५ युवा चिकित्सकले हाँकिरहेका छन् पूर्वकै पुरानो अस्पताल, उपचारका लागि आउने बिरामीमध्ये ४० प्रतिशत हाराहारी भारतीय
विराटनगर — विराटनगर निवासी वीरेन्द्र विष्ट ५० को दशकमा चिकित्सा शास्त्र अध्ययनका लागि बेलायत पुगेका थिए । न्युरोलोजी पढेर फर्किएपछि उनले विराटनगरमा न्युरो अस्पतालको आवश्यकता महसुस गरे । त्यतिबेला काठमाडौंमा पनि न्युरो बिरामीका लागि उपचार सुरु भइसकेको थिएन ।
सन् २००० मा विराटनगरमा उनले न्युरो अस्पताल स्थापना गरे । यो अस्पताल यतिबेला मधेश र कोशी प्रदेशका बिरामीका लागि मात्रै होइन, छिमेकी भारतको विहार राज्यका बिरामीका लागि पनि उपचार–गन्तव्य बनेको छ ।
कोशी प्रदेशमा अहिले फाट्टफुट्ट न्युरोसम्बन्धी अस्पताल खुल्न थालेका छन् । तर, न्युरो अस्पतालले भने अलग्गै पहिचान बनाएको छ । खासगरी भारतीय बिरामीका लागि यो अस्पताल ‘जीवन दान केन्द्र’ जस्तो भएको छ ।
भारत विहारको भागलपुरबाट बुवाको टाउकाको उपचारका लागि आएका परमेश यादवले सुनाए, ‘विहारतिर यो न्युरो अस्पतालको नाम धेरै उचो छ ।’ सामान्य सडक दुर्घटना होस् या जटिल प्रकृतिको न्युरोसम्बन्धी समस्या, उपचारका लागि भारतीयहरू नाका तरेर यतै आउने गरेका छन् । यादवले भने, ‘हामीलाई दिल्ली, कोलकाता जानभन्दा विराटनगर आउन सजिलो र सस्तो हुन्छ ।’
अस्पताल प्रशासनका अनुसार उपचारका लागि आउने कुल बिरामीमध्ये ४० प्रतिशत हाराहारी भारतीय छन् । विहारको अररिया, सुपौल, मध्यपुरा, सहर्षा, पूर्णिया, कटिहार, भागलपुर, किसनगन्जलगायत क्षेत्रका बिरामीका लागि यो विश्वासिलो उपचार केन्द्र बनेको छ । अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले भारतीयहरू आँखापछि न्युरोसम्बन्धी उपचारका लागि बढी आउने गरेको बताए । ‘सायद हाम्रो अस्पतालमा विश्वसनीय सेवा पाएर भारतीय आउन चाहेका होलान्,’ भट्टराईले भने ।
न्युरो उपचारमा नयाँ पुस्ता पूर्वकै पहिलो न्युरो अस्पताल नयाँ पुस्ताको काँधमा छ । चार सर्जनसहित ५ जना युवा चिकित्सकले पूर्वकै पुरानो यो अस्पतालको नेतृत्व हाँकिरहेका छन् । छोटो समयमा विराटनगरमा छुट्टै पहिचान बनाउन सफल डा. रोशनले वीर अस्पताल (न्याम्स) बाट न्युरो सर्जरीमा एमसीएच गरेका हुन् । उनले काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट सामान्य शल्यचिकित्सामा एमएस डिग्री प्राप्त गरेका थिए भने सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेका थिए ।
न्युरो अस्पताल विराटनगरले १५ वर्षदेखि न्युरो सर्जरी सेवा प्रदान गर्दै आएको छ । हाल अस्पतालमा वरिष्ठ न्युरो सर्जन डा. सुनिलकुमार दास, वरिष्ठ न्युरो सर्जन डा. आशिषजंग थापा, न्युरो सर्जन डा. आलोक झालगायत अनुभवी चिकित्सकको टिमसँग खतिवडा पनि जोडिएका छन् । ‘अनुभवी सर्जनको टोलीले अस्पतालसँगै सेवाग्राहीमा समेत विश्वास बढाएको छ,’ अस्पतालका निर्देशक राजेश भट्टराईले भने, ‘नयाँ पुस्ताको आगमनले न्युरो सर्जिकल सेवाको गुणस्तर अभिवृद्धिसँगै बिरामीमा विश्वसनीयता बढेर गएको अनुभव गरेका छौं ।’
न्युरो अस्पतालले उत्कृष्ट टिमसहित नवीनतम प्रविधि र उपचार विधि प्रयोग गर्दै आएको छ । यस अस्पतालसाग जोडिएर बिरामीलाई उच्चस्तरीय सेवा प्रदान गर्नु नै मुख्य उद्देश्य रहेको चिकित्सकहरूले जनाएका छन् ।
जनकपुरका डा. सुनिलकुमार दासले १२ कक्षासम्म जनकपुरमै अध्ययन गरे । उनले राजस्थानको जयपुरस्थित एसएमएस मेडिकल कलेजमा छात्रवृत्ति प्राप्त गरी एमबीबीएस पूरा गरे । २०१३ सम्म त्यहीं रहेर अध्ययन सके अनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी विभागमा १ वर्ष काम गरे । त्यसपछि उनी पोस्ट ग्र्याजुएट गर्न भारतको चण्डीगढ गए, जहाँ उनले एमएस जनरल सर्जरी ३ वर्षमा पूरा गरे । त्यसपछि दिल्ली र नोयडामा दुई वर्ष कामको अनुभव लिए ।
एम्स अस्पतालबाट एमसीएच न्युरो सर्जरी गरे, जुन ३ वर्षको कार्यक्रम थियो । त्यसपछि ३ वर्ष कोलकातामा कार्यरत रहे । डेढ महिनाअघि मात्र उनी न्युरो अस्पताल विराटनगरसँग आबद्ध भएका छन् । ‘१६ वर्षदेखि भारतमा कार्यरत थिएँ, अस्पतालले बोलाएपछि नेपाल आउने योजना बनाएको हुँ,’ डा, सुनिलले भने, ‘भारतमा रहँदा प्राप्त गरेका अनुभव र प्रविधिगत ज्ञानलाई नेपालमा अभ्यास गर्न पाउँदा निकै खुसी लागेको छ ।’ भारतको चिकित्सा विज्ञान प्रविधिमा अग्रणी रहेको अनुभवलाई अब नेपालमा प्रयोग गर्ने उनले बताए ।
डा. आशिषजंग थापा एक अनुभवी न्युरो सर्जन हुन् । जसले चीनबाट एमबीबीएस र एमएस गरेका छन् । विराटनगरका उनी २०६८ फागुनदेखि मेडिकल अफिसरका रूपमा कार्यरत छन् । ‘२०६६ बाट न्युरो सर्जरी सेवा सुरु भयो, म २ वर्षपछि जोडिएँ,’ उनले भने ।
उनको विचारमा, कुनै पनि बिरामीलाई निको पार्न डाक्टर र अस्पतालको मात्र भूमिका हुँदैन, बरु अन्य धेरै तत्त्व महत्त्वपूर्ण रहन्छ । ‘कुनै पनि डाक्टरको उद्देश्य अन्तिम अवस्थामा पनि बिरामीलाई बचाउनु हो,’ डा. आशिषले भने, ‘हामीले सधैं संवेदनशील भएरै काम गरिरहेका हुन्छौं । बिरामीको ज्यान बचाउन निरन्तर प्रयासरत रहन्छौं ।’
डा. आलोक झा पनि न्युरो सर्जरी टोलीका सदस्य हुन् । उनी एक वर्षदेखि यहाँ कार्यरत छन् । बंगलादेशबाट पोस्ट ग्र्याजुएट सिध्याएपछि उनी अस्पतालमा आबद्ध भएका हुन् । डा. आलोकले भने, ‘न्युरो सर्जरीमा नवीनतम प्रविधिको प्रयोग गर्दै, सर्जिकल प्रक्रियामा थप ऊर्जा र अनुभव प्राप्त भइरहेको छ ।’
डा. सुनन्द पौडेल न्युरोलोजिस्ट हुन् । उनका अनुसार न्युरोलोजिस्ट र सर्जनबीच नङ र मासुको जस्तो सम्बन्ध हुन्छ । त्यही भएर उनीहरू एकताबद्ध भएर बिरामीको सेवा गरिरहेका छन् । जसरी हुन्छ सेवाग्राहीलाई राम्रो सेवा दिन उनीहरू कम्मर कसेर लागेका छन् ।
डा. ऋतिक विष्ट अस्पतालका मेडिकल अधिकृत मात्रै होइनन्, सञ्चालक पनि हुन् । न्युरो अस्पतालले नयाँ पुस्तालाई एकथलोमा उभ्याएर सेवाग्राहीलाई उत्कृष्ट सेवा दिने जमर्को गरेको उनले बताए । ‘नयाँ पुस्तासँग नयाँ सोच हुन्छ, नयाँ प्रविधिको प्रयोगबाट नयाँ ढंगबाट काम गर्न सक्छन्,’ उनी भन्छन्, ‘ऊर्जा पनि उस्तै हुन्छ ।’
बिरामीको अस्पतालमा बसाइ छोट्याउने उद्देश्य आफूहरूको रहेको उनको भनाइ छ । त्यसैअनुरूप नयाँ प्रविधि जडान गरिएको छ, नयाँ चिकित्सक समावेश छन् । ‘प्रविधि, शिक्षा र ऊर्जा सबैलाई जोड्न सके गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ उनी थप्छन् ।
