योगमायाले साह्रै गाली गरिन्– मेरो छोरो कहाँ लगिस् ? कि सास ले, कि लास ! उत्पातै गरेपछि आगरा फर्केर कृष्णले जितुलाई ‘घर हिँड् अब’ भने । र, त्यसपछि उनी नेपाल फर्किए गोरखपुरको बाटो– आमाकै लागि । उनी लाहुरेजस्तो भएर गाउँ फर्किए । फर्किंदा कमाएको थोरै पैसाले आमालाई सारी किनेर ल्याइदिएका थिए । योगमाया चुरोट पिउँथिन् । काठमाडौंबाट घर जाँदा गोल्ड फ्लेक, देउराली वा याक चुरोट लगिदिन्थे जितु । ‘कान्छाले चुरोट ल्याइदियो’ भनेर असाध्यै खुसी हुन्थिन् आमा अनि पोल्टामा राखेर फारु गर्थिन् । 

गाउँको एक दाइको बिहेमा काठमाडौं, भद्रकाली जन्ती आएपछि जितु गाउँ फिरेनन् । काठमाडौंमा बालसखा निर्मल पौडेलसँग भेट भयो जितुको । उनी चाबहिल पढ्थे, काठमाडौंकै एक पसलमा काम गर्थे । उनले नै जितुलाई ‘घर नफर्कन र यतै काम गर्न’ सुझाए । र, जितु चुच्चेपाटीको एक सहकारी पसलमा काम गर्न थाले, चाबहिल पढ्न थाले । खाद्य संस्थानबाट चामल, दाल, चिनी ल्याउनु, साहुका लागि खाना पकाउनु उनको दैनिकी थियो ।

...

नेपाल टेलिभिजनमा कविता सुनाउन पुगेका जितु त्यहीँ कार्यरत सरस्वती शर्माको सिफारिसमा कलाकार सन्तोष पन्तसम्म पुगे र ‘आजभोलिका कुरा’ मा अभिनय गरे । त्यसबेला ८० नम्बरको राजदूत मोटरसाइकल चढ्ने पन्तसँग जितुले सानो भूमिका मागे । सानै भूमिका पाए, धेरै पटक धाएपछि । ‘आजभोलिका कुरा’ प्रसारण भयो, गाउँलेले जितुलाई टीभीमा देखेपछि प्रतिक्रिया दिए– ‘ओइ तँ त टीभीमा देखिइस् नि !’ चुच्चेपाटीबाट पसलमा चामल लिन आएका गाहकीहरूले भने, ‘आबुई, यो भाइ त टीभीमा देखेको केटो होइन ?’ साथीहरूले सोधे– ओइ खेलेकै तैंले ?

सन्तोष पन्तको घरमा दैनिक २५ पटकसम्म फोन रिङ हाने जितुले, अर्को रोल पाउन । उसै घर पुग्थे– सन्तोष दाइ हुनुहुन्छ कि भनेर । दुई महिनापछि बल्ल अर्को रोल पाए । त्यसपछि दिनेश डीसीको ‘ट्वाक्क टुक्क’ मा अभिनय गरे, मासिक ३ सय तलबमा बुम समाउने जागिर पनि खाए । जितुका दाइले जडीबुटीमा चार कोठाको घर बनाएपछि उनी आमा–बुबासँग काठमाडौंमै बस्न थाले । ‘त्यसपछि आमासँग निकै समय बिताएँ,’ जितु भन्छन् । ‘जिरे खुर्सानी’ प्रख्यात भएपछि जितु प्रायः विदेश आउने–जाने गरिरहे । ‘बिहान कोरिया, साँझ जापान हुन्छु’ भन्दा उनकी आमा भन्थिन्, ‘ए कान्छा तँलाई प्लेन त ट्याम्पु चढेजत्ति पनि नहुने भो त, कति चढेको !’

...

आमाका अगणित स्मरण छन्– आँखा चिम्लेर सम्झिँदा जितु आमालाई देश–विदेश डुलाउँदाको खुसी सम्झिन्छन् वा थला परेर ‘ऐया...ऐया...’ गरिरहेकी आमा । आमाको स्मृति–भूगोलमा यात्रा गरिरहँदा जितुका पुराना सम्झनाहरू नयाँ–नयाँ भएर जन्मिइरहेका छन् । सम्झना रित्तिएका छैनन्, बरु उनी आमाको परलोक यात्रापछि उनैको यादमा मग्न–मग्न छन् । आमा र गाउँको सम्झनाले जितु एकोहोरो हुन्छन् । गाउँको मौसम फेरियो, मान्छेहरू बदलिए तर घरैअघि उस्तै उभिएकै छ– आँपको बोट, जो साक्षी हो– उनकी आमाको जीवन र सानो संसारको । ‘मैले भनेको छु, आफैं नमरेसम्म त्यो रूख नकाट्नु है,’ जितु भन्छन् । जितुलाई लागिरहेकै छ– म त लहराबाट चुँडिएको लौका न भएछु !

आमाम्यागेजिन

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully